अब सबैको चिन्तन पृथ्वीपथ
भूपेन्द्र सुवेदी
कुनै प्राकृतिक, भौतिक या सामाजिक गतिविधिको अध्ययनमा त्यसबारे ठोस दृष्टिकोण बनाई उक्त दृष्टिकोणलाई प्रयोगात्मक या गणितीय या तथ्याड्ढको आधारमा संख्या र प्रमाणित गर्ने विधि प्रक्रिया वैज्ञानिक सिद्धान्त निर्माणको आधार हो । यद्यपि कुनै पनि सिद्धान्त सदाका लागि शाश्वत त्यही हो भन्न मिल्दैन भन्ने यस विषयका चिन्तन् र विज्ञहरुको अडान रहँदै आएको छ । नेपालमा पनि वादको कमी छैन ।
हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यस भित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ । यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको प्रचण्डपथ पनि देशमा हाबी भएको थियो । यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरुले पनि बिर्सिसकेका छन् । सायद यो शब्द सम्झिँदा पनि उनीहरुलाई लाजसरम लाग्न थालेको छ ।
देशमा आज यो सबै पुराना वाद र पथभन्दा पनि एउटा नयाँ पथ निस्किएको छ । त्यो हो सत्तापथ र धनपथ । यी हाल हाबी रहेका पक्षको दुई मुख्य बुँदा छन् । ती हुन्, सत्ता र पैसा । यी पुराना सबै वाद र पथ जनताको नाममा सिर्फ सत्ता र पैसाको जगेर्ना गर्ने बौद्धिक हतियारको रुपमा प्रयोग हुँदै आएका छन् । जनताले नबुझ्ने शब्दावलीमा यसका व्याख्याताहरुले सत्ता र पैसा सुनिश्चित गर्ने आफ्ना क्रियाकलापलाई अग्रगमनका नाममा लुकाउन अहिलेसम्म सफल भएका छन् ।
त्यसैकारण हिजो भ्रष्ट भनेको मान्छे आज सेटिङ मिलेपछि इमानदार ठहरिन्छ । विदेशी कम्पनीलाई अर्बौं माफी दिँदा पनि त्यो अग्रगमन ठहरिन्छ । जनताको सञ्चय कोष रकमबाट वाइड बडी जहाज किन्दा जति लुटे पनि त्यो प्रगतिशील ठहरिन्छ ।
५० प्रतिशत भूकम्प पीडित चार वर्षसम्म घर नबन्दा पनि राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर खरिद सर्वहारावर्गप्रतिको उच्च सम्मान् ठहरिएको छ । यथार्थमा पैसा र सत्ता, सत्ता र पैसाको चक्रमा नेपालको अग्रगमन भनाउँदा सत्ताधारीहरुका नैतिक पतन र जनताको विदेश पलायनको यथार्थमा रुपान्तरित भएको छ । आजको यथार्थ यही हो, प्रश्न आउँछ अब गर्ने के हो ?
अब सोच्नैपर्ने वाध्यता हामी नेपालीमा जहिले जहिले समस्या आउँछ त्यही समयमा अप्ठ्यारो परेको महशुस गर्छाैं र हामी हे भगवान् र देविदेउता, कूलकुटुम्ब, आफना पूर्वज पितृहरुलाई सम्झन बाध्य छौँ ।
हिजोका पुर्खाको रीतिरिवाज, उबेलाको संस्कृति, संस्कार, धर्म, कर्म, के–कसरी समेटिएको हुन्थ्यो यो आजका पुराना ज्येष्ठ पिता पुर्खाहरुसँग खोजमुलक कार्यमा जान पर्ने हो भन्ने कुरा आजको राष्ट्रको र नेपाली जनताले भोग्नुपरेको समस्याको बारेमा हामी सधैँ दुःखी छौँ ।
देशमा धेरै परिवर्तन आयो तर हामी नेपालीको र नेपाल राष्ट्र सधैँ अर्कैको इसारामा चल्नु वाद हुँदै आएका छौँ । देशका करिब ७० बसन्त पार गरिसकेका केही राजनीति बुझेका जानकारहरुको दुःखेसो पनि यस्तै छ ।
नेपालको विभिन्न आन्दोलनले खाली आन्तरिक स्वतन्त्रता त बढायो र देशको स्वतन्त्रता घट्दो छ । राष्ट्रिय स्वतन्त्रतामा वाह्य हस्तक्षप यथास्थितिमै छ । आज त नेपालको झण्डा फेर्ने र नेपालको नामै फेर्ने जस्ता क्रियाकलाप अघि सरेको अवस्थासम्म भित्रिएको हो किन ?
भारतले नेपालको सीमानामा पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानी, क्षेत्रको भूभाग मिचेर मानसरोबर जाने सडक निर्माण समेत गरेर सार्वजनिक ग¥यो र मात्र नेपालले बल्ल आप्mनो क्षेत्रलाई समटेको मिचिएको सीमाक्षेत्रको नक्सा सार्वजनिक गरेको छ ।
तर नेपाल सरकारले नेपालको नयाँ संविधानमा किन त्यो मिचिएको नेपालको भूभागलाई त्योबेला समेट्न सकेन ? अब भारतसँग कसरी यस सम्बन्धमा सहमतिको आधार पत्र तयार गर्ने ? यो हाम्रो कमजोरी पक्ष हो, होइन ? हाम्रो नयाँ संविधानमा समेटेको भए आज सजिलो हुन्थ्यो होला ।
खाली अर्कालाई दोष लगाए आफू पन्छिने परिपाटीको विकासले गर्दा धोकैधोका व्यहोर्नुपरेको हो । भनिन्छ राजा महेन्द्र, वीपी कोइराला, राजा वीरेन्द्र, मदन भण्डारीजस्ताको सम्झना गर्नुपर्ने वाध्यता आजको राजनैतिक नेतृत्वको कारण हो । त्यसैले आज–हिजोको दुःखभन्दा आजको सुख भन्नेमा आम नागरिक तयार छैनन् किन ?
नेपालमा प्रत्येक वर्षको पुस २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको जन्म जयन्ती हो । हामी उनलाई राष्ट्र निर्माताको रुपमा हेर्छाैं । किनभने त्यसबखत उनको संघर्ष नेपाल राज्य र नेपाल राष्ट्र निर्माणमा केन्द्रित थियो भने अर्कोतिर उर्लंदो उपनिवेशवादलाई दक्षिण एसियाबाटै हटाउने प्रयासको पनि घातक थियो । यो पछिल्लो लक्ष्यमा शाह असफल रहे तर नेपाल राज्य र नेपाल राष्ट्रको निर्माणको जग उनले आप्mनो संघर्ष, राज्य सञ्चालनको क्रममा दिए ।
त्यो विचार र मार्ग निर्देशनमार्फत् राखिदिएका थिए । यी चिन्तन् र विचार आजको बौद्धिक जगतका कतिपय आफूलाई मुर्धन्य बुद्धिजीवि भन्नेका लागि सामन्ती र पुरातनवादी लाग्न सक्नेछ । निश्चित रुपमा त्यस बखतको नेपाल सामन्ती संरचना नै अडेको थियो । सामन्तवाद नेपालमा मात्र नभएर विश्वभरिकै शासकीय दर्शन थियो र विस्तारै यसले अकुन्ठित पुँजीवाद र उपनिबेशवादको चरित्र पनि ग्रहण गर्न थालिसकेको थियो ।
यो संरचनाको परिवेशभित्र रहेर पनि शाहले त्यस बखत नेपाल राज्यको शासन समृद्धि र एकता, त्यस अर्थमा नेपाल राष्ट्रको निर्माणका लागि दिएका मार्गनिर्देशन एक पटक हामीले घोत्लिएर हेर्नुपर्ने दिन आएको छ । एडम स्मिथ, कार्ल माक्र्स या जेम्स मिलको चिन्तन् पढनुमात्र बौद्धिकताको परिचाय हो भन्ने हीन मनस्थितिबाट निस्किएर एकपटक त्यस बखत नेपाल राष्ट्र निर्माणको सन्दर्भमा के–कति उपयोगी छन् भनेर चिन्तन् गर्ने हिम्मत अब आवश्यक भएको छ ।
नेपालीमा एउटा उखान छ ‘आफ्नो घरभित्रको गणेशको हेला हुन्छ ।’ यो वास्तवमा हीन मनस्थितिको चिह्न हो । अर्थात जसले नेपालको निर्माण ग¥यो, जसले अज हामीलाई नेपाली भन्ने पहिचान दियो त्यसलाई हेला गर्नु र त्यसको चिन्तन् हेर्न हिचकिचाउने तर त्यही बुँदा विश्व बंैक र अन्तर्राष्ट्रिय मुद्राकोषबाट सर्वसाधारणले नबुभ्mने किसिमबाट आएपछि ब्रह्मवाक्य सम्झने मनस्थिति भनेको घरभित्रको गणेशलाई हेला गर्ने मानसिकता भएन र ?
आधुनिक राज्यको निर्माणमा युद्धको ठूलो भूमिका र महत्व हेको छ । बीसौं शताब्दीको मध्यसम्मा खडा भएका अधिकांश राष्ट्रहरु लडाईको प्रक्रियाबाट खडा भएका छन् । विगत २०० वर्षदेखि चालु रहेको बदलिँदो आर्थिक संरचना, प्राविधिको विकास, यातायात र सञ्चारमा आएको क्रान्ति तथा व्यापार विस्तारले समाजमा राष्ट्र र राष्ट्रियताको अवधारणाबारे नयाँ दृष्टिकोण र चिन्तनको विकास हुँदै आयो ।
विशेषतः विश्वमा देखिएको राष्ट्रियताको अवधारणको विस्तारमा फ्रान्सेली क्रान्ति र त्यस बखत सुरु भएका युद्धको ठूलो भूमिका देखापरेको छ । विस्मार्कको उदय नहुञ्जेल जरमनीमा छुट्टाछुट्टै आप्mनो अस्तित्व दाबी गर्ने नेपालको बाइसे, चौबीसे राज्य जस्तै ३९ राज्य थिए भन्ने राजनीतिक विश्लेषकहरुको भनाइसँग अनुभव छ । यस्ता हरेक राज्यको आ–आफ्नै राज्यको आप्mनै शासन र प्रशासन थियो । उल्लेख गरिएको छ १८६२ मा विस्मार्क नेतृत्वमा आएपछि उनको प्रशिद्ध रगत र तरवारको दृष्टिकोण अन्तर्गत यति सबै राज्यलाई सैनिक शक्तिद्वारा पटक–पटक युद्धको माध्याम शक्तिशाली राज्य र राष्ट्रको रुपमा स्थापित गरे ।
युद्धबाट खडा भएका राष्ट्र कति टिक्छन् या टिक्दैनन् ? भन्ने विषय राज्य र राष्ट्रबीचको फैसला बढ्दैछ या घटेर गएको छ भन्ने यथार्थमा अडेको हुन्छ, राज्यको अर्थ राष्ट्र होइन । राज्य शासकीय संरचना हो भने राष्ट्र शासनमा सहभागिता र अवसरको संरचना हो । विगत दुई सय वर्षको अनुभव हेर्दा जब राज्यको संरचनामा सहभागिता र अवसरको समानता विभिन्न वर्ग र क्षेत्रका मानिसलाई उपलब्ध हुँदै जान्छ ।
राज्य र राष्ट्रको दूरी घट्छ र सवल राष्ट्र र राष्ट्रियताको निर्माण हुन्छ । यो हुन नसकेको अवस्थामा लडाइले राज्य स्थापना भए पनि राष्ट्र निर्माण हुँदैन । अब शासकीय संरचनामा राष्ट्रको वहुआयामिक विविधता प्रतिविम्बित हुँदैन, त्यस बखत राज्य र राष्ट्रको दूरी बढ्छ र विखण्डीकरणको प्रवृत्ति मौलाउँछ । जब शासकीय संरचनाले राष्ट्रको संरचनामा समाज रुपान्तराणको क्रममा निरन्तर नागरिकमा विकसित हुँदै गएको नयाँ चेतनाले ठाउँ पाउँछ, त्यस बखत राज्य बलियो हुन्छ र राष्ट्रको निर्माण हुन्छ । यो मापदण्डले हेर्दा जर्मनीमा विस्मार्कले लडाईद्वारा एकीकृत राज्य निर्माण गर्नुको साथै आर्थिक विकास र सामाजिक सुधार र सुरक्षाका नयाँ अभियान सुरु गरेर लडाईबाट स्थापित जर्मन राज्यको राष्ट्रियताको बलियो जग खडा गरे ।
राज्य राष्ट्रको दूरी हटाएर जर्मन राष्ट्रियताको बलियो जग बसाले । पृथ्वीनारायण शाहको समयमा जर्मनीको एकीकरण अगाडिका थुप्रै राज्यजस्तै आजको नेपाल बाइसे–चौबीसे राज्यमा विभाजित थियो । काठमाडौं उपत्यकामा मात्रै तीन राज्य थिए र एक अर्कासँग लडाई–झगडा र नाकाबन्दी गर्न कम थिएनन् । यस्तो स्थितिमा पृथ्वीनारायण शाहले आफनो जिन्दगीको २६ वर्षको युद्ध र संघर्षमा थुप्रै भुरेटाकुरे राज्यमाथि विजय हासिल गरी नयाँ राज्यको निर्माण गर्नुको साथै यो नयाँ राज्यलाई राष्ट्रका रुपमा अगाडि लग्ने आँट हिम्मत र चिन्तन् प्रस्तुत् गरे ।
त्यही कारण उनी इतिहासका विभिन्न कालखण्डमा राज्यलाई आप्mनो विर्ता र सम्पति सम्झने योद्धा नभएर राष्ट्र निर्माताको रुपमा देखापरे । उनले नेपाललाई आफ्नो स्थान भाइभतिजा या अन्य नातागोतालाई बाढ्ने सम्पत्ति कहिल्यै सम्झिएनन् र यो अवधारणालाई अस्वीकार गरे ।
काठमाडौंलाई राजधानी बनाएर एउटा शासकीय विधि र प्रक्रिया संस्थाकरण गर्न खोजे तथा नयाँ राज्य र नेपाल राष्ट्रबीचको दूरी मेटाउन महत्वपूर्ण चिन्तन पेश गरे । यसलाई व्यवहारमा उतार्न नपाउँदै उनी बिते तर यिनै चिन्तन्ले उनलाई राष्ट्र निर्माता बनाएको छ । यस्ता राष्ट्र निर्माताको शालिक एक समय तत्कालको माओवादीले ध्वस्त गरे र एकता दिवस मनाउनुपर्छ भन्नेहरुलाई लखेटे । यो आम नागरिक सबैलाई सम्झना छ ।
नेपालका लागि पृथ्वीनारायण शाहले आफ्नो चिन्तन् कुनै वादका रुपमा पेश गरेनन् । त्यो कुरो त्यस बखत सम्भव पनि थिएन । उनी के गर्दा नयाँ राज्य स्थिर र शक्तिशाली हुनसक्छ भने व्यावहारिकतातर्फ केन्द्रित भएको देखापर्छ । यस सन्दर्भमा उनका भनाइहरु मुख्य बुँदामा केन्द्रित छन् । ती हुन (क)राजनीतिक, (ख) आर्थिक, (ग) सामरिक, (घ) सांस्कृतिक उनको चिन्तन्ले यी चारै पक्षलाई समेटेको छ । यद्यपि यो कुनै सैद्धान्तिक संरचनाभित्र समेटिएको छैन ।
राजनैतिक दृष्टिकोण
पृथ्वीनारायणको समय सामन्तवादी चरित्रको थियो । त्यहाँ जनताको सार्वभौमिकता, शासकीय सन्तुलन र नियन्त्रणजस्ता आज प्रचलित दृष्टिकोणको वीऊ पनि रोपिएको थिएन र आज त्यो विषय त्यस बखत देखिएन भनेर तर्क गर्नुको कुनै औचित्य छैन ।
तर पनि शासकको चयन गर्दा राजाको इच्छाभन्दा जनइच्छालाई महत्व दिनुपर्छ भन्ने पृथ्वीनारायण शाह चिन्तन् विराज वषितीलाई काजी दिने इच्छा भए पनि दुनियाबाट कालु पाण्डेको इच्छा गरेकोले कालु पाण्डेलाई नियुक्ति दिएको भन्ने भनाई स्पस्ट हुन्छ ।
यसको साथै पृथ्वीनारायणको मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जनताको फूलबारी हो भन्ने भनाइले उनको संघर्षमा सबैको योगदान र सहभागितालाई स्वीकार्छ भने अर्कोतिर यो देशको जातीय तथा सांस्कृतिक विविधतालाई आत्मसात गरेको छ ।
फूलबारी त्यसबेलामा राम्रो र सुन्दर हुन्छ, जब सबै फूल फूल नपाएर आ–आप्mनो सुन्दरता देखाउँछन् । यही नै आजको समावेशी अवधारणा हो जसअन्तर्गत सबै नेपालीको स्वभिमान र आत्मसम्मानको संरक्षण हुन्छ ।
पृथ्वीको समयमा समावेशी शब्द थिएन तर प्रष्ट रुपमा उनले त्यस बखतको अभिव्यक्तिले त्यस बखतको सामन्ती संरचनाभित्र पनि जनमतको कदर हुनुपर्ने र नेपालभित्रको विविधतालाई फुलाउन र फस्टाउन दिनुपर्ने चिन्तन् स्पष्ट हुन्छ । हो यो अर्कै कुरो हो कि इतिहासको क्रममा पृथ्वीनारायणको अन्य पछि यो राजनीति चिन्तन्ले देशमा ठाउँ पाएन र देश सीमित जात र समूहको विर्ता भयो ।
जसमा अधिपत्य जमाउन जनताको इच्छा नभएर एउटा सीमित समूहको तारबार र षड्यन्त्र हाबी भयो । तर पृथ्वीको राजनैतिक चरित्र भने शासनमा जनताको इच्छालाई महत्व दिने र नेपाललाई विविधतापूर्ण फूलबारी सम्झिएर सबैको आत्मसम्मानको संरक्षण गर्ने देखिन्छ ।
यी दिृष्टिकोणलाई व्यवहारमा राज्यसत्ताको हरेक अङ्गमा उतार्नु आजको चुनौती पनि हो र नेपालको राज्य र राष्ट्र बीचको दूरी हटाई नेपाली राष्ट्रियताको फूलबारी सवल र सुन्दर बनाउने हामी सबै अगाडि रहेको कार्यभार हो । यो ऐतिहासिक जिम्मेवारीको अनुभूति आजभन्दा २५० वर्ष अगाडि पृथ्वीनारायणले देखाएका थिए ।
कुनै पनि राजनैतिक संरचनाको दीर्घकालीन सफलता जनताको हितमा त्यो कुन हदसम्म केन्द्रित छ ? भन्ने बुँदाले धेरै निर्धारण गर्दछ । यस दृष्टिकोणले हेर्दा पृथ्वीले आफ्नो शासनमा आम मानिसले न्याय र सुशासन पाउँछन् भन्ने कुरामा ध्यान पु¥याएका थिए । उनले भनेका छन् –‘ न्याय निसाफ विगा¥या भनेको घुस दिन्या र घुस लिन्या यी दुईको त धन, जीव गरिलिए पनि (जफत गरे पनि) पाप छैन ।
यी राजाका महासत्रू हुन् । पृथ्वीका यी अभिव्यक्ति आजको युगमा पनि सुशासनको जग हुन् । विडम्बना के छ भने पृथ्वीनारायणपश्चात दुई शताब्दी पछि पनि हाम्रो देश यही रोगबाट पीडित छ ।
हामीलाई थाहा छ जनमुक्ति र सुशासनको नाममा देशमा विगत दुई दशकमा हजारौँ हजारको ज्यान गयो तर आज अन्ततोगत्व नयाँ संविधान र आम चुनावपछि पनि देशमा माथिल्लो तहसम्म घुस दिन्या र घुस लिन्या नयाँ अघोषित राजनीतिक मान्याताको रुपमा छ ।
सरकारमा कुशासन वनमा डढेलो लागेजस्तो नेपाली राजनैतिक र अर्थतन्त्रको प्रमुख दुश्मनका रुपमा रहेको छ, प्रस्तुत दुई सय वर्ष अगाडि पृथ्वीनारायण ले दिएका चिन्तन् आजको राजनीतिमा शासनका लागि अपरिहार्य देखापरेको छ ।
आर्थिक दृष्टिकोण, निर्यात प्रबद्र्धन
पृथ्वीनारायण आर्थिक सिद्धान्तकार थिएनन् तर उनको चिन्तन् त्यस बखत बेलायतमा हाबी भएको ह्युमनको व्यापारवादसँग मिल्न खोज्छ । अर्काेतिर चीनले विगत ४२ वर्षमा अपनाएको डेङको प्रविधि आयात र निर्यात प्रबद्धनको सिद्धान्तसँग पनि मिल्लन आउँछ ।
आजको युगमा विदेशी मुद्राके पर्याप्त सञ्चिती गर्न सक्नु देशको आर्थिक विकास र सुरक्षाको एक अङ्गका रुपमा हेरिन्छ । छिमेकी मुलुक पाकिस्तानमा हेरौँ ।विदेशी मुद्रा सञ्चितीमा देखिएको असन्तुलनको समस्त अर्थतन्त्र डगमगाएको मात्र नभई देशको राजनीति स्वतन्त्रता नै औपचारिक रुपमा नभए पनि व्यवहारमा धरापमा पर्नसक्ने चिन्ता बढेको छ ।
अर्कोतिर चीनमा हेर्दा अमेरिकालाई चुनौती दिने शक्तिको एउटा स्रोत तीन खर्बभन्दा बढी विदेशी मुद्राको सञ्चित एउटा मूल कारण हो र यो चीनको प्रविधि आयात्, प्रतिस्थापन नीति र निर्यात प्रबद्र्धनको सफलतासँग स्पष्ट जोडिएको छ । ठिक यस्तैखाले नीति लागू गर्न पृथ्वीले नेपालका लागि आजभन्दा दुई सय वर्ष अगाडि जोड गरेका थिए ।
उनले भनेका थिए विदेशी कपडा आप्mनो देशको कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु र यसो भए आप्mनो देशको नगद बाहिर जाँदैन । यो भनाइको अर्थ बाहिरबाट प्राविधिभित्र ल्यार स्थानीय स्तरमा उत्पादन बढाएर आयात प्रतिस्थापित गर्नु हो । त्यस्तै पृथ्वीको अर्को निर्देशन हेर्ने हो भनी उनी भन्छन्, आफनो देशको जिनिस जडिबुटी, नगद आप्mनो देशमा लैजानु र नगद पैचनु ।
नगद पैचिराख्नु अर्थात् नगद आप्mनो देशमा राख्नु र प्रजा मोटा भया दरबार बलियो हुन्छ र यस हदसम्म शासक र शासन बलियो हुन्छ । यी दुवै नीति आजको चीनको आर्थिक सफलता र राजनैतिक स्थिरताको मूल स्रोत हो भने यही नीतिलाई नेपालका नेता र राजनीतिले अपनाउन नसक्नुु हाम्रो आर्थिक दूरदशाको मूल कारण हो ।
आजको प्रबुद्ध र अग्रगामीले भरिएको नेपालका शासकले देशको आयात प्रतिस्थापित गर्ने उद्योग निरन्तर धरासायी गरेर लगेका छन्, जसको कारण उत्पादनशील उद्योगको राष्ट्रिय उत्पादनमा योगदान विगत एक दशकमा झण्डै आधा घटेको छ र दलाल पुँजीवाद र नवसामन्तवादले व्यापकता पाउँदै गरेको छ ।
विडम्बना के छ भने एकातिर आयात प्रतिस्थापित गर्ने उत्पादनशील उद्योग मासिँदै छ भने अर्कोतिर आयात निरन्तर बढ्ने र निर्यात डरलाग्दो तरिकाले घट्ने छ । यस अर्थमा हाम्रो अर्थतन्त्र बूढो बासजस्तो बाहिर सङ्लो देखिए पनि भित्र खोक्रो हुँदै गएको छ । यस्तो स्थितिबाट जोगाउन पृथ्वीले झण्डै तीन सय वर्ष अगाडि दिएको नीतिगत सन्देश आजको आवश्यकता हो ।
यस अर्थमा पृथ्वीको सन्देश अब नेपाल जोगाउने हो भने मनन् गर्नु अनिवार्य भएको छ । यो सजिलो छैन किनभने निर्यात प्रबद्धन् र व्यापार बृद्धि भाषण सन्देश र उखान टुक्काले हुँदैन । यसका लागि कडा अनुशासन र लक्ष्य प्राप्तिको प्रतिबद्धता र चारित्रिक इमानदारी अनिवार्य शर्त हुन्, जुन आजको नेपालमा हराउँदै गएको छ र अब बृहत आर्थिक नीति वाहेक कृषि र सहरी विकासमा पनि पृथ्वीको सोच आज हामीले अनिवार्य अपनाउनुपर्ने देखा परेको छ ।
कृषि, खानी र बस्तीको बारेमा पृथ्वीका दुई बुँदा यस्ता छन् । खानी भएका ठाउँमा गाउँ भए पनि अरु जग्गामा सारिकन खानी चलाउनु तथा गरो भन्दा जग्गामा घर भए पनि घर अरु जग्गामा सारी कुलो कहीँ खेत बनाई आवाद गर्नु यी दुवै भनाइले घर सारेर पनि उद्योग खानी कायम गर्नुपर्ने कुरो एकातिर छ भने अरर्काेतिर कृषि उब्जनी हुने खेत, गरोमा बस्ती बसाल्नु हुँदैन भनी स्पष्ट गरेको छ । आधुनिक शब्दावलीमा यो भू–उपयोग र उद्योग, खानी, नीति हो ।
२०० वर्षभन्दा अगाडि पृथ्वीले घोषणा गरेका यी दुवै नीतिको हामीले डरलाग्दो किसिमबाट अपेक्षा गरेका छौँ । अर्थात पुरानो जवानामा बस्ती पानी नलाग्ने ठाउँमा हुन्थ्यो र बाढीपहिरोबाट सुरक्षित थियो । अहिले आधुनिक पञ्चवर्षीय योजनाहरुमा यो दुई शताब्दीभन्दा पुरानो नीतिलाई तिरस्कार गरिएको छ । पहाड र तराई मधेशका कृषिका लागि उम्दा जमिनमा अनियन्त्रित घर बन्दै छन् र सरकार निष्क्र्रिय भएर बसेको छ ।
बस्ती विकास कस्तो जग्गामा र कृषि कस्तो जग्गामा भन्ने भू–पयोग नीति कहीँ देखिँदैन । उदाहरणका लागि काठमाडौं हेरौँ । हाम्रो के कुनै भूपयोग नीति छ ? आजको जस्तो काठमाडौंको जनसंख्या बढेर जाने हो भने आउँदो १०, १५, वर्षभित्र काठमाडौं उपत्यकाको जनसंख्या एक करोड नाघ्न सक्ने छ ।
त्यो अवस्थामा के काठमाडौंको कृषिका लागि अति उपयोगी जमिन सबै घरले भर्ने या कृषि आवास उद्योगबीच भूपयोग नीति अन्तर्गत नयाँ सन्तुलन कायम गर्ने ? यसको उत्तर छैन । तर पृथ्वीको भनाइ स्पष्ट छ, जहाँ कृषिको सम्भावना बढी छ, त्यहाँबाट आवास अन्यत्र सारेर भए पनि कृषि उत्पादन बढाउ, २०० वर्षभन्दा अगाडि पृथ्वीले गरेको जति चिन्तन् पनि नेपालका अग्रगामी राजनीतिज्ञ र ठूला डिग्रीधारी विज्ञ र प्रशासकले गरिरहेका छैनन् ।
सामरिक दृष्टिकोण
राजनीतिक सन्तुलन, आप्mनो देशको भूराजनीतिक स्थिति र मित्रहरुको नियत र व्यवहारबारे राम्रोसँग बुभ्mनु परराष्ट्र नीति र सुरक्षा नीतिको आधार हो । यो यथार्थलाई पृथ्वीले राम्रोसँग बुझेको देखापर्छ । पृथ्वीले नेपालको भूराजनीतिक यथार्थ र छिमेकीबारे व्यक्त गरेको दृष्टिकोण आज पनि मनन्योग्य छ । उनले भनेका छन्– उप्रान्त यो राज्य दुई ढुङ्गा बीचको तरुल जस्तो रहेछ । चीनको वादशाहासँग ठूलो घाहा राख्नु । दक्षिणको समुद्रका वादशाहासँग घाहा राख्नु तर यो महाचत्तुर छ । पृथ्वीनारायणको यो भनाईमा चीनप्रति विश्वास गर्न सकिने तर भारतका समुद्रपारिका शासकप्रति शंका स्पष्ट छ । यो यथार्थ बुझेर दुवैसँग मित्रता राख्नु जरुरी छ । किनभने हामी दुई ढुङ्गाबीचको तरुलजस्तो स्थितिमा छौँ । उनको पालामा परराष्ट्र नीति आजको जस्तो छुट्टै अस्तित्वमा थिएन । आज पनि नेपालका लागि नेपाल, भारत, चीनको बीच सन्तुलन् कायम गरेर अगाडि बढ्नु आप्mनो सुरक्षा र स्वतन्त्रताका लागि महत्वपूर्ण रणनीतिक उपाय हो । यो यथार्थको आभाष पृथ्वीको भनाईमा स्पष्ट देखापर्छ । साथै दक्षिणको वादशाह चतुरो भएकाले त्यस्तै परे आफू लड्न तयार हुने अभिव्यक्ति उनीभित्रको आत्म विश्वासको घातक हो । ठूला राष्ट्रहरु चाहिँ चीन हुन या भारत आफ्ना राष्ट्रिय स्वार्थ प्राप्त गर्न एउटै मात्र बाटो समातेर अगाडि बढ्छन् भन्नु गलत हुन आउँछ । तत्कालीन माओवादी जनयुद्धमा नेपाल भारत सम्बन्धको यथार्थले यो स्पस्ट गरेको छ । प्रचण्ड र बाबुरामले आफ्नो दशवर्षे लडाईमा अधिकांश समय भारतमै सुरक्षित भएर बसेका थिए भने अर्कोतिर भारत सरकार माओवादीलाई आतंकवादी भनी घोषणा पनि गरिरहेको थियो । यो यथार्थलाई नबुझे हाम्रो कमजोरी हुनेछ । दक्षिणको वादशाहा चतुरो छ भन्ने पृथ्वीको भनाइको अर्थ पनि यही होला । एकातिर आतंकवादी भन्दै गर्ने अर्काेतिर आफै सुरक्षा गर्दै आवश्यक सहयोग पनि गर्दै आपसमा लडाउने नीतिको हामी अझै बुझ्न सकिरहेका छैनौँ जस्तो लाग्छ ।
सांस्कृतिक दृष्टिकोण
सामान्यतया युद्ध सरदारहरुले जितेको क्षेत्रको संस्कृति र सभ्यताको सम्मान गर्दैनन् । उल्टो जति सकिन्छ त्यसलाई ध्वस्त गर्छन् । राष्ट्र निर्माताहरुले ठीक यसको विपरित व्यवहार गर्दछन् । सबै धर्म संस्कृतिको सम्मान गर्दै विविधताबीच एकता ल्याउने उनीहरुको प्रयास हुन्छ जुन समाजमा सांस्कृतिक विविधता छ त्यहाँ एकताको मूलसूत्र भनेको नै सबै स्थानीय सस्कृतिको मौलिकतालाई सम्मान गर्दै ती सबैलाई जोडेर राष्ट्रिय संस्कृतिको निर्माणको आधार बनाउनु हो । जहाँ यो गरिँदैन त्यहाँ जातीयताको डरलाग्दो स्थिति आउन सक्छ । दक्षिण एसियाली क्षेत्रमा यस्तो ज्वलन्त उदाहरण भुटान हो । जहाँ सत्ताले एक स्थानीय संस्कृतिलाई स्वीकार गर्न नसक्दा लाखौँ नेपाली भाषा बोल्ने भुटानी नागरिकलाई आफनो घरबार छोड्न बाध्य भएर उनीहरुलाई देशबाट निकाला गरियो । यस्तै किसिमको मनस्थिति पाकिस्तान टुक्रिने मूल कारण बन्न पुग्यो । तर पृथ्वीनारायणले काठमाडौं जितेपछि सबैभन्दा पहिले काठमाडौंको सभ्यताको एउटा प्रतिकका रुपमा कुमारी मन्दिरमा गएर कुमारीको दर्शन गरी आशीर्वाद माग्न पुगे । उनको यो एउटै कार्यले काठ्माडौंको भव्य नेवारी संस्कृति र कलालाई काठमाडौंमा मात्र सीमित नगरेर नयाँ नेपाल राज्यको पहिचानका रुपमा कायम ग¥यो । भर्खर खडा हुँदै गरेको नयाँ देशको सांस्कृतिक एकता र समन्वयका लागि पृथ्वी यो अपूर्व देन र दूरदृष्टि थियो । यहाँको पछिल्लो राजनीति आन्दोलनले त कतै मन्दिरका पुजारी लखेटी–लखेटी मा¥यो, धर्मको संस्कृतिको भाषाको विरोध भयो र हुँदा–हुँदा पशुपतिनाथको मन्दिर समेतमा अवरोध गर्न पुगेको इतिहास रचेर छाडे । दूरदर्शीता नभएको कारण आज चारै तिरबाट आलोचना खेप्न र सुन्नुपरेको छ ।
पृथ्वीनारायण शाहको सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय संस्कृतिको निर्माणको सीमा हिन्दू संस्कार र यस अन्तर्गतको जातीय विभाजन बाहिर जानसकेको थिएन । त्यस बखतको सामन्ती समाजको यथार्थ र त्यसमा निहित जातीय कट्रता भन्दा बाहिर उनी जानसक्ने स्थिति पनि थिएन । त्यही परीधि भित्र रहेर पनि पृथ्वीले विभिन्न जातीय स्थानीय संस्कृतिलाई स्वीकार गरेर नेपाली राष्ट्रिय सांस्कृतिकको निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान गरे । उनमा सांस्कृतिक विकासलाई आर्थिक विकास र सुरक्षासँग पनि सम्बन्ध रहन्छ भन्ने दूरदृष्टि थियो । उनले भनेका छन्– आफ्नो सुखसयललाई त शास्त्र वमोजिम तिनै सहर नेपालको नेवारहरुको नाँच झिकाएर हेरे हुन्छ । यिनमा त दिएको पनि आप्mनै देशमा रहन्छ । यसो भए आफ्नो देश सुरक्षित रहन्छ । यो उनको चिन्तन देखाउँछ । यसक्रममा उपनिवेसवादी शासनको अङ्गका रुपमा आउने इसाई धर्म विस्तारमा समर्पित पादरीहरुलाई बन्देज लगाएर पृथ्वीले विदेशी सांस्कृतिक आक्रमणबाट नेपाललाई जोगाए । दुर्भाग्यबस आज झण्र्डै ३०० वर्षपछि यो अवस्था बदलिएर स्वयम् नेपाल सरकार र यसका प्रधानमन्ीत्र एउटा व्यापारिक इसाई धार्मिक प्रतिष्ठाको बजारीकरण गर्न आँखा चिम्लिएर लागिपरेका देखापरेका छन् । तर पनि लाजै नमानी यही जत्था आफूलाई राष्ट्रवादी, अग्रगामी भनिरहेका छन् ।
पृथ्वीपथ
पृथ्वीनारायण शाहले राज्य र राष्ट्रको अरुधारणालाई आज जस्तो परिभाषित गरेर राष्ट्र निर्माणको सैद्धान्तिक व्याख्या गरेका होइनन् । तर नयाँ राष्ट्र निर्माण गर्ने आफ्नो लक्ष्यलाई यथार्थमा परिणत गर्न ठोस मार्ग निर्देशन् गरेका छन् । जसलाई हामी सिद्धान्त नभनेर पथको संज्ञा दिन सक्छन् । कुनै प्राकृतिक भौतिक या सामाजिक गतिविधिको अध्ययनमा त्यसबारे ठोस दृष्टिकोण बनाई उक्त दृष्टिको बनाई उक्त दृष्टिकोणलाई प्रयोगात्मक वा गणितीय या तथ्याङ्कको आधारमा व्यख्या र प्रमाणित गर्ने विधि प्रक्रिया वैज्ञाानीक सिद्धान्त निर्माणको आधार हो । यद्यपि कुनै पनि सिद्धान्त सदाका लागि शाश्वत सत्य हो भन्न मिल्दैन । सिद्धान्त तार्किक प्रक्रियामा अडेको र यसको आधारमा दिशानिर्देशन गर्ने क्षमता भएको हुनु पर्दछ भने सिद्धान्तको परीधिभित्र रहेर सोचिने विभिन्न विकल्प या सम्भावनालाई पथ भन्न सकिन्छ । पृथ्वीनारायण शाहले आप्mनो जिन्दगीको संघर्ष र अनुभवको परिवेशमा राष्ट्र निर्माणको राजनैतिक, आर्थिक, सामरिक तथा सांस्कृतिक पक्षका बुँदाहरु उपदेशका रुपमा पेश गरे यी उपदेशहरु आजको ज्ञानको शस्त्रमा (थ्यौरी अफ नलेज) निहित सिद्धान्त शब्दको निहित सिद्धान्त शब्दको समस्टिगत संरचना अनुरुप नहोला तर उनले राज्य र राष्ट्रबीचको दूरी कम गरी कसरी आप्mनो मौलिकता, स्वाभिमान र आत्मसम्मानमा अडेर सवल राष्ट्र निर्माण गर्नुपर्छ भनी मार्गनिर्देशन स्पस्ट रुपमा गरेका छन् । यसैको नाम पृथ्वीपथ हो र यसलाई अनुशरण गर्नु आजको आवश्यकता हो ।
दुर्भाग्यवरु, देशमा आज पृथ्वीपथलाई तिरस्कार गरिएको छ । पृथ्वीले हाम्रो राष्ट्रको सिर्जना गरे । हाम्रो नेपाली पहिचान दिलाए । नेपाल राज्य र राष्ट्रबीचको दूरी हटाएर हिमाल, पहाड, तराई, सबै क्षेत्रमा बस्ने नेपालीले गर्वका साथ स्वीकार गर्ने राष्ट्रियताको निर्माण गर्ने पथको उद्घोष गरे । तर यिनै राष्ट्र निर्माताको जन्मजयन्ती र एकता दिवसको दिन दिएको बिदा ओली सरकारले हटायो । विडम्बना के छ भने यही ओली सरकारले पृथ्वी जयान्ती र एकता दिवसको उपलक्ष्यमा बिदा घोषणा गरेको थियो । आज फेरि त्यही ओली सरकारले बिदा हटाएको थियो । स्पस्ट छ, यो सरकारको नेपाल राष्ट्र निर्माण र इतिहासप्रति कुनै दृष्टिकोण छैन । फेरि के सनक चले छ हालको समयमा नेपालको पृथ्वीजयन्ती र एकता दिवस मनाउने जिम्मा प्राज्ञिक संस्थाको जिम्मा दिएको छ भन्ने सुनिन्छ । खासै यस विषयमा सरकार गम्भीर देखिँदैन । भ्रष्टपथ, धनपथ, सत्तापथ र लम्पसारपथलाई मार्गनिर्देश सम्झने सरकारका लागि नेपाली राष्ट्रियताको जग हाल्ने पृथ्वीपथ पचेन । तर नेपाली जनताले यो अन्यायलाई कसरी हेरिरहेका छन् ? यो गौणको विषय हो भन्ने पृथ्वीनाराण शाहको राष्ट्र निर्माणको भूमिकाबारे धेरै अग्रजहरुको यस्तो भनाई र लेख, अन्तवार्ताहरु आइरहेको हुन्छ र समयसान्दर्भिक सबैलाई सम्झने लायक छ ।
