Goraksha

National Daily

धान दिवसको सन्देश

असार १५ लाई यो वर्ष अलि फरक ढङ्गले मनाइयो । कोभिड–१९ का कारण भीडभाड नहुने गरी मनाइए पनि यो दिनको महत्वलाई भने उस्तै रूपमा ग्रहण गरियो । माटोसँग जोडिएर, माटोको उब्जनी बढाउनका लागि सबैमा उत्साह जगाउँदै यो दिन बिदा भएको छ । मूलतः नेपाल कृषिमा आश्रित र कृषि उब्जनीले नै जीवन यापन गर्ने हाम्रो परम्परागत शैली र संस्कारका कारण माटोसँग यहाँका नागरिकको प्रेम प्रगाढ बनाउनै पर्ने हुन्छ । त्यसका लागि यो दिन एउटा महत्वपूर्ण अवसर हो । राष्ट्रिय धान दिवसका रूपमा सरकारले नै ०६१ सालदेखि यो दिनलाई विशेष कार्यक्रमका साथ मनाउन थालेको छ । उद्यपि त्यसपूर्व नै यो दिनको विशेष महत्व भने छँदै थियो ।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा बृद्धि आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ । असार १५ मनाइरहँदा दाङमा अहिले ३५ देखि ४० प्रतिशत धान रोपाई सकिएको छ । जिल्लाको देउखुरी क्षेत्रका धेरै स्थानमा धान रोपिसकिएको पनि छ । यस वर्ष समयमै वर्षात भएका कारण धान रोपाई छिट्टै सुरु भएको छ भने असारभित्रै रोपाई सकिने अपेक्षा गरिएको छ । दाङको सन्दर्भमा अर्को महत्वपूर्ण कुरा के पनि भएको छ भने यस वर्ष जिल्लामा गत वर्षभन्दा झण्डै ३ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती हुँदै छ । नेपालको सन्दर्भमा धानखेतीको चर्चा गर्दा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार ५० मिटर उचाइसम्म धानको खेती गर्ने गरिन्छ ।

नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो) को रुपमा धानखेती हुने गरेको छ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी हुने गरेको कृषि विभागले जनाएको छ । उत्पादन बृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्यपहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी जम्मा १ सय ३० वटा धानका जातहरु सिफारिस भइसकेका छन् भने वर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न २ वटा स्वदेशी हाइब्रिड धानका जातहरु सूचित हुने प्रक्रियामा रहेका छन् । धानको उत्पादकत्व बृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताको लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको सरकारी निकायले जनाएका छन् ।

हाम्रा लागि धान अभिन्न अङ्ग हो । कोभिड–१९को संकटको समयमा राहतको कुरा गर्दा चामल नै वितरण गरियो । यति मात्रै होइन, हाम्रो सन्दर्भको खाद्य अधिकारको कुरा गर्दा त्यो अन्ततः धानसँग गएर जोडिन पुग्दछ । त्यसकारण धान खेतीको प्रबद्र्धन गर्ने सन्दर्भमा सबैको सकारात्मक भूमिका आवश्यक त छ नै, सँगै माटो र हिलोप्रति प्रेम गर्नसक्ने संस्कृति जति प्रगाढ बन्छ त्यति नै धान उत्पादन बढाउन सम्भव हुन्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ । धान दिवसबाट पक्कै पनि हामीले यो सन्देश ग्रहाढ गर्न सकौँ ।