Goraksha

National Daily

७औँ खुमबहादुर खड्का स्मृति दिवस : प्रजातन्त्रका योद्धा, विकासका सारथी

गोरक्ष समाचारदाता
दाङ, १७ चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री स्वर्गीय नेता खुमबहादुर खड्का विकासप्रेमी, जनताका प्रिय, संकटको समयमा जोखिम मोल्न सक्ने निडर र नेता भएको सहभागीले बताएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता स्वं. खुमबहादुर खड्काको ७औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले स्वं. खड्का कार्यकर्ता माझमा प्रिय, कुशल संगठक एवम् दुरदर्शी नेता भएको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवम् पूर्वमन्त्री राजु खनालले पार्टीको संगठन निर्माणसँगै जनताका समस्या बझेर राजनीति गर्ने नेता खड्का भएकाले सदैव कार्यकर्तामा प्रिय बनेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपसभापति खनालले स्वं. नेता खड्काले प्रजातन्त्र स्थापनादेखि संगठन निर्माणसम्म पु¥याएको अतुलनीय योगदानको चर्चा गर्दै दाङमा सडक, विद्युत, सिँचाइ, पुललगायत समग्र क्षेत्रको विकास निर्माणको काममा जग हाल्ने नेता भएको बताए । दाङमा कांग्रेसको संगठन निर्माणसँगै विकास निर्माणको कामलाई अघि बढाउन स्वं.नेता खड्काले खेलेको भूमिकाका कारण सदैव दंगाली जनताले स्मरण गर्ने बताए ।

नेता खनालले तत्कालीन पञ्चायतको निरकुंश शासन व्यवस्थामा नेताहरू खुमबहादुर खड्का, बलदेव शर्मा मजगैया, तीर्थराज चैतुलगायत नेताहरूले खेलेको महत्वपूर्ण भूमिकाका कारण आज कांग्रेसको संगठन मजवुद भएको भन्दै यसलाई बचाउन नेता कार्यकर्ता लाग्नु पर्ने बताए । उनले लामो संघर्षबाट प्राप्त उपलब्धीको संस्थागतसँगै जनतामा भएको निराशालाई चिर्नका लागि कांग्रेस एमालेको सरकार बनेको बताए । साथै उनले राजतन्त्रका नाममा परिवर्तनलाई उल्ट्याउने गतिविधि भएको भन्दै त्यसका विरुद्धमा सचेत नागरिक एकजुट हुनु पर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले विकास र संगठन निर्माणमा खेलेको भूमिका कारण खुमबहादुर खड्का जनताको प्रिय नेता बन्न सफल भएको बताए । काम गर्ने नेताकापछि कार्यकर्ता हुने भन्दै विकास निर्माणसँगै जनतालाई अप्ठेरो पर्दा हेर्ने भएका कारण खड्काले धेरै नेता तथा कार्यकर्ताको माया पाएको बताए । स्वं. खड्काको व्यक्तित्वको उजागर गर्दै सहमहामन्त्री पाण्डेयले भने,‘उहाँले प्रवासमा अनेकौं दुःख र संघर्ष गर्दै प्रजातन्त्र स्थापना र पार्टीको संगठन निर्माण लाग्नु भयो तर जनता र पार्टीको हितविपरित कहिल्यै लाग्नुभएन ।’ पाण्डेले अहिलेका नेताहरूले खड्काको जीवनीबाट पाठ सिक्दै कार्यकर्ताले संगठन निर्माण र परोपकारको भावना सिक्नुपर्ने बताए ।

नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेश्वरी गौतमले कांग्रेसको संगठन निर्माणका लागि कुशल संगठक तथा विकासप्रेमी नेताका रूपमा स्मरण गर्दै उनको मृत्युले पार्टीलाई ठुलो क्षति पुगेको बताए । कार्यकर्ता संरक्षणसँगै अप्ठेरो परेका समयमा जोखिम मोल्न सक्ने नेता भएका कारण धेरैको मन जित्दै छोटो समयमा पार्टीको उच्च तहमा पुग्न सफल भएको बताए । साथै उनले मुलुकमा अस्थिर राजनीतिका कारण विकास र समृद्धि प्रभावित भएको बताए । उनले स्थायी सरकारको आवश्यकतालाई औँल्याउँदै खड्काको संगठनात्मक सिपलाई अनुसरण गर्न नेताहरूलाई आह्वान गरेका थिए । संविधानसभा सदस्य अनिता देवकोटाले दाङको विकासमा स्वर्गीय खुमबहाुदर खड्काको भूमिका उल्लेख्य रहेको भन्दै उनको योगदानका दाङमा कांग्रेस मजबुत बन्न सफल भएको बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगीले स्वर्गीय नेता खड्काको योगदानलाई अविस्मरणीय राख्दै आगामी पुस्ताका लागि अध्ययन गर्ने दस्तावेज बनाउनका लागि खुमबहादुर खड्काको योगदान र संघर्षलाई समेटेर किताब प्रकाश गर्नुपर्ने बताए । पुस्तक प्रकाशनको जिम्मेवारी पार्टीले ल्याउने भन्दै दाङ कांग्रेसको संगठन निर्माणसँगै पार्टीका लागि उनले खेलेको भूमिकाका बारेमा समकालीन नेताहरूले लेखेर पार्टीलाई सहयोग गर्नु आग्रह गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले स्वं. खुमबहादुर खड्काले युवालाई राजनीतिमा प्रोत्साहित गर्न खेलेको भूमिकाको स्मरण गर्दै कांग्रेस निर्माणका लागि नेपाल विद्यार्थी र तरुण दललगायतका भातृ संघसस्थालाई क्रियाशिल बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य लोका विक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, महासमिति सदस्य भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ र क्षेत्र नं. २ (ख) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका १४ का सभापति टेकबहादुर बुढाथोकी, नेपाल तरुण दलका केन्द्रीय सदस्य श्रीधर घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई अर्का उपसभापति कमानसिंह भारतीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन बिताएका थिए । २०३३ सालमा वीपी कोइरालासँगै मेलमिलाप नीति लिएर उनी स्वदेश फर्केपछि लामो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएका थिए । प्रजातन्त्र पुर्नस्थापना पछिका तीनवटै संसदीय चुनावमा उनी दाङबाट विजयी भएका थिए । उनको २०७४ साल चैत १६ गते उपचारका क्रममा निधन भएको थियो ।