Goraksha

National Daily

दाङमा प्रहरी सक्रियता, ५४ जना फरार प्रतिवादी पक्राउ

दाङ, ७ वैशाख । दाङमा प्रहरीले एक महिनाको अवधिमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानअन्तरगर्त चैत महिनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५४ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीलाई अदालतले आठ वर्ष तीन महिना चार दिन कैद सजाय र दुई लाख ५४ हजार पाँच सय ३२ रुपियाँ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक बोहराका अनुसार पक्राउ परेका प्रतिवादीलाई अदालतमार्फत कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ । पक्राउ परेकामध्ये फैसला भएको १० वर्षपछि पक्राउ पर्ने नौ जना, पाँच वर्षपछि पक्राउ पर्नेमा १५ जना र बाँकी ३० जना पाँच बर्षभन्दा कम समयमा पक्राउ पर्ने रहेका छन् ।

सूचना अधिकारी बोहराका अनुसार अदालतबाट दोषी ठहर भइ फरार रहेका एक हजार एक सय नौ जना रहेकोमा चालु आर्थिक बर्षको नौ महिनामा चार सय ६७ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । चैत महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायमा दर्ता भएका १०० मुद्दामध्ये ३३ मुद्दा फछ्र्यौट भएका छन भने ६६ वटा मुद्दा अनुसन्धान तथा कारबाहीको प्रक्रियामै रहेको जानकारी दिनुभएको छ ।

त्यसैगरी चैत महिनामा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४५ ग्राम ५९० मिलिग्राम लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिएका छन् । चैत महिनामा जिल्लाका विभिन्न ठाउँमा १७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शान्ति सुरक्षालाई सुदृढ बनाउने तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित आफ्नो अभियानलाई निरन्तरता दिएको जनाएको छ ।