मेरो खुशी : होण्डा साइकल किन्दा …
1 min readकर्ममा विश्वास गर्ने, मिलनसार र सरल स्वभावका ईश्वर श्रेष्ठ सफल पोल्ट्री व्यवसायी हुन् । देउखुरीमा कुखरा पालन, अण्डा र दाना उत्पादनसँगै बच्चा उत्पादन गर्दै आएका श्रेष्ठ जिल्लामा सफल व्यवसायीका रूपमा परिचित छन् ।
२०५२ सालमा अर्घाखाँचीबाट बसाइँसराई गरेर दाङको लमही–१ सुनडबरीमा आएका श्रेष्ठले ५० वटा ब्रोइलर कुखुराका बच्चाबाट व्यवसाय सुरु गरेका थिए । व्यवसायसँगै गाउँमै रहेको दीपज्योति बोर्डिङ स्कुलमा पढाउन थाले । घरको आर्थिक अवस्था बलियो बनाउनका लागि सुरु गरेको व्यवसाय र पढाउने काममा सफलता मिल्दै गयो । आपूm बस्ने घरकै एउटा कोठा खाली गरेर सुरु भएको कुखुरा पालन व्यवसाय बढ्दै गयो भने अर्कोतिर राम्रो पढाउने शैलीका कारण स्कुलसँगै घरमै समेत विद्यार्थी ट्यूसन पढ्न आउन थाले । जसले गर्दा आर्थिक रूपमा राम्रो हुँदै गएको थियो ।
वि.सं. २०५५ सालमा साविकको (निमावि) अहिलेको माध्यमिक विद्यालय फल्कापुरमा गणित विषयको शिक्षकको आवश्यकता प¥यो । त्यो बेला अहिलेजस्तो पढाउने धेरै हुँदैन थिए । त्यसैले स्कुलका प्रिन्सिपलले भेटेर आफ्नो स्कुलमा पढाउनुपर्ने कुरा गरेपछि उनी निजी स्कुल छोडेर सरकारी स्कुलमा पढाउन थाले ।
सरकारी विद्यालय घरदेखि थोरै टाढा भएकाले स्कुल आउन जान र कुखुरा पालन व्यवसाय हेर्नका लागि समस्या हुन थाल्यो । त्यहीलाई सहज होस् भनेर आफ्नै कमाइमा १८ सय रूपैया खर्च गरेर होण्डा रेजर साइकल किनेका थिए । त्यो क्षण आफ्नो जीवनको सम्झनलायक खुसीको क्षण भएको श्रेष्ठ बताउँछन् । ‘बोर्डिङ स्कुलमा पढाउँदा विद्यार्थीलाई घरमै ट्यूसन पढाउने गरेको थिए ।
जसले गर्दा खाली समयमा कुखुरालाई चारो, पानी दिनमिल्ने गरेको थियो’, उनले भने, ‘तर सरकारी स्कुलमा पढाउन थालेपछि विद्यार्थीले ट्युसन पनि स्कुलमै पढ्ने भन्न थाले । जसले गर्दा घर पुग्न ढिलो हुने गरेको थियो । स्कुल आउन र घर पुग्न छिटो होस् भनेर करिब दुई हजार खर्च गरेर होण्डा रेञ्जर साइकल किनेको थिएँ । त्यो क्षण मेरो खुसीको क्षण हो ।’ शिक्षण पेसालाई लामो समय अघि बढाउन सकेनन् । निजी र सरकारी गरेर करिब एकदशक शिक्षण पेसामा बिताए ।
शिक्षण पेसाभन्दा कुखुरापालन व्यवसायमा राम्रो भविष्य देखेपछि २०६३ सालमा शिक्षण पेसा छोडेर उनी पूर्णरूपमा व्यवसायमा लागेको बताउँछन् । त्यो बेला उनीसँग करिव १८ हजार कुखुराहरू पुगिसकेका थिए । सुरुमा मासुका लागि ब्रोइलर कुखुरा पालन गरेका श्रेष्ठले अहिले अण्डा उत्पादनका लागि लेयर्स कुखुरा पालन गर्दै आएका छन् ।
सुनडबरीमा अण्डा उत्पादनका लागि ७० हजार कुखुरा पाल्दै आएका श्रेष्ठले अर्काे खुसीका रूपमा व्यावसायिक सफलतालाई समेत लिने गर्दछन् । ‘कतिपय व्यवसायी असफल हुने र पेसाबाट पलायन हुने गरेको देखिन्छ’, उनले भने, ‘तर मैले जुन व्यवसायमा हात हालेको छु, त्यो व्यवसायबाट घाटा व्यहोर्नुपरेको छैन ।
सफलता नै प्राप्त गरेको छु, यो पनि मेरो खुसीको कुरा हो ।’ सानो उमेरमा पढेर डाक्टर बन्ने सपना देखेका श्रेष्ठ पढाइमा पनि उत्तिकै तेज थिए । जसको परिणाम उनी गाउँकै जनप्रिय माध्यामिक विद्यालयबाट १० कक्षासम्म अध्ययन गर्दा प्राय स्कुलमा पहिलो हुन्थे । त्यसैको परिणाम स्वरूप उनले एलएलसी फस्ट डिभिजनमा पास गर्न सफल भए ।
विद्यालयबाट २४ जनाले एलएलसी दिएको, दुई जनाले प्रथम श्रेणीमा पास गर्दा श्रेष्ठ नै पहिलो थिए । एसएलसी पछिको पढाइ काठमाडौंमा हुने भयो । डाक्टर बन्ने सपना साकार पार्नका लागि पाटन क्याम्पसमा भर्ना भएर साइन्स पढ्न थाले । उक्त क्याम्पसमा देशभरबाट निजी स्कुलबाट पढेका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो ।
त्यसैमा मध्यम घरपरिवारका कारण पढाइमा आर्थिक समस्या हुने अवस्था आइलाग्यो । सोही कारण उनी एक वर्षपछि पढाइ छोडेर मानविकी पढ्न थाले । मानविकीमा अङ्ग्रेजी र गणित मेजर विषय लिएकाले उनले फेल नभएर आइएसँगै बिए पास गरे । सधैँ काठमाडौंमा बसेर मात्रै नहुने भएपछि उनी घरव्यवहार चलाउनका लागि घर फर्किनुप¥र्या ।
काठमाडांैदेखि अर्घाखाँचीमा पनि रोजगारका लागि प्रयास गरेका थिए तर कतै जागिर पाउन सकेनन् । त्यही कारण उनी २०५२ सालमा घरपरिवारसँगै बसाइँ सरेर लमही नगरपालिका–१ सुनडबरी आएको बताउँछन् ।
सुनडबरी आएपछि पनि के गर्ने ? भन्ने चिन्ता भयो तर उनले बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दा कुखुरापालन गर्ने ठाउँ देखेका थिए । त्यही कारण कुखुरा पाल्न सुरु गरे तर कुखुरा पालनका लागि न उनीसँग धेरै पैसा थियो न त आवश्यक संरचना नै । त्यसैले उनले आपूm बस्ने घरको एउटा कोठामा ५० वटा ब्रोइलर कुखुराका बच्चा राखेर कुखुरापालन व्यवसाय सुरु गरेको बताउँछन् ।
५० वटा कुखुराबाट सुरु भएको व्यवसाय अहिले करोडौँको सङ्ख्या पुगेको छ । ब्रोइलर कुखुरा हुँदै कुखुरापालनका लागि आवश्यक साविक राप्ती अञ्चलमै पहिलो पटक दाना उत्पादन, दानापछि चल्ला उत्पादनमा लगानी गरेका उनले पछिल्लो समय अण्डा उत्पादनका लागि कुखुरापालन गर्दै आएका छन् ।
लमही नगरपालिका–१ निवासी सफल पोल्ट्री व्यवसायी श्रेष्ठ २०३४ साल साउन २५ गते अर्घाखाँची जिल्लाको भूमिकास्थान–३ खिल्तीमा जन्मिएका थिए । बुबा भक्तप्रसाद श्रेष्ठ र आमा छमाकुमारी श्रेष्ठका चार सन्तानमध्य कान्छो सन्तान ईश्वरका दुई दिदी र एक दाजु रहेका छन् । २०५२ सालमा पुष्पा श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएका श्रेष्ठ दम्पत्तिका दुई छोरा छन् ।
देउखुरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रहेका श्रेष्ठ राप्ती फिड इन्डस्ट्रिज, ऐरावती पोल्ट्री ब्रिडिङ फर्म प्रालि, खजना एग्रो फार्म प्रालि र होराइजन पोल्ट्री प्रालिलगायतका विभिन्न व्यावसायिक फर्महरूमा आबद्ध छन् ।