व्यवस्थाभन्दा व्यवस्थापन ठूलो
मधुसूदन सुवेदी
व्यवस्था भनेको काल्पनिक शब्दकोष र काल्पनिक नाम रहेछ । यो कसैको देखेर सिक्ने, टिप्ने वा स्थापना गर्ने रणीति बनाउने मात्र रहेछ । व्यवस्था आफैमा साध्य रहेनछ, त्यो केवल मानवद्वारा स्थापित र कल्पित संरचना रहेछ ।
यो व्यवस्था सुखी त्यो व्यवस्था दुःखी, यो व्यवस्था राम्रो त्यो व्यवस्था नराम्रो, यो व्यवस्था जनताको त्यो व्यवस्था व्यक्तिको भन्ने अर्थ लगाउनु गोरुलाई गायत्री सुनाउनुजस्तै रहेछ । व्यवसाय जे-सुकै हुँदा पनि र व्यवस्था जस्तोसुकै पनि हुँदा यदि व्यवस्थापन अति उत्कृष्ट हुने हो भने त्यो सार्थक बन्ने ध्रुव-सत्य नै रहेछ ।
अब कोही कसैले राम्रो भएन भनेर व्यवस्थालाई आरोप लगाउने र राम्रो भयो भनेर व्यवस्थालाई पूजा गर्ने बानी छोडौं । अब नितान्त नयाँ ढंगको सोच विकसित हुन जरुरी छ । किनभने नेपालमा अनेकौँ व्यवस्थाले मात खाइसकेर लात पनि खाइसके ।
यस्तो अवस्थामा व्यवस्थामाथि व्यवस्था विश्लेषण गरेर यो नभएको र त्यो नभएको भन्दछ भने उसले आफूलाई मूर्ख भएर अरुलाई पनि मूर्ख गराउँदैछ भन्ने जान्नुपर्दछ र ठान्नुपर्दछ । यो कुराको प्रमाणित हाम्रो देशमा पटक-पटक भइनै रहेको छ ।
गर्छु भन्नेले गर्न नसक्ने, बोल्छु भन्नेले बोल्न नसक्ने, हिँड्छु भन्नेले हिँड्न नसक्ने, बनाउँछु भन्नेले बनाउन नसक्ने, दोष कसको ? व्यवस्थाको कि व्यवस्थापनको ? व्यवस्था जानेर ल्याए पनि नजानेर ल्याए पनि व्यवस्था बुझेर ल्याए पनि नबुझेर ल्याए पनि, व्यवस्था सिकेर ल्याए पनि नसिकेर ल्याएर पनि, व्यवस्था सक्कली भए पनि नक्कली भए पनि त्यो चल्ने र चलाउने कोबाट हो ? व्यक्ति र शक्तिबाट हो कि होइन ?
यदि व्यवस्था हाँक्ने व्यवस्थापन ठीक छ र त्यो व्यवस्थापन गर्ने व्यक्ति र शक्ति ठीक छ भने व्यवस्था व्यवस्था नै हो । त्यो जस्तोसुकै हुँदा पनि राम्रै हुन्छ र सुन्दर हुन्छ । हेर्नोस् सिमेन्ट बोरामा हुन्छ, बालुवा नदीको किनारामा हुन्छ, ढुंगा बग्ने खोलामा हुन्छ, गिट्टी खहरे खोलामा हुन्छ, इँट्टा आगोको भट्टीमा हुन्छ, यी सबै कुरालाई एकीकृत गरेर असल कालिगढको हातबाट प्रयोग भयो भने त्यसबाट दरबार, महल, मठ-मन्दिर, पुल, बाटोघाटो, मूर्ति, शालिक जे पनि बन्दछ र बनाउन सकिन्छ ।
व्यवस्था भनेको नै यही हो । खोलाको बालुवालाई हातमा राखेर यो घर हो भन्यो भने त्यो के होला ? पागलपन होला कि नहोला ? त्यसैले व्यवस्थापनको क्षेत्रमा सामञ्जस्यता कायम भएन भने जस्तोसुकै व्यवस्था भए पनि के गर्ने ? अब नेपालमा व्यवस्थालाई लिएर टीका-टिप्पणी गर्नुको कुनै अर्थ नै छैन । यदि गर्ने व्यक्ति वा शक्ति साँच्चिकै व्यक्ति र शक्तिशाली हुने हो भने उसले हिजोकै पुरानो व्यवस्थालाई पनि लोकप्रिय बनाउन सक्दछ ।
यदि काम गर्ने र गराउने व्यत्तिः र शक्ति साँच्चिकै व्यक्ति र शक्तिशाली नहुने हो भने संसारकै उत्कृष्ट व्यवस्था स्थापित गराए पनि केही लछारपाटो लाग्नेवाला छैन । आजसम्म जे जसरी भए नि ती सबै जनता ढाँट्नका लागि भए किनभने तमासाले देखाइसक्यो यहाँ धेरै हेर्नुपर्ने, कुर्नुपर्ने र गाली गर्नुपर्ने कुरा पनि छैन ।
कुनै पनि व्यवस्थालाई दोष दिनुपर्ने र गाली गर्नुपर्ने कुरा पनि छैन । जान्ने, मान्ने र ठान्ने व्यवस्थापनको जिम्मा लिने व्यक्ति र शक्तिले हो अस्ति यो देशमा के-के भयो्, हिजो यो देशमा के-के हुँदै थियो र आज यो देशमा के-के हुँदैछ ? यो सबै जोख्ने, तौलने, नाप्ने, भन्ने, दाँज्ने, मापन गर्ने र मूल्यांकन गर्ने तराज भनेको व्यक्ति र शक्तिको तराज हो । अब हामीलाई मानवचरित्र नाप्ने फित्ता चाहिएको छ ।
अब हामीलाई मानव इमान्दारिता भर्ने मानो चाहिएको छ । अब हामीलाई मानव संवेदनशीलता चुलाउने पाथी चाहिएको छ । अब हामीलाई मानव सिद्धान्त र आदर्श जोख्ने तराजु चाहिएको छ । अब हामीलाई मानव अधिकार मापन गर्ने सूचांक चाहिएको छ । अब हामीलाई मानव सेवा देख्ने र हेर्ने दृष्टि चाहिएको छ ।
अब हामीलाई देशभक्त र राष्ट्रभक्तमा लगाउन सक्ने कुशल मार्गदर्शक चाहिएको छ । हामीले सबै फेरेको नाटक त गर्छौं तर हामीले आजसम्म व्यक्ति र प्रवृत्ति फेरिएको बाचा-कसम खान सक्छौं । हिजोदेखि आजसम्म व्यत्तिः पनि उही र प्रवृत्ति पनि उही । अनि बदलिन्छ कसरी ? बदल्छ कसले ? एउटा निश्चित उद्देश्य, लक्ष्य, योजना, सिद्धान्त, आदर्श, अभिष्ट अभिलाषा नहुँदासम्म कसरी व्यवस्था लोकप्रिय बन्छ ? व्यवस्था कसले ल्याए ? जनताले ।
व्यवस्था कसका लागि ल्याए ? जनताका लागि । व्यवस्था किन ल्याए ? जनता सुखी र समृद्धि बन्नको लागि यो भयो त ? यो कसैबाट र कतैबाट नभइरहँदा जनताले ल्याएको व्यवस्था भनेर जनताको टाउकोमाथि व्यवस्था बोकाइदिने र आफूहरुले व्यवस्थाको फल चुसिरहने ? यस्तो पनि हुन्छ । व्यवस्था बोक्ने जनताले त्यो भारको प्रतिफल पाउने कसले ? निश्चित गर्ने कि नगर्ने ? जनताका लागि भयो-भयो-भयो, के भयो ? बुँदागतरुपमा भनौं त ।
व्यवस्थाको भारी बोक्ने जनता र व्यवस्थाको भारी बोकाउने नेताका बीचमा एकपटक दाँज्ने प्रयास गरौं त । जो भारी बोकेको छ ऊ भोकले सुक्दैछ, जो भारी बोकाउँदैछ ऊ रस र फलले फुल्दैछ र फुक्दैछ । यही हो समाजवाद भनेको ? यसैलाई जनताको समाजवाद भनिन्छ ? यो कुन देशको आयातीत समाजवाद हो ? समाजवादको परिभाषा जान्ने र जनाउने कसले ? राजनीति गर्न सिकाउने जनताले हो ? सिकेको नेताले होइन ? यो कुरा हेक्का रहोस् कि यदि यो व्यवस्था जनताले ल्याएको हो भने आजको पछिल्लो समयको राजनीतिक विवाद, बहस, असहमति, खिचातानी र संकटको घडी कसका लागि केन्द्रित हो ? सरकार बनेकै छ, संविधान लेखिएकै छ, अब विकास र समृद्धिमा लाग्न कसले लात हान्यो ?
