Goraksha

National Daily

जलवायु परिवर्तन, प्रकोप र वायुप्रदूषण

के.पी. सुवेदी

वातावरणीय प्रदूषण दिनदिनै बढ्दोक्रममा छ । मानिसले उत्पादन गरेको प्रदूषण मानिसकै समस्या बनेको भए तापनि यसबाट पाठ सिक्ने बानी झटपट विकास नहुने रहेछ । मानिसले उत्सर्जन गरेको वस्तुले स्वयम्लाई हानी गरिरहेको हुन्छ । यो क्रम जनसंङ्ख्या वृद्धिसँगै फोहोरका स्रोतहरु पनि बढिरहेका कारण दिन प्रतिदिन जटिल समस्या बनेर मानव स्वास्थ्य घेरिएको छ । स्थानीय स्रोतबाट उत्पन्न धुलोका कणहरु र धुवाँ वायुमण्डलमा मिसिएर जताततै फैलिने हुँदा एक ठाउँमा उत्पादित धुलो र धुवाँले व्यापकरुपमा असर गरिरहेको हुन्छ ।

आजभोलि वायुमण्डलमा कति धुलो छ भनेर अनुमान गर्न चिल्ला सतह भएका वस्तुमा टाँसिएको धुलोको तहलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै अर्को उदाहरणलाई लिऔँ, बाहिर राखिएका सवारीसाधन् वा त्यस्तै वस्ततुहरु राखी छोडेका बेला हल्का मात्र वर्षा हुँदा हिलोले छ्यापेझैँ हुन्छ । धेरै दिन पानी नपरेको अवस्थामा धेरै धुलो वायुमा बाक्लिएर त्यस्तो भएको हुनु स्वभाविक हुन्छ तर दुई÷चार घण्टा मात्र पानी नपर्दा वायुमा त्यत्ति धेरै माटो थुप्रिनु स्वास्थ्यको दृष्टिले गम्भीर चुनौती बनेर उभिएको बुझ्नु पर्छ ।

अब हाम्रो वायुमण्डलमा यति धेरै धुलो कसरी जम्मा हुन्छ ? निश्चय पनि सोचनीय विषय हो र यसले हाम्रो स्वासयन्त्र कति प्रभावित होला, हामी अनुमान गर्न सक्छौँ । किनभने पानी नपरेको दुई घण्टा बित्न नपाउँदै हामीले फोक्सोमा हुलेर प्राणमा रुपान्तरण गर्ने वायु यतिका धुलोले भरिएको हुन्छ । त्यो त्यही सिमसिमे पानीले भिजेर सुकेको ठोस सतहहरुलाई हेरेर थाहा पाउन सकिन्छ । धुलोको स्रोत हामीले विकासको नाममा गर्दै गरेका उद्योग वा यन्त्रिकहरुको अव्यवस्थित प्रयोगले सिर्जना गरेकोमा कुनै शङ्का छैन । हाम्रो सडक, सिमेन्ट कारखाना, ढुङ्गा खानी, बालुवा खानी, सबै विकासका शीर्षकहरु हुन्, जसले धुलो उत्पादन गरिरहेका छन् ।

त्यो धुलो कसैको रोजगारीसँग सम्बन्धित छ त कसैको समस्या मात्र बनिरहेको छ, तैपनि यसबारेमा कमैले मात्र आँकलन गरिरहेका होलान्, यसको समाधान खोज्नु पर्छ कि पर्दैन ? समस्या मानिसकै कारणले बढेको हुनाले समाधान गर्नै नसक्ने पक्कै पनि नहुनु पर्ने हो तर विचार पु¥याउनु पर्ने समय गइसकेपछि, हेरफेर गर्न धेरै क्षति व्यहोरेर गर्नु पर्छ । सहर बजार होस् वा गाउँले व्यापारिक केन्द्र, जहाँ पनि सडकको सुविधा पहिले हेरिन्छ र त्यहाँ त्यही धुलाम्मे सडक ।

त्यहाँ पसलका सामानहरु धुलोले बिग्रिरहेका, खाद्य सामग्री नष्ट भइरहेका, औषधी, कपडा, मिठाइलगायतका सबै वस्तुहरु बिग्रेको बारेमा धेरै चिन्ता छैन र उपभोक्ताहरु पनि त्यसको गुणस्तरप्रति सचेत भएको देखिँदैन । सरकारी निकायबाट अनुगमन गरिन्छ, नाम मात्रको त्यसले प्रदूषणको स्रोत नियन्त्रण गर्ने सोँच र जिम्मेवारी नहुने भएकोले औपचारिकतामा सीमित हुन्छ । धुलोको नियन्त्रण गर्न सके मात्र धेरै हदसम्म मानिसको स्वास्थ्यमा प्रदूषणको असरबाट लाग्ने श्वासप्रश्वास र छालामा देखिने समस्या धेरै नियन्त्रण हुन सक्छ । छाला चिलाउने, घाउ, खटिरा, रुघाखोकी, दम तथा श्वासप्रश्वासमा समस्य जस्ता धेरै बिरामीहरु पनि धुलोले हुन सक्छ ।

धुलो र धुवाँजन्य पदार्थहरु बढेसँगै घाउखटिरा आँखामा एलर्जिक लक्षणहरु बढिरहेको पाइएको छ । धुलोबाहेक मानव स्वास्थ्यमा समस्या हुने अनेकानेक स्रोतहरु छन् । केही नजानेर व्यवस्थित हुन सकेका छैनन् । धुवाँ, जथाभावी असुरक्षित प्रयोग गर्दा हावामा तैरिरहेका विभिन्न रसायनहरु, सडेगलेका वस्तुबाट निस्कने दुर्गन्धयुक्त वायु दैनिक रुपमा विष्फोर्ट हुने गरेका बम, गोलाबारुद, मिसाइलहरु र अन्य विष्फोर्टक पदार्थहरुबाट हावामा तैरिरहेका दूषित रासायनिक कणहरुले वायुमण्डल विषाक्त बन्दै गएको छ । जसले यस्ता विषाणुहरु हावामा मिसाइरहेका छन् । उनीहरुलाई सबै थाहा छ कि यसको असर मानव स्वास्थ्यलाई मन्दविष बनेर मारिरहन्छ ।

प्रदूषण नियन्त्रणको सार्थक प्रयत्न ग¥यौँ भने परिणाम सकारात्मक हुन सुरु हुन्छ तर त्यसको नियन्त्रण होइन एक प्रकारको होड या कोभन्दा को कमको भनेर शक्ति परीक्षणकाल हुँदैछ र सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक विश्वको शक्ति राष्ट्र हो भन्ने परिभाषित गर्ने होड चल्दैछ ।

बढ्दो प्रदूषण र कार्बन उत्सर्जनले जलवायु परिवर्तन हुँदै गएको छ । जसका कारण वातावरणीय प्रतिकूलता बढेर बादल, वर्षा र वायुमा ठुलो परिवर्तन देखापर्न थालिसकेको छ । अतिवर्षा भएर बाढी पहिरो, डुबान भइरहेको छ । कतै पानी नै नपरेर लामो खडेरीले जनजीवन अस्तव्यस्त भइरहेको हुन्छ । पानीले कतै बगाएको छ, कतै पिउने पानीका मुहान सुकेर बसाइँ सर्नु पर्ने भएको छ । यस वर्ष नेपालमा बाढीको प्रकोप ज्यादै हृदयविदारक बन्यो । आजसम्म पनि त्रिपाल मुनि रातदिन बिताउँदै गरेका पीडितहरुको भौतिक क्षतिको आँकलन हुन नसकेको गुनासो गुञ्जिरहेको छ ।

संयुक्त राष्ट्रसंघको आयोजनामा पक्ष राष्ट्रहरुको सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनको असर नेपालमा धेरै परेको र हिमालय शृङ्खला क्षयीकरणको विषयलाई प्रमुख विषय बनाएर बढी कार्बन उत्सर्जन गर्ने शक्ति राष्ट्रहरुको ध्यानाकर्षण गरिएका छन् । त्यहाँ नेपालले हरित ग्यास उत्सर्जन गरेबापत शक्ति राष्ट्रहरुबाट क्षतिपूर्ति पाउनु पर्ने माग गरिएको छ । ठिक यहीबेला प्रदूषण मापन गर्दा अल्पविकसित राष्ट्रहरु नै प्रदूषणले घेरिएको देखाइएको छ ।

जलवायु परिवर्तनबाट उत्पन्न असरले सिर्जना गरेको प्रकोप र जलवायु परिवर्तनसँगै वायुप्रदूषण नेपालका ठुला सहरहरुमा बढ्नु संयोग मात्र नभएर हाम्रो जिम्मेवारीबारे सचेत हुन चेतावनी दिएको विषयको रुपमा बुझ्नु पर्दछ । पछिल्लो प्रक्षेपण अनुसार पाकिस्तानको सहर पहिलो र छैठौँमा काठमाडौंलगायत नेपालका सहरहरु विश्वका प्रदूषित स्थानमा परेका छन् ।