विद्यालय ज्ञानको पवित्र मन्दिर
नारायणप्रसाद श्रेष्ठ
शिक्षा र स्वास्थ्य संवेदनशिल विषय हुन् । यसले मानवीय जीवनको सुन्दर भविष्य निर्माण गरिरहेको हुन्छ । शिक्षाबाट नै ज्ञान बुद्धि र विवेकमा निखारपन आउने सत्य प्रमाणित भइसकेको पनि छ । विचारको प्रवाहले ल्याउने परिणाम नै सामाजिक मूल्यमान्यता तथा संस्कार पनि हो ।
जव स्वच्छ र पवित्र विचार प्रवाहित हुने परिस्थितिको सिर्जना हुन्छ तब मात्र स्वच्छ चिन्तनको उजागर भई समाज आदर्श उन्मुख हुन सक्छ । जहाँको शैक्षिक गतिविधि मर्यादित र अनुशासित ढंगले परिचालन भएको हुन्छ, त्यहाँ प्राप्त हुने ज्ञान र विवेकशिल विचार सिर्जनशिल मार्गमा प्रदर्शन हुने स्थिति रहन्छ । तब मात्र त्यहाँको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको नविनतम सोच प्रादुर्भाव हुने अवस्था आउँछ ।
जब स्वच्छ र पवित्र विचार प्रवाहित हुने परिस्थितिको उद्घाटन हुन्छ । तब मात्र आदर्श समाज बनी सक्षम राज्य बन्न सक्दछ । जग बलियो भए घर बलियो हुन्छ, जग बलियो नभए, घर पनि बलियो हुन सक्दैन । यो सत्य कदापी भुल्नु हँुदैन । त्यसैगरी शैक्षिक वातावरण अनुशासित र मर्यादित भए मात्र समाज, राज्य सकारात्मक दिशा उन्मुख हुने कुरालाई मनन गरी आजको बच्चा भोलिको भविष्य हो भन्ने मान्यतालाई सिरोधार्य गर्दै शैक्षिक वातावरणलाई जगैदेखि अनुशासित र मर्यादित बनाउनु पर्दछ ।
शिक्षा नीति र शैक्षिक वातावरणलाई समय सुहाउँदो परिमार्जित गर्ने नाममा भइरहेको मूल्य र मान्यतालाई कुल्चने संस्कृतितर्फ शिक्षाको गतिविधि बढाउनु हँुदैन । विद्यालय ज्ञान र विवेकशील विचार उत्पादन गर्ने पवित्र मन्दिर हो । तसर्थ विद्यालयभित्र देखिने जति पनि प्रदुषण छन्, राजनैतिक प्रभाव र दबाब छन्, ती सबैलाई हटाइ विद्यालय पवित्र मन्दिर हो भन्ने चिन्तन बढाइ अघि बढ्न अब सबैले संकल्प गर्नु परेको छ ।
सामाजिक सरोकारको विषय ज्याँदै महङ्खवपूर्ण र फराकिलो दायरामा रहेको पाइन्छ । कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्र किन नहोस् त्यहाँभित्र परिचालित हुने प्रत्येक विचार र कर्मले समाजलाई प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । त्यसैले मानवीय चरित्रले निर्वाह गर्ने कर्म र व्यवहारमा देखा पर्ने विविध विचारको गम्भीर रुपले समीक्षा गर्दै वर्तमान समयलाई भविष्यको आधार बनाएर प्रयोग गर्नुपर्दछ ।
मानव जीवनको उत्कृष्ट आचरणबाट नै समाज र सामाजिक मूल्य परिस्कृत हुने हुँदा, यसतर्फ मानवीय चिन्तन गम्भीर बन्नुपर्दछ । किनकि मानिस स्वयंले आफ्नो कर्मद्वारा सामाजिक रुपरेखा परिवर्तन र परिष्कृत गर्न सक्छ । त्यसैले समाजलाई कुन दिशा उन्मुख बनाउने हो त्यसको गम्भीर समीक्षा गर्दै सोच र चिन्तनलाई प्रवाह गर्नुपर्दछ । आचरण, व्यवहार र कर्ममा एकरुपता ल्याई, सर्वेभवन्तु सुखिन, सर्वे सन्तु निरामयाको विचारलाई सामाजिक विषय वस्तुमा प्रविष्ट गराउने ज्ञान हासिलतर्फ सोच वृद्धि गर्नुपर्दछ ।
विचार र कर्मलाई व्यवहारमा उतार्दा भावी पुस्ताको लागि सही र स्पष्ट दिशा निर्देशन हुने गरी विचारलाई प्रवाह गर्नुपर्दछ । विचार प्रदर्शन गर्दा विश्वासको धरातल बलियो बनाइ गुणात्मक र सिर्जनशील विचार उदय हुने वातावरण तयार गर्नुपर्छ । अनुशासित एवम् मर्यादित जीवनशैली बनाउन शैक्षिक वातावरणमा देखा पर्ने विचारलाई परिस्कृत गर्दै यसको उपादयतालाई प्राथमिकतामा राखी सत्य र विश्वासको धरातल बलियो बनाउन सक्नुपर्दछ ।
इमान्दारिता र विश्वासको माध्यमबाट नै समाज आदर्श उन्मुख हुने हुँदा यसको लागि शैक्षिक वातावरणलाई जगैदेखि परिमार्जित, परिस्कृत गर्दै आजको बच्चा भोलिको भविष्य हो भन्ने सोचका साथ शिक्षालाई भविष्यसँग गाँसेर विद्यालयको पढाइ सिकाइ गर्दा यो ज्ञानको पवित्र मन्दिर हो भन्ने भाव जागृत गर्नुपर्दछ ।
यसको पवित्रतालाई सम्मान गर्न सिक्नु पर्दछ । अहिले राष्ट्रिय शिक्षा नीति निकै कमजोर अवस्थामा गुजिएको देखिन्छ । पढाइभन्दा राजनीति गर्ने थलो जस्तो देखिएको छ । तसर्थ यसलाई गम्भीर रुपले चिन्तन गर्न र समयको गतिशिलतालाई मध्यनजर गरी शिक्षा हाम्रो उज्यालो भविष्य निर्माणको बलियो आधार हो भन्ने ठानी यसको गुणात्मक विकासको लागि सबैले धारणा बनाउन जरुरी छ ।
केही समयअघि विद्यालयमा जाने क्रममा त्यहाँको वस्तुस्थिति हेरेर बुझ्ने अवसर हामीलाई प्राप्त भएको थियो । कतिपय सामुदायिक विद्यालयका शिक्षक शिक्षिकासँग शैक्षिक वातावरणवारे छलफल गर्ने अवसर जुटेको थियो । त्यस समय शिक्षा जस्तो संवेदनशील विषयभित्र रहेको पवित्र मन्दिरमा रहनु हुने शिक्षकशिक्षिका वर्तमान शिक्षा नीतिबाट खासै सन्तुष्टि हुनुहुँदो रहेनछ ।
उहाँहरु भन्दै हुनुहुन्थ्यो– शिक्षा नीति त हात्तीको देखाउने दाँत र खाने दाँत अलग भएझै भएको छ । विद्यालयभित्र अभिभावक र शिक्षकबिच वषौँदेखि द्वन्द्व भइरहेको छ । सरकार मुकदर्शक छ के गर्ने यो कुरा भन्न हामी बाध्य छौँ ।उहाँहरुले नहिच्किचाइकन भन्नुहुन्थ्यो, शैक्षिक वातावरण धमिलो छ । उहाँहरु आफै सन्तुष्ट हुनुहुँदो रहेनछ । कोही शैक्षिक वातावरणदेखि, कोही सरुवाको विषयदेखि, कोही व्यवस्थापन समितिको एकाधिकारवादी चिन्तनदेखि, कोही नातावाद, कृपावादको नीतिदेखि विरक्त हुनुभएको हामीलाई सुनाउनुहुन्थ्यो ।
कतिपय शिक्षकले त न्यायालयको काम कारबाही र कार्य सम्पादनमा पनि प्रश्न उठाउनु भएको थियो । शैक्षिक वातावरणलाई सुधार गर्नेतर्फ न त कसैलाई चिन्ता छ न त निर्माणकर्ताबाट नै यस विषयलाई गम्भीरतापूर्वक हेरिएको छ ? हामीले तपाईहरु जस्तो ज्ञान र विवेकले भरिएको ज्ञानीले पनि यस्तो कुरा भन्न सुहाउँछ र भन्ने प्रश्न गर्दा उहाँको एउटै जवाफ थियो, सरकारको नीति नै यसको जिम्मेवार छ ।
सरकारकै नीतिको कारण अभिभावक र विद्यालयबिच द्वन्द्व बढेको देखिन्छ । नीति निर्माता शिक्षालाई केवल राजनीतिक दृष्टिले हेर्दछन् । शैक्षिक वातावरणमा सुधार ल्याउनुको बदला तेरो मेरोको राजनीतिकभित्र शिक्षक र विद्यार्थीलाई परिचालन गर्नमै उद्दत छन् । खै कसरी शैक्षिक वातावरण गुणात्मक बनोस् ? निराशाको भाव जागृत गर्दै उहाँहरु पुन भन्नुहुन्छ– साँच्चिकै भन्नुपर्दा शिक्षा राजनीतिक खिचातानी र तनावभित्र रहेको छ ।
यस्तो अवस्थामा शिक्षकले कसरी विद्यार्थीलाई ज्ञानी र विवेकशील बनाउन सक्षम हुन सक्लान् ? सधैं तनाव र असन्तुष्टिको सेरोफेरोमा रहेर के शिक्षक र शिक्षिकाले विद्यार्थीलाई सुधारोन्मुख ज्ञान हासिल गराउन सकिन्छ र ? उहाँहरुको उल्टै प्रश्न थियो । उहाँहरु नैतिक शिक्षा र व्यावहारिक ज्ञान बढाउने कुरामा एक मत हुनुहुन्छ र भन्नुहुन्छ शिक्षा स्वच्छ र गुणात्मक बनाउन शिक्षा नीति मै व्यापक सुधार जरुरी छ ।
उहाँहरु बढी चिन्तित भएको पनि देखिन्छ । नीतिकार स्वयं भ्रष्ट र नैतिक पतन उन्मुख भइरहेको वर्तमान समयमा शैक्षिक गुणस्तर बढाउने सपना देख्नु भनेको दिउँसै सपना देख्नु हो । उहाँहरु भन्दै हुनुहुन्थ्यो । उहाँहरुको यति मात्र गुनासो छैन शिक्षा नीतिमा देखिएको अस्वाभाविक राजनीतिक हस्तक्षेप, विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको राजनीतिक खिचातानी तथा योग्य शिक्षक अयोग्य बन्नु पर्ने अवस्था रहेको कुरा समेत उहाँहरु भन्न छुटाउनु हुँदैन ।
राज्यले शिक्षक र शिक्षिकाप्रति देखाएको यस्तो व्यवहारले शैक्षिक वातावरण कसरी सुधार होला ? उहाँहरु आफै चिन्तित हुनुहुन्छ । विद्यालय जस्तो पवित्र ज्ञानको मन्दिरमा राजनीतिक खिचातानीको वातावरण बढाई शैक्षिक वातावरण धमिल्याउने जुन अवस्था देखिँदै छ यसले हाम्रो शैक्षिक वातावरण कता पुग्ने हो हामी स्वयं अलमलमा छौँ । उहाँहरुले आफ्नो दुखेसो यसरी पोख्नुभयो ।
समग्र मा हेर्ने हो भने मानव अस्तित्वको श्री गणेशसँगै उसलाई आवश्यक पर्ने अन्य विविध क्षेत्र तब मात्र उसको प्राप्तिको विषयभित्र व्याख्या हुनसक्छ जब उ ज्ञानी बन्छ । ज्ञान बिनाको विवेकबाट जीवन अर्थहीन बन्ने र अर्थहीन चरित्रले निर्माण गर्ने वातावरण स्वयं प्रदुषित हुने कुरा घाम जस्तै छर्लंग छ । त्यसैले यो सोचलाई अन्यथा नमानी परिस्थितिको आंकलन गरी निश्चित दिशा निर्धारण गर्न सक्नु पर्छ ।
तसर्थ नीतिकारदेखि शैक्षिक वातावरणमा संलग्न सबैले यसको वास्तविकतालाई बुझ्न जरुरी छ । गुणात्मक शिक्षा छ, त जीवन स्वच्छ र पवित्र छ । स्वच्छ र पवित्र जीवन छ त हामी छौँ भनी हरेकले आफ्नो क्षेत्रको विकाससँगै बाल मनोविज्ञानलाई बुझेर नैतिक शिक्षामा आधारित सिकाई पद्धतिको विकास गर्न अधिकार प्राप्त अधिकारी लाग्न जरुरी छ ।
ज्ञान विवेकशील विज्ञबाट पनि यसको पहल हुन जरुरी छ । वर्तमान समयमा यससँग सम्बन्धित सरोकारवाला निकाय नितान्त व्यक्तिगत लाभभित्र चिन्तन गरेको पाइन्छ । वास्तवमा यस्तो अवस्था देखा पर्नु शैक्षिक वातावरण धमिलो हुनु हो । तसर्थ शिक्षा जस्तो पवित्र ज्ञान हासिल हुने मन्दिरलाई राजनीतिकरण नगरी शिक्षा हाम्रो भविष्य निर्माणको बलियो आधार हो भन्ने बुझी वातावरण बनाउन लागि परौँ ।
अहिले वर्तमानमा देखिएको अलमललाई यो आफ्नै कमजोरी हो भन्ने महसुस गरी शैक्षिक सुधार मा जिम्मेवार बनौँ । जबसम्म शैक्षिक वातावरण गुणात्मक र नैतिकतामा आधारित सत्यसँग प्रवाह हुन सक्दैन । तबसम्म भविष्यको नक्षेत्र उज्यालो बन्न सक्दैन । यो सत्यलाई कदापि भुल्नु हुँदैन । शैक्षिक वातावरण धमिलिनु भनेको राष्ट्रियता र राष्ट्रिय जागरणमा ज्ञानी र विवेकशील समाजको अवधारणा कमजोर हुनु हो ।
त्यसैले आजैदेखि शिक्षा हाम्रो आधारशिला हो । यसले हाम्रो नैतिक जीवनमा अनुशासित र नैतिकता प्रदर्शन गर्न सक्ने क्षमताको विकास गर्छ भन्ने सत्यलाई अंगीकार गरी विद्यालय ज्ञानको पवित्र मन्दिर हो । यसको संरक्षण र सम्वर्धन गर्नु, हामी सबैको जिम्मेवारी हो भन्ने सोच वृद्धि गरी वर्तमान समयमा देखा परेको अवस्थालाई सहजीकरण गर्न जरुरी देखिन्छ । चेतना भया ।
