ओ राजा..!
ओ राजा … !
जयप्रकाश आनन्द
ज्ञानेन्द्र शाह जीले पढन न सकेको महात्मा गांधीको एक उद्धरण छ । गांधीले भन्नु भाथ्यो–“अहिंसाको बिचार निःशस्त्र व्यक्तिको भन्दा सशस्त्र व्यक्तिको मनमा रहनु जरुरी छ ।” अथ्र्याउनु नपर्ला, एक सशस्त्र व्यक्ति बौलायो भने सयौंको ज्यान जान सक्छ । जबकि, एक अहिंसक आन्दोलनकारीले हठ नै गरे भने उ स्वयं मर्छ ।
कुनै आन्दोलनका नेताले यदि आन्दोलनमा हिंसक चरित्रका, उच्छृँखल वा गुण्डा तत्वहरुलाई दुरुत्साहन दिन्छ, सहभागी गराउँछ भने निःशंक रुपमा उसले हिंसालाई बढाएको मानिन्छ । यसका बिरुद्ध कुनै कुतर्कको स्थान रहदैन, जुन हिजो चैत्र १५ गतेका काठमाडौंमा ज्ञानेन्द्र शाहले कलाबिहीन तवरमा मंचन गरेएका हुन् । यसका कर्ता र पोषक स्वयं यिनी हुन् । दुर्भाग्यबश यिनले अहिले सम्म यस कुकृत्यको नैतिक जिम्मेवारी लिएका छैनन् ।
आन्दोलनकारीले आन्दोलन यदि निर्दिष्ठ उद्देश्य भन्दा वीपीरत दिशामा बहकियो भने तेसलाई रोक्ने हैसियत राख्न सक्नु पर्दछ । यसका लागि बिभिन्न मुलुकहरुमा भएका आन्दोलनहरुका दृष्टान्त दिई रहनु पर्दैन । जीवन भर जनताको दमन मात्र गर्ने सोचका ज्ञानेन्द्र शाहले शायद आफ्नै मुलुकमा घटित आन्दोलनहरुका हेक्का राखेको भए मैले यसो याद गराउनु पर्दैन्थ्यो ।
विसं ०७ सालको क्रान्तिमा दिल्ली सम्झौता भयो । बस्तुतः दिल्ली सम्झौता दिल्ली र मोहन शंशेरका बीच भयो । यसमा क्रान्तिका नायक दल नेपाली कांग्रेसलाई बाहिर राखियो । जुन सम्झौताबाट ज्ञानेन्द्र शाहका बाजे राजा त्रिभुवनको गद्दी जोगियो, स्मरणीय छ–दिल्ली पलायन गरेको त्रिभुवनलाई पदच्यूत गरी मोहन शंशेरले बालक रहेका यिनै ज्ञानेन्द्रलाई श्रीपेच लाईदिएर राजा बनाएका थिए । यस सम्झौतालाई अमान्य गर्दै डा. केआई सिंहले सशस्त्र बिद्रोह गरे । यसको कथा लामो छ । मैले यति मात्र उल्लेख गर्न चाहेको हुँ कि ०७ सालको क्रान्तिमा दिल्ली सम्झौताबाट जे जति उपलब्धिहरु प्राप्त भएको थियो, तेसको महत्वलाई बुझेर वीपी कोइराला र क्रान्तिका नायकहरुले डा. केआई सिंहको बिद्रोहलाई अनुचित तथा अनावश्यक भन्दै आलोचना मात्र गरेनन् । डा. केआई सिंहलाईसमेत नियन्त्रणमा लिए । यो सहास र नैतिक दायित्व क्रान्तिका नेताहरुले देखाए ।
यसपछि काठमाडौंमा भएको एक प्रदर्शनका दौरान पुलिसको गोलीबाट चिनिया काजीको हत्या भयो । स्वयं प्रधानमन्त्री मेहन शंशेर, बबर शंशेरहरुले न चाहदाँ चाहदै वीपी कोइरालाले क्रान्तिपछिको अन्तरिम सरकारको गृहमन्त्रीको पदबाट राजीनामा दिनुभयो । सारा संसार एक राजनेताको तेस जिम्मेवारी एवम् दायित्वलाई हेरी चकित थियो ।
यस अघिको पूर्वी नेपालको माझ किरात तथा लिम्बुआनमा भएको विद्रोहको चर्चा यहाँ उतिकै समिचिन हुन्छ । तेस बेलाका बुढापाका जो जीवित छ, याद होला । जसले इतिहासको अध्ययन गरेको छ, सम्झिएको हुनुपर्छ । यो भनाई दशकौंसम्म चर्चामा रह्यो– ‘तेरो घरमा कांग्रेस पसोस् ।’ पछि पञ्चहरुले सर्वाधिक रुपमा यसलाई बोल्दै कांग्रेसलाई सराप्दै गरे । सात साल ताका अधिकांश जमिन्दार तथा बिर्तवाल, सामन्तिहरु राणालाई साथ दिए । यस मध्येका बहुतायत राजाका भारदारी सभामा थिए । नेपाली कांग्रेसका अधिकांश लडाकाहरु बिषेशतः मुक्ति सेनामा राई, लिम्बु जस्ता आदिवासी–जनजातिहरुको बाहुल्यता थियो ।
सात सालको क्रान्ति सफल भएपछि यी लडाका मुक्ति सैनिकहरु राणाहरुलाई सहयोग गरेका जमिन्दार, विर्तवाल तथा सामन्तिहरुको बिरुद्ध जाई लागे । कोशी पूर्व र पश्चिम, अरुण पूर्व र पश्चिमका माझ किरात तथा लिम्बुआनमा व्यापक लुटपात मच्चियो । वीपी कोइरालाले मुक्ति सेनाका कमाण्डरहरु जिबी याकथुम्वा तथा नेताहरुका साथ तेस क्षेत्रको पैदल भ्रमण गर्नुभयो । यस्ता गतिबिधीहरुलाई तत्काल रोक्न आह्वान गर्नुभयो । यी सब घटनाहरुको नैतिक जिम्मेवारी लिएर तेस बारदातहरुलाई ठाउँका ठाउँ रोक्नु भयो ।
राजा महेन्द्रले ०१७ सालमा सैनिक कू गरी संसदीय व्यवस्था समाप्त गरेपछि वीपी लगायत असंख्य नेता कार्यकर्ताहरु जेलमा हालिए । नेपाली कांग्रेसका अर्का ठुला नेता सूवर्ण शंशेर भारतको प्रवासमा रहनु भयो । विसं २०१८ सालमा उहाँको नेतृत्वमा राजाका कदमको बिरुद्ध सशस्त्र प्रतिरोध सुरु भयो । जनकपुरमा राजा महेन्द्रको जिपमा बम प्रहार गरियो । तनहुँको बन्दिपुरमा भएको आक्रमण, चितौनको आक्रमण चर्चित रहेका छन् ।
बालकृष्ण समका छोरी ज्वाइँलाई राजाले जिउँदै खाल्डो खनेर पुर्न लगाए । सयौँ शहीद पारिए । मारिए कथा लामो छ, भयावह छ । यो निर्णायकबिन्दुमा पुग्नै लाग्दा भारत र चीनकाबिच सीमायुद्ध प्रारम्भ भयो । यस्तो अवस्थामा भारतको भुमिबाट नेपालमा सेना एवं सरकारका बिरुद्ध सशस्त्र कारबाही हुँदा चीनले नेपालमा प्रवेश गरी भारतका बिरुद्ध सैन्य कारबाही गरे नेपाली सार्वभौमसत्तामा आघात पर्न सक्छ भनी सूवर्णले यसलाई स्थगन गराउनुभयो । नेपाली कांग्रेसका लडाकाहरुले यस निर्णयको व्यापक विरोध गरे । कयौँ स्थानमा प्रतिविद्रोह भयो । तर, सूवर्ण जीको सुझबुझले रोकियो । नेपाली कांग्रेसभित्र विभाजनको रेखा कोरियो । तर, नेतृत्व बलियो थियो, प्रभावशाली थियो । कसैको चलेन । यसले गर्दा राजाको तानाशाही शासनपछि ३२ वर्षसम्म कायम रहन गयो ।
वीपी कोइराला, गणेशमान सिंहहरु लगातार आठ वर्षको जेल जीवन पछि विसं २०२६ सालमा रिहा हुनुभयो । पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा उहाँ भारतमा निर्वासित हुनुभयो र २०२९ साल पश्चात वीपीको नेतृत्वमा पञ्चायति व्यवस्था तथा राजाका विरुद्ध सशस्त्र आन्दोलन प्रारम्भ भयो । यस दौरान अनेकन् बमकाण्डहरु भए । प्रत्याक्रमणहरु भए । बिमान अपहरण भयो । हरिपुर आक्रमण जस्ता कयौं कारबाहीहरु भयो, यसमध्येका सबैभन्दा चर्चित राजा वीरेन्द्रको विराटनगर आगमनमा बम प्रहार तथा ओखलढुङ्गा टिमुरबोटेको काण्ड हो ।
ओखलढुङ्गामा विलक्षण क्रान्तिकारीहरु राम, लक्षमण दाजुभाइलगायत सेनाको घेरामा परेपछि मारिए । यहाँ पक्रिएका क्याप्टन यज्ञबहादुर थापा र विराटनगर बमकाण्डमा आरोपित भीमनारायण श्रेष्ठलाई अदालतको फैसला गराई गोली हानी मारियो । यस घटनाबाट वीपी कोइरालालाई ठुलो धक्का लाग्यो र उहाँले तत्काल सशस्त्र आन्दोलनलाई रोक्नुभयो ।
जो सुकैले अनुमान गर्न सक्छ कि बर्षौंको तयारी, शस्त्र संचय तथा परिचालन जारी रहेको अवस्थामा एक्कासी शसस्त्र कारवाहीलाई रोक्न सक्नु कति चुनौतिको कुरा हो, जुन वीपीले बहन गर्नु भयो । २०३६ सालको विद्यार्थी आन्दोलका पुस्ता अहिले राजनीतिमा सक्रिय नै छन् । कांग्रेस र कम्युनिष्ट दुवै तिरबाट । जनमत सङ्ग्रहको घोषणा यस आन्दोलनको ऐतिहासिक उपलब्धि थियो । यसलाई स्वीकार गर्नु कम ठुलो चुनौतिको बिषय थिएन ।
आन्दोलन उत्कर्षमा पुगेका बेला, राजा बीरेन्द्रको शासन धरापमा परेपछि “सुधारिएको पञ्चायति व्यवस्था” कि “बहुदलीय व्यवस्था” छान्नका लागि जनमत सङ्ग्रह गरिने शाहीघोषणा भयो । यसलाई स्वीकार गर्दै वीपीले जनमत सङ्ग्रहलाई स्वीकार गर्नुभयो । पार्टी भित्रबाट गणेशमान जी को आसन्न बिद्रोह र सडकमा विद्यार्थीहरुको प्रतिरोध देखियो । तेस विद्यार्थी आन्दोलनका चर्चित नेताहरु नेबिसंघका बलबहादुर केसी र अनेरास्वबियूका शरणबिक्रम मल्ललाई, जनमतसङ्ग्रह स्वीकार गरेको भनी आक्रोशित विद्यार्थीहरुको हुलले त्रिबि कीर्तिपुरबाट घचारेर ल्याई न्युरोड गेट नेरबाट जुताको माला लगाई, कालो मोसो दली, ठेलामा बसाएर न्युरोड घुमाए । तर, वीपी अडिग रहनुभयो । आन्दोलन स्थगित नै भयो ।
कृतघ्न राजा र उसका शासनले अनेकन धांधली गरेर पुरै मुलुक भरमा गरी जम्मा चार लाख मतको अन्तरले बहुदलीय व्यवस्थाको पक्षलाई पराजित गराए । कस्तो संयोग, तेस बेलाका कर्ताधर्ता मध्येका एक प्रमुख नवराज सुवेदी अहिलेको कथित राजावादी आन्दोलनका संयोजक बनाइएका छन् । पञ्चायती व्यवस्थाको खिलाफमा निर्णायक आन्दोलनलाई अगाडी बढाउन गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोईरालको नेतृत्वमा नेपाली कांग्रेसले लामो तयारी पछि २०४२ सालमा शान्तिपूर्ण र अहिंसात्मक सत्याग्रहको थालनी गर्यो । तत्कालिन कम्युनिष्टहरु पनि यसमा सहभागी भए । पञ्चायत हल्लियो । २०१७ साल््पछि सर्वाधिक राजबन्दीहरु मुलुक भरका जेलहरुमा कोचियो ।
यसै बीच सिंहदरबारको ग्यालरी बैठक जहाँ राष्ट्रिय पञ्चायतको बैठक जारी थियो–तेहाँ, राजदरबारको गेटमा, दरबारको लगानी तथा संलग्नता रहेको पाँच तारे होटल अन्नपुर्णामा बम बिस्फोटहरु भयो । रामराजा प्रसादले गणतन्त्र स्थापनाका लागि यी शृङ्खलाबद्ध बमकाण्डको जिम्मेवारी लियो । नेपाली कांग्रेसको अहिंसक सत्याग्रहको समानान्तर हिंसात्मक बारदातको प्रवेश भयो । सत्याग्रहको अक्षुण्णतामा हिंसाको छायाँ देखियो । पार्टी सभापति कृष्ण प्रसाद भट्टराईले गणेशमान सिंहको असहमतिलाई छेउ लाएर भएपनि सत्याग्रहलाई स्थगित गर्नु भयो । तेही बेला ढल्ने राजाको पञ्चायति व्यवस्था अर्को चार वर्षपछि २०४६ सालको ऐतिहासिक पहिलो जन आन्दोलनको कारणले ढल्यो ।
आज पनि धेरैलाई याद होला, राजाबाट बाध्यतावश ०१७ सालमा अपहरित बहुदलीय संसदीय व्यवस्थाको पुनःस्थापनाको घोषणा पछि टुडिखेलमा आयोजित इतिहासकै शायद सर्वाधिक महत्वपूर्ण सभामा गिरिजा प्रसाद कोईरालाले–यो जीत सबै नेपालीको, जनताको पनि र राजाको पनि” भनी बोल्नु भएपछि “राजाको होईन, होईन” भनी गिरिजा कोईरालालाई सभामा बोल्न दिईएन । सभा अवरुद्ध भयो । तर, नेपाली कांग्रेसका नेताहरु, कम्युनिष्टहरु बिचलित भएनन् । आम जनतालाई नारायणहिटी राजदरबारको ढोका तिर बढन दिएन, जहाँ दरबारको योटा कुनामा सेनाको घेरा भित्र यी ज्ञानेन्द्र कतै लुकेर बसेका थिए होलान् ।
मैले यहाँ २०६३ सालको दोस्रो ऐतिहासिक जन आन्दोलनको चर्चा गरिन । लाखौं जनता दरबार फोडन हान्निएको बेला कसरी नेताहरुले जनताको उन्मेषलाई रोके, राजाको प्राणको रक्षा गराए–यो कम चुनौतिको कुरा थिएन । राजाले इतिहासमा जनतासंग, नेपाली कांग्रेससंग जुन घात गरेको थिए, जनतालाई रोक्न नसकेको भए नारायणहिटीका नालाहरुमा, टुकुचामा बगेका रगतको आहालमा बगिरहेका मासुका टुक्राहरु, चोइटिएर छरिएका अंगहरुको डिएनए परीक्षण गरेर को को मारिए पहिचान गर्नु पर्ने हुन्थ्यो ।
सौभाग्यवश, ती कृतघ्न मानिस आज राजा रहेनन् । तर, पुनः राजा हुनका लागि अनेकन् आधारहरु खडागरी, लुप्त षडयन्त्रहरुको सहारा लिई गणतन्त्र फाल्ने उद्यममा लागेका छन् । जसको दुष्परिणाम स्वरुप हिजोको घटना भयो । तर, देखिएन यिनको नैतिकता ! मैले भन्न चाहेको यति हो–न त दुष्परिणाम पछि तेसलाई स्वीकार्ने सहास देखियो, न त आफुले आह्वान गरेको आन्दोलनलाई ठिक दिशामा पहिल्याउने हिम्मत नै देखियो, न त नैतिकता नै ! बस् यही हो सत्य !
