मेरो खुशी : भोकालाई भात र प्यासीलाई पानी …
‘त्यतिबेला स्वदेशमै बसेर व्यापार व्यवसाय गर्ने अवस्था अलि थिएन् । मलाई विदेशको हावाले छोएको थियो । विदेश जाने सपना मेरो सानैदेखिको थियो ।
विदेशमा नेपाली खोज्नुपर्ने अवस्था थियो । अहिलेजस्तो नेपालीहरु विदेशमा कामका लागि जाने चलन त्यति थिएन’ तुलसीपुर–६ निवासी युवा व्यवसायी तिलक भण्डारीले भने ।
तुलसीपुर–४ को लामीदमारमा जन्मिएर हाल तुलसीपुरमा कर्म गरिरहेका भण्डारीले १८ वर्षको उमेरमै विदेशिएको सुनाए । २०५५ सालमा साउदी अरबमा रोजगारीका लागि गएका भण्डारीले करिब ५ वर्ष विदेशमै दुःख गरेको बताए । विदेशबाट फर्किएर आफनै देशमा कर्ममा लागेका भण्डारीले आफनो खुशी भोकाएकाको भोक र तीर्खाएको प्यास मेटाउँदाको सुनाए ।
विदेशी भूमिमा श्रम र पसिना बगाउनुभन्दा आप्mनै देशमा केही गर्नुपर्छ भनेर आफू व्यवसायमा लागेको उनले सम्झिए । ‘मेरो पहिलो भनौँ वा खुशी भनेकै आफ्नै ठाउँमा पौरख गर्न पाउँदाको हो, म यसैमा रमाएको छु’ भण्डारीले भने । मेरो सबै काम र कर्म देख्नुभएको छ यसैलाई मेरो पहिलो खुशी लेखिदिनुहोला’ भण्डारी भन्छन् ।
विदेशबाट फर्किएसँगै २०६१ सालमा विवाह गरे । त्यसपछि उनले काठमाडौंको रातो पुल नजिक होटल सञ्चालन गरेको बताए । ‘म विदेशपछि नेपालमै फर्किएर विवाह गरी व्यापारमा लागे, साढुदाइ शंकर पाण्डेको साथ र सहयोगसँगै जीवनसंगीनीको साथले मैले होटल गरेँ, त्यहाँ काठमाडौंमा’ उनले भने ।
भण्डारीले आफू सानै उमेरदेखि व्यवसाय र पेशामा लागेको भन्दै उनले सबैको साथ र सहयोग पाएर यहाँसम्म आएकोमा पनि खुशी व्यक्त गरे । ‘वैवाहिक जीवनमा बाँधिएसँगै मेरो विदेशको मोह र विदेशको यात्रा टुङ्गियो, त्यसपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर म स्वदेमै पौरख गर्न लागे’ उनी भन्छन् ।
भोकाएकाहरुको भोक मेटाउनु र तीर्खाएका व्यक्तिहरुको प्यास मेटाउनु मेरो सबैभन्दा खुशीको क्षण हो, लेखिदिनुहोला मेरो खुशी होटल व्यवसाय । त्यो सँगै उनले २०६३ सालमा छोरा जन्मिएको भन्दै अर्को खुशी मिलेको सुनाए । घरमा पहिलो सन्तान जन्मँदा पनि मलाई खुशी मिलेको थियो, त्यो सँगै जिम्मेवारी पनि बढेको मलाई अनुभूति भएको थियो’–भण्डारी बताउँछन् ।
त्यस दिनदेखि आफूमा अभिभावकको जिम्मेवारी थपिएको थियो । अरुका लागि पनि गर्नुपर्ने दायित्व आफूमा आएको उनको अभिव्यक्ति थियो । होटल सँगसँगै उनले यातायात क्षेत्रमा पनि लगानी गरे । हाइस–गाडी किनेर गाडी मालिक बनेका भण्डारीले यातायात क्षेत्रमा पनि लगानी गरी जनतलाई सेवा दिन पाउँदा खुशी लागेको बताए ।
‘साढुदाइले र मैले एक–एक वटा गाडी किनेर सञ्चालन गरेका थियौँ, त्यसमा पनि राम्रो भएको थियो, पछि होटल र गाडी सँगै सञ्चालन गर्न समस्या भएपछि त्यो पेशा छोडेँ’ उनी बताउछन् । जीवनका उकालीओरालीमा धेरै संघर्ष र परिश्रम गरेका भण्डारीले काठमाडौंको बसाई सकेर आप्mनै थलो तुलसीपुरको ‘ग’ लाइनमा मिट प्वाइन्ट होटेल सञ्चालन गरी आफै भान्सामा रमाउँदा खुशी लागेको बताए ।
भन्छन्– ‘परीश्रमको फल खुशी हो, मिहिनेतको कमाइ खुशी हो, श्रमको मूल्य पाउँदा आत्मैदेखि खुशी लाग्छ, जुन अव्यक्त भावनाजस्तै हो ।’ खुशीलाई शब्दमा व्यक्त गर्न नसकिँदोरहेछ, आत्मानुभूति नै हो खुशी । उनले होटल सञ्चालन गरी धेरैको भोक र प्यास मेटाउन पाउँदा त्यसैमा खुशी मिल्ने गरेको सुनाए । आफू, श्रीमती र अन्य परिवारले होटल सञ्चालन गरी धेरैलाई सेवा गरेको उनी बताउँछन् ।
घरका परिवार तथा अन्य आफन्तहरुको साथ र सहयोग पाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनी बताउँछन् । ‘मैले घरपरिवारसँगै श्रीमतीको पनि धेरै सहयोग पाएको छु, हामी मिलेर होटल चलाएका छौँ, म यसैमा खुसी छु’ उनी भन्छन् । उनले आफ्नै पौरख र लगानीमा आफ्नै जन्मथलोमा सेवा गर्न पाउँदा गर्वको अनुभूति मिल्ने बताए । ‘हजुरहरुले देख्नुभएको छ मेरो सेवा र काम सबैलाई सन्तुष्टि दिन पाएकोछु, म यसैमा खुशी छु’ उनले भने ।
हाल तुलसीपुरकै ‘ग’ लाइनमा भण्डारी होटल तथा रेष्टुरेण्ट सञ्चालन गरेका तिलकले आफ्नो परिवारसँगै अन्य व्यक्तिलाई रोजगारी दिन पाउँदा खुशी भएको बताउँछन् । होटलसँगै भण्डारी जलसेवामार्फत् पानीको सेवा दिन पाउँदा पनि खुशी मिलेको बताउँछन् ।
‘मैले दुई वर्षदेखि जलसेवा ढुवानीको काम पनि गरेको छु, सबैलाई सर्वशुलभ र पानी खुवाउन पाउँदा पनि खुशी भएको छु’ उनले भने । तुलसीपुर–१२ मा वोरिङ स्थापना गरेर हाल दुईवटा टेक्टरबाट तुलसीपुरमा पानी वितरण गरिरहेको उनी बताउँछन् । होटल तथा जलसेवामा धेरैलाई रोजगारी दिनपाउँदा पनि खुशी मिलेको बताउँछन् ।
‘म पहिले आफै श्रमको खोजीमा भौँतारिनेले हाल अरुलाई सानो–तिनो भए पनि रोजगारी दिएको छु, स्वदेमै यो भन्दा अरु खुशी मेरो लागि के हुन्छ र ?’ उनले भने ।
उनले घरमा भाइ, छोराले राम्रो काम र राम्रो बाटोमा लागेको तथा श्रीमतीले हातमा हात र काँधमा काँध मिलाएर आफूलाई सहयोग गरेकोमा पनि खुशी व्यक्त गरे ।
त्यो सँगै भण्डारीले विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्न पाउँदा खुशी मिल्ने गरेको बताए । गाउँमा निर्माण भएका मठमन्दिर होस् वा दुःखी असहायलाई सहयोग गर्न पाउँदा खुशी मिल्ने उनले बताए । उनले धेरै त्यस्ता व्यक्ति र ठाउँमा सहयोग गरेको सुनाए । ‘यो व्यक्ति र स्थानमा सहयोग गरे भनेर ठ्याक्कै मैले सम्झिन सकिन तपाईं आफैले देखिरहनुभएको छ, मेरो काम र व्यवहार’ उनी भन्छन् ।
परिवार सहित आफ्नै पेशा र व्यवसायमा रमाएका भण्डारीले आफू सधैं खुशीका साथ भान्सामै रमाउने गरेको बताए । भान्सा मेरो खुशी हो, किनकि भान्साबाटै हाम्रो परिवारको रोजीरोटी चलेको छ । भान्साले हामीलाई व्यस्त बनाएको छ । भान्साले हामीलाई सीप सिकाएको छ ।
मिजासिला, सहयोगी र सधैँ हँसिलो मुहारका साथ सेवामा लागेका तुलसीपुर–६ मा बस्दै आएका युवा व्यवसायी तिलक भण्डारी भण्डारी होटल तथा रेष्टुरेण्टका साथै भण्डारी जलसेवाका सञ्चालक हुन् । खुशी पैसा कमाउनु मात्र होइन, खुशी त मनमा सधैँ प्रशन्नता आउनु हो । खुसीलाई पैसाले किन्न सकिँदैन । यो त अनुभूति गर्ने मात्रै हो ।
प्रस्तुती : बालाराम खड्का
