पछिल्लो समयमा मिसावट तथा मानिसको स्वास्थ्यमा असर पर्ने गरी विभिन्न अखाद्य वस्तुहरुको प्रयोग बढिरहेको छ । विभिन्न विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर पारिरहेको छ । शारीरिक र मानसिक रुपमा सक्रिय जीवनका लागि खाद्यन्न आधारभूत आवश्यकताको रुपमा रहन्छ । यसको अभावमा मानव शरीरलाई आवश्यक पोषणतत्वको कमी भई मानिस अस्वस्थ हुन जान्छ ।
मानव पुँजी नै राष्ट्रिय विकास र समृद्धिको सम्वाहक हुनाले खाद्य स्वच्छता केवल मानव सुरक्षासँग मात्र नभई सिङ्गो विकास प्रणालीसँग जोडिन्छ । हामीले दैनिक उपभोग गर्ने वस्तुमा अखाद्य वस्तु प्रयोग भएको पाइन्छ । विभिन्न नियामक निकायले दैनिक बजार अनुगमन गरी खाद्य स्वच्छताका लागि पहल भइरहेको छ । खाद्य स्वच्छताको आवश्यकता, महत्व र बजार अनुगमनलगायतको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङका सूचना अधिकारी तथा खाद्य निरीक्षण अधिकारी विवेककुमार सुवेदीसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
स्वागत छ यहाँलार्ई सातावार्तामा ?
धन्यवाद यहाँ अनि यहाँको पत्रिकालार्ई मेरा कुराहरू राख्न दिएकोमा ।
खाद्य स्वच्छता भनेको के हो ?
खाद्य स्वच्छता भन्नाले खाद्य पदार्थ तयारी तथा उपभोग (इन्टेन्डेड युज) गर्दा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहेको अवस्था भन्ने बुझ्नु पर्दछ । यस अर्थमा हामीले दैनिक खाने खाद्यवस्तु सही तरिकाले उपभोग गर्दा, त्यसले हाम्रो स्वाथ्यमा नकारात्मक असर नगर्ने सुनिश्चितताको अवस्थालार्ई खाद्य स्वच्छता भनिन्छ ।
खाद्य स्वच्छताले उपभोक्ताको स्वास्थ्यको हितलार्ई ध्यानमा राखी खाद्यवस्तु तयार र उपभोग गर्दा स्वास्थ्यमा नकरात्मक असर गर्न सक्ने जोखिमपूर्ण कुरालाई सुरूदेखि नै निराकरण गर्ने उपाय एवम् विधि समेतलार्ई समेट्दछ ।
जिल्लामा खाद्य स्वच्छता र पोषणको अवस्था कस्तो पाउनु भएको छ ?
यस कार्यालय स्थापनाको ६ वर्षको अवधिमा कार्यालयबाट हुने गरेका खाद्य स्वच्छता, गुणस्तर र पोषणसम्बन्धी सचेतनामूलक कार्यक्रम, नियमनकारी निकायको निरन्तरको नियमन, अनुगमन र खाद्य व्यवसायी एवम् आम उपभोक्ताको बढ्दो चेतनाकोस्तरले समेत यस जिल्ला लगायत हाम्रो कार्यक्षेत्रमा खाद्य स्वच्छता र पोषणको अवस्थामा उल्लेख्य सुधार भएको अनुभव हामीले गरेका छौँ ।
पछिल्लो समयमा अखाद्य वस्तुको प्रयोग बढिरहेको छ ? यसलार्ई कसरी लिनुभएको छ ?
बढ्दो जनसङ्ख्या, बजारीकरण, प्रविधिको व्यापकता र यातायातको सुलभताले हुनसक्छ, पछिल्लो समय खाद्य स्वच्छतामा नयाँ–नयाँ चुनौती थपिएका छन्, एकातर्फ पुराना व्यवसायमा सुधार हुँदै गएको छ भने, अर्कोतर्फ नयाँ खालका समस्या थपिँदै छन् । हालसालै मात्र बजारमा ठुलो मात्रामा बाह्य रङ हालेको मासको दाल, कृत्रिम रूपमा रंगाईएका चटपटे मटरजस्ता स्न्याक्स फुड, नक्कली चुक अमिलो, अस्वच्छ तरिकाले तयार गरिएका बरफ जुससमेत बिक्रीवितरण गरेको भेटिएका छन् ।
खाद्य वस्तुको पूर्ण परिचय नखुलाई, लेबलिङ समेत नगरिएका वस्तु पनि यदाकदा भेटिने गरेका छन् । यस्ता वस्तु कतिपय अवस्थामा बदनीयतपूर्वक उत्पादन तथा बिक्री वितरण गरेको पाइन्छ भने कतिपयमा प्राविधिक ज्ञान र सचेतनाको कमीले कारणले समेत उत्पादन र बिक्री गरेको पाइएको छ ।
यस प्रकारका समस्याको निराकरण र खाद्य स्वच्छता तथा पोषण सचेतनाका लागि कार्यालयले कस्ता कार्यक्रम सञ्चालन गरेको छ ?
यसप्रकारका खाद्य स्वच्छता र गुणस्तरसँग सम्बन्धित समस्यालाई निराकरण गर्न हाम्रो कार्यालयबाट नियमित रूपमा खाद्य व्यवसायको नियमन अनुगमन गर्ने, बजारमा बिक्री वितरणका लागि राखिएका खाद्यवस्तुको स्याम्पलिङ गरी प्रयोगशाला परीक्षण गराउने, समस्या देखिएका खाद्यवस्तु तथा खाद्य व्यवसाय उपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गर्ने गरेका छौँ ।
त्यसैगरी खाद्य स्वच्छता, गुणस्तर तथा पोषणसम्बन्धी सचेतनाका लागि खाद्य व्यवसायीलार्ई परामर्श सेवा प्रदान गर्ने, प्राविधिक तालिम दिने, अनुगमनको क्रममा सल्लाह सुझाव र निर्देशन दिने, सरोकारवालाबिच समस्याको पहिचान र समाधानका लागि छलफल, अन्तरक्रिया एवम् प्राविधिक रूपमा सहकार्य गर्ने, आम उपभोक्तालार्ई सुसूचित गराउन कार्यक्रम सञ्चालन गर्ने र स्थानीय सञ्चार माध्यमबाट सूचना तथा जानकारीमूलक सामग्री प्रचारप्रसार गर्ने गरेका छौँ ।
बजारमा कस्तो किसिमका वस्तु बढी प्रयोग हुने गरेका छन् ?
बजारमा छिटफुट बाहेक खाद्य स्वच्छता र गुणस्तरका दृष्टिले सुरक्षित खाद्यवस्तु नै बिक्री वितरण भइरहेका छन् ।
अस्वच्छ खाद्यपदार्थले मानव स्वास्थ्यमा पार्ने असर के–के हुन् ?
अस्वच्छ खाद्यपदार्थले मानव जीवनमा तत्कालीन र दीर्घकालीन गरी दुवैखालका असर पार्न सक्छ । अस्वच्छ खाद्यपदार्थको सेवनले स्वास्थ्यमा तत्कालीन रूपमा झाडावान्ता तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) गराउन सक्छ भने दीर्घकालीन रूपमा कुपोषण लगाउने, विभिन्न अंगमा नकारात्मक असर गर्ने लगायत क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउन सक्छ ।
बजार अनुगमनको क्रममा कस्तो अवस्था देख्नुभयो ?
बजार अनुगमनको क्रममा धेरैजस्तो खाद्यवस्तु र खाद्य व्यवसाय सन्तोषजनक नै भेटिएका छन् । केही व्यवसायमा स्वच्छता र सरसफाईमा कमी, खाद्यवस्तुको अव्यवस्थित भण्डारण तथा व्यवस्थापन, म्याद गुज्रेका खाद्यपदार्थको व्यवस्थापनमा कमी तथा केही प्राविधिक पक्षमा कमी भएको पाएका छौँ । ती कमजोरीलार्ई तुरुन्त सुधार गर्न लगाएका छौँ र अटेरी गर्नेलार्ई कानुन बमोजिम कारबाही समेत गरेका छौँ ।
खाद्य स्वच्छता कायम गर्नका लागि कुन–कुन पक्ष बढी जिम्मेवार हुनुपर्छ ?
खाद्य स्वच्छता कुनै एक व्यक्ति वा संस्थाले मात्र पूर्णता दिन नसक्ने विषय भएकोले खाद्य स्वच्छता कायम गर्नका लागि खाद्य शृङ्खलामा रहेका उत्पादक कृषक, प्रशोधनकर्ता, आयातकर्ता, निर्यातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता, वितरक, सेवाप्रदायक, नियमनकर्ता, उपभोक्ता लगायतका सबै सरोकारवाला उत्तिकै जिम्मेवार भएर आ–आफ्नो दायित्व पालना गर्नु आवश्यक पर्दछ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य स्वच्छता कायम गर्ने सवालमा खाद्य शृङ्खलाका सरोकारवालाले पालना गर्नु पर्ने दायित्व स्पष्ट रूपमा तोकेको छ । यी दायित्वको पूर्ण पालना गरी खाद्य स्वच्छताको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिन्छ ।
अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्नेलार्ई के–कस्तो कारबाही हुन्छ ?
अखाद्य वस्तु भन्नाले दूषित, न्यूनस्तरका तथा ऐनले तोकेको व्यवस्था अनुरूप नपाइएका खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेलार्ई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ बमोजिमको दण्ड जरिवाना तथा कैद सजाय लगायत उद्योगको उत्पादन रोक्का, समस्या देखिएको वस्तुको बिक्री वितरण रोक्का गरी नष्ट गराउनेजस्ता कारबाही हुन्छ ।
हालसम्म कति जनालार्ई के–कस्तो कारबाही गर्नु भएको छ ?
चालु आर्थिक वर्ष २०८१÷८२ मा यस कार्यालयबाट हालसम्म १ वटा उद्योगको सुधार नहुन्जेलसम्मका लागि उत्पादन रोक्का, १ वटा उद्योगको समस्या देखिएको उत्पादन बजारबाट फिर्ता गरी नष्ट गराउन निर्देशन दिइएको छ, एउटा उद्योग उपर ऐन बमोजिम मुद्दा दायर गरिएको छ भने कैफियत देखिएका केही खाद्यपदार्थ उपर अनुसन्धान गरी थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।
त्यसैगरी नियमित अनुगमनको क्रममा खाद्य व्यवसायमा खाद्य स्वच्छता र सरसफाईमा सुधार गर्न, उद्योगको पूर्वाधारमा सुधार गर्न, उत्पादनको नियमित प्रयोगशाला परीक्षण गर्न, उद्योगको दैनिक क्रियाकलापको अभिलेख राख्न र ऐनले तोकेका दायित्व पालना गर्न निर्देशन दिने गरेका छौँ भने अटेरी गर्नेलार्ई ऐन बमोजिम कारबाहीको प्रक्रियामा लैजान्छौँ ।
बजार अनुगमन चाडपर्व आएपछि मात्र बेमौसमी हुने नियमित नहुने भन्ने गुनासो छ नि ?
यो चाही एकदमै गलत कुरा हो, हाम्रो कार्यालयले वर्षभरी नै सबै महिना र मौसममा नियमित रूपमा खाद्य व्यवसायको अनुगमन निरीक्षण गरिरहेको हुन्छ । हामीले गरेका अनुगमन सम्बन्धी कामको ज्याँदा प्रचारप्रसार नभएको कारणले यस्तो गुनासो आएको हुनसक्छ ।
हामीले कार्यालयबाट नियमित रूपमा गरेका बजार, उद्योग अनुगमन तथा कार्यक्रम सञ्चालन सम्बन्धी सबै क्रियाकलापको बारेमा नियमित रूपमा सामाजिक सञ्जालमार्फत् जानकारी प्रवाह गर्ने गरेका छौँ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा ७३ पटक खाद्य किराना बजार, ५१ पटक होटल÷ रेस्टुरेन्ट÷खाजाघर, १६ पटक गुनासो सम्बोधन तथा खाद्य उद्योगसमेत गरी पाँच सयभन्दा बढी खाद्य व्यवसायको अनुगमन गरिसकेका छौँ ।