Goraksha

National Daily

खुला देवीकोट दर्शन दौड प्रतियोगिता, बिजेतालाई ५० हजार पुरस्कार

दाङ, २७ फागुन । राप्ती गाउँपालिकामा ‘राष्ट्रव्यापी खुला महिला पुरूष देवीकोट दर्शन दौड’ प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको स्थापना दिवसका अवसरमा फागुनको २९ गते खुला महिला पुरूष देवीकोट दर्शन दौड प्रतियोगिता हुने भएको हो ।

गाउँपालिकाले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर स्थापना दिवसका अवसरमा धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको देवीकोट मन्दिर (भद्राक्षीदेवी मन्दिर) लाई जोडेर राष्ट्रव्यापी खुला महिला पुरूष देवीकोट दर्शन दौड प्रतियोगिता गर्न थालेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार प्रतियोगिता फागुन २९ गते बिहान ७ः०० बजेदेखि सुरु हुनेछ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको देवीकोटको प्रचारप्रसार र स्थानीय पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विष्टले बताए । प्रतियोगिताले देवीकोटको प्रचारप्रसारसँगै पर्यटन प्रवर्धन, खेलाडीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा सहयोग पु¥याउने बताए । आठ किलोमिटर दौड प्रतियोगिता राप्ती गाउँपालिका–४ मौरीघाटबाट सुरु भएर वडा नं. ९ को देवीकोट मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ ।

दौड प्रतियोगितामा पुरुष र महिलाका लागि फरक फरक रूपमा सञ्चालन हुने र प्रतियोगिताको जिजेता महिला तथा पुरुष खेलाडीले नगद ५०÷५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ४० र ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

खुला राष्ट्रव्यापी प्रतियोगिता भएकाले देशभरका इच्छुक खेलाडी सहभागी हुन पाउने व्यवस्था रहेको बताए । प्रतियोगिता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गर्ने समय फागुनको २८ गतेसम्म रहेको भन्दै अध्यक्ष विष्टले अहिलेसम्म ७० बढी पुरुष खेलाडी र पाँच जना महिला खेलाडीले सहभागिताका लागि नाम दर्ता गराइसकेको बताए ।

प्रतियोगितामा सय जना बढी खेलाडीको सहभागिता गराउने गरी तयारी गरिएको भन्दै गाउँपालिका अध्यक्ष विष्टले भने, ‘महिला र पुरुष खेलाडीले एउटैमा प्रतिस्पर्धा गर्ने भन्ने सूचना जाँदा महिला खेलाडीको न्यून सहभागिता रहेको छ । आशा छ, खेलाडी विस्तारै बढ्नेछन् ।’ प्रतियोगितामा सहभागिताका लागि इच्छुक खेलाडीले गाउँपालिकाको कार्यालयमा उपस्थित भई वा इमेलमार्फत् निवेदन पठाएर निःशुल्क नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि बाटो सरसफाइ तथा मर्मतको काम भइरहेको बताए ।