अमेरिकन कम्पनीमा सुपरभाइजर …
महिना र गते याद भएन । म विसं २०६१ सालमा वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएको थिएँ । एसएलसी पास गर्ने वित्तिकै वैदेशिक रोजगारीको भूत चढेको थियो हामी युवाहरूमा । साउदीमा गएर मैले सुरुका तीन वर्षजति एउटा अमेरिकी प्रोजेक्टमा लेवरको काम गरेँ । जुन प्रोजेक्टमा मैले मासिक ७ सय साउदी रियाल पाउने गरी काम पाएको थिएँ । त्यो काम गरेको करिब ४ वर्षपछि सोही कम्पनीमा सुपरभाइजरको भ्याकेन्सी खुल्यो । म लगायत बंगलादेशी र भारतीय जम्मा ६ जनाले आवेदन दिएका थियौँ । ६ जना प्रतिस्पर्धीलाई पछ्याउँदै मैले नाम निकाल्न सफल भएँ ।
लेखिदिनु होला, मेरो अहिलेसम्म कै खुसीको अविस्मरणीय क्षण भनेको अमेरिकन प्रोजेक्टमा सुपरभाइजरको जागिर । किनकि लेवरबाट सुपरभाइजर हुँदा मेरो मासिक पारिश्रमिक ४ सय रियालबाट बढेर ७ सय रियाल पुगेको थियो । जुन त्यो बेलाको नेपाली २२ हजार रुपैयाँ होे । माथि उल्लिखित खुसीको क्षेण हो, तुलसीपुर उपमहानगरपालिका—१८ का स्थायीबासी शेषमणि कवरका । कवरले त्यो खुसी रजिष्ट्रीपत्र पठाएर बुवा आमासँग साटे । मोवाइल फोनको जमाना थिएन । बिजौरी बजारमा रहेको पिसिओमा श्रीमती रिखालाई बोलाउन लगाएर फोन गरे । अनि श्रीमती रिखा योगीसँग यो खुसी साटे । श्रीमती रिखाले त्यो बेला भनेकी थिइन्, अब हाम्रा ग्रहदसा सकिए, तपाई लगनशील भएर काम गर्दै जानु होला । अरू थप प्रगति हामीले देख्ने छौँ ।
शेषमणिले त्यो खुसी साउदीमै सँगै रहेका रुमपार्टनर नेपालीहरूसँग पनि साटे । रातभर मिठोमसिनोमा रमाए । नेपाली भाकामा नाँचगान पनि भयो । त्यो खुसीले मलाई पेसाप्रतिको इमान्दारीतामा थप हौसला प्रदान ग¥यो । सुपरभाइजर भएको केही दिनमै उनलाई उनी काम गर्ने अमेरीकन कम्पनी वेस्टर्न जिकोले शेषमणिलाई फेरि सम्मान ग¥यो । कम्पनीमा सबैभन्दा अनुशासित भएर काम गर्ने कर्मचारी भनेर प्रमाणपत्र पनि दियो ।
कम्पनीको प्रमुखले नै हस्ताक्षर गरेको अंग्रेजी भाषा र साउदी भाषामा लेखिएको त्यो सम्मानपत्र मैले वैदेशिक जागिर छाडेर नेपाल फर्कँदा पनि सँगै ल्याएर आएको छ । घरमा त्यो अनुशासनको प्रमाणपत्र अझै पनि सुरक्षित छ । त्यही प्रमाणपत्रले मलाई सधै अनुशासनमा डो¥याएको छ । जे काम गरेपनि अनुशासित र संयमित भएर गर्नुपर्दछ भन्ने पनि सिकाएको छ । लेखिदिनु होला अमेरिकन कम्पनीले दिएको अनुशासनको पत्र पनि मेरो खुसी हो ।
त्यसो त खुसीका अविस्मरणीय क्षण पनि प्रशस्त छन् । अर्को खुसीको अविस्मरणीय क्षण पनि सम्झन चाहन्छु । हामी त्यो बेला मावि रतनपुरमा कक्षा ७ मा पढ्थ्यौँ । चौघेरामा कोटिहोम लागेको थियो । त्यो बेला कोटिहोम त बुझ्नैनथ्यौँ तर पनि गाउँका पाका गएको थाहा थियो । त्यसैले एक दिन हामी स्कुलबाटै चौघेराको कोटिहोममा जाने निधो गयौँ । घरबाट स्कुल जान निस्केका हामी चारजना साथी स्कुल नगएर सोझै बिजौरीबाट चौघेरातर्फ पैदल लाग्यौँ । हामीलाई चौघेरा पुग्न करिब ४ घण्टा लागेको थियो । कोटिहोममा चलेको भण्डारामा हामीले लाईन लागेर खाना खायौँ । रातभर मन्दिरको पेटिमा बसेर रात बितायौ ।
हामी स्कुलबाट घर नगएपछि मात्र थाहा भयो । छोरा कहाँ गएछन् भनेर । हामी भोलिपल्ट घरपुग्दा बुवा आमाले झपार्नु भयो । नसोधि गएको भनेर मलाई धेरै सम्झाउनुभयो पनि । बुवाआमालाई ढाटेर केहि नगर्न पनि भन्नु भयो । त्यसपछि म कहिल्यै पनि जानकारी नै नदिएर घरबाट बाहिरिएको छैन । किनकि त्यसले मलाई फेरि इमान्दारीमा डो¥याएको छ । त्यसपछि हामीले कहिल्यै क्लास बंक गरेनौँ । स्कुलमा इमान्दार रहन पनि यसै घटनाले हामीलाई सिकाएको थियो ।
अर्को खुसी त नभनौँ, तर अविस्मरणीय क्षण पनि मलाई याद छ । परीक्षा शुल्क लिएर घरबाट निस्केका हामी घोराहीको गणेशहलमा सिनेमा हेर्न पुग्यौँ । गणेशहलमा भारतीय फिल्म नायक अजय देवगनको फुल और काटे फिल्म लागेको थियो । हामीले भर्खर हिन्दी फिल्म बुझ्ने भएका थियौँ । परीक्षा शुल्कनै लगेर फिल्म हेर्न गएको मैले त्यो बेला बुवालाई भनिन । तर बुवा कामको शिलशिलामा देउखुरी झरेपछि मैले आमालाई त्यो कुरा बताए र आमाले पैसा दिएपछि परीक्षा फि लगेर स्कुलमा बुझाएको थिएँ तर त्यो घटना मैले अहिलेसम्म पनि बुवालाई भनेको छैन । कुनै यस्ता गल्तीहरू हुन्छन्, जसलाई भुल्न सकिने रहेनछ ।
आफ्ना उल्लेख्य खुसीका क्षणको स्मरण गर्दै तुलसीपुर उपमहानगरपालिका—१८ हेमन्तपुर निवासी शेषमणि कुवरले खुसीलाई सधै अनुशासनको प्रतिफलका रूपमा लिन्छन् । मेहनतको कमाइका रूपमा लिन्छन् । अनि श्रमको मूल्यलाई खुसी भन्छन् । प्राथमिक शिक्षा आधारभूत विद्यालय मानपुरमा सकेर उनले एसएलसी परीक्षा भने हापुर रतनपुरको मावि रतनपुरबाट पूरा गरे । त्यसपछि उनले पशुचौपायाको औषधी उपचार गर्ने प्राविधिक तालिम पनि लिए तर उच्च शिक्षाको उनको धोको भने अधुरै छ ।
वैदेशिक रोजगारीबाट नेपाल फर्केर यही केही काम गर्नुपर्छ भन्ने सोच राखेका कवर विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका—१८ को वडाध्यक्षमा माओवादी पार्टीकोतर्फबाट प्रत्यासी त बने, तर चुनाव भने जित्न सकेनन् । हाल उनी जुरपन्या मैनातारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्षको जिम्मेवारीमा छन् । गाउँको विकासमा चासो राख्ने कवर पछिल्लो समयमा समाजसेवासँगै राजनीतिमा पनि क्रियाशिल छन् तर यो संस्थामा काम गरिरहँदा पनि तनावमुक्त भने बन्न सकेका छैनन् ।
नेपाल जलस्रोतको धनी देश रे तर वर्षको सुख्खा मौसममा आम नागरिकलाई सहजरूपमा पिउने पानी पनि पु¥याउन मुस्किल छ । सरकारले खानेपानीलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । संस्थाहरूले भने ट्याङ्करबाट पानी खुवाउने बाध्यतामा सरकार बेखबर छ । उनी भन्छन् । आम नेपालीलाई निर्धक्क साथ पिउने पानी निःशुल्क रूपमा उपलब्ध गराउन सके सबैभन्दा खुसीको क्षण त्यही हुने थियो । तर …।
प्रस्तुती : खेमराज रिजाल
