Goraksha

National Daily

विश्व जलविन्दु सप्ताहको अवसरमा जलविन्दु सचेतना र उपचार गर्छौं : सह.प्रा.डा. साह [अन्तर्वार्ता]

विश्व ग्लुकोमा सप्ताह सुरु भएको छ । फागुन २४ गतेदेखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी ग्लुकोमा अर्थात् जलविन्दु दिवस नेपाल तथा विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालमा अन्धोपन बढनुको एउटा कारण जलविन्दु रोग पनि हो । जलविन्दु रोग आँखाको दृष्टि नशालाई दीर्घकालीन असर गर्ने समस्या पनि हो । यसलाई दृष्टि चोर रोगका नामले पनि चिनिन्छ ।

आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ । जसका कारण त्यहाँको तन्तुहरु ग्रसित हुँदै जाने गर्छ । जलविन्दुका कारण विस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले जलविन्दु रोगको उपचारसँगै विभिन्न समयमा सचेतना कार्यक्रम पनि गर्दै आइरहेको छ । सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छ ।

राप्ती आँखा अस्पतालमा अन्य विशिष्टकृत सेवासँगै जलविन्दुको विशिष्टकृत सेवा पनि बिरामीहरुले पाइरहेका छन् । राप्ती आँखा अस्पतालमा ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्रा.डा रन्जितकुमार साहसँग विश्व ग्लुकोमा सप्ताहको अवसरमा यसको उपचार र जलविन्दुबाट बच्ने उपाय लगायतका विषयमा गोरक्षकर्मी बालाराम खड्काले गरिएको कुराकानीको सार सङ्क्षेप ।

— स्वागत छ यहाँ लाई सातावार्तामा ?

धन्यवाद यहाँलाई विश्व ग्लुकोमा सप्ताह र आँखा रोगको विषयमा आफ्ना कुराहरू राख्ने अवसर दिनुभएकोमा ।

— विश्व ग्लुकोमा अर्थात् जलविन्दु दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

विश्व ग्लुकोमा अर्थात् जलविन्दु सप्ताहव्यापी रूपमा विश्वभरि नै मनाइन्छ । सोही अन्तर्गत हामीले पनि यस वर्षदेखि विभिन्न कार्यक्रम गरी यो सप्ताह मनाउन सुरु गरेका छौँ । सोही अन्तर्गत हामीले ग्लुकोमा दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । सोही अन्तर्गत हामीले वार्षिक कार्यक्रम अन्तर्गत मासिक रूपमा सचेतना कार्यक्रम पनि गरेका छौँ । उपचारसँगै यसबाट कसरी बच्ने भन्ने विषयमा हामीले बिरामी र बिरामीका अभिभावकलाई सचेतना दिने गरेका छौँ । सप्ताहव्यापी रूपमा हामीले सचेतनाका लागि प्रचारप्रसार, ¥याली अनि ग्लुकोमाबार अस्पतालमै स्टल राखेर सचेता दिने छौँ ।

— जलविन्दु भनेको के हो ?

जलविन्दु अर्थात (ग्लोक) मा एउटा आँखामा लाग्ने रोग हो । जलविन्दु रोग आँखाको दृष्टि नशालाई दीर्घकालीन असर गर्ने समस्या हो । आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ । जसकारण त्यहाँको तन्तुहरू ग्रसित हुँदै जाने गर्दछ । यसले विस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि घट्दै जाने हुन्छ । सुरुवाती समयमा लक्षण बिना नै असर गर्ने भएकोले पनि यसलाई साइलेन्ट थेप्टअफ साइट भनिएको हो ।

आँखाको दृष्टि क्षमतालाई धेरै घटाइसकेपछि मात्रै बिरामीले यस समस्याबारे थाहा पाउँछ । दृष्टि क्षमतामा धेरै असर पुगेको अवस्थामा फर्काउन निकै कठिन हुन्छ । धेरै जस्तो जलविन्दुमा आँखाको प्रेसर बढ्ने भए पनि केही जलविन्दुमा आँखाको प्रेसर नबढ्ने पनि हुनसक्छ । यसलाई दृष्टि चोर रोगका नामले पनि चिनिन्छ । नेपालमा अन्धोपन बढ्नुको एउटा कारण जलविन्दु रोग पनि हो ।

— जलविन्दुका लक्षणहरू के–के हुन् ?

सुरुवाती अवस्थामा जलविन्दुका लक्षणबारे बिरामीलाई थाहा नै हुँदैन । तर पनि जलविन्दुका केही लक्षण छन् । जस्तै दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ्ग देख्नु, मन्द गतिले आँखा र टाउको दुख्ने, कतिपय जलविन्दुमा वाकवाकी हुने, तथा आकस्मिक रूपमा टाउको दुख्नु लगायतका लक्षणहरू हुन सक्छन् ।

— कस्तो अवस्थामा जलविन्दु हुन सक्ने अवस्था हुन्छ ?

जलविन्दुको समस्या जन्मजात रूपमा एकदमै कम मानिसमा देखिने गर्छ । धेरै मानिसमध्ये एक जनालाई जलविन्दुको समस्या देखा पर्न सक्छ । यदि परिवारमा कसैलाई जलविन्दु भएको छ भने जलविन्दु हुने सम्भावना बढी हुन सक्छ । ४० वर्ष उमेर पछि धेरैलाई जलविन्दु हुने सम्भावना बढ्ने हुन्छ । त्यस्तै मधुमेह तथा उच्च रक्तचापको समस्या भएकालाई जलविन्दु हुने सम्भावना बढी हुन्छ । स्टोराइड जस्ता औषधीहरूको प्रयोग गर्दा जलविन्दुको जोखिम बढेर जान्छ । यदि आँखामा लागेको चोटपटकले पनि आँखामा जलविन्दुको समस्या निमतन सक्छ ।

— राप्ती आँखा अस्पततालमा जलविन्दुको बिरामीहरू दैनिक कति आउने गर्छन् ?

राप्ती आँखा अस्पतालमा जलविन्दुभन्दा पनि अन्य आँखासम्बन्धी समस्या भयर आउने बिरामीहरू धेरै हुनुहुन्छ । अस्पतालमा दैनिक ओपीडिमा तीन सय साढे तीन सयको हाराहारीमा बिरामीहरू आउनु हुन्छ । त्यसमा धेरै जसोत मोतियाविन्दुका बिरामीहरू आउनु हुन्छ । त्यसका साथ साथै सामान्यतया जलविन्दुका बिरामीहरू १०÷१५ जना आउनु हुन्छ केहीको चेकजाँच गर्दा जलविन्दुको समस्या देखिन्छ भने केही पहिलेदेखि नै रोग पत्ता लागेर उपचारका लागि साप्ताहिक मासिक चेकअपमा आउनु हुन्छ ।

— नेपालमा जलविन्दुको अवस्था कस्तो छ ?

सर्वेक्षण अनुसार नेपालमा २.१ प्रतिशतभन्दा बढीलाई जलविन्दुको समस्या रहेको छ । विश्वको सन्दर्भमा भन्ने हो भने करिब दुई प्रतिशतदेखि ८ प्रतिशतलाई जलविन्दुको समस्या रहेको अध्ययनले पत्ता लगाएको छ । नेपालमा धेरैलाई सुरुवाती अवस्थामा जलविन्दुको समस्याबारे थाहा हुँदैन । उपचारका लागि आइपुग्दासम्म आँखामा क्षति पुगिसकेको हुन्छ । नेपालमा हुने अन्धोपनाको दोस्रो कारणमा जलविन्दु रोग पर्छ । समयमै बिरामी अस्पतालमा नआउँदा जसविन्दु अन्तिम अवस्थामा पुगेको हुन्छ र त्यस्तो अवस्थामा उपचारको विधि थोरै रहने हुन्छ ।

— जलविन्दुको परीक्षण तथा उपचार पद्धति के हो ?

जलविन्दुको उपचारका क्रममा गरिने विभिन्न परीक्षण मध्ये पहिलो आँखाको प्रेसर परीक्षण नै हो । त्यस्तै ओसिटी, दृष्टि परिधिको जाँच पनि महत्वपूर्ण हुन्छ । समयमा नै उपचार गरी आँखाको प्रेसर बढ्न नदिएको अवस्थामा जलविन्दुको अवस्थालाई नियन्त्रणमा राख्न सकिन्छ ।

कुनै जलविन्दुमा आँखाको प्रेसर घटाउनका लागि औषधी सेवन गर्नुपर्ने हुनसक्छ । जलविन्दुको रोगको प्रकारमा यसको निको हुने अवस्था निर्भर रहन्छ । कतिजना बिरामीको सामान्य औषधी उपचारले निको हुन्छ भने कतिपय प्रकारका जलविन्दुको उपचारका लागि शल्यक्रिया समेत गर्नु पर्ने हुन्छ । यसको उपचार आँखाको प्रेसरको मात्रा कतिले बढेको छ भन्ने कुरामा निर्भर हुने गर्छ ।

— जलविन्दु रोगबाट कसरी जोगिने ?

यसबाट बचनका लागि रक्तचाप बढ्न नदिने, मधुमेह हुनबाट जोगिने, जलविन्दुको कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुुसार उपचार विधिहरू सुरु गर्ने अर्को कुरा आँखामा चोट पटक लागेका बिरामीले नियमित आँखा परीक्षण गराउने । कम्तीमा पनि ६÷६ महिनामा एक पटक जोसुकैले पनि आँखा परीक्षण गराउदा राम्रो हुन्छ । रोग लाग्नु भन्दा लाग्न नदिनै वेस हुने भएकाले समयमै आँखाको चेकजाँच गरी आँखाको सुरक्षा गर्न आवश्यक छ ।

— अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा म तपाईहरूलाई धन्यवाद दिन चाहान्छु । आँखा जस्तो महत्वपूर्ण अङ्गको विषयमा नागरिकलाई सुसूचित पार्र्ने अवसर दिनुभएकोमा । आँखा मानव अङ्गको महत्वपूर्ण अङ्ग हो । म सबैलाई आँखालाई माया गरौँ भन्न चाहान्छु । हाम्रो राप्ती आँखा अस्पतलमा अहिले विभिन्न विशिष्टकृत सेवाहरू छन् ।

हामीहरूले अन्य सेवाहरू थप गर्ने योजना पनि छ । यसमा हजुरहरू जस्तो सञ्चार क्षेत्र तथा सबै सरोकारवालाहरूले साथ सहयोग गर्न आवश्यक छ । अर्को कुरा आँखा जस्तो कुराको हेलचक्राई कसैले पनि नगरौँ, यदि आँखामा समस्या देखियो भने तूरुन्तै नजिकैको अस्पताल तथा उपचार केन्द्रमा आँखा चेकजाँच गरौँ, जथाभावी जे पायो त्यही औषधी प्रयोग नगरौँ, आँखाको सुरक्षा सबैले गरौँ र दृष्टिविहीनताको न्यूनीकरणमा सबैले हातेमालो गराँै भन्न चहान्छु । धन्यवाद ।