Goraksha

National Daily

आँखा, कानको समस्या समधान र अन्धोपनको न्यूनीकरण : अध्यक्ष गिरी [अन्तर्वार्ता]

नेपाल नेत्र ज्योति संघको १९औँ साधारणसभा तथा अधिवेशन भर्खरै सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ दाङ शाखाको स्थापना २०४१ सालमा भएर २०५० सालदेखि विधिवत् रुपमा शाखाको रुपमा काम गर्दै आएको छ । संघले नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवम् बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवा गर्दै आइरहेको छ ।

हाल नेपाल नेत्र ज्योति संघ दाङले दाङ र कपिलवस्तुमा आँखा अस्पताल र अन्य ठाउँमा उपचार केन्द्र सञ्चालन गरेको छ । नेपाल नेत्रज्योति संघमा विगत तीन दशकदेखि वि.स २०५० सालमा सहकोषाध्यक्ष, सचिव हुँदै हाल तेस्रो पटक पनि निर्विरोध सभापतिमा निर्वाचित भएका नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्यको समेत नेतृत्व गरेका तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीसँग आँखा स्वास्थ्य क्षेत्रमा हालसम्म दिँदै आएका सेवाहरु, भावी रणनीति, लक्ष्य, उद्देश्य र आगामी कार्यक्रमको विषयमा बालाराम खड्काले गरेको संक्षिप्त कुराकानी ।

स्वागत छ सातावार्तामा ?

 मेरा विचारहरू आम पाठक समक्ष राख्ने अवसर जुटाइदिएकोमा तपाईँ अनि तपाईँको लोकप्रिया पत्रिकालाई धेरै–धेरै धन्यवाद ।

तेस्रो कार्यकाल पनि निर्विरोध संस्थाको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो, यसलाई कसरी लिनुभएको छ ?

 हो, म हालै बैशाख २३ गते सम्पन्न अधिवेशनबाट फेरि पनि नेपाल नेत्रज्योति संघको सभापतिमा नेतृत्व गर्ने अवसर पाएको छु । मलाई विश्वास गरी पुनः यहाँका सम्पूर्ण आजीवन सदस्यज्यूहरू, सल्लाहकार, कार्यसमिति, आम शुभेच्छुक तथा विभिन्न व्यक्तिहरूको सहयोगले म र हाम्रो टिम निर्विरोध निर्वाचित भयो । मेरा सामु धेरै अवसर र चुनौतीहरू छन् ।

नेत्र ज्योति संघ दाङ शाखाको स्थापना २०४१ सालमा भइ २०५० सालदेखि विधिवत् रूपमा निर्वाचन गरी शाखाको रूपमा काम गर्दै आएको छ । आजसम्म यस संघले नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवम् बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवा गर्दै आइरहेको छ ।

तीनवटै आँखा अस्पतालहरू र उपचार केन्द्रहरूलाई एउटै संगठनमा आबद्ध गराइ दिगोपन विकासको लागि नेपाल नेत्र ज्योति संघ, केन्द्रबाट विसं २०७३ मा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई गभर्निङ निकायको रूपमा मान्यता प्राप्त भएको छ ।

यस कार्यक्रमअन्तर्गत्का अस्पताल तथा उपचार केन्द्रहरूले लुम्बिनी प्रदेशअन्तर्गत्को जिल्लाहरू कपिलवस्तु, दाङ, रोल्पा, प्युठान, रुकुम–पूर्वी र कर्णाली प्रदेशअन्तर्गतको जिल्लाहरू सल्यान, पश्चिम रुकुममा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम आदि सेवाहरू सञ्चालन गर्दै आएको छ । यही वर्षदेखि कर्णाली प्रदेशको थप जिल्लाहरूमा (सुर्खेत, जाजरकोट, दैलख) प्राविधिक सहयोगको लागि जिम्मेवारी प्राप्त भएको छ ।

आँखा स्वास्थ्य सेवा तथा पहुँचलाई गुणस्तरीय सेवाको माध्यमबाट सुदृढ गर्ने हाम्रो परिकल्पना रहेको छ भने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई सन् २०३० (वि.स २०८६) सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । यसलाई पूरा गर्ने अवसर चुनौती दुवै हाम्रो सामू छन् ।

हाम्रो टिमले अहिलेसम्म जति काम गर्न सफल भएको छ, अब त्यसभन्दा धेरै गर्न बाँकी पनि छ । त्यसलाई पूरा गर्न हामी लाग्ने छौँ । यसैले हामीले विगतका कामभन्दा आउँदा दिनमा अझै राम्रो काम गर्नेमा चुनौती छ र हामी त्यो चुनौती पनि पार गर्ने छौँ ।

 अबको भावि योजना तथा उद्देश्यहरू के–के छन् ?

 हाम्रो प्रमुख उद्देश्य त समुदायमा रहेको आँखा तथा कान स्वास्थ्यको समस्यालाई न्यूिनकरण गर्ने र अन्धोपन न्यूनिकरण गर्ने नै हो ।

त्यसका साथै आँखा स्वास्थ्य सेवाको सचेतना कार्यक्रमलाई सुदृढ गर्ने, नेपालको आँखा स्वास्थ्य नीतिसँग सहकार्य र कार्यान्वयन गर्ने, राप्ती आँखा अस्पताललाई ट्रर्सरी लेवलबाट सेन्टर एक्सलेन्टमा स्तरोन्नति गर्ने, छन्द (कालेबाबु) आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेवलमा स्तरोन्नति गर्ने, समुदायमा दृष्टिविहीनता र कानको समस्यालाई न्यूनिकरण गर्ने, अन्य क्षेत्रमा आँखा उपचार केन्द्रको विस्तार गर्न र विद्यमान आँखा उपचार केन्द्रहरूलाई क्रमशः शल्यक्रिया केन्द्रमा स्तरोन्नति गर्ने, तीनवटै आँखा अस्पतालहरूमा कानको उपचार सेवाहरू विस्तार गर्ने र लमही आँखा अस्पतालमा कानको शल्यक्रिया सेवा सुरुवात गर्ने, कर्मचारीलाई उपयुक्त तालिम प्रदान गरी क्षमता अभिवृद्धि गर्ने ।

शैक्षिक तालिम र अनुसन्धान कार्यक्रमलाई सुदृढ गर्ने । विभिन्न सरोकारवालाहरूको सहकार्यमा दृष्टिविहीन पुनःस्थापना कार्यक्रमलाई सुदृढ गर्ने तथा सरकारी तथा गैरसरकारी संस्थासहरू सँगको वकालत र साझेदारी कार्यक्रमलाई सुदृढ गर्ने हो । हामीले अहिले राप्ती आँखा अस्पतालमा ४ वटा विशिष्टीकृत सेवाहरू सञ्चालन गरी लुम्बिनी प्रदेशको अब्बल अस्पतालको रूपमा विकास गर्न गराउन लागि परेका छौँ ।

राप्ती आँखा अस्पतालमा हाल विशिष्टिकृत सेवाअन्तर्गत् आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लास्टिक र बालआँखा रोगसम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरिरहेका छाँै भने अब जलविन्दु सेवालाई पनि सुचारु गर्ने योजना छ ।

राप्ती आँखा अस्पताललाई नेत्र अध्ययन प्रतिष्ठान बनाउने कुरा पनि चलेको थियो, त्यो कहाँसम्म पुगेको छ ?

 हो, तपाईँले राम्रो कुरा उठाउनुभयो । हामीले विगतदेखि नै राप्तीमा नेत्रसहायकको (पिसिएल) पढाइलाई निरन्तरता दिँदै आएका छौँ । हामीले दक्ष जनशक्ति उत्पादन गरी उनीहरूलाई रोजगारी समेत दिइसकेका छौँ ।

अब थप एचए र फार्मेषी पढाइ सञ्चालनका लागि सिटिइभिटीमा पहिलो चरणको पक्रिया पूरा गरी सिटिइभिटीका अधिकारीहरूले अनुगमन सम्पन्न गरिसकेकाले आगामी शैक्षिकसत्रबाट कार्यक्रम अगाडि बढाउने उद्देश्य रहेको छ । साथै यसै आर्थिक वर्षदेखि नयाँ नेत्र विशेषज्ञहरूका लागि एकवर्षे कार्यक्रम सञ्चालनमा ल्याएका छौँ भने नेत्र विशेषज्ञ पढाइ सञ्चालनका लागि पहल, सहकार्य भइरहेको छ । त्यो पूरा हुन भने सकेका छैन तर प्रक्रियामै छ ।

अस्पतालका आयस्रोत के हो ? सरकारले कति सहयोग गरेको छ ?

 हेर्नुहोस्, यो नेपाल नेत्र ज्योति संघ एक परोपकारी सामाजिक शुद्ध सेवामुखी मुनामा रहित सेवा गर्ने गैरसरकारी संस्था हो । यसले नेपालमा अन्धोपन न्यूनिकरण गर्न नेपाल सरकारको करिब ९० प्रतिशत कार्यभार पूरा गरेको छ । यो संस्थाले विभिन्न दातृ निकायहरू सँगको सहकार्यमा हाल नेपालमा आँखा र कान स्वास्थ्य सेवा दिइरहेको छ । मुख्य आय स्रोत भनेको आफ्नै आम्दानी हो ।

बिरामीहरूसँग लिएको सानो रकमले हामीले अस्पताल सञ्चालन गरेका छौँ । दातृ निकायले पनि कार्यक्रमको करिब २५ प्रतिशत हिस्सा सहयोग दिने गरेको छ । यसरी नै कार्यक्रम सञ्चालन गरिरहेका छौँ तर हामीलाई सहयोग कम आउँछ । हामीले स्थानीय, प्रदेश सररकार स्थानीय दाताहरूसँगको साझेदारीमा केही कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । समग्रमा हाम्रो आर्थिक अवस्था त्यति मजबुद छैन ।

हाम्रो मुख्य आय स्रोत भनेको बिरामीहरू नै हुन्, उनीहरूबाटै थोरै रकम दिएर हामीले सेवा दिएका छौँ । सरकारबाट हामीलाई दैनिक प्रशासन तलवको लागि केही पाउने अवस्था अहिले छैन । हामी नाफामूलक नभइ सेवामूलक भएकाले हुनेसँग लिने र नहुनेलाई सेवा दिने गरेका छौँ । पैसाकै कारणले कोही बिरामीले सेवाबाट वञ्चित हुने छैनन् र हाम्रो सेवा पनि प्रभावित नहुने कुरा म यसै पत्रिकामार्फत् सबै सेवाग्राहीमा जानकारी गराउन चाहन्छु ।

भौतिक पूर्वाधारको अवस्था कस्तो छ, कहाँबाट कस्तो सहयोग प्राप्र्त भएको छ ?

 हामीले राप्ती आँखा अस्पतालको ओपिडी भवन निर्माण गरी सञ्चालन गर्न सफल भएका छौँ । त्यस्तै लमही आँखा अस्पताल, छन्द (कालेबाबु )नारायणी आखाँ अस्पतालमा कर्मचारी आवास भवन, लमही आँखा अस्पताल पनि एक्सेन्टेन्सन ओपिडी भवन निर्माण भएका छन् ।

स्थानीय सरकार, प्रदेश सरकार, स्थानीय दाताहरूको साथ, सहयोग र यस क्षेत्रका माननीयहरूको पहलमा हामीलाई वार्षिक रूपमा केही सहयोग आउने गरेको छ । राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र बहादुरगञ्ज आँखा अस्पतालमा गुरुयोजनाअन्तर्गत् पूर्वाधारहरू बनाउने क्रममा छन् । सबै कुरा आर्थिक हो, आर्थिक कुरा पूरा भए सबै पूरा हुन्छ । हामीले सबैको साथ सहयोग पाएका छौँ । हाम्रो लक्ष्य पूरा हुन्छ भन्नेमा विश्वस्त छौँ ।

अन्त्यमा केही भन्नु छ ?

 सर्वप्रथम त म यहाँ अनि यहाँको पत्रिकालाई धन्यवाद दिन चाहान्छु । त्यसका साथै राजनीतिक दल, स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, एनएबिपी नर्वेलगायत अन्य दातृ निकायहरू, स्थानीय दाता, नेपाल नेत्र ज्योति संघका आजीवन सदस्यज्यूहरू, संघका कार्यसमिति, सल्लाहकारज्यूहरू, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको अथक प्रयासले हामीले धेरै महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न पाएकोमा गौरवको अनुभूति गरेका छौँ ।

आँखा स्वास्थ्य क्षेत्रमा भविष्यमा सुनौलो रेखा कोर्ने विचार राख्दै यहाँहरू सबैप्रति धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छु । आगामी दिनमा पनि सही सल्लाह सुझाव र साथ–सहयोग सबैले दिनुहुनेछ भन्ने अपेक्षा गर्छु । मलाई निर्वाचनमा सहयोग गर्ने निर्वाचन कमिटी, राजनीतिक दल, नेपाल नेत्र ज्योति संघका आजीवन सदस्यज्यूहरू, संघका कार्य समिति, सल्लाहकारज्यूहरू, पत्रकार, शिक्षक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु ।