सामाजिक सेवासँगै ब्रह्माकुमारीज संस्थालाई ‘विश्व विद्यालय’को मान्यता
ब्रह्माकुमार माधव तिमिल्सेना
ब्रह्माकुमारीजको कराँचीदेखि माउण्ट आवू हुँदै जापानसम्मको यात्राको श्रृंखलालाई अघिल्ला अंकमा वणर्न गरिसकेका छौ । आदरणीय पाठकगण, आजको बसाईमा त्यसपछिका घटनाक्रमलाई जोड्दै ईश्वरीय सेवा विस्तारको गतिविधिलाई समेट्ने प्रयास गरेको छु ।
पञ्जाव अमृतसरका एकजना प्रसिद्ध सन्यासी निर्मल स्वामीजीबाट बेदान्त सम्मेलनमा ब्रह्माकुमारीज संस्थालाई आमन्त्रण गरियो । उक्त सम्मेलनका बारे राजयोगिनी दादी रुक्मिणी लेख्नुहुन्छ- सो वेदान्त सम्मेलनमा संस्थाकी पूर्व मुख्य प्रशासिका डा. दादी जानकी र मेरो सहभागिता थियो ।
मञ्चमा सयौंको संख्यामा शंकाराचार्यजीको अद्धैत सिद्धान्तलाई अनुशरण गर्ने साधु सन्यासीहरु मञ्चासीन थिए । हजारौंको संख्यामा उपस्थित श्रोतागणका समक्ष प्रवचनमा अधिकांशले एक व्रह्म नै सत्य हो, जगत मिथ्या हो भन्ने कुरामा नै बढी जोड दिइयो । अन्य साधु सन्यासी र विद्धत महोदयको भाषणपश्चात दादी जानकीजीलाई वक्ताको रुपमा ।
आत्मा र परमात्माको अन्तर बताउँदै दादीले स्पष्ट शव्दमा ‘परमात्मा जन्म मरण र सुख दुःखको चक्रदेखि न्यारा (अलग) तर सबैको प्यारा हुनुहुन्छ, उहाँ नै सर्व धर्म संस्थापक तथा आत्माहरुको पिता हुनुहुन्छ । परमात्मा एक जो पतित पावन, सुख-शान्ति तथा प्रेम दाता एवं सागर हुनुहुन्छ । उहाँसँग हाम्रो पिता पुत्रको सम्बन्ध र निर्मल पवित्र स्वच्छ मनले योग लगायौं भने मात्र सद्गति हुन्छ । धर्म ग्लानीको समयमा परमात्मा शिव यस धरतीमा अवतरित भएर गीता ज्ञान दिई पुनः सुखमय संसारको स्थापना गर्नुहुन्छ, जुन वर्तमान समय चलिरहेको छ । आत्मालाई परमात्मा मान्नु भ्रम वा मिथ्या हो ।’
सो भाषणलाई धेरैले खुलेर प्रशंसा गरे तर आयोजकले अद्धैतवादको मञ्चमा आत्मा परमात्मा पुत्र पिताको रुपमा अथ्र्याइनुलाई ठीक मानेनन् । रुक्मिणी दादी अगाडी भन्नुहुन्छ- कार्यक्रम तालिकामा मेरो भाषण राखिएको थियो तर समयाभाव जनाउँदै बोल्ने अवसर दिइएन ।
स्थानीयवासीहरु र आद्यात्ममा अभिरुचि राख्ने समाजका शिष्ट प्रतिष्ठित व्यक्तिहरुको अनुरोधमा अमृतसरका विभिन्न धार्मिकस्थललगायत सार्वजनिक स्थानहरुमा प्रवचन राखियो । सतसंगमा मानिसहरुको उल्लेख्य रुचि बढ्यो र सहभागितामा निकै बृद्धि भएपछि कथावाचक एवं शास्त्रवादीहरुले अन्ध श्रद्धालुहरुलाई ब्रह्माकुमारीजको ज्ञानमा नजान दबाव दिन थाले । विभिन्न बिघ्न बाधाहरु हाल्दै समाज बहिष्कारसम्म गर्न भ्याए ।
तथापि जसले जीवनमा अलौकिक परिवर्तनको अनुभूति गरिसकेका थिए । जो निश्चय तथा आफ्नै विवेकमा अडिक र अविचलित थिए, उनीहरुको पहलकदमीमा अवरोध बिरोधका बावजुद पनि स्थानीय सेवाकेन्द्र खुलेर सेवा शुभारम्भ भयो ।
गीता जयन्तीको अवसरमा हिन्दी र अंग्रेजी भाषामा छापिएका पुस्तिका आचार्य, विद्धान तथा सर्वसाधारणलाई बाँडियो । उक्त पुस्तिकामा लेखिएको थियो कि आजको मानव परमात्माको दिव्य नाम, धाम र दिव्य कर्तव्यको यथार्थ ज्ञानबाट अपरिचित छन् । आफ्नो आदि सनातन देवी देवता धर्मलाई भुलेर ‘हिन्दु’ कहलियौं । गीता ज्ञानदाता श्रीकृष्ण नभएर परमात्मा शिव हुनुहुन्छ ।
उहाँले वास्तवमा कलियुगको र सतयुगको संंगममा ब्रहमाको साधारण मानवी तनमा दिव्य परकाया प्रवेश गरेर गीता ज्ञान दिनुभयो र यही ज्ञानबाट कलियुगी महाविनाश/महापरिवर्तन भएर सतयुगको पुनःस्थापना भएको थियो । श्री राधा र श्रीकृष्ण द्वापरयुगमा होइन् सत्ययुगका प्रथम श्रेष्ठ दैवीगुणले सम्पन्न राजकुमारी राजकुमार हुन । उहाँहरुो स्वयम्वरपश्चात् श्री लक्ष्मी श्री नारायण कहलिन्छन् ।
त्यसैले शास्त्रमा कहीँ पनि श्रीकृष्णको जवान रुप र श्रीनरायणको बच्चा रुप देखाइँदैन । गायन पनि छ- श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव् । यसबाट हामी प्रष्ट हुन सक्छौ कि श्रीकृष्ण नै श्री नारायण (विष्णु) हुन् ।
विश्वशान्तिका संस्थापक पतित पावन परमात्मा शिव ब्रह्मामुखद्वारा ज्ञानको रहस्योद्घाटन गर्नुहुन्छ- ‘विश्वशान्ति स्थापनाका लागि हे मनुस्यात्माहरु तिमी चिन्ता नगर, यो मेरो कार्य हो । बरु मलाई यसमा सहयोग गर । तिमी मन-बचन र कर्मले पवित्र बनेर मनैदेखि मेरो स्मृति वा यादमा रहने अभ्यास गर ।
सतयुगी दैवी सृष्टिको पुनःस्थापनाको महान योजनामा तिमीहरुको पनि सहभागिता हुनुपर्दछ । विश्वमा सम्पूणर् शान्ति त केवल सतयुगमा मात्र हुन्छ । त्यसैले त्यस्तो सम्पन्नताको दुनियाँमा जानलाई तयारी गर्दै गर किनकि तिमीहरुलाई साथ लिएर जान अनि अहिले तिमीहरुको पुरुषार्थको प्रारम्भ अनुरुपको स्वर्गको राज्य भाग्य दिनलाई यस संगममा मेरो अवतरण भइसकेको छ ।
अतः सबै धार्मिक नेताहरु स्वयं पवित्र एवं योगयुक्त बनेर अरुलाई पवित्र बनाउने र एक ईश्वरलाई याद(स्मरण) गर्ने सन्देश देऊ । यो समय विश्व इतिहास पुनरावृति हुने अन्तिम चरणमा छ ।’ परमात्मा शिवप्रति मानिसहरुको यति धेरै स्नेह र सम्मान छ तर उहाँको धाम, कर्तव्य र सम्बन्धबारे अनभिज्ञ छन् ।
एकातिर शिवको पूजा गरिन्छ अर्कोतर्फ शिवोहम् अर्थात म स्वयं शिव हुँ भनेर भनिन्छ र तेश्रो गुरुलाई शिव नै मानेर भक्तिभाव जनाइन्छ । कस्तो विडम्वना ! त्यसैले त सबै चिज हुँदाहुँदै पनि हामी अनाथ र कंगाल समान भएका छौ । अनेकौ जन्म भक्तिको फल ज्ञान प्राप्त हुन्छ र ज्ञानबाट नै सद्गति मिल्दछ । ईश्वरीय ज्ञानलाई अञ्जन भनिन्छ । ज्ञानलाई दिव्य चक्षु मानिएको छ । जसको अर्थ ज्ञान नेत्र विना मनुस्य जीवन नेत्रहीन समान हुन्छ ।
शिव भगवानुवाच : यस सृष्टिका सर्वश्रेष्ठ मेरा सुन्दर रचना हे मानव आत्माहरु ! न त यस संसारभन्दा माथि कुनै स्वर्ग छ न यस पृथ्वी तल अर्को नर्क छ । स्वर्ग वा नर्क तिम्रै कर्मले निर्धारण गर्ने कुरा हो, जुन यसै धरतीमा हुन्छ ।
शिवबाबाले ज्ञानको गहिरो राज र भविष्यको हुने घटना दुर्घटनाको सन्दर्भमा ब्रह्मा मुखकमलबाट हामीलाई पूर्व संकेत गरिसक्नु भएको थियो कि-एटम बम र हाइड्रोजन बमजस्ता विनाशका साधन बन्दैछन् जसले तृतीय विश्वयुद्ध निम्त्याउने छन् ।
जुन कसैले चाहेर पनि रोक्न सक्ने छैन किनभने महाविनाशको ज्वाला यसैबाट बल्नेछ र आसुरी मतको समाप्ति हुनेछ । त्यसपछि एक दैवीधर्म, एक चक्रवर्ती दैवी मर्यादावाला राज्य र एक भाषा हुनेछ । फेरि यस सृष्टिमा २५०० वर्ष कुनै युद्ध, कुनै अशान्ति तथा कुनै अप्राप्ति हुने छैन ।
निर्विघ्न एक अखण्ड संसारमा यथा राजारानी तथा प्रजा रहनेछन् । परमात्माको ईशारा अनुसार हामी सृष्टि चक्रको अन्तिम घडीमा छौ । तसर्थ अन्तिम समयमा यस्तो पुकार वा गुनासो नगर्नु कि प्रभु ! हजुर यस धर्तीमा आएर साधारण मानव तनमा दिव्य अवतरण भै फर्किसक्नुभएछ । जसले हजुरलाई चिनेर यहाँको श्रीमत वा शिक्षालाई जीवनमा अपनाएर धन्य अनि महान बनाए र हामीलाई त थाहै भएन ।
जापानलगायत अन्य देशमा भएको सेवा समाचार सम्बन्धमा ब्रह्माकुमारीजकी अन्तराष्ट्रिय अतिरिक्त मुख्य प्रशासिका डा. दादी रतनमोहिनीको यस्तो अनुभव छ- जापानको एक प्रशिद्ध तेनरिक्यो भन्ने संस्थाले कल्पबृक्षको चित्रलाई निःशुल्क मुद्रण गरी प्रचारमा ल्यायो । त्यसैगरी ‘विश्वशान्ति’ ‘द्धितीय विश्वधर्म सम्मेलन’ बारे लेखिएको पुस्तिका जापानका विभिन्न संगठन र विशिष्ट व्यक्तिहरुलाई वितरण गरियो ।
भिन्न-भिन्न स्थानमा सभाहरुको आयोजन गरी हाम्रो भाषण राखियो र मानिसहरुले रुचिपूर्वक ईश्वरीय ज्ञान सुन्न लालायित देखिए । विदेश यात्रा र ईश्वरीय कार्यकोबारे बरिष्ठ राजयोगी दादा आनन्दकिशोर यसरी व्यक्त गर्नुहुन्छ- जापान, हङकङ, सिंगापुर, मलाया र इण्डोनेशियामा गएर विशिष्ट महानुभावहरु र भारतीय मूलका व्यक्तिहरुलाई परमात्मा अवतरणको सूचना तथा मानसिक शान्ति, सम्बन्धमा मधुरता र कार्य व्यहारमा सन्तुलनजस्ता शुभ सन्देश दिने अवसर प्राप्त भयो ।
उहाँ अगाडि लेख्नुहुन्छ- टोकियोबाट प्रकाशित समाचारपत्र ‘फ्रि प्रेस बुलेटिन’ (२२ मार्च १९५५) सिंगापुरबाट प्रकाशित ‘सिंगापुर स्टेण्डर्ड’ (१ नोभेम्वर १९५५)को संस्करणमा हाम्रो यात्रा र संस्थाको उद्देश्य राखेर छापियो ।
त्यसैगरी इण्डियन एक्सप्रेस र हिन्दु समाचारमा ब्रह्माकुमारी बैनीहरुको पूर्वीय देशबाट वापसी भन्ने शीर्षकमा प्रकाशन र प्रसारण भयो । सण्डे स्टेण्डर्ड भन्ने पत्रिकाले जापानको विश्वधर्म सम्मेलनमा ब्रह्माकुमारीजका प्रतिनिधिहरुका फोटोसहितको भाषणको सारांश छापिएको थियो ।
साउदी अरेबियाका राजा र रुसका प्रधानमन्त्री वुल्गानिनलाई दिल्ली भ्रमणको शुभ अवसरमा माउन्ट आवू दर्शनको निम्तो दिइयो । अर्कोतिर विशाल मेला र प्रर्दशनीहरुमा ब्रह्माकुमारीजका गतिविधिहरुलाई नजिकबाट अध्ययन गर्ने र ब्रह्माकुमारी दिदी बैनीहरुका प्रवचन सारांशलाई महत्व दिँदै प्रकाशन एवं प्रशारण गरियो ।
अखिल भारत वर्षीय भक्तियोग दार्शनिक सम्मेलन १९५५ को प्रसङ्ग जोड्दै दादी गंगाजीको अनुभव यस्तो थियो- सम्मेलनमा विभिन्न विद्वान्, पण्डित आचार्य तथा सन्यासीहरुको उल्लेख्य सहभागिता थियो । मञ्चमा कतिपटक त मत विरोध हुन्थ्यो ।
जनताले स्पष्टरुपमा वाकयुद्ध देखे । एक विद्धान भाषण गर्थे, अर्का विद्वान् वक्ता पूर्व विद्वानको भाषणलाई शास्त्रहरुको हवाला दिँदै खण्डन गर्दाको दृश्य अचम्म र अन्योलपूणर् हुन्थ्यो कि कुन मार्ग सत्य हो ? विद्वान्, पण्डित आचार्यहरुको शीतल स्वभाव प्रभु चिन्तन गर्ने शैली एवं मनको शान्ति प्राप्तिको अभिलाषी जिज्ञासु वा भक्त आत्माहरुको आशा निराशामा त्यतिखेर बदलियो जतिबेला पण्डितहरुको पण्डित्याइँको नशा वा अभिमानको प्रत्यक्ष बने ।
विद्वान् महोदयहरुको क्लिष्ट भाषा र शास्त्रलाई आफूअनुकूल व्याख्या गर्ने प्रयास हुन्थ्यो । त्यस प्रकारको अशान्ति र हलचलको परिस्थितिमा वायुमण्डललाई शान्त बनाउँदै परमात्माको दिव्य सन्देश र राजयोग मेडिटेशनको व्यवहारिक प्रयोगले सबैमा खुशी र मानसिक शान्तिको अनुभूति गराउने कार्य हामीले गर्यौ ।
संस्थाकी प्रथम मुख्य प्रशासिका मातेश्वरी जगदम्बाले २९ फरवरी १९६० श्री श्री १००८ उपाधि धारण गर्नु हुने जगद्गुरु र श्री श्री १०८ पदवी लिनु हुने महामण्डलेश्वरको नाममा लेखिएको पत्रको व्यहोरा यस्तो थियो- ‘श्री शव्द त केवल देवी देवताहरुलाई प्रयोग हुनसक्छ किनकी उनीहरु पूणर्तः पवित्र हुन्छन् ।
त्यसैले प्रत्येक अंगलाई कमल शव्दसँग जोडिएको छ । जस्तै चरणकमल, हस्तकमल नयनकमल आदि । श्री श्री त देवहरुका पनि देव महादेव अर्थात एक परमात्मा पिता शिवलाई मात्र शोभनीय हुन्छ । सबै मनुस्य आत्माहरुको सद्गुरु एक ज्योतिस्वरुप परमात्मा शिव हुनुहुन्छ किनभने गुरुको अर्थ मुक्त गर्नेवाला वा कल्याण गर्नेवाला हुन्छ । तसर्थ जगद्गुरु कुनै पनि मनुस्यको नामको साथ हुनै सक्दैन ।
गुरु विना गति (मुक्ति) प्राप्त हुँदैन भन्ने गरिन्छ परन्तु भारत वर्षमा गुरु कहलाउनेको संख्या लाखौं भन्दा अधिक छ तर हामी देख्दैछौ यहाँ त सद्गतिभन्दा दुर्गती अर्थात भ्रष्टाचार र पापाचारको मार्गमा चलिरहेका छन् । जनसंख्याको तीव्रतर बृद्धि भइरहेको छ । परमधाम वा मुक्तिधामदेखि मनुस्य आत्माहरु छिटो-छिटो जन्म लिइरहेका छन् । कुनै पनि आत्माको गति सद्गति त भएकै छैन ।
इतिहास साक्षी छ कुनै पनि मनुस्य सारा जगतको गुरु हुन सम्भव छैन । कर्म सन्यासीहरु जसले आफ्ना पत्नी पुत्र-पुत्री वा सन्तानलाई छोडे, मित्र सम्बन्धीबाट अलग्गिएर जंगलतर्फ लागे । आफूलाई र आफ्ना परिवार जनको उद्धार गर्न नसक्नेहरुलाई कुन अर्थमा कसले जगद्गुरु उपाधि धारण गर्ने अधिकार दियो ? जो यस जगत्लाई मिथ्या अथवा स्वप्न मात्र सम्झिन्छन् भने जगद्गुरु कसका लागि ?
त्यसैगरी १०८ वैजयन्ती माला तथा रुद्राक्ष माला परमात्मा शिवसँग सम्बन्धित छ । सारा जगतकोे गुरु उहाँलाई भनिन्छ जो अदीक्षित अर्थात जसको आफ्नो गुरु कोही छैन परन्तु मनुस्यहरुमा त यस्तो कहीँ देखिँदैन । यस्ता गुरु त एउटै परमात्मा नै हुनुहुन्छ । तीन देवताहरु (ब्रह्मा, विष्णु र महेश्वर) का रचयिता/त्रिलोकीनाथ एवं अजन्मा भएर पनि तीनै लोक र तीनै काल जान्नेवाला हुनुहुन्छ । मनुस्य स्वयं अजन्मा हुनै सक्दैन ।
कर्मको गुह्य गतिको जानकार हुँदैन तथा स्वयं मायाजीत पनि छैन । यही जगत अथवा मण्डलको एक प्राणी जो व्याधी, काल, रोग ईत्यादिको अधीन छ, उसैलाई के कसरी मण्डलेश्वर/महामण्डलेश्वरले सुशोभित कसरी गर्न सकिन्छ ? यस भू-मण्डलमा वौद्ध, जैन, ईशाई, मुस्लिम, शिख आदि धर्मका अनुयायीहरु छन् भने एउटा धर्ममा समेत कति आचार्य छन् ।
सबैले एउटा मनुस्यलाई आफ्नो गुरु पनि मान्दैनन् भने मनुस्य स्वयंलाई जगद्गुरु वा महामण्डलेश्वर कसरी भन्न सक्छन् ? आफैलाई जगद्गुरु वा महामण्डलेश्वर मानेर एक सद्गुरु परमात्मादेखि विमुख गराएर घोर पाप कार्य भइरहेको छ ।
कथित गुरुहरु भन्छन् कि गुरु त परमात्माभन्दा ठूला हुन किनकि परमात्माले मनुस्यलाई यस सांसारिक मायाजाल या दलदलमा धकेल्दछन् भने गुरु त्यसबाट निकाल्ने कार्य गर्छन । ओ हो घोर अनर्थ ! पतितपावन, दुःखहर्ता सुखकर्ता दयालु कृपालु सतयुग सृष्टिका रचयिता मुसक्त जीवनमुक्तिदाता परमात्मा पिताको हदैसम्मको निन्दा भनौ या अपमान भनौ । यो त खुलेआम मनुस्यलाई नास्तिक बनाउने मार्ग दिने र आफूलाई भगवान भन्दा माथि कथित महामूर्खकै कारण संसारको यो हालत भएको हो ।
तसर्थ सनम्र निवेदन छ कि जगद्गुरु तथा महामण्डलेश्वरको उपाधि त्याग्नुहोस् । त्याग नगर्ने घोषणा गर्नु हुने भए उक्त पदवि धारण गर्नु पर्नाको औचित्यसहितको पत्राचार गर्नु होला ।’ तर सो पत्रको जवाफ लेख्ने कार्य भएको देखिएन ।
यसरी तार्किक र स्पष्ट ज्ञानको अमृतधारा प्रवाहित हुँदै समाजको हरेक क्षेत्र वर्गमा प्रवाहित हुँदै गर्दा एकचोटी फेरि यो सत्यतालाई हजम गर्न नसक्नेहरुको झुण्डले संस्थालाई बदनाम गराउने, अस्तित्व समाप्त पार्ने र सतसंगमा जानेहरुलाई यातना दिने मात्र नभै ज्यानै लिने धम्कीसम्म दिएको घटना जीवनको पलटानेवाली जीवन कहानी भाग २ मा वणर्न गरिएको छ ।
तथापि यो कार्य कुनै सन्यासी साधु वा मनुस्यको थिएन यस कार्यको सञ्चालक स्वयं विश्व नियन्ता सर्वेश्वर शिव परमात्माको भएकोले जतिसुकै आँधीबेहरी वा चुनौतीमा समेत संस्थाका गतिविधिहरुले निरन्तरता पाइरहे ।
संस्थाका विश्व कल्याणार्थ अनेकतालाई एकतामा बाँध्ने महाअभियानमा नारी शक्तिको अदम्य साहस र शक्ति वा ताकतको उच्च सम्मानस्वरुप युर्निभर्सिटी अनुदान आयोगको सिफारिसमा भारतको संसदले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयलाई ‘विश्व विद्यालय’को रुपमा मान्यता दियो ।
परन्तु युनिभर्सिटी शव्दको प्रयोग गर्न नपाइने शर्त तोकिदियो । अनेक प्रयास पश्चात आयोगका अध्यक्ष समक्ष गोल्डी युनिभर्सिटी लेख्न पाइयोस् भनी संस्थाले राखेको प्रस्तावमा संसदले कानुन परिवर्तन गरी संशोधन गरेपछि स्वीकृति दिन सकिने आयोगको जवाफ प्राप्त हुन आयो ।
युनिभर्सिटी हुनुपर्ने आधारहरु यसरी उल्लेख गरियो-
१. युनिभर्स (विश्व) का पिता शिक्षक एवं सद्गुरु वनेर परमात्मा शिव नै परमशिक्षक भएर शिक्षा दिनुहुन्छ ।
२. यस शिक्षामा युनिभर्स को आदि मध्य अन्तको ज्ञान प्रदान गरिन्छ ।
३. विश्व विद्यालयको अंग्रेजी अनुवाद University हुन्छ ।
४. यो विश्व विद्यालयको लक्ष्य ईश्वरीय ज्ञान विज्ञान समस्त विश्वको आत्माहरुसमक्ष पुर्याउनु हो ।
५. यही ज्ञानबाट विश्वमा अटल, अखण्ड एवं निर्विघ्न स्वराज्य पद प्राप्त गर्न सकिन्छ ।
६. यस ज्ञानको धारणाले जीवनमा दिव्यता आउनेछ र युनिभर्सिटी का सबै समस्याहरुको एकैपटक समाधान हुनेछ ।
७. यसमा अध्ययन गर्ने कसैलाई पनि धर्म, जात लिंग, वर्ग र देशको आधारमा विभेद गरिनेछैन अर्थात यो खुल्ला रुपमा सबैलाई शिक्षा दिन तत्पर हुनेछ ।
क्रमशः ओम् शान्ति ।।
लेखक डिभिजन वन कार्यालयका अधिकृत एवं एक आध्यात्मिक अभियन्ता ब्रह्माकुमारीज दाङका प्रवक्ता हुन् ।
