Goraksha

National Daily

दाङमा ब्राउनसुगर र चरेससहित तीन जना पक्राउ

दाङ,७ वैशाख । दाङमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क न्यू रोडबाट शान्तिनगर गाउँपालिका–५ निवासी २९ वर्षीय उद्धव शाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी बोहराका अनुसार लागुऔषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका शाहलाई चेकजाँच गर्दा उनको साथबाट लुकाइछिपाइ राखिएको ९ वटा पुरियामा रहेको एक ग्राम ३५० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

त्यसैगरी सोमवार नै प्रहरीले तुलसीपुर–५ बसपार्क क्षेत्रबाट अर्घाखाँची शितगंगा नगरपालिका–८ निवासी २८ वर्षीय शुक्रबहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका–१२ निवासी २५ वर्षीय विजय सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरी नायव उपरीक्षक बोहराका अनुसार उनीहरूको साथबाट हरियो प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको ८९५ ग्राम चरेस जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।