रेड हाउसलाई गोरखा रनिङ शिल्ड
लक्ष्मण बस्नेत
दाङ, १७ पुस । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दाङको मङ्गलवार सपन्न सप्ताहव्यापी खेलकुद कार्यक्रममा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष गर्दै आएको सप्ताहव्यापी खेलकुदमा १२ स्वर्ण, १३ रजत र पाँच कास्य पदक हात पार्दै रेड हाउसले रनिङ शिल्ड जितेको हो । यसैगरी ११ स्वर्ण, ९ रजत र १४ कास्य पदकका साथ ग्रीन हाउस दोस्रो हुँदा ब्लु हाउस नौ स्वर्ण, ११ रजत र नौ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भयो । एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भएको थियो ।
कार्यक्रम गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यता तथा १९ नम्बर बाहिनीका प्रमुख सेनानी लेफ्टिनेन्ट कर्नेल श्रवणकुमार सिजापतिको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले खेलकुद अतिरिक्त क्रियाकलापको रूपमा नभई अनिवार्य गर्नुपर्ने बताए । विद्यालय क्षेत्रमा खेलकुद अतिरिक्त क्रियाकलापमा सीमित भएको भन्दै उनले अब हरेक विद्यालयले खेलकुद अनिवार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयले जिल्लामा यात्रु सुरक्षालाई सहयोग पु¥याउने उद्देश्यले सवारी चालकले मापसे गरे नगरेको चेकजाँच गर्ने एक लाख ५० हजारको अत्याधुनिक डिजिटल प्रविधिको ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी कार्यालय दाङलाई प्रदान गरेको थियो । जापानको ओसाकामा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय रेज तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउने गोरखा मावि तुलसीपुरका खेलकुद संयोजक अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनारलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक विजयमान जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक इश्वर थापालगायतले गोरखा मावि तुलसीपुर शिक्षा, खेलकुद र संस्कारको त्रिवेणी भएको बताएका थिए । शिक्षा सँगसँगै खेलकुदमा अब्बल रूपमा स्थापित विद्यालय गोरखा तुलसीपुरले दाङको सान र गौरवलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्रास्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै तारिफ गरेका थिए । विद्यालयका प्रावि संयोजक कमल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न भेषभुषा, कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
