Goraksha

National Daily

बीपी : देशप्रति चिन्तित नेता

डा.रामबरण यादव

२०१७ साल पुस १ गतेको घटनाताका म जनकपुरमा थिएँ । त्यसबेला म सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थें । बीपीको सरकार र संसद भङ्ग भएको थियो । राजा महेन्द्रले शासन आफ्नो हातमा लिएका थिए । त्यसबेला अहिलेको धनुषा जिल्ला पनि महोत्तरी नै थियो । महोत्तरी जिल्ला विराटनगरपछिको मुख्य गढजस्तै नै थियो । किनकि रामनारायण मिश्र, महेन्द्रनारायण निधि, शम्भुप्रसाद कोइराला, बोधप्रसाद उपाध्यायजस्ता काङ्ग्रेसका नेताहरू पनि महोत्तरीकै हुनुहुन्थ्यो ।

बीपी जेलमा भएकाले चर्चामा हुनुहुन्थ्यो । २०२० सालमा म जनकपुरबाट काठमाडौं आएँ । त्यतिबेलासम्म पञ्चायत मजबुद बनिसकेको थियो । काठमाडौं आएर म कलेज पढ्न थालें ।

२०२४ म बिएससी अध्ययनका लागि कलकत्ता गएको थिएँ । २०२५ सालमा बीपी जेलबाट छुट्नुभयो । बीपी जेलमुक्त भएपछि भारत जानुभयो ।

त्यसबेलै कलकत्ताको पार्क होटलमा उहाँसँग पहिलो भेट भयो । बीपी पार्क होटलमा बस्नुभएकाले १३ जना विद्यार्थीसहित म उहाँलाई भेट्न गएको थिएँ ।

त्यसपछि फागुन ७ को प्रजातन्त्र दिवस मनाउँदा हामीले हाम्रो कार्यक्रममा बीपीलाई बोलायौं । उहाँ दुई पटक आउनु पनि भयो । साथै हामी बसेको होस्टेलमा पनि बीपी, गणेशमान, गिरिजाबाबुलगायतका काङ्ग्रेसका नेताहरू पनि आई नै रहनुहुन्थ्यो । सुवणर् शमशेर त्यहीँ बस्नुहुन्थ्यो । त्यसकारणले पनि बीपीसँग सामिप्यता हासिल भयो ।

बीपीलाई भेट्दा के गर्नुपर्छ भन्नुस्, हामी जे गर्न पनि तयार छौं, पढाइ छोडेर आन्दोलनमै जानु परे पनि हामी जान्छौं भनेर हामीले भनेका थियौं । बीपीले ‘तपाईंहरू पढ्न आउनुभएको छ, त्यसैले राम्रो डाक्टर, इन्जिनियर बनेर नेपाल फर्कनुस्, नेपाललाई दक्ष प्राविधिक जनशक्तिको खाँचो छ’ भन्नुभएको थियो ।

उहाँले भनेको म अहिले पनि सम्झिरहन्छु- ‘भारतमा राम्रो लोकतान्त्रिक वातावरण छ । धेरै कुराहरू सिक्न सकिन्छ, त्यसैले सिक्नुस् पछि देशलाई जरुरी भएपछि तपार्इंहरू नेपाल फर्किहाल्नु हुन्छ । उपचारका लागि आएका नेपालीहरूलाई उपचारमा सहयोग गरिदिनुस् र हाम्रो आन्दोलनको बारेमा पनि केही जानकारी गराइदिनुस् । यति गर्नुभयो भने हुन्छ । तपार्ईंहरूले अहिले आन्दोलन गर्नुपर्छ भनेर म भन्दिनँ असल डाक्टर बनेर नेपाल फर्कनुस् ।’

यसरी उहाँलाई पहिलोपटक नजिकबाट बुझ्ने मौका पनि मिल्यो ।

दश वर्ष कलकत्तामा बसेर डाक्टरी पढाइ सिध्याएपछि २०३६ सालको जनमत संग्रहताका म नेपाल फर्किएर जनकपुरमा बसेर डाक्टरी काम गर्न थालेको थिएँ । त्यो बीचमा बीपी दुई/तीन पटक नै जनकपुर जानुभयो ।

मेरै छिमेकी लिला कोइरालाको घरमा उहाँ बस्नुहुन्थ्यो । मैले नै उहाँको ब्लड प्रेसर चेक गर्नेलगायतका काम गरेको थिएँ । त्यसकारण पनि बीपी कोइरालासँग म नजिक हुँदै गएँ ।

२०३६ सालको जनमत संग्रहमा मैले पनि काङ्ग्रेसबाट सक्रिय भएर काम गरेको थिएँ । बिहान दिउँसो क्लिनिकमा काम गर्थें, अनि बेलुकी गाउँ-गाउँ डुलेर बहुदलको विषयमा प्रचार गर्दै हिँड्थें ।

जनकपुर क्षेत्रमा जनमत संग्रहमा जित्ने माहोल तयार पारिएको थियो । तर षड्यन्त्रहरू भए र समग्र देशभरिमा निर्दलको जित भयो । २०३९ सालमा बीपी कोइराला बिरामी पर्नुभयो । अल इण्डिया इन्स्टिच्युडमा डाईग्नोसिस गरेर बीपी नेपाल फर्कनुभयो ।.

पञ्चायतको डरका कारण त्यसबेला सरकारी डाक्टरहरूले बीपीलाई हेर्दैनथे । सशाङ्क र शेखर दुबैजना अध्ययनको शिलशिलामा भारतमा थिए । डाक्टर धु्रब शर्मा पनि बीपीसँगै आउनुभएको थियो । उहाँले मलाई फोन गरेर ‘बीपीलाई २४ घण्टा रखवारी गर्ने डाक्टर चाहिएको छ, काङ्ग्रेससँग नजिक भएको डाक्टर खोजिरहेका छौं तपाईं क्लिनिक बन्द गरेर आउन सक्नुहुन्छ’ भनी सोध्नुभयो ।

त्यसबेला मेरो क्लिनिक निकै राम्रो चलिरहेको थियो । मैले सोचें कि बीपीजस्तो महान नेता, जिन्दगीभर प्रजातान्त्रिक आन्दोलनमा लागेको व्यक्तित्वको उपचार गर्न पाउनु भनेको त मेरो सौभाग्य हो । त्यसैले म बीपीको उपचार र हेरचाहको लागि बस्न राजी भएँ ।

क्लिनिक बन्द गरेर लगभग तीन महिनाजति म उहाँसँग बसेको थिएँ । हाम्रो टिममा चारजना थियौं । टिममा सिनियर म थिएँ । उहाँसँग यसरी तीन महिना बिताउँदा झन धेरै बीपीलाई बुझ्ने मौका मिल्यो ।

त्यस्तो बिरामी हुँदा पनि बीपी कति अनुशासित हुनुहुन्थ्यो भने, कतिबेला खाने ? कतिबेला सुत्ने ? कतिबेला औषधि खानुपर्ने हो ? लगायतका कुरामा बहुत सचेत हुनुहुन्थ्यो । उहाँ कहिलेकाहीँ सोध्नुहुन्थ्यो, ‘मलार्ई यो रोगले कतिसम्म बाँच्न दिन्छ ?’ बिरामी भएर अन्तिम अवस्थामा रहँदा पनि उहाँको चिन्ता ‘देशमा प्रजातन्त्रलाई स्थापित गराउन मैले केही दिन बाँचुञ्जेल के गर्न सक्छु ?’ भन्नुहुन्थ्यो ।

अन्तिम दिनहरूमा बीपी सोधिरहनुहुन्थ्यो कि म कति दिन बाँच्छु मलाई धेरै कुरा गर्नु छ । धेरै कुरा लेख्नु छ । नेपाली काङ्ग्रेसको इतिहास लेख्नु छ भनेर चिन्तन गरिरहनुहुन्थ्यो । एकपटक बीपीको माइलो छोरा जर्मनीमा पढ्न जानको लागि छनोट भएका थिए, तर तत्कालीन सरकारले जान दिएन । बीपीले जर्मनी नगए केही पनि हुँदैन यो सरकारसँग म झुक्न जान्न भनेर भन्नुभएकोे थियो । उ

हाँको प्रजातन्त्रप्रति परिवारभन्दा पनि बढी लगाव थियो भन्ने यसको उदाहरणबाट पनि प्रष्ट हुन्छ ।

उहाँलाई भेट्नका लागि र हेर्नका लागि मानिसहरू दिनभरि नै आइरहन्थे । उनीहरूलाई कति पर बसेर हेर्र्न र बोल्न दिने ? यो सब मेरो जिम्मामा थियो । किनकि बीपीलार्ई केमोथेरापी गराइएकोले इन्फेक्सन हुने सम्भावना बढी हुन्थ्यो ।

गणेशराज शर्मा, पुरुषोत्तम बस्नेत, शैलेजा आचार्य काङ्ग्रेसको इतिहास रेकर्ड गराउनका लागि आउनुहुन्थ्यो । काङ्ग्रेसका कार्यकर्तादेखि लिएर कम्युनिष्टको नेता मनमोहन अधिकारीसमेत बीपीलाई भेट्न आइरहनुहुन्थ्यो । देशभरबाट सर्वसाधारणहरू पनि बीपीलाई भेट्न आइरहेका हुन्थे ।

एउटा घटना मलाई अहिले पनि याद आइरहको छ । कालीकोटबाट एकजना व्यक्ति आए । उनी प्रधानपञ्च भइसकेका थिए । तर ‘बीपीजस्तो प्रजातन्त्रका लागि लड्ने योद्धाका लागि नागरिकका नाताले १० हजार चन्दा उठाएर लिएर आएको छु, तपार्इंको उपचारमा सहयोग पुगोस्’ भनेर १० हजार रूपैयाँ दिएर गए ।

हुन पनि, त्यसबेला बीपीको उपचारका लागि पैसाको निकै जरुरी थियो । कहिलेकाहीँ त खाना खाने पैसासम्म पनि हुँदैनथ्यो । एकपटक राति खानेकुरा केही पनि थिएन । गिरिजाबाबु आउनुभयो र मसँग ‘डाक्टर साब तपार्इंसँग केही पैसा छ?’ भनेर सोध्नुभयो ।

मसँग पैसा थियो । मैले ‘छ, किन ?’ भनेर सोधें । ‘हामी १०/१५ जनाले एउटै मेसमा खाना खान्थ्यौं, तर आज मेसमा खाने कुरा केही पनि रहेनछ’, गिरिजाबाबुले भन्नुभयो ।

अनि मैले चार सय रुपैयाँ निकालेर दिएँ । मेस चल्यो र हामी सबैले खाना खायौं । यस्तै प्रकारले निकै पटक मेसमा समस्या पथ्र्यो । पछि उहाँको बहिनी (सबैले बुनु दिदी भन्थे) पाकिस्तानबाट आउनुभयो र एक-डेढ महिना मेस चलाउनुभयो । दीर्घराज कोइराला पनि नियमित जस्तै आएर पैसा दिनुहुन्थ्यो ।

त्यस्तै अनिलमान शेरचनले पनि शनिबार-शनिबार ममार्फत नियमित पैसा दिनुहुन्थ्यो । उहाँ तत्कालीन साल्ट टे्रडिङ कर्पोरेसनको चेयर म्यान हुनुुहुन्थ्यो । यस्तै तरिकाले त्यहाँको मेस चलिरहेको थियो ।

एवं प्रकारले म तीन महिनाजति बीपीसँगै बसें । उहाँसँगै बस्दा-बस्दै मेरी श्रीमती बिरामी भइन् र म घरतिर गएँ । उपचारका लागि भारत लगें, श्रीमतीको निधन भयो । म घरतिर बसिरहेको थिएँ ।

बीपी सिरियस भएर बैंकक लगेको खबर थाहा पाएँ । उहाँलाई बैंककबाट फर्काएर ल्याएको भोलिपल्टै बीपीको स्वर्गवास भएको खबर पाएँ । यस्तो दुःखद् खबर सुनेपछि तत्कालै म जनकपुरबाट काठमाडौं आएँ ।

भोलिपल्ट उहाँको शवयात्रामा सहभागी भएँ । त्यति ठूलो जनसागर अहिलेसम्म मैले देखेको छैन । बीपीको अन्तिम दाहसंस्कार भइरहँदा निकै ठूलो जनसागर पशुपतिमा उर्लिएको थियो ।

बीपी बहुप्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँ रसिया, फ्रेन्च, अमेरिका साउथ एसियाको राजनीति, हरेक खालका साहित्य एवं मेडिकल जुनसुकै क्षेत्रको विषयमा पनि फरर भनिदिनु हुन्थ्यो ।

राष्ट्रवादी नेता बीपीसँग विभिन्न कालखण्डमा मैले गरेको सङ्गतको आधारमा म भन्नसक्छु कि, उहाँ जुनसुकै क्षेत्रमा पनि दख्खल भएको मान्छे हो ।

उहाँको सम्झन सक्ने क्षमता समेत अदभूत थियो । उहाँले एकपटक देखेको र भेटेको मान्छे कहिल्यै पनि बिर्सनु हुुँदैनथ्यो ।

मलाई समेत उपपचारको लागि उहाँसँगै बस्न आउँदा तपार्इंलाई पहिलो पटक कलकत्तामा भेटेको, तपार्इं त्यसबेला डाक्टर पढ्दै हुनुहुुन्थ्यो भनेर भन्नुभएको थियो ।

आरके करञ्जिया भन्ने सम्पादक भएको एउटा पत्रिका थियो ईलास्टिटिक विक्ली । त्यो पत्रिकाले समेत दक्षिण एशियामै सबैभन्दा मेमोरी भएको नेताको रूपमा बीपी कोइराला र जुलफिकर भुट्टोको नाम प्रकाशित गरेको थियो ।

बीपी रहँदैका दिनमा नेपाललाई प्रजातान्त्रिक बाटोमा हिँडाउन सकेको भए आज देशको अवस्था यस्तो बन्ने थिएन । अर्को कुरा जब २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको स्थापना भयो, तब हामी काङ्ग्रेस र कम्युनिष्टबीच लडाई र झगडा शुरु भइहाल्यो । यसरी प्रजातन्त्र स्थिर हुन सकेन ।

यदि बीपी कोइरालाले पाँच वर्ष मात्रै नेपालमा प्रजातन्त्रान्त्रिक सरकार चलाइदिएको भए, आज नेपाल भारतभन्दा पनि विकसित र सम्पन्न बन्ने थियो । तर, बीपीले आमूल परिवर्तन खोज्दाखोज्दै जिन्दगी नै बिताउनुभयो ।

डा. यादवसँगको कुराकानीमा आधारित