Goraksha

National Daily

मानव स्वार्थ र सामाजिक दायित्व

मानव जातिको इतिहास स्वार्थ र निष्ठाको द्वन्द्वले भरिएको छ। प्रकृतिको सबैभन्दा बुद्धिमान प्राणी भए पनि, मानिस आफ्नो फाईदा, सुविधा, र इच्छाको पछि लाग्दै आएको छ। यो कुरा हामीले नजिकका सम्बन्धहरू जस्तै; परिवार, मित्रता, प्रेम यी सबैमा देख्न सक्छौं।

परिवारलाई निस्वार्थ प्रेम को प्रतीक मानिन्छ। तर, आधुनिक समाजले यस अवधारणालाई चुनौती दिइसकेको छ। अभिभावकहरूले आफ्ना सन्तानलाई पालनपोषण गर्दा पनि केही अपेक्षा राख्छन् चाहे त्यो बुढ्यौलीमा सहारा होस्, समाजमा इज्जत होस्, वा आफ्नो अधुरा सपनाहरू पूरा गराउने माध्यम।

यसरी हेर्दा, सन्तानको सफलतालाई पनि लगानी वा सम्पतीको रूपमा लिइन्छ। उदाहरणका लागि एउटा कमाउने सन्तानलाई अभिभावकको माया र सहयोग धेरै हुन्छ, जबकि बेरोजगार वा असफल सन्तानप्रति उपेक्षा बढ्छ। यसले देखाउँछ कि मानवीय सम्बन्धहरूमा पनि लेनदेन को मनोवृत्ति छापिएको छ।

मित्रता र प्रेमलाई पवित्र भनिन्छ, तर यी सम्बन्धहरू पनि स्वार्थको चौतारीमा टुट्ने गर्दछन्। मानिसले आफ्नो जीवनमा धेरै मित्र बनाउँछ, तर जब तपाईंले उनीहरूको अपेक्षा पूरा गर्न सक्नुहुन्न वा तिनीहरूको स्वार्थमा अन्जानमा पनि अवरोध बन्नुहुन्छ, तब सम्बन्धहरू कमजोर पर्छन्, तपाईलाई मतलव गर्न छोडछन्।

उदाहरणका लागि, तपाईंले कसैलाई निस्वार्थ प्रेम गर्नुभयो, निरन्तर सहयोग गर्नुभयो, तर एउटा गलतफहमी वा तिनीहरूले नरुचाएको कार्य वा निर्णयले गर्दा तिनीहरू तपाईंप्रति विरोधी हुन सक्छन् वा सम्बन्धमा दरार सिर्जना हुन्छ। यस्तो अवस्थामा, सम्बन्धको मूल्य केवल तिनीहरूको आवश्यकता पूर्तिमा सीमित हुन्छ।

प्रेमसम्बन्धहरूमा पनि यही देखिन्छ। धेरै जोडीहरूको प्रेम वास्तवमा धन, सामाजिक स्थिति, वा शारीरिक आकर्षणमा आधारित हुन्छ। जब एक पक्षले अर्कोलाई दिइरहेको सुविधा हराउँछ, सम्बन्धको नाडी पनि कमजोर हुन्छ।

यद्यपि मानव स्वभाव स्वार्थी छ, समाज र राष्ट्रप्रति उसको दायित्व पनि छ। सामाजिक र राष्ट्रिय हितको लागि हामिले काम गर्नु पर्छ। तर, यो कार्य गर्दा पनि मानिसले आफ्नो र परिवारको सुरक्षालाई प्राथमिकता दिन्छ।

यो स्वाभाविक पनि हो, किनभने परिवार नै त्यो पहिलो पाठशाला हो जहाँ हामीले माया, त्याग, र समाजप्रतिको दायित्व सिक्छौं। बाल्यकालदेखि हामी आमाबाबुको त्याग, दाजुभाइको सहयोग, र समुदायको साथमा हुर्किन्छौं। त्यसैले, आफ्नो र परिवारको हित पहिले भन्नु अनैतिक होइन, बरु व्यावहारिक हो।

तर, यसले हामीलाई सामाजिक दायित्वबाट टाढा बनाउँदैन। नेपाली समाजमा दानधर्म, र परोपकार को संस्कृति छ। भूकम्प, बाढी जस्ता प्रकोपहरूमा सामुदायिक सहयोगको शक्तिले नै हामी उभिएका छौं। यसले प्रमाणित गर्छ कि स्वार्थमाथि पनि मानवता हावी हुन सक्छ, निस्वार्थ सहयोग पनि हुन सक्छ।

मानव जीवन स्वार्थ र निष्ठाको बीचको सङ्घर्ष हो। हाम्रो प्रकृति हामीलाई आफ्नो हितमा केन्द्रित हुन लगाउँछ, तर हाम्रो मानवता हामीलाई अरूको सेवा गर्न प्रेरित गर्छ।

हामी स्वार्थी प्राणी हौं, तर हामीमा त्याग गर्ने सामर्थ्य पनि छ। आफ्नो स्वार्थलाई समाजको हितसँग जोड्न सकियो भने, यो संसार सुन्दर बन्छ। आँफैलाई माया गर्नु र अरूलाई सहयोग गर्नु एउटै सिक्काका दुई पाटा हुन्। यो सन्तुलन नै मानव अस्तित्वको सार हो।