calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

२०८१ प्रेम र सद्भावको वर्ष बनोस्

नारायणप्रसाद श्रेष्ठ
नयाँ वर्ष २०८१ साल सबैका लागि सुखमय होस् । मानवीय आचरण र व्यवहारमा सकारात्मक भाव जागृत होस्, जीवन र जगतलाई नजिकबाट नियालेर प्राकृतिक सत्यको पहिचान सबैले गर्न सकुन् । आफ्नो कर्तव्य र दायित्व बोध गरी २०८१ साल सबैको लागि साच्चिकै सफलताको वर्ष बनोस् । हार्दिक मंगलमय शुभकामना ।
भर्खरै २०८० ले हामीसँग बिदा लिएको छ । विगत सालमा हामीले समाज रुपान्तरणमा के ग¥यौँ । कति आदर्श भएर आफ्नो परम्परा र संस्कृतिलाई संस्थागत गर्न सफल भयौँ ? नयाँ पीडिको लागि नयाँ दर्शन दिन सक्यौँ या सकेनौँ ? के हामी राजनीतिक तरंगमा मात्र तरंगियौँ ? आफ्नो जिम्मेवारी र दायित्वलाई कसरी उपयोग ग¥यौँ ? अब मूल्यांकन गर्नु पर्ने भएको छ । हामीले निर्वाह गर्नु पर्ने आचरण र व्यवहारलाई हिजोको अनुभवको आधारमा भविष्यको रेखा कोर्नु अबको दायित्व बढेको छ ।

आँगनभित्र आएको एकासी साललाई उमंग र खुसीका साथ स्वागत गरौँ । जीवनलाई मानवीय आचरणयुक्त बनाउनेतर्फ चिन्तन गरौँ । एकासी साल हामी सबैको लागि प्रेम र सद्भावको वर्ष बनोस् । सद्बुद्धि, विवेकशील आचरण हामीमा जागृत होस्, मानव अस्तित्वको पहिचान गर्न सक्ने पवित्र सोच बढोस्, सुसंस्कृतिसँगै प्रेम, त्याग र समर्पणमा आधारित जीवनशैली बनोस् यही सदिक्षा अब हाम्रो चाहना हुन जरुरी छ ।

हुन त मानव जीवन कहिले पूर्ण हुँदैन । मानव स्वयम् विवेकशील भएर पनि कर्म, व्यवहार र अनुशासनमा कता–कता कमजोर रहेको पनि पाइन्छ । माया, मोह, क्रोध, राग, द्धेषले मानव आचरणमा बाधा पु¥याएको पनि पाइन्छ तर पनि ज्ञान र पवित्रता बोध गरेको हाम्रो सोचले स्वार्थको पर्दाभित्र लुटपुटिएको हाम्रो मोहलाई किन हटाउन नसकेको होला ? यसतर्फ गम्भीर हुन जरुरी छ । संस्कृति र संस्कार हाम्रो जीवनशैली हो । ज्ञानीलाई ज्ञानको ज्योति फैलाउने हाम्रो वैधिक संस्कृति र परम्परा हाम्रो जीवन चरित्र हो । अरु महत्वपूर्ण अनुभव र संस्कार हाम्रो आचरण सुधार्ने उत्तम विकल्प पनि हो ।

हामीभित्र रहेको दिव्यदृष्टिको पहिचानसँगै अनुकरण गरिँदै आएको हाम्रो परम्परागत संस्कृति र मान्यता हाम्रो आदर्श हुन् । यसैभित्र हामीले हाम्रो पहिचानसँगै अघि बढ्न २०८० ले सन्देश दिँदै एकासी सालले पाइला टेकेको छ । २०८० आफू विसर्जन भएर पनि नयाँ उत्साह र उमंगका साथ २०८१ आएको छ । दिन पछि रात, रात पछि दिन भने झै सुरुवात पछि अन्त्य र अन्त्य पछि सुरुवात यो प्राकृतिक सत्य हो । यसै सत्यभित्र समय र परिवेशले मानिसलाई परिवर्तित सोच वृद्धि गर्दै अघि बढेको पाइन्छ । तसर्थ यसलाई मध्यनजर गर्दै २०८० ले गलत कुराको परित्याग गरी नयाँ सोच ग्रहण गर्दै अघि बढ्न २०८१ लाई जिम्मेवारी थप्दै गरेको अवस्था छ । सोच र समर्पणमा आधारित जीवनशैली अबको आवश्यकता भनी हामीलाई घचघचाइरहेको छ । प्रेम र सद्भाव बाढ्दै अघि बढ्न हामीलाई सजग बनाइरहेको छ । पवित्र प्रेम नै हाम्रो जीवनको गति हो भनी उत्साह जगाउन उत्प्रेरित गरिरहेको छ ।

प्रेम मानव जीवनको आधार स्तभः हो । जसले प्रेमको परिभाषाभित्र रहेर निश्चल र निस्वार्थ प्रेम भाव प्रर्दशन गरी आफूलाई समर्पण गर्न सक्छ । वास्तवमा उ नै सफल हुन्छ । यो कुरा सबैलाई चेत होस् भनी एकासी सालले उत्साह थपिरहेको छ । प्रकृतिको नियम अनुसार चलिरहने प्रक्रियासँगै मन, वचन र कर्मबाट आचरण प्रदर्शन गर्न सर्तक गराइरहेको छ । प्रेम भरोसा र विश्वास हो । यसले दिन जान्दछ, लिन जान्दैन । प्रेममा दया, क्षमा र उत्साह हुन्छ । त्याग र समर्पण यसको विशेषता नै हो ।

यही प्रेमबाट नै मानिसले आफूलाई पवित्र गंगा सरह भूमण्डलमा व्यवहार गर्न सिकाएको हुन्छ । यही कुरा एकासीले हामीमा आशा र विश्वास राख्दै आएको छ । तसर्थ भौतिक सत्यभित्र रहेको सांसारिक गतिविधिबाट उत्पन्न आशक्ति र मोहलाई परित्याग गरी जीवन चक्रभित्र रही मानिसले मानिसप्रति गर्नु पर्ने आचरण र व्यवहारमा परिस्कृत गर्नु परेको छ । एकासी हाम्रो लागि आदर्श वर्ष बनोस् यही कामना ।
प्राकृतिक सत्यभित्र एकअर्काबिच सम्मान र सद्भाव राखी अघि बढ्ने आचरण र व्यवहारनै मानव सभ्यताले सिकाएको उत्कृष्ट चरित्र हो ।

बाह्य आवरणमा सजाइएको क्षणिक मोह र आशक्तिले आकर्षित गरेको वर्तमान समयले भौतिकतातर्फ मानवीय चिन्तन बढाइरहेको पनि देखिन्छ । यो अस्वभाविक पनि होइन । मानवीय संवेदनाशीलताभित्र छिपेको प्राप्तिको लालचले यस्तो हुनु अस्वभाविक विषय पनि होइन । समय र परिस्थितिलाई मूल्यांकन गर्न नसक्नाले उत्पन्न भएको यस्तो परिस्थिति जुनसुकै बेला पनि धारासयी हुन सक्छ । तसर्थ यस्तो सत्यलाई बुझि आफूले आफैलाई सत्मार्गमा लगाउन परेको छ ।

त्याग र समर्पणमा आधारित जीवनशैलीबाट नै हामीले हाम्रो संस्कृति, संस्कार र परम्परालाई उचाईमा पु¥याउन सक्ने हुँदा जीवनमा आउने जति पनि उतारचढाव समस्या छन्, ती मानव चिन्तनको वर्ग स्वार्थको लागि कल्पना गरेको यथार्थ हो भन्ने कुरा बुझि आत्म सन्तुष्टको लागि आशक्तिबाट होइन प्रेमको पवित्र आचरणबाट रोजेको सन्तुष्टतर्फ २०८१ लाई स्वागत गरौँ । मानवीय सोच र चिन्तनमा देखिने स्वार्थपरक विचार र त्यसबाट उत्पन्न हुन सक्ने विकृतितर्फ सावधान भई अहंकार प्रवृतिको समूल नष्ट गर्नु परेको छ । आफू र आफ्नो व्यवहारभित्र हुर्कने जति पनि नराकारात्मक प्रवृति छन् तिनको पहिचान गरी उत्तरदायित्व बोध गराउने जीवन चरित्र २०८१ ले खोजेको छ ।

मानिसहरु घरपरिवार, इष्टमित्र, नाता, कुल, कुटुम्ब सबैलाई त्यागेर सन्यास बनेका हुन्छन् । साधु सन्तको भेष धारण गरी जीवनलाई सन्तुलित बनाउने नाममा छाडा संस्कृतिप्रति आकर्षित भएका हुन्छन् । निजी स्वार्थ परिपूर्तिको लागि प्रेमको बाहना बनाई एकअर्काको चरित्रमाथि धावा बोलेको अवस्था पनि देखिन्छन् । वास्तवमा यस्तो किसिमको कर्म, त्याग होइन । यो त केवल स्वार्थ परिपूर्ति गर्नु र दायित्वबाट पन्छिनु हो ।

तसर्थ यस्तो चरित्रलाई परित्याग गरी शुद्ध, स्वच्छ र प्रेममा आधारित सुसंस्कृतिले भरिएको आचरण २०८१ को आवश्यकता हो । त्यसैमा हाम्रो चिन्तन बढ्नु परेको छ । प्रत्येक बिहानीले ल्याउने नयाँ अवसर र चुनौतीलाई यो मेरो जिम्मेवारी हो र यही जिम्मेवारीबाट नै म अरुको सहयोगी बन्न सक्छु भन्ने धारण विकसित गरी तन, मन र कर्मबाट स्वतः स्फूर्त रुपमा आफूभित्रको नयाँ प्रतिभा उजागर गर्दै एकासीलाई हार्दिक स्वागत गरौँ । यो वर्तमानको आवश्यकता हो । प्रेमले मानिसलाई बलिदानको अर्थ र परिभाषासँग परिचित बनाएको हुन्छ भन्ने चिन्तन मनन् गर्दै सुनौलो बिहानीको उज्यालो भविष्य बनाउन त्याग र समर्पणमा आधारित जीवन पद्धतिभित्र हुर्कने कर्म गरौँ । प्रेम र सद्भावको व्यवहार गर्दै अघि बढौँ ।

२०८० को बिदाइसँगै २०८१ ले हामीलाई यही सन्देश दिएको छ । पे्रमको चैतन्य रुप बुझि २०८१ लाई प्रेममय बनाउने सङकल्प गर्दै उत्साह जगाउ, खुसी साटासट गरौँ । एकअर्का बिच विद्यमान अमानवीय चिन्तन, तेरो मेरोको भावना हटाई हामी सबै एक बनौँ । यो हामी सबैको जिम्मेवारी र दायित्व पनि हो । हामी सबैको भलाई खातिर हो भन्दै सद्भाव बाडौँ । एकासी साललाई नबिर्सने क्षणको रुपमा स्वागत गरौँ । २०८१ म र मेरो पौरख खोजेर बसेको छ भनी शुद्ध आचरण सहित एकासी साललाई प्रेम र त्यागको वर्ष बनाऔँ । यही वर्तमानको आवश्यकता हो । समयले हामीलाई यही सन्देश दिएको छ । अन्तर मनको ढोका उघारी अरुको चहराइरहेको घाउमा मलम पट्टि लगाउँदै सबैको प्रिय पात्र बन्न २०८१ ले हामीलाई उत्साह जगाओस् । यो अवसर हामी सबैले प्रयोग गर्न सकौँ, समाज राष्ट्रले यही अवसरको खोजी गरिरहेको छ । अस्तु ।