Goraksha

National Daily

कहिल्यै क्षम्य हुँदैन हिंसा

के.पी.सुवेदी
मान्छे मान्छेप्रति क्रुर र निर्दयी भएर जाइलाग्ने घटनाहरु हाम्रोमा पनि विस्तारै बढ्न थाल्यो । पहिले पहिले संसारका विभिन्न मुलुकमा हुने हत्या, हिंसा र जघन्यकारी अपराधका घटनाले आश्चर्य मान्ने नेपालीले आफै यस्ता अमानवीय काम गर्न सक्छन् भन्ने सजिलै विश्वास गर्न सकिँदैन ।

तर आँखै अगाडि घट्ने यस्ता घटनाले हामीलाई स्तब्ध र एउटा अज्ञात भए उत्पन्न गरिदिन्छ । आज लोकतन्त्र भन्दा पनि उन्नत प्रणाली हामीले बसालेका छौँ भनेर गर्व गर्ने कि नगर्ने द्विविधा हुन्छ । किनभने हामी राज्यद्वारा हुने दमनका विरुदमा शहीदको बलिदानले यहाँसम्म आइपुग्न सफल भए छौँ ।

शहीदका न्यूनतम् विशेषताको अनुकरण गर्नेतर्फ हाम्रो ध्यानाकर्षण भएकै छैन । यति उन्नत व्यवस्थाका नागरिक हुन पाउँदा कमसेकम हामी मानवीय चेतनास्तर अलिकति जगाउन सिक्नुपर्नेमा त्यत्ति पनि हुनसकेको रहेनछ ।

लोकतन्त्रात्मक गणतन्त्रले मानवाधिकार सुरक्षित गरिरहँदा मानवीय कर्तव्यलाई वेवास्ता गर्न सिकाएको होइन, नागरिकलाई मात्र होइन । राज्यलाई पनि राज्यशक्तिको आडमा कानुनले प्रत्याभूत गरेका नागरिक हक खोस्न पनि छुट दिँदैन । तैपनि कम्युनिष्ट पार्टीको सत्ताले आफ्नो सही चरित्रको प्रदर्शन गर्न खोज्नु स्वाभाविक भए पनि हाम्रा शासकहरुले आफ्नो उभिएको धरातल एकपटक सम्झनुपर्छ कि दर्शनका हिसाबले तानाशाही हुनु स्वाभाविक भए पनि लोकतान्त्रिक सरकारको नेतृत्व गरिरहेका बेला चरित्रमा लोकतन्त्र देखिनुपर्छ ।

लोकतान्त्रिक संविधानमा टेकेर तानाशाही चलाउने सपना देख्नु हुँदैन । यो सरकारले लोकतान्त्रिक चरित्र देखाउन नसकेका कारण उसको आडमा सरकारका समर्थकले अलोकतान्त्रिक र अमानवीय व्यवहार गरिरहेका छन् ।

स्थिर सरकारको चरित्र, अस्थिर र खिचडी सरकारको जस्तो हुन गएको छ । यसको खास कारण सत्ताधारी दलको आन्तरिक लडाईं मुख्य हुनसक्छ तर व्यक्ति र गुटको स्वार्थले देशै बर्वाद हुने गरी । सामाजिक, सांस्कृतिक सम्बन्ध खल्बलिने गरी संविधान प्रदत्त मौलिक हक र नागरिक हक कुन्ठित हुने गरी जथाभावि गर्न यो सरकारलाई छुट हुन सक्तैन र उसका आफ्ना शुभेच्छुक समर्थकलाई मनपरी गर्न छुट दिनु पनि हुँदैन ।

यदि हामी सर्वाधिकार सम्पन्न छौँ, हामी निर्वाध यस्तै गरिरहन सक्छौँ भन्ने दम्भ प्रदर्शन गर्ने हो भने यस्ता सत्ताधारी इतिहासमा सीमित हुनपुगेका उदाहरण खोज्न कतै जानु पर्दैन । यति बलियो स्थिर सरकार देशमा भएको बेला हत्या र अपराधमा कमी आएको छैन । गोंगबु हत्याकाण्ड, जनपुर पुजारी हत्याकाण्ड, त्यस्तै भक्तपुर सामूहिक हत्याकाण्ड केही उदाहरण मात्र हुन् र ती काण्डहरुमा पहिचान भएका हत्यारा सरकारी दलका कार्यकर्ता छन् ।

यी वाहेक जहाँ अमानवीय व्यवहार गरिएका छन्, त्यहाँ सत्ताधारीका समर्थक, उनीहरुका सामाजिक अगुवाहरु रहेको देखियो भनेपछि, उनीहरुको उग्र चरित्र वैचारिक विशेषता हो या सत्तामात हो । केही न केही अवश्य पनि हो । जस्तै केही समय अगाडिको वानेश्वरमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भयो । मानौँ उनीहरु चिकित्सा क्षेत्रमा काम गर्नु नै अपराध गर्नु सरह हो । ती स्वास्थ्यकर्मीहरु त्यहाँ बस्नै नपाउने पेशाका मानिस हुन् भन्ने किसिमले अपमानित गर्ने काम गरे ।

त्यो व्यवहार अमानवीय मात्र भनेर पुग्दैनजस्तो लाग्छ । किनभने कुनै पनि व्यवहार कुनै वर्ग वा समुदाय माथि थोपर्दा एक÷दुईवटा कारण चित्त बुझ्दो हुनसक्छ तर हालैका ती व्यवहारको कुनै कारण छैन र कूतर्कमा रमाउने होभने त्यो जंगली वा पशुसरह मात्र हो ।

धेरै अगाडिदेखि यस्तै कूतर्क र पशुवत् व्यवहारको शिकार हुँदै आएका छन्, डा गोविन्द केसी । विषयगत विज्ञता हासिल गरेका र सरकारी अस्पतालमा लामो समय स्वास्थ्य सेवा प्रदान गरेर हालै अवकाश लिएका केसी यो सरकारको आँखामा विझाएको विझा®यै छन् । त्यसको कारण अरु केही नभएर स्वास्थ्य सेवा सुधारको माग गरेको कारणले हो ।

सरकार स्वास्थ्य माफियाको स्वार्थ अनुकूल कानुन बनाउने, जनस्वास्थ्यमा सुधार गर्न नचाहने तर डा केसी पटक–पटक भोक–हड्ताल गरेर सरकारलाई खबरदार गरिरहने गर्दा सरकारको र माफियाको आँखामा विझाएका हुन् । एक प्रकारले उनी सरकारका विरोधी र जनताका दुःख–सुखका साथीजस्तै भइसकेका छन् । त्यसैले डा गोविन्द केसी जहाँ–जहाँ जान्छन् त्यहाँ सरकारका भरौटेलाई अह्राइ–सिकाई गर्छ ।

सरकारी स्वास्थ्य सेवा कमजोर भएका क्षेत्रमा पुगेर मल्हमपट्टी लगाउन सुरु गर्दा अवरोध सिर्जना गर्छन् । आफ्नो व्यक्तिगत खर्चमा औषधी किनेर रोगीहरुलाई बाँड्न प्रतिबन्ध गर्छ । केही दिनदेखि प्रदेश ६ र ७ का विभिन्न दुर्गम स्थानमा पुगेर सेवा गर्न खोज्दा सरकारको आदेशमा स्थानीय तहले रोक्ने ग¥यो ।

लोकतन्त्रमा कुनै पार्टी वा विचार समूहको शासन मात्र चल्नुपर्छ भन्ने सोच्नु लोकतन्त्र विरोधी चरित्र हो । अझ सत्ताधारी अरुभन्दा जिम्मेवार हुनुपर्छ । विपक्षीले विभिन्न निहुँ झिकेर असजिलो बनाउन खोजेको बेला त्यसलाई सम्हाल्ने सरकारी पक्षले हो । हिजो अरु सत्तामा रहँदा आफूले बाँदरनाँच नाचेको यति चाँडो बिर्सनु हुँदैनथ्यो ।

अहिलेका सत्ताधारीले मान्छे मारेर पनि क्रान्तिको पर्दाले छोपेर यसको दोष सरकारको हो भनेको धेरै समय भएको छैन । अब त्यस्ता कूतर्कले जनमत विथोल्न सुहाउँदैन । दलका सामाजिक अगुवाहरु नै कुनै पनि वहानामा पाश्विक चरित्र देखाउनु दुःखद् र निन्दनीय हुन्छ ।

एउटा वहाना कोरोनालाई बनाइएको भए पनि जहाँसुकै घटिरहेका हिंसा र अमानवीय घटनाको अगुवाई अहिलेका सत्ताधारीकै विचारले गरिरहेको देख्दा यो वैचारिक विशेषता जस्तो देखिनपुगेको संयोग हो या निर्देशित, समयले निरुपण गर्छ कि ?