मौलिक संस्कृति र संस्कार हाम्रो पहिचान
नारायणप्रसाद श्रेष्ठ
मानवीय स्वभाव र संस्कृतिमा विविधता देखिए पनि विविधताभित्र एकता कायम गरी रहने हाम्रो मौलिक संस्कार र संस्कृति विश्वसामु टड्कारो रुपमा प्रस्तुत भएको छ । चिन्तनमा सकारात्मकता संस्कारमा शालिनता र व्यवहारमा नम्रता नेपाली आदर्श हो । यो हाम्रो वैदिक सनातन संस्कृति र संस्कारको उपहार पनि हो । यो सबैले स्वीकार्दै वर्तमान समयमा पनि उत्तिकै महत्व र आदर्श भएर प्रस्तुत भइरहेको छ ।
यसरी हाम्रो संस्कृति हाम्रो पहिचान भन्दै अघि बढेको हाम्रो मौलिक मूल्य र मान्यता वर्तमानमा अझ बढी महत्वका साथ प्रस्तुत हुनु पर्ने अवस्था आएको छ । हामी कोही कसैसँग बैरभाव राख्न चाहँदैनौँ । हाम्रो मौलिक संस्कृति आफ्नै किसिमले गतिशील हुँदै आएको छ । हाम्रो मौलिक संस्कृति र आचरणले हामी हाम्रो छिमेकिलगायत विश्वका हरेक राष्ट्र र राष्ट्रियताप्रति यत्तिकै सम्मान गर्दछौँ । आपसी भाइचाराको नाताले विश्व परिवेशलाई एउटै दृष्टिले हेर्ने हाम्रो मौलिक सभ्यता र आचरण हाम्रो आचरण पनि हो ।
हाम्रो चाहना शान्ति र सद्भावपूर्ण जीवनशैली हो संस्कृति र संस्कार हाम्रो विकासको आधारशिला पनि हो । बसुधैव कुटुम्बकम हाम्रो चाहना पनि हो । नेपाल चारजात ३६ वर्णको फुलबारी मात्र होइन संस्कृति र संस्कारको धनी राष्ट्र पनि हो । विभिन्न कालखण्डमा अन्तर्राष्ट्रिय परिवेशमा उथुलपुथुल भएर पनि नेपाली मन र पवित्रतामा कहीँ कतै विचलन आएन । आफ्नो सदियौदेखि चल्दै आएको परम्परा संस्कृतिको संरक्षण गर्दै नेपाली शिर सधैं उच्च राख्न नेपाल सक्षम भएर प्रस्तुत भएको छ । विभिन्न मुलुकमा विविध बहानामा एक अर्काप्रति नकारात्मक सोच राखी बदलाको भावना राखेर अघि बढ्दा पनि नेपाली मनको पवित्रताले कसैसँग पनि बैरभावको अवस्था रहनु परेन ।
कसैप्रति पनि आँखापाखा राख्ने सोच बढेन । बाँच र बचाउको सरल उपाय अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको लागि कसैसामु झुकेन । चन्द्र सूर्य अंकित झन्डा र उच्च हिमशिखरको छत्रछायामा आफ्नै मौलिक आफ्नै पसिना को पौरखले यो राष्ट्रको अस्तित्व जोगाइरह्यो । भौतिक विज्ञानले सांसारिक परिवर्तन पश्चात पनि कोही कसैको दबाब र शोषणमा नपरी सार्वभौम स्वतन्त्र भूपरिवेष्ठित नेपालको गरिमा सधैं उच्च राख्न आफ्नै मौलिक संस्कृति र संस्कारलाई संस्थागत गर्दै अघि बढ्यो । समयको परिवर्तनसँगै आपसी भाइचाराको नाता अभिवृद्धि गर्दै पञ्चशीलको सिद्धान्तमा टेकी विश्व रंगमञ्चमा नेपालको शिर उच्च राख्न सक्षम बन्यो । राष्ट्रिय चिनारीमा रहेको हाम्रो धार्मिक सांस्कृतिक तथा सगरमाथाको शिर झैँ उच्च राख्न, आफ्नो देशको पहिचान गराउन, कहीँकतै कसर बाँकी राखेन ।
आफ्नो देशको पहिचान गराउन नेपाली सधै एकजुट भए। हाम्रो भाषा हाम्रो भेष हाम्रो संस्कृति हाम्रो पहिचान भनी विश्वको ध्यान आफूतिर आकर्षित गर्न हामी सक्षम भयौँ । नेपाली परम्परा संस्कृति र संस्कार हाम्रो आधुनिक सभ्यताका आधार स्तम्भ पनि हुन् भन्दै हिन्दु संस्कृति र उच्च हिम शिखरले हाम्रो देश विश्व परिवेशमा अग्रस्थान ओगट्न सफल पनि भयो । वर्तमान समयसम्म पनि एक स्वतन्त्र र एकताको प्रतिक भएर प्रस्तुत हुन सक्षम भयो । विश्वको इतिहासमा अहिले पनि नेपाली र नेपालको गौरवमय गाथा अंकित गर्न सक्षम बन्यो । २०१३ सालमा संयुक्त राष्ट्रसंघको सदस्यता लिने बेला यहाँको संस्कृति भाषा रञ्जना लिपि पहिचानलाई साक्षी राखिएको प्रमाण अहिलेसम्म संयुक्त राष्ट्रसंघमा जीवितै छ । पञ्चशीलको सिद्धान्त बोकेको हाम्रो आदर्शता छिमेकि मुलुक सहित विश्व समुदायसँगको हाम्रो आदर्श पहिचान, सम्बन्ध यी सबै हाम्रै संस्कृति र संस्कारका उपज हुन् ।
मन्दिरै मन्दिरको सहरको रुपमा चिनिएको नेपालको गौरवमय इतिहास, धार्मिक सामाजिक सद्भाव, संस्कारका धनी नेपालीको चिनारी वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण भएर देखा परेको छ । ऋषिको तपोभूमि जहाँ हिमाल पहाड तराईको बसोबास भएर पनि एक भएका र विभिन्न भाषा रहनसहन भेषभुषा भएर पनि राष्ट्रिय गौरव राखी बसेका नेपाली आदर्श विश्व रंगमञ्चमा सधैँ संस्कृतिको धनीको रुपमा परिचित भएर रहेको छ । जसको फलस्वरूप प्रत्येक नेपाली आफू आफूलाई भाइचाराको नाता गास्दै अघि बढ्दै आएको छ ।
यहाँ आन्तरिक कलह छैन । धार्मिक वैमनस्यता छैन विविधताभित्र एकता छ । यदाकदा विश्व परिवेशमा देखिने असमान्य परिस्थितिले ल्याउने कटुतामा पनि विचलित नभई आत्मसमीक्षा गर्दै एकताबद्ध भएको नेपालको इतिहास यहाँ छ । एकअर्कामा विश्वास र भरोसा गर्ने बानीको कारण नेपाल र नेपालीको मानसिकता कहिल्यै पनि कसैको नजरमा गिर्नु परे । मानवीय स्वभावमा विविधता भएर पनि विचार र कर्ममा एक भई शान्तिको सन्देश प्रवाहमा अघि बढ्ने नेपाली प्रण सधै जीवन्त रहँदै आएको छ ।
श्रद्धा र विश्वासका साथ सहयोग र सद्भाव कायम गर्दै अघि बढ्दै आएको छ । यसरी कहिले कसैसामु नझुकेको हाम्रो परम्परागत संस्कृति हाम्रो मौलिकपन सधैँ शान्तिपूर्वक जीवनयापन गर्ने नेपाली चाहना वर्तमान समयमा केही नेतृत्वको असक्षमताले कहीँकतै विकृति देखा पर्दै आएको छ । भौतिकवादी चिन्तनले ल्याएको विकासवादी नीति र चरित्रले मानिसको मनमा विलासीपनले डेरा जमाउन थालेको छ । मेहनत र पसिनाले आर्जेको हाम्रो मौलिकपन कमजोर हुँदै गएको छ । नक्कल गर्ने प्रवृत्तिले नेपाली मन विचलित हुँदै गरेको छ । आंशिक मोह र वशीकरणमा परि आफ्नो होइन अरुको राम्रो देख्ने बानीले र नेतृत्वको छदमभेसी चरित्रले नेपाली मानसिकता डगमगाउँदै गरेको देखिँदैछ । व्यवहार र आचरणमा स्वार्थ र हिंसा जगाउन थालेको देखिँदै छ ।
आफ्नो संस्कृतिले जगेर्ना गरेको वर्षौंको इतिहास र मर्यादालाई केही सीमित स्वार्थ पूर्ति गर्न लालायत चाटुकार नेतृत्वको चंगुलमा नेपाली मानसिकता पनि कमजोर बन्दैछ । नेतृत्वको गलत नीतिको कारण डर र त्रासले हामीले हाम्रो संस्कार र आचरणलाई भुलेको स्थिति पनि देखिँदैछ । युगौँदेखि असल आदर्श बोकी हुर्कँदै आएको तथा सम्मानित दृष्टिले हेरिएको हाम्रो मूल्य र मान्यतालाई रुढीवादी चिन्तन भनी भ्रम फैलाउने कुचेष्टा पनि बढ्दै गएको छ । वर्षाको उर्लदो भेल वा ग्रीष्मकालीन प्रचण्ड गर्मी पनि सहन सक्ने हाम्रो सांस्कृतिक आचरण र मान्यता जसलाई प्रथम र दोस्रो विश्वयुद्धले पनि छुन सकेको थिएन, त्यस्तो हाम्रो सांस्कृतिक धरोहर विदेशी नक्कल र क्षणिक मोहमा किन फस्दै छ ? यो गम्भीर प्रश्न वर्तमानमा सलबलाइरहेको छ । के हामीले हाम्रो संस्कृति र मौलिकतालाई बिर्सेको हो ? संस्कृति र संस्कारलाई राजनीतिसँग जोडेर आफ्नो नैतिकतामा हामी किन प्रश्नवाचक बन्दैछौ ?
भेषभुषा मात्र होइन हाम्रो सामाजिक आदर्श मा असर पर्ने गरी नयाँको नाममा पुरानोलाई वास्ता नगर्ने प्रवृत्ति हामी किन अपनाउँदै छौं ? राजनीतिको नाममा जथाभावी संस्कृति भित्र्याई दिउँसोलाई राति भन्ने हाम्रो आचरण किन र केका लागि विकसित भइरहेको छ ? कि हाम्रो नस्लमा नेपालीपन हराउन थालेको हो ? के हामी पुर्खाले आर्जन गरेको संस्कृतिभित्रको नेपाली वंश नभई आयातित वंशले अपनाउने नीति झैँ भएका हौ ? हामी किन अलमलिँदै छौँ । हामी आफ्नो घरदैलोको आदर्शलाई पन्छ्याउँदै आफ्नो परम्परागत संस्कृति, जो सनातनदेखि सत्यको धरातलमा उभिरहेको छ । त्यसको आदर्शलाई र मौलिकतालाई किन अनभिज्ञता देखाउँदै छौं ।
छदमभेसी राजनीतिको मिठो ललिपपमा किन भुलिरहेका छौं नियम कानुनको प्रत्येक ढोकालाई पराइको इसारामा वास्तविकतालाई छोडी कृत्रिमतालाई प्रसय दिने गरी कर्म गरिरहेका छौँ के त्यसले हाम्रो अस्तित्व अटल रहन सक्छ ? हामीले हाम्रो आदर्शलाई अरुको पोल्टामा राखी के दास जीवन बिताउने मानसिकता हामी आफै किन उब्जाउँदैछौ ? तसर्थ संस्कृति र संस्कारले पहिचान बढाएको हाम्रो आचरण र सहनशीलतालाई बुझी अझै मौलिक सत्यलाई अझ बढी सशक्त भएर यसको गरिमा बढाउन जरुरी छ । संस्कृति हाम्रो धरोहर हो हाम्रो पहिचानको आधार हो ।
संस्कृति बाँचे हाम्रो अस्तित्व बाँच्दछ। विश्वास र इमान्दारिता नैतिकता र लगनशीलता हाम्रो आदर्श संस्कार हो भनी अब सबै लाग्नु परेको छ । इतिहासलाई साँछी राखी, हाम्रो गौरव हाम्रो पसिना, हाम्रो पौरख, हाम्रो आदर्शता, हाम्रो समर्पण हाम्रो नैतिक आधार र मौलिक संस्कृति र असल आचरण हाम्रो पहिचानको आधार हो भनी अब हामी सबै समर्पित बनौँ वर्तमान यही खोजिरहेको छ । अस्तु ।
