मेरो खुशी : रफिकोलको कोषाध्यक्षमा निर्वाचित हुँदा …

दुःख र खुसी केलाई मान्ने, केलाई ठान्ने । खुसी र पीडा मनसँग सम्बन्धित छ । सुख र दुःख शरीरसँग सम्बन्धित छ । सुख पाउनुको अर्थ शरीरलाई आराम या शरीरलाई आनन्द महसुस हुने कुरा हो । सुख र दुःख त फरक हुन् नै, सुख र खुसी पनि फरक कुरा हुन् । सुखको अनुभूति शरीरले गर्छ भने खुसीको महसुस मनले गर्छ । जिन्दगीमा तपाईको खुसीको क्षण भन्नुस् न भन्दा दाङ तुलसीपुर–२ मचोट स्थायी ठेगाना रहेका कुमारबसन्त आचार्यसँग यो स्तम्भकारले भलाकुसारी गर्दा कुराको प्रसङ्ग यसरी मोड्छन् ।
‘खुसी कहाँबाट प्राप्त हुन्छ या खुसीको स्रोत के हो भनेर खोजी गर्ने हो भने खुसीको स्थायी स्रोत अहिलेसम्म कतै फेला परेको छैन’, आचार्यले भने, ‘पैसा या धन, सम्पत्ति नहुनेका लागि पैसा भयो भने खुसी मिल्छ तर त्यो खुसी क्षणिक हुन्छ । जब पैसा हुन्छ अनि मान्छे फेरि यता मिल्छ कि उता मिल्छ भन्दै खुसीको खोजीमा भौँतारिन थाल्छ ।
धन सम्पत्ति, नाम, मान, प्रेम, मदिरा, प्रेमी या प्रेमिका, पति या पत्नी, सन्तान यी र यस्ता अनेक कुरामा मानिस खुसी खोजिरहेका हुन्छन् ।’ मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफूखुसी हुनकै लागि गरिरहेका हुन्छन् । मैले उनको खुसी खोज्दै गर्दा उनले आफ्ना साना, ठुला हरेक उपलब्धिमा मानिस खुसी हुन्छ तर प्राप्तिको कुनै सीमा हुँदैन । त्यसैले खुसीको सीमा या स्थायी स्रोत यही हो भनेर भन्न सक्ने अवस्था नरहेको उनी बताउँछन् ।
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तुलसीपुर दाङका कोषाध्यक्ष समेत रहेका आचार्यले जीवनमा सम्झनलायक सबैभन्दा खुसीका क्षण माध्यमिक विद्यालय श्रीगाउँ दाङबाट २०४० सालमा एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गर्दाको क्षण भएको बताउँछन् ।
त्यहीँ वर्षदेखि नै श्रीगाउँ स्कुलले दाङमा एसएलसीको रिजल्ट उत्कृष्ट ल्याउन सुरु गरेको उनले सम्झिए । प्रवीणता प्रमाणपत्र तह महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज एवम् स्नातक तह र स्नातकोत्तर नेपाल कमर्स क्याम्पस मिनभवन काठमाडौंमा अध्ययन गर्ने क्रममा भएका जीवनका अनेक उतारचढाव पार गर्दै गर्दा पनि खुसीका र सफलताका थुप्रै अनुभूति सँगालेको प्रशङ्ग सुनाउँदै तत्कालीन पञ्चायत शासन व्यवस्थामा क्याम्पसको नेपाल विद्यार्थी संघको राजनीतिमा समेत प्रत्यक्ष–अप्रत्यक्ष भूमिका खेलेको उनी बताउँछन् ।
विसं २०४६ सालको आन्दोलनको समयमा राजधानीमा पढ्दै गरेका आचार्यले बहुदलीय व्यवस्थामार्फत् देश र जनताको मुहार बदलिने अपेक्षाले आफू निकै उत्साहित र खुसी भएको सुनाए । विसं २०६३ को आन्दोलनपछि पनि देशले विकासमा फड्को मार्ने अपेक्षा गरियो तर अहिलेको राज्य शासन प्रणाली हेर्दा आफूलाई अप्ठेरो अनि चिन्ता लाग्ने गरेको दुःखेसो उनले पोखे । फरक प्रशङ्गमा आचार्य भन्छन्, ‘मिनभवन क्याम्पसमा एमबिए पढ्दै गर्दा सहपाठी सात जनासँगै एउटै आइएनजिओमा जागिर खाने लहलहैमा मतदाता शिक्षा कार्यक्रमको लागि अन्तर्वाता दिन गयौँ, बाटोमा जाँदै गर्दा सबैले आ–आफ्नो अनुभव र सोर्स रहेको भन्दै गए, त्यतिखेरसम्म मलाई आफ्नो बायोडाटा बनाउन समेत अनुभव थिएन ।
त्यही अफिसमा गएर आफ्नो बायोडाटा बनाउँदै अनुभवमा पौडी खेल्न जानेको तथा साइकल चलाउन जानेको, थारु संस्कृति र भाषाको ज्ञान रहेकोलगायत अनुभव लेखेर बुझाएँ । भोलिपल्ट बाँकी ६ जनाको नाम निक्लेन भने ममात्रै जागिरको लागि छनोट भएँ, त्यो क्षण पनि अत्यन्तै खुसी भएको उनले भने ।
तुलसीपुरमा स्थापित ग्रेट अरनीको माविका सञ्चालक सदस्य समेत रहेका आचार्यले झन्डै ६ वर्षसम्म अध्यक्षको रूपमा सफलतापूर्वक नेतृत्व सम्हालिसकेका छन्, जसलाई उनले खुसीको क्षणको रूपमा लिएका छन् । उनकै नेतृत्व कालमा नै विद्यालयले माध्यमिक र उच्च माध्यमिक तहको स्वीकृति प्राप्त गर्नुका साथै शैक्षिक तथा प्रशासनिक गति लिएको थियो भने सोही विद्यालयबाट उनका एक छोरा, एक छोरीले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहनुलाई समेत उनले खुसीको क्षण सम्झन्छन् ।
धेरैले सोच्छन्, खुसी भनेको सम्पन्नता हो र सफलता हो तर यी सबै अनुभूति मात्र हुन्, खुसी होइनन् । मानिस खुसी हुने सोचेर झन धेरै दुःखी भइरहेका हुन्छन् अनि खुसीको खोजीमा भौतारिँदै अनेकथरि काम गर्दै झनै जञ्जालमा फँस्छन् । उनले आफ्ना जीवनमा धेरै खुसीका पल भएको सुनाए । बुवा केशवराज र आमा कर्णकुमारीको कोखबाट २०२४ सालमा जन्मिएका कुमारबसन्त आचार्यले मध्यपश्चिम क्षेत्रमै उत्कृष्ट सहकारी संस्थाको रूपमा पहिचान बनाइसकेको रफिकोलमा विसं २०५६ सालदेखि २०७६ सालसम्म लगातार २१ वर्षसम्म प्रबन्धकको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
प्रस्टसँग आफ्ना कुरा राख्ने, मिजासिला आचार्यले सहकारीभित्र जातीयता, क्षेत्रीयता, भाषिक, लैङ्गिक, धार्मिक र राजनैतिक गन्ध देखिनु हुँदैन भन्छन् । संस्थाको कार्यालय प्रमुख हुँदा थुप्रै व्यक्तिसँग सङ्गत गर्न र धेरै कुराहरू सिक्ने अवसर मिलेको बताए ।
गत वर्ष वि.स. २०७९ सालमा सम्पन्न भएको संस्थाको वार्षिक साधारणसभामा सर्वसम्मत उम्मेदवार चयन गर्न गठित कार्यदलले उनले अपेक्षा गरेको कोषाध्यक्षको पदमा सर्वसम्मत नभएपछि उनी चुनावमै होमिएका थिए र लामो समयसम्म संस्थामा रहेर छुट्टै पहिचान बनाइसकेका उनले रफिकोलको कोषाध्यक्ष पदमा झन्डै दोब्बर मतले निर्वाचित भएका थिए । जसलाई उनले जीवनकै खुसीको रूपमा लिएको बताए ।
हाल घोराही १५ भरतपुरमा बसोबास गर्दै आएका आचार्य दाङका थुप्रै सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् । प्रायः सामाजिक कर्ममा तल्लीन रहने उनी आफूलाई साथ सहयोग गर्ने जीवनसङ्गीनी सावित्रा आचार्यप्रति पनि खुसी छन् । आफूलाई सत्कर्म गर्न सहयोग गर्ने र प्रेरणाका स्रोत सबैप्रति आभार व्यक्त गर्दै सम्झिए ।
घरपरिवार, इष्टमित्र, साथीभाइले म यो स्थानसम्म आउन र सामाजिक काममा लाग्न सहयोग र साथ दिनु भएको छ म त्यसैमा खुसी छु’, आचार्यले भने । कुमारबसन्त आचार्य राप्ती बचत ऋण सहकारी संस्थाका कोषाध्यक्षक हुन् भने विभिन्न संघसंस्था तथा सामजिक सेवा तल्लीन छन् ।
प्रस्तुती : बालाराम खड्का