घोराही उपमहानगर निःशुल्क रगत घोषणा, पाउन जटिल
लीलाधर वली
घोराही, ६ मंसिर । गत कार्किक २७ गते घोराही उपमहानगरपालिका–५ निवासी दीपिका रावतको प्रसूति हुने मिति तोकिएको थियो । चिकित्सकको सल्लाह अनुसार घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी दीपिकाको प्रसूति नर्मल नहुने भयो ।
चिकित्सकका अनुसार उनको अप्रेसन गर्नु पर्ने भयो । त्यसका लागि रगत आवश्यक प¥यो । अप्रेसनका लागि रगत आवश्यक पर्ने भएपछि श्रीमान् रगत लिनका लागि प्रतिष्ठान नजिकै रहेको रक्त सञ्चार केन्द्रमा पुगे ।
त्यहाँ उनले घोराही उपमहानगरपालिकाले निःशुल्क रगतको व्यवस्था मिलाएको भन्ने सुने र निःशुल्क रगतका लागि आग्रह गरे तर पाएनन् । रक्त सञ्चार केन्द्रले निःशुल्क रगत पाउनका लागि सुनाएको शर्त तत्काल पूरा गर्न सकिने अवस्था थिएन । उनलाई भनियो, ‘निःशुल्क रगतका लागि वडा कार्यालयबाट सिफारिस लिएर आउनु पर्छ ।’
तर उनीसँग वडाको सिफारिस थिएन । न त उनले त्यो बेला निःशुल्क रगतका लागि वडा गएर सिफारिस ल्याउने समय नै थियो । उनी अप्रेसन गर्न थालिएकी श्रीमतीलाई अस्पतालमा छोडेर निःशुल्क रगतका लागि उपमहानगरले निर्दिष्ट गरेको शर्त बमोजिमको सिफारिस लिन घोराही–५ को वडा कार्यालय धर्ना पुग्न सक्ने कुरै भएन । त्यसपछि रक्त सञ्चार केन्द्रबाट शुल्क तिरेरै उनी रगत लिन बाध्य भए ।
घोराही उपमहानगरले निःशुल्क रगत घोषणा गरिएका उपमहानगरका बासिन्दा उनले दुई प्वाइन्ट रगत लिन दुई हजार रुपैयाँ तिरे । ‘सुत्केरी हुनका लागि अस्पतालमा राखिएकी श्रीमतीलाई अस्पतालमा छोडेर निःशुल्क रगतका लागि वडाको सिफारिस खोज्न जाने कुरै भएन नि !’, उनले भने, ‘तत्काल रगत चाहिएको थियो अनि पैसा तिरेर रगतको व्यवस्था मिलाएँ र सफल अप्रेसन भयो ।’ उनले निःशुल्क रगतका लागि तोकिएको सहुलियत पाउन चिनजान भने महत्वपूर्ण बन्यो । यही चिनजानका आधारमा उनले सिफारिस ल्याएमा रगतका लागि तिरेको रकम फिर्ता हुनेसम्मको राहत पाए । दुई दिनपछि वडा कार्यालयमा पुगेर वडाको सिफारिस बनाए र रक्त सञ्चार केन्द्रमा पु¥याएपछि उनले रगतका लागि तिरेको दुई हजार रुपैयाँ फिर्ता पाए । उनले भने, ‘घरबाट घोराही आउने जाने काम भइरहने भएकाले दुई दिनपछि वडाबाट सिफारिस ल्याएर बुझाएँ र पैसा फिर्ता ल्याएँ ।’
चिनजान र भनसुनका आधारमा यो सुविधा सबैले पाउने अवस्था भने रहन्न । यो पहुँच नभएकाले वडाको सिफारिसबिना निःशुल्क रगत पाउन सक्दैनन् । निःशुल्क रगतको घोषणा गरेको उपमहानगरले तोकिएको कडा शर्त पालना नभए रक्त सञ्चार केन्द्रले रगत निःशुल्क दिँदैन । केन्द्रका अनुसार निःशुल्क रगतका लागि सुरुमा वडाको सिफारिस अनिवार्य चाहिन्छ ।
घोराही उपमहानगरपालिका–१९ निवासी अर्का बिरामीलाई पनि रगत आवश्यक प¥यो । प्रतिष्ठानका चिकित्सले रगतका लागि रक्त सञ्चार केन्द्रमा जान भनेपछि उनका आफन्त केन्द्रमा गए । उनले पनि त्यहाँ बुझे, उपमहानगरले रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको रहेछ भन्ने तर रक्त सञ्चार केन्द्रले उपमहानगरले राखेको जटिल शर्त सुनाएपछि भने उनी पनि निराश बने । रगत अभावमा अस्पतालमा सकस व्यहोरिरहेका बिरामीलाई छोडेर १९ नं. वडा जान सक्ने कुरै भएन ।
निःशुल्क रगतको सुविधा तोकेको उपमहानगरबासी उनले पनि रगतका लागि पैसा तिर्नै प¥यो । ‘अचेत भएको बिरामीलाई चाँडै रगत चाहियो नि !, अचेत भएको बिरामीलाई चढाउने रगत निःशुल्क पाउन वडा कार्यालय कसरी जान सकिन्छ ?’ ती बिरामीका आफन्तले भने, ‘अस्पतालमा बिरामी स्याहार्ने कि सिफारिस लिन वडा जाने ?’
घोराही उपमहानगरले गत साउनदेखि लागु हुने गरी उपमहानगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा ग¥यो । यो घोषणा अन्तर्गत रक्त सञ्चार केन्द्रसँग उपमहानगरको सम्झौता भयो । सम्झौता अनुसार उपमहानगरबासीको हकमा रक्त सञ्चार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउने उल्लेख छ । उपमहानगरबासीलाई दिएको निःशुल्क रगतको रकम भने उपमहानगरले केन्द्रलाई उपलब्ध गराउने पनि उक्त सम्झौतामा उल्लेख छ तर निःशुल्क रगत लिनका लागि वडाको सिफारिस अनिवार्य हुनु पर्ने अति जटिल शर्त कायम गरिएको छ ।
फलतः बिरामीका लागि तत्काल चाहिने रगत लिनका लागि बिरामीका आफन्त वडा कार्यालयमा सिफारिस लिन जान सक्ने अवस्थै रहन्न । घोराही उपमहानगरपालिकाले निःशुल्क रगत घोषणा गरे पनि धेरै नागरिक निःशुल्क रगत पाउनबाट बञ्चित भइरहेको अवस्था छ । यो जटिल शर्तका कारण अधिकांश बिरामीले निःशुल्क रगत पाउन नसकिरहेको रक्त सञ्चार केन्द्र नै बताउँछ । तत्काल वडाको सिफारिस लिन जान सहज नहुने भएकाले उपमहानगरका अधिकांश बिरामीका आफन्तीले शुल्क तिरेरै रगत लिँदै आएको केन्द्रको भनाइ छ ।
घोराही उपमहानगरपालिकाले घोषणा गरेको निःशुल्क रगत प्राप्तिको शर्त खुकुलो बनाउन सके बिरामीले सहजै निःशुल्क रगत पाउने अवस्था हुने रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दीलिप न्यौपाने बताउँछन् । उनका अनुसार वडाको सिफारिसभन्दा उपमहानगरकै बासिन्दा भएको कुनै पनि सरकारी प्रमाणपत्रका आधारमा निःशुल्क रगतको व्यवस्था गरिँदा बिरामीले सहजै निःशुल्क रगत पाउन सक्ने अवस्था बन्ने थियो ।
‘बिरामीका लागि निःशुल्क रगत घोषणा गरे पनि पाउनका लागि वडाको सिफारिस ल्याउनु पर्ने झन्झटिलो प्रक्रिया कायम गरिएको छ’, रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज न्यौपानेले भने, ‘वडाको सिफारिसको ठाउँमा अन्य कुनै घोराहीकै नागरिक भएको पहिचान खुल्ने परिचयपत्रको व्यवस्था गर्न सके बिरामीले सहजै रगत प्राप्त गर्ने थिए ।’
रक्त सञ्चार केन्द्रका अनुसार निःशुल्क रगत घोषणा भएको तीन महिनाको अवधिमा वडाको सिफारिसका आधारमा २ सय ११ जनाले मात्रै निःशुल्क रगत प्राप्त गरेका छन् । जस अनुसार साउन महिनामा ८८ जना, भदौ महिनामा ६३ जना र असोजमा ६० जनाले यो सुविधा पाएका छन् । रक्त सञ्चार केन्द्रले बिरामीका लागि प्रतियुनिट एक हजारका दरले पैसा लिने गरेको छ तर उपमहानगरले वडाको सिफारिस जस्तो जटिल शर्त खुकुलो पारेर निःशुल्क रगत पाउने व्यवस्था मिलाइए यो सुविधा पाउनेको सङ्ख्या दोब्बर हुने केन्द्र बताउँछ ।
‘बिरामी लिएर अस्पताल आएका आफन्त अस्पतालमा बिरामी छोडेर निःशुल्क रगतका लागि सिफारिस लिन वडा कार्यालय कुद्न सक्ने कुरै हुन्न नि अनि अधिकांशले रगत किनेरै लगेको अवस्था छ’, केन्द्रका घोराही इञ्चार्ज न्यौपानेले भने, ‘वडाको सिफारिस ल्याउनु पर्ने जटिल शर्तलाई खुुकुलो पारेर उपमहानगरबासी भएको पहिचान खुल्ने सरकारी कागजी प्रमाणका आधारमा निःशुल्क रगतको व्यवस्था मिलाउँदा सहज हुन्छ, यसो गर्न सकिए अहिले निःशुल्क रगत प्राप्त गरेको सङ्ख्याभन्दा यो सुविधा पाउनेको सङ्ख्या दोब्बर बढ्छ ।’
यता निःशुल्क रगत प्राप्तिका लागि जटिल शर्त राखेको उपमहानगरका प्रवक्ता राममणि पाण्डेले भने उपमहागरले तोकेकै शर्तदेखि अनभिज्ञ देखिए । उनले वडाको सिफारिस अनिवार्य नगरिएको दाबी नै गरे । ‘उपमहानगरले निःशुल्क रगत पाउन वडाको सिफारिस अनिवार्य भनेर भनेको छैन’, उनले भने, ‘बिरामी लिएर अस्पताल आएको मान्छे कसरी सिफारिस लिन वडा जान सक्छ ? बिरामीको आफन्तीले बिरामी हेर्ने कि वडाको सिफारिस खोज्ने ? यो पनि सम्भव हुन्छ ?’ बरु उनले रक्त सञ्चार केन्द्रबाटै यो नियम लागु भएको हुन सक्ने भन्दै उपमहानगरलाई पञ्छाउन खोजे ।
‘रक्त सञ्चार केन्द्रबाटै त्यस्तो नियम केही भएको रहेछ भने हामी बुझौँला’, उनले भने, ‘उपमहानगरले यस्तो कडा शर्त राखेको छैन ।’ तर सिफारिस दिने वडाहरू पनि निःशुल्क रगतका लागि वडाको सिफारिस अनिवार्य गरिएको बताउँछन् । घोराही १५ का वडाध्यक्ष रमेश पाण्डेले भने, ‘निःशुल्क रगत पाउनका लागि उपमहानगरले वडाको सिफारिस अनिवार्य गरेको छ, हामीले पनि केहीलाई निःशुल्क रगतका लागि सिफारिस दिएका पनि छौँ ।’