देशको स्वाधीनता र समृद्धिको मार्गचित्र कोर्ने अवसर : उम्मेदवार पाण्डे [अन्तर्वार्ता]
देश प्रतिनिधि सभा निर्वाचनको संघारमा छ । राजनीतिक दल चुनाव प्रचारप्रसारलाई तीव्रता दिएका छन् । दाङमा पनि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनाव प्रचारमा सक्रिय छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नं. ३ मा एमालेबाट उम्मेदवार छन्, घनश्याम पाण्डे । उनी २०५४ मा तत्कालीन तुलसीपुर नगरपालिकाको उपप्रमुख र २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुख रहेका पाण्डेले सामुदायिक वनदेखि विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । पाण्डेसँग प्रतिनिधि सभा चुनावको सन्दर्भ पारेर गरिएको कुराकानीको सार सङ्क्षेप ।
तपाईंको परिचय र राजनीतिक पृष्ठभूमिका बारे संक्षिप्तमा बताइदिनुस न ?
मेरो राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो । अनेरास्ववियुको राजनीतिबाट खारिँदै मैले लामो समय पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेँ। विशेष गरी तुलसीपुर उपमहानगरपालिकाको मेयरको रुपमा सेवा गर्दा मैले स्थानीय सरकार सञ्चालन र विकासको जग कसरी बसाल्नुपर्छ भन्ने प्रत्यक्ष अनुभव प्राप्त गरेको छु । नेकपा एमालेको केन्द्रीय सदस्यका रुपमा अहिले मेरो पाटीमा भुमिका छ ।
मैले विदेश विभाग हेर्ने गरेको छुँ । यसका साथै विभिन्न सामाजिक आन्दोलनको पनि मैले नेतृत्व गरिरहेको छुँ । खास गरेर सामुदायिक वन र उद्यमशीलताका पक्षमा मैले निरन्तर कार्य गर्दै आएको छुँ । म एउटा सामान्य किसानको छोरो, जसले जनआन्दोलन र परिवर्तनका हरेक मोडहरुमा आफूलाई होमेको छ । म निरन्तर जनताको विचमा रहेर काम गर्दै आइरहेको छुँ । समाजलाई नयाँ ढँगले अगाडी बढाउन सकिन्छ भन्ने मेरो नीति रहेको छ ।
नियमित नभएरबीचमै हुन थालेको प्रतिनिधिसभा निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?
राजनीतिक स्थिरता देशको विकासका लागि अनिवार्य सर्त हो । तर, दुर्भाग्यवश कहिलेकाहीँ सत्ताको लुछाचुँडी र घेराबन्दीका कारण जननिर्वाचित संस्थाले पूर्ण कार्यकाल काम गर्न नपाउने अवस्था आउँछ । यस्तो बेला जनताको अदालत अर्थात निर्वाचनमा जानु नै सबैभन्दा लोकतान्त्रिक बाटो हो । मैले यसलाई एउटा अवसरको रुपमा लिएको छु ।
अस्थिरता र वैदेशिक हस्तक्षेपलाई परास्त गर्दै देशलाई समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा पुनः फर्काउन यो निर्वाचनले निर्णायक भूमिका खेल्नेछ । यो चुनाव केवल प्रतिनिधि छान्ने मात्र होइन, देशको स्वाधीनता र समृद्धिको मार्गचित्र कोर्ने अवसर पनि हो । यसले नेपालको राजनैतिक अवस्थालाई स्थायी समाधानतिर लैजाने मेरो विश्वास रहेको छ ।
तपाईं र तपाईंको पार्टीले चुनाव जित्ने आधारहरु के के छन् ?
अहिलेको निर्वाचनमा जुन ढँगले जनताले हामीलाई साथ दिनुभएको छ । निर्वाचनमा विजयी हुने कुरामा हामी विश्वस्थ रहेका छौ । योसँगै नेकपा एमाले र मलाई जनताले किन मत दिने भन्ने बारेमा पनि हामीले घोषणापत्रमार्फत् विभिन्न कुराहरु उल्लेख गरेका छौ । जुन कुराले जनताको अपेक्षालाई सम्बोधन गर्ने देखिन्छ ।
यसका साथै तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा विगतमा मैले जुन खालको भुमिका निर्वाह गरे यसले पनि मलाई जनताका विचमा लोकप्रिय बनाएको छ । अर्को कुरा राष्टिूयता र मुलुकको समृद्धिको सवालमा नेकपा एमालेले विगतदेखि नै जुन खालको भुमिका खेलेको छ । त्यसले पनि हाम्रो पाटीले निर्वाचन जित्ने विश्वास छ ।
अर्को कुरा भनेको एमालेको संगठनात्मक शक्ति र जनलहर नै हो । हाम्रो पार्टीको तल्लो तहसम्मको मजबुद संगठन र नयाँ भनिएका दलहरुको अपरिपक्वता नै अहिलेको निर्वाचन हामीले जित्ने आधार हो । मुख्य कुरा भनेको जनताको भरोसा नै हो ।
तपाईंका निर्वाचन क्षेत्रगत चुनावी वाचाहरु के के छन्, संक्षिप्तमा बताइदिनुस् न ?
पश्चिम दाङको समग्र विकास र समृद्धि नै हाम्रो मुल नारा हो । विभिन्न बहानामा पश्चिम दाङलाई विकासबाट पछाडि पारिएको छ । यसलाई कसरी अगाडी बढाउने भन्ने मेरो प्रयास हो । खास गरेर यसपटकको चुनावमा मैले उठाएका महत्वपूर्ण कुराहरु निम्न रहेका छन् ।
१) नीति निर्माण र कानून तर्जुमा गर्दा देश र जनताको हितलाई सर्वोपरी राखी योगदान गर्नेछु ।
२) दाङ क्षेत्र नम्बर ३ को विकासका लागि म हरदम क्रियाशील रहने छु । संघ सरकारबाट बढी भन्दा बढी योजना र बजेट ल्याउन पहलकदमी लिनेछु ।
३) दाङ जिल्लाको निर्वाचन क्षेत्र नं ३ मेरो जन्म, जीवन, भावना र भविष्य जोडिएको भूगोल हो । यस भूगोलमा मैले मेरो सामथ्र्यले भ्याएसम्म यहाका बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको मुहार उज्यालो बनाउने काम गर्नेछु ।
४) गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभ बनाउन संघीय विधायकको हैसियतमा नीतिगत तथा कानुनी सुधारका लागि भूमिका खेल्नेछु ।
५) स्थानीय जनताका साना साना समस्याहरुमा सिँगो देशको ध्यान तान्नका लागि संसदमा निरन्तर आवाज उठाउनेछु ।
६) महिला, बालबालिका, युवा, ज्येष्ठ नागरीक, दलित, जनजाति, मधेसी, मुस्लिम, अल्पसङ्ख्यक र पछाडी पारिएका बर्गको उत्थानका लागि नीति निर्माण गर्न भूमिका खेल्नेछु ।
७) नवयुवाको भावना र गतिशिलतालाई सम्मान गर्दै युवा सहभागिता, नेतृत्व विकास र सुशासनका लागि निरन्तर पहल गर्नेछु ।
८) नेकपा एमालेको राष्टिूय घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई प्राथमिकतामा राखेर पैरवी गर्नेछु ।
९) जेनजी युवाहरुले उठाएका सवालहरुलाई नीतिगत रुपमा अगाडि बढाउन आवाज उठाउनेछु ।
१०) सार्वजनिक सेवालाई सेवाग्राही मैत्री बनाउनका लागि आवश्यक नीति निर्माणको पैरवी गर्नेछु ।
यदि तपाईं निर्वाचित हुनुभयो भने यो निर्वाचन क्षेत्रलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
मेरो परिकल्पना आधुनिक, समृद्ध र आत्मनिर्भर दाङ हो । म निर्वाचित भएपछि यो क्षेत्रमा कोही पनि बेरोजगारीको कारण खाडी मुलुक जानु नपरोस् भन्नका लागि स्थानीय उद्योग र साना व्यवसायलाई प्रोत्साहन गर्नेछु । युवाहरुलाई उद्यमशील कार्यमा लगाउनेछुँ । दाङलाई लुम्बिनी प्रदेशको मात्र होइन, देशकै एउटा प्रमुख आर्थिक र शैक्षिक केन्द्रको रुपमा विकसित गर्ने मेरो सपना छ । यो सँगै भ्रष्टाचार, सुशासन र पारदर्शिता मेरो मुख्य नारा हो ।
