Goraksha

National Daily

जनताको भावना बुझेर नयाँ सोचसहित अघि बढ्न आग्रह

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को चुनावी समीक्षा
गोरक्ष समाचारदाता
दाङ, २७ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरेको छ । मङ्गलवार कार्यक्रमको आयोजना गरेर निर्वाचनबारे समीक्षा गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताले पार्टीलाई नयाँ सोच र रणनीतिसहित अघि बढाउनु पर्ने बताएका थिए । कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा घोराहीमा भएको कार्यक्रममा नेताहरूले निर्वाचन परिणाम, जनताको अपेक्षा तथा पार्टीभित्र देखिएका कमजोरीबारे विस्तृत छलफल गरेका थिए । सहभागी नेताले जनताले पार्टीलाई सुधार र आत्ममूल्याङ्कनको अवसर दिएको भन्दै अब जनभावनालाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।

उनीहरूले पार्टीभित्र व्यक्ति केन्द्रित प्रवृत्तिभन्दा संस्थागत प्रणालीलाई बलियो बनाउनु पर्ने, गुटउपगुटको अन्त्य गर्नु पर्ने तथा एकअर्कामाथि आरोप, प्रत्यारोप गर्ने प्रवृत्ति बन्द गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार किरण किशोर घिमिरेले निर्वाचनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै पार्टीभित्रको आपसी द्वन्द्व कम गरी एकताबद्ध रूपमा अघि बढ्नु पर्ने बताए ।

उनले निर्वाचनमा आफूलाई सहयोग गर्ने नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउन सबै मिलेर काम गर्नु पर्ने बताए । उनले अवसरको सही सदुपयोग गर्दै जनताको विश्वास जित्ने गरी काम गर्नु पर्ने उल्लेख गरे । ‘हामीले प्राप्त अनुभवबाट सिकेर आगामी दिनमा पार्टीलाई बलियो बनाउनु पर्ने जिम्मेवारी सबैको काँधमा आएको छ’, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य लीला नेपालीले पार्टीले गरेका सकारात्मक परिवर्तन र उपलब्धिलाई प्रभावकारी रूपमा जनता माझ पु¥याउन नसक्दा अपेक्षित परिणाम आउन नसकेको बताइन् । उनले पार्टीभित्रको एकता बलियो बनाउँदै जनताका बिचमा पुग्नु पर्नेमा जोड दिइन् । यसैगरी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले मतदाताको सोच र समय अनुसार पार्टीले आफूलाई परिवर्तन गर्र्न आवश्यक रहेको बताए ।

परम्परागत रणनीतिमा मात्र अडिग रहँदा अपेक्षित सफलता प्राप्त गर्न कठिन भएको भन्दै उनले नयाँ रणनीति र योजना बनाएर अघि बढ्नु पर्ने बताए । उनले राष्ट्रिय राजनीतिक एजेन्डाले पनि निर्वाचन परिणाममा प्रभाव पार्ने गरेको उल्लेख गर्दै पार्टीलाई अझ सचेत, संगठित र जिम्मेवार रूपमा अघि बढाउनु पर्ने धारणा व्यक्त गरे । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टीलाई रूपान्तरण गर्दै संगठनात्मक संरचनालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले मतदातामा देखिएको असन्तुष्टि पहिचान गरी त्यसको समाधानतर्फ पार्टीले ठोस कदम चाल्नु पर्ने आवश्यक रहेको बताए । उनले आगामी दिनमा नयाँ मतदाता आकर्षित गर्ने तथा पार्टीप्रति विश्वास बढाउने अभियान सञ्चालन गर्नु पर्ने बताए । मतदाताको मनोभावना बुझेर काम गर्न सकिए पार्टीलाई बलियो बनाउन सकिने उनको धारणा थियो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले पार्टीभित्र नीतिगत सुधार आवश्यक रहेको बताए ।

उनले नयाँ सोच र दृष्टिकोणसहित संगठन सञ्चालन गर्नु पर्ने भन्दै नागरिकले पार्टीलाई सुधारको अवसर दिएको उल्लेख गरे । ‘हामीलाई जनताले पार्टीलाई सुधार्ने मौका दिएका छन् । त्यसलाई अवसरका रूपमा लिएर पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउनुपर्छ’, उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेश राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

उनले जनताका अपेक्षा पूरा गर्न नसके पार्टीप्रति विश्वास कमजोर हुने भन्दै जनप्रतिनिधिले जनताका बिचमा रहेर काम गर्नु पर्ने बताए । उनले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य वक्ताले पनि निर्वाचन परिणामलाई गम्भीर रूपमा लिएर पार्टीभित्र संगठनात्मक सुधार आवश्यक रहेको बताएका थिए । उनीहरूले कार्यकर्तालाई व्यवस्थित गर्नु पर्ने, संगठनलाई सक्रिय बनाउने तथा जनतासँग निरन्तर संवाद कायम राख्ने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका थिए ।

नेपाली कांग्रेसलाई समय अनुकूल रूपान्तरण गर्दै जनताको भावना, आवश्यकता र अपेक्षालाई बुझेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । पार्टीभित्रको एकता, अनुशासन र संस्थागत अभ्यासलाई बलियो बनाउँदै संगठनलाई जनमुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । समीक्षा कार्यक्रमले आगामी दिनमा पार्टीलाई सुदृढ बनाउँदै संगठनात्मक सुधार र जनतासँगको सम्बन्ध मजबुत बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीले बताएका थिए । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २(ख) का सभापति अभियान बस्नेत, क्षेत्र नं. २ ‘क’का सचिव शिशिर अधिकारीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हिमबहादुर डाँगीले गरेका थिए ।