सहिद सप्ताह र उनीहरूप्रतिको सम्मान
केपी सुवेदी
नेपालमा सहिदको बारेमा केही सत्य र केही भ्रम आज पनि यथास्थिति मै छ । सहिद शब्दको अर्थदेखि राजनीतिक परिवर्तनसम्मको सांगोपांग विवेचना सामान्य मानिसले कल्पना गर्नसम्म भ्याउँदैन । नेपालका प्रथम सहिद लखन थापा मगर भनेर थाहा पाउन बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना हुनु परेको थियो । १९३३ मा उनले राणा प्रधानमन्त्री जंगबहादुरको शासनकालमा जंगबहादुर कै आदेश बमोजिम सहादत प्राप्त गरेका थिए भनिएको छ ।
राणाहरुको जहाँनिया शासनको अवधि भरमा राणाको निरंकुशता विरोधी लखन जस्तै अरु पनि सहिद हुन सक्तैनन् भन्नसक्ने अवस्था अझै पनि छैन तर पनि १९९७ साल माघको १० गतेदेखि सोही महिनाको १४ गतेसम्म राणाको निरंकुश शासनको विरुद्धमा हाँक दिइरहेका चार नेपाली सपुतलाई फाँसी दिइयो । १० गते टेकु पचलीमा खरिबोटमा झुण्ड्याएर सहिद शुक्रराज शास्त्रीलाई मारिएको थियो ।
त्यसको पर्सिपल्ट माघ १२ गते सहिद धर्मभक्त माथेमालाई पचलीमा झुण्ड्याएर मारियो । राणाको फाँसीवादी सत्ताले सोचेको थियो कि शुक्रराज र धर्मभक्त मारिएपछि हाम्रो सत्ता अकण्टक चलिरहने छ तर परिणाम त्यस्तो भएन विरोध चर्किन थाल्यो । दशरथ चन्द र गंगालाल श्रेष्ठले विरोध झनै चर्को रुपमा सुरु गरे । माघ १४ गते शोभा भगवती नजिकै दुवैजनालाई गोली हानेर मारियो । मारिनेमा गंगालाल श्रेष्ठ केवल २२ वर्षका युवक थिए ।
निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा जनचेतना जगाउने अभियान चलाउँदा धेरैजना तत्कालीन शासकको गोलीको सिकार भएका छन् । प्रजातान्त्रिक विचारबाट ओतप्रोत ति महान सहिदको सहादत पनि वैचारिक कोप भाजनमा परेको कारण पछि मात्र सहिदको सूचीमा सूचीकृत गरिएको छ । सहिदको साहसिक वलिदान राष्ट्र राष्ट्रियता र प्रजातन्त्रका लागि जति महान छ त्यति नै महत्वपूर्ण शिक्षा पछिल्ला पुस्तालाई दिइनैरहेको छ, कि उनकै पथमा हिड्न परे पनि पछि नहटुन् भनेर । तर, पछिल्लो समयमा सहिदप्रतिको सम्मान र योगदानको गरिमाप्रति अबमूल्यान हुँदै गरेको महसुस भएको छ । जब–जब भुईँ फुट्टा सहिदको खेती हुन थाल्यो सहिद शब्दको अपमान गरेझै हुन थाल्यो । स्वार्थी समूह एकआपसमा लडेर पनि राजनीतिक लडाईको रंग दिन थालियो ।
अहिले नेपालमा पछिल्लो तथ्याङ्क अनुसार १२१९१ सहिदको संख्या सूचीकरण गरिएको छ । सहिद शब्द एउटा आस्थाको धरोहर पनि हो । राणा विरोधी आन्दोलनका चारसहिद र पछि सूचीकरण गरिएका लखन थापा कसैको प्रयोगका लागि सञ्चालित होइनन्, अन्तरमनबाट देशभक्तिले ओतप्रोत महान आत्माका प्रतिनिधि थिए तर पछि विचार धाराबाट प्रभावित हुँदै सहादत प्राप्त गर्ने सहिदको भावना पवित्र हुँदा हुँदै पनि ती सहिद जन्माउने नायक स्वार्थी, सत्तालिप्त र भ्रष्ट हुन थालेपछि, सहिदलाई वर्गीकरण गर्न थालियो । चाहे प्रजातान्त्रिक विचार धारा अगाल्ने हुन् या जनवादी सत्ताको अभ्यास गर्नेहरु हुन् ।
प्रजातन्त्र स्थापनाको लडाईमा तत्तकाल सत्ताको दमन चर्को नै भए पनि प्रतिरोधमा विपक्षद्वारा व्यक्ति हत्या भएको थिएन शसस्त्र लडाई भने पनि मान्छे मारिएन । सुरक्षा पोष्ट कब्जा गर्दा कतै सेनाप्रहरी मारिएका थिए । तर, कम्चयुले चलाएका शसस्त्र विद्रोहमा चाहे तत्कालीन मालेले चलाएको झापा विद्रोह होस् या माओवादीले सुरु गरेको कथित जनयुद्ध होस् धेरै ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाए । माओवादीले गरेको शसस्त्र विद्रोहमा के–के गर्न भ्याएका थिए । त्यसको हिसाव किताब उनका तत्कालीन सहयोद्दा डा. भट्राईले आजभोलि किस्ताबन्दीमा देखाउन थालेका छन् । राज्यको सम्पत्ति कसरी लुटेर त्यसरी लुटेको सुन, धन कहाँ लुकाएका हुन् त्यसको पनि हिसाब निकाल्न उनी अलि आत्तिएको बुझ्न सकिन्छ । बावुरामको भनाईमा प्रचण्ड युद्धकालीन भ्रष्टाचारी हुन् अरे ।
यद्यपि प्रचण्डको सहयोद्दा भएको नाताले त्यसको अलिकति सानोभाग बाबुरामकोमा पनि संसदमा माओवादीले चलाएको दशवर्षे कथित जनयुद्ध कति अनुशासनहीनताले भरपुर थियो भन्ने कुरा बहसमा छ । नेकपा एमाले र माओवादीको दोहरी चलिरहेको बेला गाउँमा अझै कतै बम पडकेर मान्छे मरिरहेका छन् त कतै झाडीमा बम फेला पर्दैछन् । माओवादीले करिब तिस वर्ष अगाडि सुरु गरेको हिंसात्मक द्वन्द्वको उद्देश्य राज्यसत्ता बन्दुकले खोसेर लिने निर्णय थियो । दश वर्षमा निर्णयबाट पछि हटेर शान्ति प्रक्रिया हुँदै संसदीय व्यवस्थामा फर्किदा मुलुक र मुलुकबासीले धेरै मूल्य चुकाउनु प¥यो ।
संसदीय व्यवस्थाले जनताको जीवनस्तर बदल्न नसक्ने भएकोले जनवादी व्यवस्था स्थापना गरेर समाजवाद हुँदै साम्यवादमा पुगेपछि सम्पूर्ण नागरिकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हैसियत समान हुन्छ भन्दै विद्यार्थी युवा तथा सबै वर्ग समुदायलाई जवरजस्ती युद्दमा धकेले । धेरै मानिस अन्यायपूर्वक मारिए, घरबार छोडेर हिडे । हिंसात्मक द्वन्द्वमा संलग्न वा असंलग्न सबैको हालत एकैजस्तो बन्यो विशेषगरी गाउँले जनजीवन बढी प्रभावित हुन गयो कारण गाउँलाई आफ्नो नियन्त्रणमा लिएर आधार ईलाका बनाउँदै त्यहाँ स्थानीय तहमा माओवादीको जनवादी सत्ताको अभ्यास गर्न सुरु भयो ।
यसो गर्दा माओवादी प्रभाव नियन्त्रण गर्न राज्यको शक्ति पनि त्यतै केन्द्रित गर्न थालियो र दुवै सत्ताका सुरक्षा संयन्त्रको चेपुवामा जनसाधारणले त्रासदी झेलेर रात दिन गुजार्नु प¥यो । जानसक्ने गाउँ छोडेर विस्थापित भए नसक्ने यातना शिविरमा बाँच्न बाध्य पारिए । त्यसैक्रममा पनि कतिलाई मारियो । सत्रहजार मारिएको आधिकारिक धारणा बनाइएको भए पनि संख्या कसैलाई थाहा छैन ठूलो संख्यामा मानिस अपहरण गरी वेपत्ता पारिएको र अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
वेपत्ता नागरिकको परिवारले आजसम्म आफ्नो प्रिजनको अवस्था के छ, कहाँ छन् केही जवाफ कतैबाट पाउन सकेका छैनन् । १० वर्षको युद्धले केन्द्रीय सत्तामा नियन्त्रण गरेर पूर्व धोषित उद्देश्य परिपूर्तिको सम्भावनाभन्दा पनि आफ्नो अस्तित्व संकटमा परेपछि शान्तिपूर्ण बाटो रोजेर प्रचण्डले ६४ को निर्वाचनमा भएर आशाको सम्मिश्रणबाट प्राप्त जनमतको जुन संख्या संविधान सभामा प्रस्तुत गर्नसके त्यसले प्रचण्डलाई केन्द्रीय सत्ताको बागडोरसम्म पु¥याइयो तर त्यसपछि सहिदप्रति गरेको गद्दारी र नवसामन्त बन्ने दौडको पर्दा उघारियो । अहिले फेरि एकपटक ०६४ को मतपरिणाम सम्झेर मनको लड्डु खाँदैछन् ।
त्यसैले श्रावण १४ को दिन वेपत्ता विरुद्धको दिवस का रुपमा मनाएर उनीहरुले आफ्नो पीडा काज्य र तत्कालीन विद्रोहीसँग आफ्नो आक्रोश र पीडा पोख्दै फेरि प्रश्न गर्न बाध्य भएका छन् । शास या लास जे भए पनि देउ भनेर पुकारा गरिरहँदा प्रचण्डको कानमा बतास लाग्यो कि लागेन तर आज जनताको अमूल्य योगदान एवम् वलिदानबाट आर्जन भएको शक्तिको प्रयोगले आफुलाई राज्यको अभिन्न र शक्तिशाली अंग भएको दाबी गरिरहँदा त्यसको दायित्व चार पटकको प्रधानमन्त्रीत्व कालले कति निर्वाह भयो कहिल्यै सोचेका छन् त ? प्रचण्डलाई चार पटक प्रधानमन्त्री बनाउन सबैभन्दा धेरै योगदान तिनिहरुकै छ । सत्ताका लिप्साले सहिदप्रति यति बढी वेवास्ता गरेका छन् कि, उनीहरु सहिद स्मारक जाँदा पनि झस्किने छन् ।
