ॐ मण्डलीदेखि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयसम्मको यात्रा …

  •   
  •  

माधव तिमिल्सेना

जब–जब यस संसारमा धर्मको ग्लानि हुन्छ, धर्मको उत्थान गर्न साधु सन्तहरूको रक्षा गरेर दुष्कर्म गर्ने पापीहरूलाई नाश गर्न म यस धर्तीमा अवतरण गर्दछु भनेर भगवान्ले अर्जुनलाई भन्नुभएको कुरा श्रीमद्भगवद्गीतामा वर्णित छ । सत्य युग र त्रेता युग भनेको देवीदेवताहरूको स्वर्णिम राज्यको समय हो । त्यस समयमा अधर्म एवं विकारहरूको प्रवेश नै हुँदैन । द्वापर युगबाट मात्र देवीदेवताहरू आफ्नो दैवी गुणबाट च्युत भएर वाम मार्गमा लाग्न थाल्छन् र कलियुगको अन्तिम चरण सुरु भएपछि धर्मको अति नै ग्लानि हुन थाल्छ ।

संसारमा पाप कर्म गर्ने पापीहरू धेरै हुन्छन् । मानिसहरू धर्मभ्रष्ट कर्मभ्रष्ट भएर पाप कर्ममा चुर्लुम्म डुब्छन् । अज्ञान अन्धकारमा भौतारिएका दुःखी आत्माहरू यस धर्तीमा ईश्वरको अवतरणको लागि प्रार्थना गर्न थाल्छन् । श्रीमद्भगवद्गीतामा उल्लेख गरिएको भगवान्को यस धर्तीमा अवतरण गर्ने समय भनेको यही नै हो । यसरी ड्रामा अनुसार परमात्मा अवतरणको निर्धारित समय आइपुगेपछि परमपिता परमात्मा शिवबाबाले साठी वर्षीय एक बृद्ध मानव (दादा लेखराज)को तनमा परकाया प्रवेश गर्नुहुन्छ र आफ्नो पूर्ण परिचय दिनुहुन्छ– निजानन्द स्वरूपम् शिवोऽहम् शिवोऽहम्, ज्ञानस्वरूपम् शिवोऽहम् शिवोऽम्, प्रकाशस्वरूपम् शिवोऽहम् शिवोऽहम् ।

यसपछि शिवबाबाले दादालाई सत्ययुगी दुनिया र गृहयुद्ध, प्राकृतिक विपती, आणविक बम, अस्त्रशस्त्रको युद्धबाट कलियुगी सृष्टिको महाविनाशको दिव्य साक्षात्कार गराउनु हुन्छ । त्यसपछि परमात्मा शिवबाबाले दादा लेखराजलाई ‘आदिदेव प्रजापिता ब्रह्माको कर्तव्यवाचक संज्ञा प्रदान गर्नुहुन्छ । यसरी आदिदेव ब्रह्माको पद हासिल गर्नुभएको दादा लेखराज स्वयं परमात्मा हुनुहुन्न तर परमात्मा शिवको भागीरथ हुनुहुन्छ । यो घटना सन् १९३६ को हो ।

दिव्य साक्षात्कार भएपछि दादा लेखराजको जीवनमा वैराग्य सुरु भयो । व्यापार व्यवसायबाट सन्यास लिएर ईश्वरीय सेवामा वाँकी जीवन समर्पण गर्ने संकल्प लिई दादाले एउटा राजयोग ध्यानको साथै नैतिक तथा अध्यात्मिक शिक्षा दिने स्कूलको स्थापना गर्ने परिकल्पना अनुरूप ओम मंडलीको स्थापना भएको हो । ॐ शब्दको ध्वनिका साथ सत्संग सुरु हुने भएकाले त्यस सभाको नाउँ नै ‘ॐ मण्डली’ रहन गयो । पाकिस्तानको सिन्ध हैदराबादको एउटा शहरमा शुभारम्भ भएको उक्त ओम मंडलीमा केही पुरुष, महिला र केटाकेटीहरू थिए जसमध्ये धेरैले परिवारको रूपमा सँगै बस्ने निर्णय समेत गरे ।

संस्थापक पुरूष भएपनि दादाले आफ्नो व्यक्तिगत धन दौलत एक ट्रष्ट बनाई त्यसको सञ्चालन तथा ज्ञान कलश अर्थात नेतृत्व मातृशक्तिमा समर्पण गर्नु भएको थियो जबकी त्यस समयको समाजले नारीलाई केवल घरको रेखदेख गर्न र वालबच्चाहरू हुर्काउनमा सिमित गरिएको अवस्था थियो । त्यसवेला महिलाहरूको लागि कुनै स्वतन्त्रता थिएन। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ को भाव जागृत गराएर नारीलाई सम्मान गर्दै यस महान् सेवाको बागडोरको प्रतिनिधित्व गर्ने दायित्व सुम्पियो ।

ओम् राधेलाई संस्थाको अवैतनिक ईन्चार्ज र अन्य दश ज्ञाननिष्ठ कन्या माताहरुको एक कार्यकारिणी समिति मार्फत चल अचल सम्पूर्ण वस्तु वैभव ईश्वरीय कार्यमा अर्पित गरी यज्ञ सञ्चालनको जिम्मेवारी कन्या माताहरुमा सुम्पिनु भयो । तत्कालिन सामाजिक दृष्टिकोणमा नारीको अग्रता कौतूहलको विषय रह्यो र समाजमा विभिन्न चर्चा परिचर्चा हुन थाल्यो। तथापी स्व–परिवर्तनबाट विश्व परिवर्तनको अग्निलाई तेज गर्दै गहन तपस्याबाट, स्व–शान्तिबाट विश्व–शान्तिको दीप जल्न सुरु भयो । त्यसबेलाका तिनै स–साना कन्या कुमारीहरू नै आजका दादी दिदीहरू हुनुहुन्छ ।

संस्थाको संस्थापक ब्रह्माबाबाले सबैको सेवा समान रूपले गर्नुभयो तर विशेष गरेर समाजका पिछडिएका, अपहेलित र तिरस्कृतवर्ग नारीहरूलाई बढी ध्यान दिनुभयो । आजसम्म जुन नारीवर्गलाई पुरुषवर्गले मात्र होइन साधु, सन्त र महात्माहरूले समेत नारी अबला हुन्, नारी नरकका द्वार हुन् भनी अपहेलित गरेका थिए, तिनलाई बाबाले नारी स्वर्गका द्वार हुन्, नारी सवला हुन्, नारी देवी हुन् भन्ने प्रेरणा दिएर अगाडि बढाउनुभयो । माता कन्याहरू नै पतित पावनी हुन्, नारी नै शिवशक्ति हुन् भन्ने स्वमान दिएर नारीवर्गलाई माथि उठाउनुभयो । बाबा बारम्बार नारीहरूलाई सम्मान गर्दै वन्दे मातरम् भन्नुहुन्थ्यो ।

संसारमा पुरुष वर्गद्वारा स्थापित धार्मिक, सामाजिक संघसंस्थाका प्रायः सबै नाम पुरुषको नामबाट नै रहेका छन् तर केवल यो संस्थाको नाम प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको नामबाट सञ्चालित छ । नाम मात्र होइन संसार भरि नै यस संस्थाको सञ्चालन नारी वर्गबाट भएको छ । नारी अधिकारको यो ज्वलन्त उदाहरण थियो । नारी हक हितको पक्षमा बाबाले जुन आवाज उठाउनुभयो । उदारता देखाउनु भयो, उदाहरण प्रस्तुत गर्नुभयो त्यसको कैंयौ क्षेत्रबाट कटु आलोचना पनि भएको थियो तर त्यो सबै सुनेर सहेर अगाडि बढनुभयो ।

आज प्रायःसबै ठाउँमा नारी हक हितको आरक्षण गरिन्छ तर त्यसबेला जुन वैर–विरोधको सामना बाबाले गर्नुप¥यो त्यो निकै मार्मिक थियो, पीडादायी थियो । नारी उत्थानको क्षेत्रमा बाबाले जुन सेवा गर्नुभयो त्यो साच्चिकै अवर्णनीय छ । नारी उत्थान मात्र होइन बाबाको दृष्टिकोण र मिसन आत्मा उत्थानको लागि थियो । पावन आत्मामा आज जुन विकृति, विसंगति र विकार आएको छ त्यसलाई निर्मूल गरेर पावन विश्वको स्थापना गर्ने शिवबाबाको जो लक्ष्य–उद्देश्य छ त्यसलाई अघि बढाउन ब्रह्माबाबा अहोरात्र खट्नु भयो । बाबाले यसमा सबै वर्गलाई उत्तिकै प्राथमिकता दिनुभयो ।

परमपिता परमात्मा शिवले दादा लेखराज(ब्रह्माबाबा) को तनमा प्रवेश गरेर अब नर—नारीको खान पान, व्यवहार, दृष्टि—बृति आदि शुद्ध गर्ने शिक्षा प्रदान गर्दे सवैलाई पितृवत् स्नेह दिदै जीवनलाई श्रेष्ठ वनाउने नियम समेत वताउनुभयो । ब्रह्माबाबा विस्तारै परमात्मा प्रदत्त आत्मा ज्ञान सुनाउन थाल्नु भयो । अन्तरआत्मामा ज्ञानको गुप्त आवाजसँगै गीता ज्ञान सुन्ने नर नारीहरुलाई समेत ज्योति विन्दुको, चत्तुर्भुज विष्णुको तथा श्रीकृष्ण एवं आराध्यदेवको साक्षात्कार हुन थाल्यो । सत्संग सुन्नलाई विभिन्न शहरहरुबाट भक्तहरु आउने क्रम बढ्दै गयो । अन्यन्तै दुःखी अशान्त र वेचैनी भएकाहरु अतिइन्द्रीय सुख, शान्ति र दिव्य गुप्त शक्तिको अनुभूति गर्न थाले ।

यसरी ईश्वरीय ज्ञानद्वारा अनेकानेक नर—नारीहरु सच्चा मनको शान्ति अर्थात आत्मिक उन्नति गरिरहेको हुन्थे । समाजमा व्याप्त विकृति कूसंस्कार र नारीप्रतिको विभेद ओम् मण्डलीमा आएपछि सुधार हुँदै गयो । तत्कालीन सिन्धी समाजमा पाश्चात्य सभ्यताको कुप्रभावमा परेको मानिसहरु ओम मण्डलीको सतसंगमा आएपछि जीवनमा सादगी तथा फेशन, दुव्यर्सनमा नियन्त्रण भई अतिइन्द्रीय सुखको अनुभव गर्दे गए । नारीमा दाहिजो प्रथा, बहुविवाह, वालविवाह एवं वनावटी शृंगारको विरुद्धको भावना जागृत भई आन्तरिक सुन्दरताको साथै आन्तरिक शक्तिले जीवन सजाउने प्रेरणा मिल्यो ।

श्रीमद्भगवद् गीतामा भनिएको छ — ‘हे वत्स कामवासना ज्ञानवान मनुस्यको महाशत्रु हो अर्थात काम क्रोध र मोह विकार नरकका द्धार हुन ।’ यि महाबाक्य अर्थात ज्ञानामृतको रसास्वादनले नारीभित्र पवित्र जीवनको आनन्द प्राप्त भइ वासना भोगको तृष्णा कम हँुदै जान थाल्यो ।

परन्तु तत्कालीन पुरुषप्रधान समाजमा यसले निकै हंगामा मच्चियो कि ओम् मण्डलीमा गएपछि विवाहित महिलाहरु वासना भोग गर्न राजी हँुदैनन् । यही सवालमा महिला हिंसा र अत्याचार सुरु भयो । घरघरमा गएर कन्या, माता, पुत्रपुत्रीलाई ओम मण्डली जान रोक्नु नभएर त्यस्ता परिवारलाई सामाजिक वहिष्कार गर्नेसम्मको धम्की सुरु भयो । पत्रपत्रिकाको समेत सहयोगमा एण्टी ओम मण्डलीको नामबाट आन्दोलन पनि भए । ओम मण्डलीमा जादू गरिन्छ । श्रीमान श्रीमतीलाई भाइबहिनी बनाइन्छ ।

हाम्रो परम्परा संस्कृति सामाजिक रीतिथितिको विरुद्ध छ भन्दै कामातुर पतिहरुले गाउँ पञ्चायत मात्र हैन न्यायालय समेतमा मुद्दा दायर गरे कि हाम्रो चाहनाअनुरुप हाम्रा श्रीमतीहरुले शारीरिक सम्पर्क गर्न दिनुपर्छ । अदालतमा दादा लेखराजलाई आफ्ना पतिसँग विषय भोग गर भन्नुपर्छ भन्ने बहसमा ब्रह्माबाबाले भन्नुभयो —मैले त ज्ञानामृत पिलाउने सेवा गरिरहेको छु, सत्संगमा आउन मैले कसैलाई कर पनि गरेको छैन । विकारमा जाने नजाने के गर्ने के नगर्ने यो हरेकको व्यक्तिगत चाहना वा इच्छा हो । म विषय विकारमा जानुपर्छ भनी कोहीलाई आग्रह गर्न सक्दिन । मेरो विवाहित पुत्री पनि ब्रह्मचार्य पालन गर्छिन् । म त यी आत्माहरुको आज्ञाकारी सेवक हँु । मलाई स्वयं परमपिता परमात्माले निमित्त बनाउनुभएको छ । एउटा सेवाधारी कसरी आज्ञा दिन सक्छु र ? कसैको घरायसी आपसी मामला मैले कसरी दखल गर्न सक्छु ? यदि विवाहित नारीले ब्रह्मचार्य पालन गर्न सुरु गरे भने यसो सृष्टि कसरी चल्छ ? पवित्रताको नियम दृढताको साथ पालन गर्ने यस्तो सत्संग देखेर मानिसहरुमा ठूलै हलचल सुरु भयो ।

अर्को महत्वपूर्ण र रोचक कुरा के थियो भने कुनै पनि सत्संगमा कथा वाचन र शास्त्रार्थ गर्ने काम पुरुषबाट मात्र गरिन्थ्यो भने यहाँ ईश्वरीय ज्ञान तथा गीता सुनाउने कार्यमा माता कन्याहरु निमित्त बने । तेस्रो कुरा ओम् मण्डलीमा आउने जो कोहीलाई पनि दिव्य साक्षात्कार हुन्थ्यो जसको कारण अशुद्ध खानपान, तमोगुणी चलन र संस्कारहरु छुट्दै जान्थे ।

हामीले इतिहास पढेका र सुनेका छौँ कि स्वामी दयानन्दको स्पष्टवादिता एवं अन्धविश्वासको विरुद्ध गरिएको प्रचार तथा सदाचारयुक्त जीवनका लागि दिइएको शिक्षाको प्रतिवादस्वरुप पत्थर बर्साइयो, डर, धम्की दिनु मात्र नभई अन्तमा विष दिएर मारियो । त्यसैगरी जिसस क्राइष्टको पवित्र आदेश उपदेशका स्वागत उहाँलाई शुलीमा चढाएर गरियो । हजरत इब्राहिमले जडवस्तुलाई देवता मानेर पूजा गर्नुको सट्टा एक परमात्मालाई याद गर्नुपर्छ भन्ने शिक्षाको कारण कडा विरोधको सामना गर्नुप¥यो ।

माहात्मा बुद्धले वर्गभेद, जातिभेद मेटाउने र सम्यक ज्ञान तथा सम्यक आचार इत्यादिको उपदेश दिए तब उहाँकै चाचाभाइ तथा कर्मकाण्डी पण्डितहरुले निकै विरोध गरे । जब हजरत मुहम्मदले मूर्ति पूजाको विरोध गरे, सामाजिक कूरीतिलाई सुधार गर्ने प्रयत्न गरे तब मानिसहरुको झगडालाई रोक्न नसकेर मक्का छोडेर मदिना जान वाध्य भए । शिक्ख धर्मगुरु नानक, गोविन्दसिंहमाथि मुगलहरुले यति अत्याचार गरेका थिए । मीरावाईले गिरिधरको साथ प्रेम गर्नुको पछाडि विषको प्याला पिउनु प¥यो । अहिंसा, सत्य र ब्रह्मचार्यका पुजारी तथा प्रचारक माहात्मा गान्धीलाई गोलीको निशाना बनाइयो ।

वैज्ञानिक ग्यालिलीयो ग्यालिलीको पृथ्वी गोलो छ भन्ने भनाईलाई नास्तिक र काफिर भनेर उपहास गरियो । हाम्रै देश नेपालमा राजा वीरेन्द्रको वंश नाश गरियो भने मदन भण्डारीजस्ता राजनीतिक व्यक्तित्वलाई नदी डुबाएर मारियो । रत्नाकर डाँकु बाल्मिकी भएको, पञ्चमसिंह डाँकु एक राजयोगी ब्रह्माकुमार भएको, तल्लो जातका कवीर, रामायण काव्य रचनाकार तुलसीदास, भर्तुहरिको वैराग्यवृत्ति धारण गरेको कुरा मानिसहरु किन भुल्दछन् ? वास्तवमा मानिसको स्वभाव एक हल्ला र क्षणिक परिणामको पछाडि दौडिने, समाज सुधारकले गरेको उपकारलाई बिर्सिँदै स्वार्थी, पुरातनवादी र आतंक फैलाउने व्यक्तिलाई साथ दिने स्वभावको शिकार ओम मण्डली समेत भयो ।

पवित्र ब्रह्माचार्य धारण गर्ने साधु सन्यासीको चरण छोएर नतमस्तक हुने मानिसहरु कन्या पूजन गर्छन । एउटा पुरुष वैवाहिक जीवन छोडेर वा बैवाहिक जीवन नपनाउँदै घरवार छोडेर सन्यासी हुँदा समाजले स्वीकार गर्दछ परन्तु एक नारी काम वासनालाई त्याग गर्न खोज्दा सृष्टि कसरी चल्छ भन्दै कुमारी जीवनलाई विवाह गर्न वाध्य पारिन्छ । जसरी गौतम बुद्धलाई उहाँका पिताले राजमहलमा नजरवन्द गर्ने प्रयास गर्दा परिणाम के भयो ? शंकराचार्यलाई उहाँकी माताले घर नछोड्न र विवाह गर्न पटक पटक दवाव दिंदा समेत विभिन्न वाहाना वनाएर घरबाट निस्किए ।

त्यसैगरी ओम् मण्डलीमा जाने कन्या माताहरुमाथि भएको वर्वरतापूर्ण व्यवहारले उनीहरुमा दृढ प्रतिज्ञा गर्न कठोर वनायो । अमुक कन्या, पुत्र वधु एवं पत्नी समेत लौकिक नाता तोडेर विषय विकारलाई घृणा गर्दे सधैको लागि ओम् मण्डलीलाई नछाड्ने भएपछि क्रोधी व्यक्तिहरुले सत्संग भवन(लाखा भवन) मा आक्रमण गरी चारैतिर आगो लगाई सवैलाई मार्ने योजना सफल हुन सकेन । किनकी सो सत्संगका उपस्थित व्यक्तिहरु उक्त विहानै समुद्र तटमा ध्यान गर्न गईसकेको थिए ।
धर्मको मार्गमा परीक्षा आउँछन् परन्तु परमात्मा कार्यको जिम्मेवारी स्वयं भगवान हुनुहुन्छ ।

सत्यको डुंगा हल्लिन्छ तर डुब्दैन, शान्त र निश्चिन्त जीवनमा जस्तोसुकै चुनौतीलाई सामना गर्ने हिम्मत लिएर हंगामाको बीच धैर्यधारण गरी ओम मण्डलीका सदस्यहरु विचलित नभई आफ्नो मार्गमा कदम बढाउँदै गए । जब लाखा भवनमा आगजनी भयो त्यसपछि ओम् निवास भवनमा सत्संग सुरु भयो । विद्रोहीले त्यहाँ पनि अनेकौँ यातनापूर्ण व्यवहार प्रदर्शन गर्दै रहे । शान्ति भङ्ग गरेको आरोप लगाई उच्च न्यायालयमा मुद्धा पेश गरियो परन्तु ओम् मण्डलीले समाजमा शान्ति भङ्ग होइन् समाजमा शान्ति स्थापनाको कार्य गरिरहेको र निजहरुको कार्य अपराध, अनुचित र समाज विरोधी गतिविधि नभएको भनी अदालतका फैसला आयो । सुरुमा सिन्ध हैदरावादमा र १ वर्षपछि कराँचीमा सेवा प्रारम्भ भयो ।

ज्ञान पिपासु साना कन्या तथा माताहरु कठीन वन्धन र वाधा अवरोधलाई अवज्ञा गर्दे सिन्धदेखि कराँचीसम्म पुगे । एकपटक ब्रह्माबाबालाई मार्न भनी एक शिक्ख धर्मका सरदारलाई ओम मण्डलीमा पठाइयो । जब पेस्तोल ताकेर बाबालाई सुट गर्न लाग्दा दादा लेखराजको ठाउँमा गुरु नानकको साक्षात्कार भयो तब सो सुटरले माफी माग्दै आजीवन ओम मण्डलीको सदस्य हुने निर्णय गरे । अति कठोरा यातनालाई सहन गर्न नसकेर कतिपय कन्या कुमारी र विवाहित नारीले प्राण त्याग गर्नु परेको घटना घटित भयो । ओम मण्डलीलाई प्रतिबन्ध नलगाए सरकारको समर्थन र मन्त्रीबाट राजिनामा दिने समेत दबाब सरकारलाई दिइयो ।

१४ वर्षसम्मको गहन त्याग तपस्या र गहिरो आद्यात्मिक चिन्तनको फलस्वरुप एउटा सानो सत्संग आज विशाल शैक्षणिक संस्थानको रुपमा विकसित हुन गयो । भारत पाकिस्तानको विभाजन हुँदा पनि ओम मण्डली करिब ३ वर्षसम्म कराँचीमै सुरक्षित रुपमा आफ्नो गतिविधिहरु सञ्चालन गरिरहेको थियो । तत्कालीन समयमा कयौं हिन्दूहरुको हत्या समेत गरियो तर ब्रह्माकुमारीज संस्थालाई मुसलमान समेतले पवित्र संस्था मानेर संरक्षण गरिरहेका थिए । समयको अन्तरालसँगै आत्मा, परमात्मा तथा समय सान्दर्भिक धेरै सरल एवं स्पष्ट ज्ञानको संरचना देखाप¥यो । सन १९५० मा यो संस्था पाकिस्तानको कराँचीबाट आउँदा मुस्लिम अगुवाहरुले त्यस अवस्थामा हिन्दु मुसलमानको राजनीति एवं भेदभावरहित संगठनको सम्मान दिँदै कराँची नछोड्न आग्रह गरेको पाइन्छ ।

शान्ति स्थापनाको मशाल बोकेर वर्तमान राजस्थानको अरावली पर्वत शृंखलाको उच्च शिखरमा अवस्थित आउण्ट आवूमा स्थानान्तरित भयो । आद्यात्मिक ज्ञानको गहन अध्ययन, राजयोग ध्यान अभ्यास र आत्म रुपान्तरणको लागि एक स्वशासित, स्वायत्त र आत्मनिर्भर संगठनको रुपमा स्थापित हुन गयो । हालको ब्रह्माकुमारीज मुख्यालय मधुवनको नामले समेत परिचित छ । वर्तमान समय यो संस्था ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय छोटकरीमा ब्रह्माकुमारीजको नामले विश्वभर चिनिएको छ । क्रमशः

लेखक डिभिजन वन कार्यालयका अधिकृत एवं ब्रह्माकुमारीज संस्थासँग आबद्ध एक आद्यात्मिक अभियन्ता हुन् ।