Goraksha

National Daily

घोराहीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

लक्ष्मण बस्नेत
तुलसीपुर, ७ वैशाख । दाङ जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान एवम् राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बेल्झुण्डी रङ्गशालामा सञ्चालित प्रतियोगितामा २८ स्वर्ण, १६ रजत र २६ कांस्य गरी ७० वटा पदक हात पार्दै घोराही उपमहानगरले रनिङ शिल्ड जित्दै रनिङ शिल्ड र विजेता ट्रफी हात पा¥यो ।

यसैगरी एक स्वर्णको झिनो अन्तरले पछि परेको साविक विजेता तुलसीपुर उपमहानगरपालिकाले २७ स्वर्ण, १६ रजत र २६ कांस्यसहित ६९ पदक हात पार्दै उपविजेताका रूपमा चित्त बुझाउन बाध्य भयो । यसैगरी लमही नगरपालिकाले छ स्वर्ण, नौ रजत र छ कांस्यसहित तृतीय भयो भने भने शान्तिनगरले दुई स्वर्ण, सात रजत र आठ कांस्य पदकसहित सान्त्वना स्थान हासिल गर्न सफल भयो ।

समापन कार्यक्रम दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्य तेक्वान्दो छात्रामा तुलसीपुरका आशिका पुन, छात्रमा घोराहीका किशोर रोका मगर, काराँते छात्रमा घोराहीका मनिष घर्ती मगर र छात्रामा घोराहीकै रितु पुन, कबड्डी छात्रामा सविना खातुन, छात्रमा राप्ती गाउँपालिका विनय घर्ती मगर, एथलेटिक्स विधाको छात्रमा सन्देश रोका मगर, छात्रामा घोराहीकै गरिमा चौधरी, भलिबल छात्रामा घोराहीका शर्मिला डाँगी, छात्रमा घोराहीकै दिनेश भण्डारी, उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी उसु सान्सौ छात्रमा तुलसीपुरका गणेश बुढा, छात्रामा तुलसीपुरकै जुनिता विक, थाओलु छात्रामा शान्तिनगरका कञ्चन घर्ती, छात्रमा तुलसीपुरका निश्चल केसी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।