Goraksha

National Daily

टाइमबार हटाइयो, साँझैसम्म पसल खुल्ने

दाङ, ५ साउन । कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनको आग्रहमा पसल खोल्न सयमसीमा लगाइएको अवस्थामा संक्रमणको अवस्थाको मूल्यांकन गर्दै पसल खोल्ने र व्यवसाय सञ्चालनको टाइमबार हटाइएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोभिड–१९ को संक्रमणका कारण यसअघि खोल्न भनिएका सबै पसल व्यवसायहरु साँझ ९ बजेसम्म सञ्चालन हुने निर्णय भएको छ’, सिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने । दैनिक जनजीवनलाई सहज बनाउँदै संक्रमणको जोखिममा विशेष ध्यान दिँदै उद्योग व्यवसायलाई सहजरुपमा सञ्चालनको वातावरण बनाउन पनि केन्द्रले आग्रह गरेको छ ।

यसअघि नखोल्न भनिएका सिनेमाहल, विद्यालयहरु, होटलहरु, व्यूटीपार्लर, जिमखानालगायतका व्यवसाय भने खोल्न पाइने छैन । खोल्न भनिएका पसलहरुमा पनि सेनिटाइजर र मास्कको प्रयोग गरी संक्रमणको अवस्थाप्रति सचेत रहन पनि केन्द्रले सबैमा आग्रह गरेको छ । सिसिएमसीको बैठकको निर्णयसँगै जिल्लाका सबै क्षेत्रमा व्यवसाय सञ्चालनको समयसीमा हटाइएको सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य संघहरुले बताएका छन् ।

दाङ उद्योग वाणिज्य संघले सिसिएमसीको निर्णयलाई स्वागत गर्दै आम व्यवसायीलाई सुरक्षित रहेर काम गर्न र व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरेको छ । ‘सुरक्षा व्यवस्था अपनाएर सबै व्यवसाय सञ्चालनका लागि आग्रह गर्दछौं, होटल व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्दछ’, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले गोरक्षलाई भने ।

डोमेस्टिक उडानसमेत सञ्चालनको तयारी भइरहेको अवस्थामा होटल व्यवसायलगायत सबै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने पनि अध्यक्ष भुसालको भनाइ थियो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघले पनि व्यापार व्यवसाय सञ्चालनको समयसीमा अब नरहेको भन्दै कोभिड संक्रमणअघि जसरी व्यवसाय सञ्चालनमा थिए, त्यसरी नै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (बीरु)ले वताए । यसअघि तुलसीपुर तथा घोराही बजारमा साँझ ५ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न सिसिएमसीले आग्रह गरेको थियो ।

बिजौरी उद्योग वाणिज्य संघले पनि व्यवसाय सञ्चालनको समयसीमा अब नरहेको भन्दै कोभिड–१९ को संक्रमणअघि जसरी नै व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई अपिल गरेको छ । सिसिएमसीले खोल्न भनेका सबै उद्योग व्यवसाय निर्धक्क तर सुरक्षित भएर सञ्चालन गर्न पनि संघका अध्यक्ष प्रेमनाथ योगीले आम व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘अधिकतम् स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न बिजौरी उद्योग वाणिज्य संघ सबै उद्योगी व्यवसायीलाई आग्रह गर्दछ’, अध्यक्ष योगीले भने ।