Goraksha

National Daily

राजतन्त्रको माग गुलामी मानसिकताको उपज

मनोज पौडेल

नेपालमा हाल राजतन्त्र पुनःस्थापनाको माग बढ्दै गइरहेको छ। कतिपय समूहहरूले लोकतन्त्रले स्थिरता दिन नसकेको, भ्रष्टाचार बढेको र अराजकता फैलिएको छ भन्ने तर्क गर्छनस त्यसैले राजतन्त्र फर्काउनु उपयुक्त हुनेछ भनेर सुगा रटाई गरिरहेका छन। तर, के यो मागले देशका वर्तमान समस्याहरू समाधान गर्न सक्छ वा यो हाम्रो इतिहासका गल्तीहरू जानाजान दोहोर्याउने प्रयास मात्र हो ?

नेपालको इतिहासमा राजतन्त्रको शासनकालमा अराजकता, शोषण र निरंकुशताका उदाहरणहरू प्रशस्त छन्। पूर्व राजा महेन्द्रले २०१७ सालमा प्रजातान्त्रिक आन्दोलनलाई सैन्य शक्तिले दमन गरे र अधिनायकवाद लादे। राजा ज्ञानेन्द्रले २०५९ मा प्रत्यक्ष शासन गर्दै लोकतन्त्र निलम्बन गरे, जसले २०६२र६३ को जनआन्दोलनलाई जन्म दियो। यी घटनाहरूले स्पष्ट देखाउँछ कि राजतन्त्रको शासनमा पनि जनताको अधिकार र स्वतन्त्रता सुरक्षित थिएनन्।

आजको लोकतन्त्रमा निर्वाचित नेताहरूमा व्यापक भ्रष्टाचार, अक्षमता र जनताप्रति उदासीनता देखिन्छ। यसले जनतामा निराशा बढाएको छ। तर, के यसको समाधान राजतन्त्र नै हो ? यदि हामीले राजालाई पुनः सत्तामा ल्यायौं भने, उनले हाम्रो अधिकार र स्वतन्त्रतालाई कुण्ठित नगर्ने ग्यारेन्टी के छ ? इतिहासले त यस्तो भरोसा गर्न अनुमति दिँदैन।

राजतन्त्रको माग गर्दै भएका आन्दोलनहरूमा हिंसा, आगजनी र पत्रकारहरू माथि आक्रमण जस्ता घटनाहरूले नेपाली समाजलाई आतंकित बनाएको छ। हिजो मात्रै काठमाडौँमा भएको एक र्‍यालीमा प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा दुई जनाको मृत्यु भएको छ, जसमा एक जना पत्रकार पनि छन्। यस्तो हिंसात्मक आन्दोलनले कुनै पनि व्यवस्था परिवर्तनको मार्ग प्रशस्त गर्न सक्दैन, बरु समाजलाई अझै पछाडि धकेल्ने खतरा हुन्छ।

राजतन्त्र र लोकतन्त्र दुवैमा साझा समस्या भनेको सत्ताको दुरुपयोग र भ्रष्टाचार हो। हिजो राजाका निकटस्थहरूले जनताको श्रमको शोषण गरे । आज लोकतान्त्रिक नेताहरूले त्यही गरिरहेका छन्। दुवैको लक्ष्य सत्ताको लालच र राषट्रिय सम्पत्तिको दोहन गर्नु देखिन्छ।

यसको वास्तविक समाधान भनेको जनताले आफ्नो भूमिका बुझ्नु हो। राजा वा नेताहरू मात्र होइन, हरेक नागरिकले देशको भविष्यको जिम्मेवारी लिनुपर्छ। आवश्यकता छ जनजागरणको अरू केहीको छैन। हामीले भ्रष्ट नेतृत्वलाई अस्वीकार गर्नुपर्छ, चाहे त्यो राजतन्त्र होस् वा लोकतन्त्र। पारदर्शी संस्था, न्यायपूर्ण व्यवस्था र युवाको सक्रिय सहभागिता आवश्यक छ।

नेपालले हिजोको निरंकुशता र आजको अराजकताबाट मुक्त हुनुपर्छ। राजतन्त्र वा लोकतन्त्रको बहसभन्दा पनि महत्त्वपूर्ण कुरा न्याय, समानता र मानव अधिकारमा आधारित समाज निर्माण गर्नु हो। यसको लागि हामी सबैले आफ्नो मानसिकता सुधार गर्नुपर्छ। “हिजोका निरंकुश” र “आजका भ्रष्ट” दुवैलाई नकारेर, नयाँ नेपालको निर्माणमा अग्रसर बनौं।