Goraksha

National Daily

तपाईं कति पानीमा हुनुहुन्छ ?

मनोज पौडेल

देशमा भ्रष्टाचार बढ्यो, कर्मचारी भ्रष्ट भए, देश तहसनहस भयो, भ्रष्टाचारीलाई किरा परोस् ! सामाजिक बहिस्कार गर्नु पर्छ, यी कुराहरु सुनिरहँदा मलाई लागेको कुरा के भने यी कुराहरु गर्नेमध्ये ५०५ भन्दा बढीले कि भ्रष्टाचार गरिरहेका छौँ वा भ्रष्टाचारलाई नैतिक समर्थन गरिरहेका छौँ ।

यस अर्थमा हामी सबै भ्रष्ट छौँ भन्दा अत्युक्ति नहोला । म कुनै पनि किसिमको भ्रष्टाचार विरोधी हुँ । त्यसैले कहीँकतै केही अनियमितता त भएको छैन ? म चासो राख्छु । मैले देखेका भ्रष्टाचारका केही दृष्टान्तहरु छन् । यो पढिसकेपछि विचार गर्नुहोला तपाईं कति पानीमा हुनुहुन्छ ?

१. एक पसलमा केही रु. ५०००।– को सामग्री खरिद गरिसकेपछि एक कर्मचारीले भन्नुभयो साहुजी ९००० को बिल बनाइदिनुस् है, ९००० को बजेट छ, अलिअलि त खानु प¥यो नि ? साहुजीले सजिलै बिल बनाइदिनुभयो ।

२. एक शिक्षक कापी किन्न पुस्तक पसल गए कापी किने, पुस्तक पसलेले भने ‘सर तपाईंको स्कूलमा फलानो पब्लिकेशनको किताब चभअयmmभलम गर्नुस्, म तलाई एउटा ल्यापटप र रु. ५०,०००।– दिन्छु र शिक्षकले हुन्छ भने ।

३. कुनै कार्यक्रममा करिब आधाजसो सहभागीहरु प्रायः जनप्रतिनिधि तथा कर्मचारी आए, हाजिर गरे गए र भत्ता बुझ्ने बेला आए, हस्ताक्षर गरे भत्ता बुझे ।

४. एक कार्यक्रमको लागि सहजकर्ताले प्रतिसहभागी रु. ५०।– का दरले स्टेशनरी किने र प्रतिसहभागी रु. ७५।– का दरले बिल बनाए ।

५. उनी अफिसको कुनै कामले बाहिर गएका थिए । रु. ८००।– को नर्मल रुममा बसे र रु. २२००।– को ए.सी. रुमको बिल बनाए ।

६. उनले एक कार्यक्रममा प्रतिसहभागी रु. १००।– बराबरको खाजा खुवाइन् र प्रतिसहभागी १५०।– बराबरको खाजाको बिल बनाइन ।

७. कोरोनाको कुनै पनि किसिमको औषधि नबनिसकेको अवस्थामा संसद्ले कोरोना भगाउने कार्ड लगाए ।

८. देश आर्थिक विषम परिस्थितिबाट गुज्रिरहेको, कर्मचारीहरुको सेवा सुविधा काटिरहेको र राज्यको ढुकूटी रित्तियो भनेर सरकारले उद्घोष गरिरहेको अवस्थामा जनप्रतिनिधिहरुले तलब–भत्ता तथा सुविधा बढाउनु ….. भ्रष्टाचारको चरम उत्कर्ष !

यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता कैयौँ तपाईं हामी सबैसँग छन् । यहाँ तेल, बेसार, घ्यू दिएर चाकडी गर्नेको संख्या कति होला ? भनसुन, चिनजान, एउटै पार्टीको भनेर कतिले जागिर खाएका होलान् वा हामी कति यी कुराबाट टाढा छौँ होला ? जब कुनै न कुनै माध्यमबाट हामी भ्रष्टाचार प्रबद्र्धन गरिरहेका छौँ भने न्यूनीकरणका कुरा तथा यो समस्याको बारेमा कुरा नगरेकै ठीक होला ।

जब इमानदारिता, वफादारिता, उत्तरदायित्व र जिम्मेवारीको कुरा गौण बन्छन् तब भ्रष्टाचार मौलाउँछ । जब जमीर नासिन्छ तब भ्रष्टाचार संस्कृति र परम्परा बन्छ र नेपालको सन्दर्भमा यो परम्परा बनिसकेको छ । खराब परम्परा र संस्कृति हटाउन कति गाह्रो छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

यहाँ भ्रष्टाचार के हो, कसरी भइरहेको छ भनेर हामी सबै जानकार नै छौँ । तर पनि मेरो विचारमा नेपालमा भ्रष्टाचार हुनुका २ प्रमुख कारण छन् :

१. पारदर्शीताको कमी
२. नीतिगत भ्रष्टाचार

१. पारदर्शीताको कमी
एकातिर सरकार पारदर्शीताको कुरा गर्छ अर्कोतिर पारदर्शी आर्थिक नीति नियमहरु छैनन् । जब कुनै कुरा प्रष्ट हुँदैन त्यहाँ चुहावट हुन्छ, चलखेल हुन्छ र लाग्छ जानिजानी अपारदर्शी नीति नियमहरु बनाइएको छ। उदाहरणको लागि कुनै कार्यक्रम गरिएको छ वा आवश्यक सामग्री खरिद गरिएको छ भने बजेट फस्र्योट गर्न त्यस कार्यक्रमको फोटो राख्नु पर्ने, स्टेशनरी वा अन्य सामान खरिद गरिएको छ भने त्यस सामानको प्रकृति अनुरुप ब्राण्ड नेम, मोडल नं, उत्पादित मिति आदि बिलमा राख्नु पर्ने र खाजाको हकमा खाजाको परिमाण र भेराइटी प्रष्ट लेख्ने र सोही कार्यक्रममै सार्वजनिक लेखा परीक्षण गर्ने प्रावधान अनिवार्य गरियो भने, सवारी साधनको लगबुक चुस्त दुरुस्त राख्नुपर्ने, स्टोर किपिङको रेकर्ड चुस्त दुरुस्त राख्नुपर्ने र कुनै पनि किसिमको अनियमितता गरेमा प्राइभेट सेक्टरको जस्तो शून्य सहनशीलता अपनाई जति वर्ष काम गरेको किन नहोस् ठाउँको ठाउँ बर्खास्त गर्ने प्रावधान गरियो भने भ्रष्टाचार निकै कम हुनेमा दुईमत छैन । तर गर्ने कसले भ्रष्टाचारीहरुको सञ्जाल निकै फैलिएको छ र मजबुत छ, माथिल्लो तहमा उनीहरु नै छन् ।

२. नीतिगत भ्रष्टाचार
पहुँचमा रहेकाहरुले आफ्नो फाइदाका लागि सोही अनुरुपको नीतिनियम बनाई राष्ट्रलाई दोहन गर्ने कार्य नीतिगत भ्रष्टाचार हो । उदाहरणको लागि

– आन्तरिक बैठकको भत्ता बुझ्ने प्रावधान
– कर्मचारी वा जनप्रतिनिधिको मासिक सेवा सुविधाको नाममा वैयक्तिक फाइदाका लागि अत्यधिक रकम विविध शीर्षकमा (यातायात खर्च, पत्रपत्रिका–इन्टरनेट, अतिथि सत्कार, विशेष सुविधा, खानेपानी–सरसफाई, विद्युत तथा ऊर्जा आदि) एकमुष्ठ छुट्याएर प्रक्रियागत रुपमा नीतिसंगत रुपले भ्रष्टाचार गर्ने, जसलाई सामान्य रुपले हेर्दा चोखो आम्दानी देखिने ।

नीतिगत भ्रष्टाचार निर्णय निर्माण तथा नीति निर्माण तहमा बसेकाले सजिलै गर्ने गर्छन र कसैले औँला उठाउने ठाउँ पनि रहँदैन । यस किसिमको भ्रष्टाचार कहिल्यै रोक्न सकिँदैन । जब नागरिक सचेत हुँदैनन्, यस विरुद्ध राष्ट्रिय अभियान चल्दैन र अभियान त्यतिबेला मात्र सार्थक बन्छ जब निर्णय तथा नीति निर्माण तहमा इमानदार र निःस्वार्थ देश, जनता र समाजको लागि केही गर्नुपर्छ भन्ने दृढसंकल्प लिएका नेतृत्व हामीले पाउने छौँ । तर यो त सम्भव देख्दिन म, किनकि हामी जनता कम राजनीतिक पार्टीका झोले बढी भयौँ । हाम्रो यस प्रवृत्तिले भ्रष्टाचार कम हुने होइन, यसको उचाई सगरमाथाभन्दा अग्लो हुनेछ, जुन कुरा प्रदेश नं ५ को निर्णयले उदाङ्गो पारिसकेको छ ।