विकासका कामले जनतालाई खुसी बनाउने छु : उम्मेदवार घिमिरे [अन्तर्वार्ता]
यही फागुन २१ गते हुने प्रतिनिभिसभा निर्वाचन नजिकिएसँगै दल चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । जनमत आ–आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलदेखि उम्मेदवारहरु निर्वाचन केन्द्रीय कार्यक्रम तय गरेर जनताको घरदैलोमा जानेदेखि भेटघाट गर्ने काम गरिरहेका छन् । यसै सन्दर्भमा दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका किरणकिशोर घिमिरेले चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीव्रता दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने विभिन्न बस्तीमा पुगेर जनताका गुनासा सुन्नेदेखि क्षेत्र नं. २ को विकासका लागि आफ्नो प्रतिज्ञापत्र समेत सार्वजनिक गरेर विकासका योजना अघि सारिसकेका छन् । घरदैलो तथा भेटघाटका क्रममा मतदाताको अपेक्षा, उम्मेदवारका चुनावी एजेण्डा र क्षेत्र नं. २ को विकासका अघि सारेका एजेण्डाका विषयमा केन्द्रीत रहेर उम्मेदवार किशोरकिरण घिमिरेसँग गोरक्षकर्मी देवेन्द्र बस्नेतले गरेको कुराकानीको सारसंक्षेप ।
— दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसतर्फबाट तपाई उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। मतदाता समक्ष पुग्दै गर्दा मतदाताको उत्साह कस्तो पाउनु भयो ? र चुनावी प्रचारप्रचार के कसरी अगाडि बढिराख्नुभएको छ ?
मेरो चुनावी प्रचारप्रसार असाध्यै उत्साहका साथ अगाडि बढेको छ । त्यसको प्रमुख दुईवटा कारण छन् । निर्वाचन क्षेत्र नं. २ को उम्मेदवारमा नयाँ उम्मेदवारको रूपमा अपनत्व राजनीति समानता २०३६ सालबाट हुँदा हुँदै पनि म अहिले भर्खर नयाँ उम्मेदवारको रूपमा रहेको छु । यस क्षेत्रमा थारू समुदायलगायत जनजातिको मुख्य बसोबास रहेको छ ।
यस पटक जनजाति कलस्टर र थारू कलस्टरसँग कांग्रेसको पहुँच स्थापित भएको छ । हामी जसरी थारू गाउँहरूमा गएका छौँ । त्यहाँबाट भएको स्वागतले, त्यहाँबाट भएको समर्थनले र जनजातिले भएको हाम्रो संवाद उहाँहरूको समर्थनले म असाध्यै उत्साहित छुँ । समग्रमा निर्वाचन जसरी अगाडि बढेको छ, म उत्साहित रहेको छु । कांग्रेसको संगठन पनि व्यापक रूपमा व्यवस्थित तरिकाले क्षेत्र नं. २ मा निर्वाचनमा परिचालन भएको छ ।
निर्वाचनलाई मध्यनजर गरेर ४५ वटा उपसमिति गठन भएका छन् । जसले गाउँ–गाउँमा भनौ घर–घरमा गएर निर्वाचन केन्द्रीत कार्यक्रम ग्रिरहेका छन् । बद्लिएको कांग्रेसका बारेमा कुराहरू राखिरहेका छन् । उपसमिति सदस्य साथीहरूले उत्साहका साथ कुना–कुनामा, टोल–टोलमा पुग्नुभएको छ । महिलाहरू सहभागीमा असाध्यै उत्साहजनक छ । त्यसकारण समग्रमा भन्नुपर्दा उत्साह रूपले निर्वाचन कार्यक्रम अगाडि बढिरहेको छ ।
— यो त निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विभिन्न भातृ तथा सुभेच्छुक संघसंगठन चुनावमा परिचालित हुने कुरा रह्यो । अब भन्नुहोस् निर्वाचनमा तपाईलाई जनताले किन मत दिने ?
मैले पार्टीको प्रतिनिधिको रूपमा उम्मेदवार भएको हुनाले केन्द्रीय नेपाली कांग्रेस कार्यसमितिले यसको संयोजकको रूपमा यो घोषणापत्र छ । पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा जो प्रतिज्ञापत्रहरू बनेको छ । त्यसैले मूल आधार मानेर हामी अगाडि बढ्ने हो । हामी तहमा रहेका समस्याहरू, यहाँ प्रमुख समस्याहरू, यहाँका शिक्षा समस्या छ । यहाँ धर्ती पुत्रको रूपमा रहेको थारू समुदाय छ ।
त्यो समुदायका सांस्कृतिक जो परम्पराहरू छन् । त्योसम्म मैले आफूलाई के सम्झन्छु भने म आठ पुस्तादेखि दाङमा बसेको व्यक्ति, मैले पनि आफूलाई त्यो सन्दर्भमा धर्ती पुत्रको रूपमा देख्छु । थारू साथीसँग बसेको त्यसपछि खस आर्य समुदाय समुदायको मैले प्रतिनिधित्व गर्ने । जनजातिहरूसँग विशेष सम्बन्धको रूपमा कांग्रेसका एजेण्डा छन् । ती एजेण्डा नै हुन् । मेरो यस सन्दर्भमा विकासका ठुला परियोजना दाङका सदन्र्भमा भन्ने हो भने विगतमा आशा देखियो ।
ठुला–ठुला अन्तर्राष्ट्रिय विमानस्थलका कुराहरू सुनियो । त्यो भन्दा सानो सुन्दर हामीसँग जमिन छ, जल छैन । जल कृषिका लागि आवश्यक छ । त्यस्तै बिजुली पुगेको छैन । यी सबै कुराहरू भए । अब बाटोहरूका कुरा भए । पूर्वाधारका स–साना कुराहरूले आम जनतामा खुसी प्राप्त गर्छ । त्यसले हामी लगानीका स्रोतहरू कम छन् । त्यसले लगानी गर्दा प्रतिफल प्राप्त हुने लगानी जानुपर्ने भन्ने मान्यता छ ।
दाङ क्षेत्र नं. २ सँगै समग्र दाङको विकासका लागि धैरै कुराहर संकल्पपत्रमा समेटिएका छन् । दाङको विकासका लागि गर्नुपर्ने कुराहरू त्यसमा रहेका छन् । त्यी योजनालाई पाँच वर्षको अवधिमा पुरा गर्ने छु । हामीसँग धेरै सम्भावनाहरू रहेका छन् । एउटा हामी यो घोराही हुँदै स्यूँजाबाट स्वर्गद्घारी पुग्न सक्छौँ । त्यो सबैैभन्दा छोटो बाटो बन्न सक्छ । जमकी स्वर्गद्घारी जाने भारतीय उत्तर प्रदेश सम्बन्धी भक्तहरू हुन् ।
उनीहरूको आगमनलाई यो बाटोबाट जोड्न सकियो भने एउटा राम्रो पर्यटनको विस्तार हुने देखिन्छ । दोस्रो पर्यटनमा हामीसँग गोरक्ष सिद्धरत्ननाथ र गोरखनाथ पाटनदेवीको एउटा ऐतिहासिक सम्बन्ध छ । त्यसकारण रत्ननाथ हामीसँग रहेको छ भने पाटनदेवी काँशीतिर लगेर जाने चलन छ । गोरखनाथ भाइबहिनीदेखि भएको हुनाले यी कुराहरू देखेर साथै अहिले नयाँ पर्यटनका सम्भावनाहरू पनि आएका छन् ।
म धेरै ठुला कुराहरूको बारेमा भन्न चाहन्न । दाङमा भएका दुईवटा पूर्वाधार कुराहरू स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा र बाटोको कुरा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा भएको हो । त्यसकारणले म व्यवसायमा विकास व्यवसाय र व्यापारलाई निजी स्रोतमा जोड्नुपर्छ भन्ने मान्यता राख्छु ।
त्यस्तै निजी क्षेत्रको लगानीमा भर्खरै गोग्लीमा ३०० वेडको अस्पताल सञ्चालनमा आएको छ । त्यसलाई दाङमा सञ्चालनका लागि मेरो ठुलो भूमिका रहेको छ । दाङमा निजी क्षेत्रका माध्यमबाट स्वास्थ्य, शिक्षा, खेलकुद, सिँचाइलगायत सामाजिक क्षेत्रमा मेरो ठुलो योगदान रहेको छ । त्यसैगरी निजी क्षेत्रलाई व्यवसायमा जोड्ने र यहाँ भएका आदिबासी, जनजाति धर्ती पुत्रहरूलाई प्रवद्र्धन गर्ने, दलित समदायलाई आयआर्जनमा जोड्नका लागि विशेष पहल गर्दै आएको छ । त्यसका लागि योजना पनि बनाएको छु ।
— चुनावी मैदानमा पहिलो पटक उत्रनु भएको छ ? खासगरी मतदाताहरूका अपेक्षा साझा रूपमा के कस्ता पाउनु भयो त ?
समग्र रूपमा भन्दा मतदाताका धेरै तथा ठुला माग छैनन् । शिक्षा, स्वास्थ्य, सडक, विद्युतीकरण, सिँचाइलगायतका समस्याहरू आएका छन् । मागको आपूर्ति र विकासको सन्तुलन अलिकति बन्न नसकेको हुँदा हाम्रा विकासका चाहनाहरू ४६ सालमा बहुदल आएदेखि अहिलेसम्म पूरा हुन सकेका छैनन् ।
२०४८ सालदेखि हामीले अहिले ८२ सालसम्म जोड्दा साढे ३३ वर्षको अवधिमा समग्र नेपाली जनताले विकासका लागि चाहना पहिलो प्राथमिकता गरेको पहिलो साढे ३ वर्षको अवधि ४८ देखि ५१ अवधि त्यसपछि ७२ देखि ८२ को अवधि साढे १३ वर्ष आम नेपाली जनताको विकास प्राप्तिका चाहनाले भएका अवधिहरू हुन् ।
नत्र २०५२ सालदेखि २०६४ सालसम्म माओवादी द्वन्द्वको अवस्थामा विकासभन्दा जीवन रक्षा शान्ति जनताको चाहना रह्यो । त्यस्तै २०६४ देखि २०७२ सम्म संविधान निर्माणका क्रममा ८ वर्षको अवधि हाम्रो प्राथमिकता संविधान निर्माणमा गयो ।
यसरी हेर्दा समग्रको समयमा २० वर्षको समय हाम्रा प्राथमिकता विकासभन्दा शान्ति सुरक्षा विकासभन्दा संविधान भए । त्यसले गर्दा अहिले जनअपेक्षा विकासका पक्षमा छन् । त्यो एउटा कुरा हो । अर्को कुरा जो पुराना उम्मेदवार हुनुहुन्छ ।
उहाँहरूको निर्वाचित भएर जनताका बिचमा नआउने भन्ने किसिमको व्यापक गुनासोको विषय आम मतदातासँग छ । मतदातालाई पनि के थाहा छ भने विकास एकै पटक सम्पूर्ण बजेटहरूले सम्पन्न हुन सक्दैन, बनाउन सक्दैन । त्यसै कारणले त्यो सन्दर्भमा मैले चासो र गुनासोको रूपमा मैले बुझेको छु । दोस्रो भ्रष्टाचारहरूको कुरा बारेमा, सुशासनका बारेमा एउटा आम मतदातामा मैले पाएको छु ।
— तपाई पदमा आसिन नहुँदा विकास निर्माणका थुप्रै विषयहरूसँग जोडिनु भएको छ । तपाईको पहल कदमीले धेरै विकासका पूर्वाधारहरू खडा भएका छन् । हामीलाई पनि जानकारी प्राप्त छ, तपाईले गरेको विकासको योगदानले चुनावी मैदानमा उत्रनको लागि कतिको सहज भएको छ ?
मलाई असाध्यै जनस्तरमा मेरो प्राथमिकता दाङको कृषि, जल, जमिन, जंगल र उत्पादन कसरी बढाउने भन्ने प्राथमिकता विकासको विषय हो । त्यसकारण मैले पदमा नहुँदा पनि दाङमा विकासका लागि सहयोग गरेको छुँ । दोस्रो कुरा जनताको कोखदेखि शोखसम्म सहभागी हुने प्रयास गरेको छुँ ।
पछिल्लो समय मैले साढे ३ वर्षको अवधिमा सत्र सय, अठार सय शोकमा परेकासँग म सवेदनापत्र लिएर पुगेको छु । त्यसले के देखाएको छ भने किरणकिशोर कोखदेखि शोकमा रहने पात्र हो । यी दुवै कुराले असाध्यै मलाई सहयोग पुगेको अनुभूति गरेको छुँ ।
नेपाली कांग्रेसमा पुस्तान्तरण भएको छ । नेपाली कांग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा पार्टी निर्वाचनमा गएको छ । यसले मतदाताहरूमा नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणमा के परिवर्तन ल्याएको पाउनुभएको छ ?
अहिले समग्र जेन–जीको आन्दोलनलाई साच्चिकै अनुभूत गर्ने, आत्मसात गर्ने कुनै पार्टी छ भने नेपाली कांग्रेस रहेको छ । यहाँ अतिवादी चिन्तन रहेका छन् । एउटा आन्दोलनलाई केवल ध्वसंको आन्दोलन भन्ने तत्कालीन प्रधानमन्त्री र उहाँसम्मको दृष्टिकोण अर्को आफू समस्या समस्यैको घेरामा रहेर, अनिमित्यताको घेरामा रहने, ध्वसंमा संग्लन भएको उहाँका पार्टीका व्यक्तिहरू जेलबाट बाहिर आउने काम भयो ।
एउटा गतिशिल समाजका लागि सबैभन्दा सहअस्तित्व समाज निर्माण हुन्छ । त्यसकारणले यो नेतृत्व परिर्वतन हामी साच्चिकै रूपमा नयाँ पार्टी विचारका दृटिकोणले भएका छौँ । मुलकलाई पनि हामीले सफा गर्ने आट लिएर हिडेका छौँ, त्यो सम्भव पनि छ । त्यसकारणले ठुलो सकारात्मक प्रभाव परेको छ भन्ने मलाई पूर्ण विश्वास छ ।
— नयाँ दलहरूले अबको वैकल्पिक शक्ति हामी मात्र हौँ भन्ने भाष्य निर्माण गर्न खोजिरहेका छन् । कसरी चिर्नुहुन्छ त्यो भाष्यलाई ?
अहिले आफुलाई नयाँ शक्ति भन्नेहरू करिब साढे ३ वर्ष राज्य सञ्चालनमा बसिसक्नुभएको छ । सरकारमा दुई–दुई पटक उपप्रधानमन्त्री हुनुभएको छ । प्रधानमन्त्रीका रूपमा अघि सारिनभएका देशको राजधानी काठमाडौँको मेयर हुनुभएको छ । उहाँले काठमाडाँैको मेयरमा निर्वाचित भएपछि फोहोरले मोहोर भन्ने नारा दिनुभएको थियो । तर फोहोर व्यवस्थापनको सिस्टमको समस्या कहाँनिर छ । कति पटक हड्ताल भयो । कुन कसरी विकासको बजेट कति प्रतिशत खर्च गरियो । यी सबै कुराहरू हामीले प्रष्टसँग देखेका छौँ ।
अनियमिताका सन्दर्भमा जो जसरी अरूलाई प्रश्न गरिएको छ । बाटोमा आफू अनियमितताका सन्दर्भमा, सहकारीका सन्दर्भमा आफुलाई निर्दाेश भनिरहेका छन् । उनी को हुन् भनेर जनताले चिनिसकेका छन् । जनताले सडकमा मजदुरी गरेर कमाएर सहकारीमा बचत गरेको पैसा सहकारीमार्फत् दुरूपयोग गरेको कुरा आइरहेको छ । जसको अहिले पनि विभिन्न जिल्लामा मुद्धा विचाराधिन छन् । त्यी विषय हामीले पटक–पटक भनुराख्नु पर्दैन ।
जेन–जी आन्दोलनका कारण देशले कति ठुलो क्षति व्यहोर्नु परेको छ । जेन–जी आन्दोलन कसका कारण भयो त्यो पनि जनताले बुझेका छन् । यी सवै कुराबाट परिवर्तित भएर देशको समृद्धि गर्ने भनेको पार्टी नेपाली कांग्रेस मात्र हो । जसले व्यवहारमा बद्लिएर, जेन–जी आन्दोलनको म्यान्डेटलाई आत्मसाथ गरेर अघि बढेको छ । जसलाई जनताले नजिकबाट मूल्याङ्कन पनि गरेका छन् । त्यसलाई यही फागुन २१ गते हुने निर्वाचनमा व्यवहारमा लागु गरेर देखाउने छन् भन्ने अपेक्षा गरेका छौँ ।
— चुनावी मैदानमा भेट्दा तपाईसँग प्रतिस्पर्धामा रहेका अन्य दल उम्मेदवारको कति चुनौतीमा हेरिरहनु भएको छ ?
निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी धेरै उम्मेदवारहरू रहनुभएको छ । मुल रूपले दुईवटा दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलसँग हाम्रो प्रतिष्पर्धा हो । शंकर पोख्रेलले पनि यो निर्वाचनमा नेपालीसँग आफ्नो प्रतिष्पर्धा हो भनेर भनिसक्नुभएको छ । त्यसकारणले प्रतिस्पर्धीले यसको मापनको दृष्टिकोणले कांग्रेस सबैभन्दा ठुलो हो ।
मेरो व्यक्तिगत प्रभावले रूपान्तरिक संगठिन नेतृत्व भएको कारणले देशलाई लिड गर्न सक्नेले अहिले साच्चिकै ठुलो चुनौतीको रूपमा वैचारिक दृष्टिकोणको रूपमा कांग्रेस रहेको छ । अब केही समस्याहरू हुन सक्छन्, त्यसलाई कांग्रेसले चिर्दै गएको छ । ढुक्कका साथ भन्छु कांग्रेस सबैभन्दा बहुमतको पार्टी हुने छ भन्ने आत्म विश्वास छ ।
—अन्त्यमा तपाईका मतदाताहरूलाई के भन्नुहुन्छ ?
अब जसरी हिजो र अस्ती कार्यक्रम हुने नाममा एउटा पार्टीको झण्डा अर्का पार्टीका कार्यकर्ताहरूले जलाइएका घटनाहरू त्यसको प्रतिक्रिया स्वरूप उत्दण्डको प्रतिक्रियाका नाममा फेरि उत्दण्डका नाममा जो द्वन्द्व निम्तिने भयो । यो सन्दर्भमा कांग्रेसलाई निर्वाचन भाड्न षडयन्त्र पनि मर्ला लाग्छ । दंगालीबासी सधै क्रान्ति, एकता, सहअस्तित्वको पक्षमा छन् । त्यसैका आधारमा शान्तिपूर्ण रूपले आत्मविश्वासका साथ प्रतिस्पर्धी निर्वाचनमा हामी जानु पर्छ भन्ने मेरो मान्यता छ ।
म सबैभन्दा ठुलो क्षेत्रको पार्टीको उम्मेदवार भएको नाताले त्यो अभिभावक गर्दै म क्षेत्रको सम्पूर्ण दुवै दलका नेता तथा कार्यकर्ता सर्वश्रेष्ठ भएर कार्य गर्नु भन्दै आम जनतालाई शान्ति पक्षमा सहअस्तित्वका साथ शान्तिपूर्ण निर्वाचनमा उत्साहका साथ सहभागी भएर नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गर्दछु ।
