Goraksha

National Daily

लमहीमा नसर्ने रोग पहिचानका लागि निःशुल्क स्क्रिनिङ

प्रिया स्मृती गजमेर
देउखुरी, २७ फागुन । लमही नगरपालिकामा नसर्ने रोगको पहिचानका लागि निःशुल्क स्क्रिनिङ शिविर सुरुवात गरिएको छ । नगरपालिका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेको शिविरको पहिलो दिन दुई सय ९४ महिला र ७४ जना पुरुषले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले राज्यले उपलब्ध गराउँदै आएको निःशुल्क स्वास्थ्य सेवा सबै नागरिकले सहज रूपमा पाउनु पर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै नागरिक सचेत हुनु पर्ने उनको भनाइ थियो । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले यस्ता खालका स्वास्थ्य कार्यक्रमले नागरिकलाई रोगबारे समयमै जानकारी पाउन र उपचारको अवसर प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । लमही नगरपालिका–१ का वडाध्यक्ष दामोदर पौडेलले नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा नियमित स्वास्थ्य परीक्षण र जनचेतना अत्यन्त आवश्यक रहेको बताए । राज्यले उपलब्ध गराइरहेको निःशुल्क स्वास्थ्य सेवाको सदुपयोग गर्न वडा नं. १ का सबै वडावासीलाई उनले आग्रह गरे ।

कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय दाङले शिविरमा प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार फागुन २७ गते सोनपुर स्वास्थ्यचौकी, २८ गते वडा नं. ३ को कार्यालय, २९ गते सेम्रहवा नगर स्वास्थ्य केन्द्र, ३० गते आदर्श नमुना माध्यमिक विद्यालय देउपुर, चैत्र १ गते मध्यनगर नगर स्वास्थ्य केन्द्र, २ गते कोलही नगर स्वास्थ्य केन्द्र, ३ गते वनगैँ नगर स्वास्थ्य केन्द्र, ४ गते वडा नं. ७ को वडा कार्यालय, ५ गते सतबरिया स्वास्थ्यचौकी, ६ गते वडा नं. ९ को कार्यालय र चैत्र ७ गते अमिलिया नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिनेछ । लमही नगरपालिकाका नौ वटै वडामा क्रमशः यो शिविर सञ्चालन गरिनेछ ।