बंगलाचुली-७ का तीन बस्ती अझै अन्धकारमा
हिमाल महरा
दाङ,२२ असार । बंगलाचुली गाउँपालिका–७ का तीन बस्तीहरुमा अझै विद्युत पुग्न सकेको छैन ।
‘गाउँ-गाउँमा सिंहदरबार’ नारा सुरु भएको झण्डै एक दशक पुग्न लाग्दा पनि दाङको बंगलाचुली गाउँपालिका–७ अन्तर्गतका जामुने, हल्दे र बगरखुटीका करिब ५० घरधुरी अझै राज्यका आधारभूत सेवा र सुविधाबाट वञ्चित रहेका छन्।
उक्त क्षेत्रका बासिन्दाले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातायात र सञ्चारलगायत सबै क्षेत्रमा चरम समस्या भोग्दै आएका छन्। पाँच कक्षासम्म मात्र विद्यालय सञ्चालनमा रहेकोले त्यहाँका बालबालिकालाई थप पढ्न दैनिक दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। अभिभावकहरूले दुर्गम बाटो र लामो यात्राका कारण छोराछोरीको पढाइ निरन्तरता दिन कठिन भइरहेको गुनासो गरेका छन्।
स्वास्थ्य सेवा अझै टाढाको कुरा बनेको छ। सामान्य बिरामी, चोटपटक वा सुत्केरी जस्ता अवस्थाका लागि समेत चार घण्टा पैदल हिँडेर लाहापे स्वास्थ्यचौकी धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरूले बताएका छन्। ‘आकस्मिक बिरामी परेमा ज्यानकै जोखिम हुन्छ’, स्थानीयले बताए।
त्यस्तै, प्रशस्त पानीको देश भनिने नेपालमै उनीहरू घण्टौं लाइन लागेर टाढाबाट पानी ल्याउन बाध्य छन्। ‘पानी ल्याउनै आधा दिन खर्चिनुपर्छ’,विद्युत् सेवा पनि उक्त क्षेत्रमा अहिलेसम्म पुगेको छैन। राति घरहरू अन्धकारमा डुब्ने गरेका छन् भने मोबाइल चार्ज गर्नसमेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ। “गाउँमा बिजुली नहुँदा हाम्रो जिन्दगी अझ अँध्यारो बनेको छ,” एक स्थानीयले गुनासो गर्छन् ।
यातायात पनि यहाँको अर्को ठूलो समस्या हो। हिउँदमा मात्र सवारी साधन चल्ने र बाँकी समय वर्षा र पहिरोका कारण बाटो अबरुद्ध हुने गरेको स्थानीयहरूले बताएका छन्। तिलबहादुर सारु मगरका अनुसार उनीहरूले दैनिक उपभोग्य सामग्री छ महिनाअघि नै जोहो गरेर राख्नुपर्ने अवस्था छ। “बाटो बन्द भयो भने भोकै बस्नुपर्ने स्थिति आउँछ,” उनले भने।
सञ्चार सुविधाको अवस्था पनि दयनीय रहेको छ। मोबाइल नेटवर्क राम्रोसँग नचल्ने हुँदा सूचनाको आदान–प्रदानमा समेत समस्या भइरहेको स्थानीयहरूले बताएका छन्। ‘गाउँ-गाउँमा सिंहदरबार भनेर दशक पुग्न लाग्यो, तर हामीले प्रत्यक्ष अनुभूति गर्न पाएका छैनौं, प्रेम बाठा मगरले दुःख व्यक्त गरे।
स्थानीयवासीहरूको भनाइमा, सिंहदरबार गाउँमै ल्याउने घोषणाले मात्रै काम चल्दैन, सेवा र सुविधा गाउँमै अनुभूति हुने गरी राज्यले गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। ‘हामीलाई सिंहदरबारको पहुँच महसुस भयो भने मात्र नागरिक भएको अनुभूति हुनेछ, नत्र विकासका नाराले भोक र अन्धकार हट्दैन’, उनीहरूको भनाइ छ।
