सामाजिक सञ्जालले जोडेको मानव सेवा
लीलाधर वली
दाङ, ७ मंसिर । क्याम्पसमा अध्ययनरत विद्यार्थीको एक समूह, कुनै सन्दर्भ पारेर सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी जाग्थ्यो । फलफूल वितरणदेखि रक्तदानलाई उनीहरूले प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आए । सामाजिक कार्यमा अभ्यस्त महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत यो विद्यार्थी समूह विस्तारै रक्तदानको अभियानमा जोडिन थाल्यो ।
‘रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्’ भन्ने भावबाट प्रेरित यो समूहका विद्यार्थी अस्पतालमा कसैलाई रगतको आवश्यकता परेको खण्डमा सम्बन्धित रगत ग्रुप रहेका साथीलाई लिएर कुदिहाल्थे । रक्त सञ्चार केन्द्रबाट पनि उनीहरूलाई रक्तदाताका रुपैैमा निरन्तर फोन आउन थाले । झनै उनीहरूलाई यो सामाजिक कार्यप्रति प्रेरित ग¥यो । फोन सम्पर्कका आधारमा मात्र नभई यो अभियानलाई उनीहरूले सामाजिक सञ्जालमार्फत् अझ विस्तार गर्न चाहे ।
यो समूहको नेतृत्वकर्तामध्यका कुलराज पोख्रेलले फेसबुक म्यासेन्जर ग्रुपलाई यो अभियान अझ विस्तार गर्ने अस्त्रका रुपैमा प्रयोग गर्ने निचोडमा पुगे । पोख्रेल, निरज गिरीलगायतले सामाजिक सञ्जाललाई रक्तदान अभियानसँग जोड्ने कसरतमा लागे र फेसबुक म्यासेन्जरमा ग्रुप चलाए ‘एमरजेन्सी ब्लड घोराही ।’
उनीहरूले आफ्ना समूहका रक्तादाता साथीहरूलाई जोड्दै गए । अहिले सैयौँको सङ्ख्यामा रक्तादाता यो ग्रुपमा जोडिएका छन् । अहिले फेसबुक म्यासेन्जर रक्तदानका लागि बलियो माध्यम बनेको छ । अस्पतालमा कसैलाई कुनै ग्रुपको रगत चाहिएको सूचना यो म्यासेञ्जर ग्रुपमा आउँछ । उक्त ग्रुपको रगत भएका रक्तदाताको खोजीमा कुलराज, निरजलगायत लाग्छन् । उक्त रगत समूहको रगत भएका व्यक्ति पत्ता लगाउँछन् र सम्बन्धित व्यक्तिलाई तत्काल घोराही स्थित रक्त सञ्चार केन्द्रमा पु¥याएर रक्तदानको वातावरण मिलाउँछन् ।
‘सुरुमा हामी फोन सम्पर्कका आधारमा रक्तदानका लागि व्यवस्था मिलाउने गरेका थियौँ तर अहिले सामाजिक सञ्जालको माध्यमलाई यो अभियानसँग जोडेका छौँ’, म्यासेन्जर ग्रुप निर्माण गरेका कुलराज
भन्छन्, ‘कसैलाई कुनै ग्रुपको रगत चाहिएको सूचना कसैले थाहा पाउना साथ म्यासेन्जर ग्रुपमा सूचना आउँछ, यस अनुसार रगत मिल्ने रक्तादाता खोजेर तत्काल रक्तदानका लागि रक्त सञ्चार केन्द्रमा पु¥याउँछौँ ।’
म्यासेन्जर ग्रुपमा रगत चाहिएको सूचना आउना साथ यो म्यासेन्जर ग्रुपमा रहेका रक्तदाता रगतको उपलब्धताका लागि तातेका देखिन्छन् । ‘रगत तत्काल चाहिने भएकाले बिरामीलाई असहज नहोस् भनेर हामी जति सक्यो चाँडो यसको व्यवस्थापनमा लाग्छौँ’, यो अभियानमा जोडिएका निरज गिरी भन्छन्, ‘हामी आफैले रक्तदातालाई मोटरसाइकलमा राखेर रक्त सञ्चार केन्द्रसम्म पु¥याउँछौँ ।’
यो म्यासेन्जर ग्रुप नै अहिले रक्तदानको सहज माध्यम बनिदिएको छ । यसै सञ्जालमार्फत् रक्तदाता जोडिने सङ्ख्या बढ्दै गएको छ । यसै सञ्जालमार्फत् पाएको सूचनाका आधारमा कुलराजले कैयन पटक आफैले रक्तदान गरेका छन् । रगत अभावमा तड्पिनु परेका बिरामीको दुखाइमा आफूहरू मल्हम बन्न पाएको महसुस कैयन क्षणले गराइदिएका छन्, कुलराजलाई । ‘यसै म्यासेन्जरमार्फत् आएको सूचनाका आधारमा म रक्तदानका लागि कैयन पटक गएको छु’, उनले भने, ‘आफैले नै कैयनको ज्यान बचाएको महसुस भएको छ ।’
रगत नपाएर भौँतारिएका कैयन बिरामीका आफन्तको सहारा बन्न पाएको उनले बताए । ‘रगत नपाएर आत्तिएका धेरै बिरामीका आफन्तको दुःखमा मल्हम लागेजस्तो लाग्छ’, उनले भने, ‘रगत नपाएका आत्तिएकी एक महिलाले रगत पाएपछि मलाई देखाएको स्नेहले जहिल्यै मुटु छुन्छ ।’ कुलराजको विद्यार्थी समूहले दुई वर्ष अघि म्यासेन्जर ग्रुप सञ्चालन गरेको थियो ।
