के भनौं र खोई ! राष्ट्रको सञ्चार ?
मनोज पौडेल
मैले धेरै पटक धेरैको मुखबाट सुन्ने गरेको छु, सायद तपाईंले पनि सुन्नु भएको होला ‘यी टेलिकम सेवाप्रदायक चोर हुन्’ भनेको । र, मैले हरेक पटक ‘कुन ?’ भनेर सोधेको छु र प्रायः उत्तर एउटै आउँछ ‘दुईटै एनसेल र नेपाल टेलिकम !’ मैले यी कुराहरु खासै पत्यार गरेन तर जब म पनि ठगीमा परे त्यसपछि त पत्याउनै प¥यो ।
सिस्टममा खराबीको नाममा होस् वा प्राविधिक गडबडीको नाममा होस् वा जानीजानी होस् हामी उपभोक्ता मारमा छौँ । मैले एक दिन विहान ७ बजे ‘डे प्याक’ अन्तर्गत १५ रुपैयाँ बराबरको अनलिमिटेड विहान ५ बजेदेखि साँझ ५ बजेसम्मको भ्वाइस प्याक लिएँ । एकछिनमा मेरो मोबाइलको ब्यालेन्सबाट १५ रुपैयाँ काटिएको र भ्वाइस प्याक सुचारू भएको जानकारी एसएमएसबाट गराइयो ।
त्यसको लगत्तै मैले केही समय फोन गरेँ कुरा गर्दा गर्दै पैसा सकिएको जानकारी आयो र कुरा गर्दागर्दै फोन कट्यो अनि ब्यालेन्स १३ पैसामा झ¥यो । यो हो एनटिसीको कुरा । एनसेलको त कुरै नगरौँ, सरकारलाई त अर्बौं ठगिराको छ ! म त एक प्रतिनिधि पात्र मात्र हुँ, यो समस्या कतिले भोगेका छन् होला ? घटना धेरैसँग छन् नभनिएको र नसुनिएको मात्र हो । बाहिर नआएको मात्र हो ।
विचार गर्नुस् त म एनटिसीका प्रत्यक ग्राहकबाट एक वर्षमा मात्र एक पटक पनि १५ रुपैयाँ यसरी काटिन्छ भने अनाधिकृत रुपमा एनटिसीले कति फाइदा गर्छ ? आफ्ना करिब डेढ करोड बेसी ऊपभोक्ताहरुबाट, करिब २३ करोड, महिनामा एक पटक काट्छ भने वर्षिक करिब २ सय ७५ करोड बेसी फोकटमा हामीले दिने रहेछौँ ।
मैले एनटिसीलाई आरोप लगाएको होइन, शंका गरेर हिसाबकिताब गरेको हो तर जुन घटना मलाई घट्यो त्यो घटनाले शंका गर्ने आधार त दियो नि पक्कै पनि । यस्ता घटना केही टेक्निकल खराबीको कारणले हुन्छ भने र टेलिकममै जान्छ भने त ठिकै पनि हो, सिस्टम खराबीलाई हामी सामान्य रुपमै लिउँला तर त्यही सिस्टमभित्र खराबीको नाममा गरिने चुहावट त होइन कतै ? मैले विभिन्न समयमा सुन्ने गरेका टेलिकम सेवाप्रदायकहरुप्रतिको जनबोली जुनमाथि उल्लेख गरेँ त्यो उनीहरुबाट एक घटनाबाट भन्दा पनि घटनाका शृंलाहरुबाट उब्जेको जस्तो लाग्छ, वैयक्तिक विचार ।
स्थापनाको यतिका वर्ष भइसक्दा र मुनाफामा गइरहेको कम्पनी जहाँ पाँच हजारभन्दा बढी कर्मचारी छन्, त्यहाँ बारम्बार केही न केही सिस्टम खराबी किन भइरहन्छ ? कर्मचारीहरु टन्न तलव खाका छन्, बोनस बाँडेका छन् सो अनुसार काम र सेवा पनि चुस्त र दुरुस्त त हुनु प¥यो नि होइन र ! उपभोक्ताप्रति अलि संवेदनशील हुने कि ? माफ गर्नुहोला वैयक्तिक रुपमा मेरो कोही कर्मचारीप्रति केही गुनासो छैन, मैले प्रवृत्तिगत विरोध गरेको मात्र हो र सलाम छ सबै इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरुप्रति ।
माथिको घटनाले म धेरै कुरा सोच्न बाध्य भएँ । म अहिले एक पहाडी जिल्लामा बस्छु, यहाँ नेपालका ठूला सहर काठमाडौं, पोखरा, बुटवल, घोराही आदि स्थानमा चल्ने टु–जी जत्तिको पनि यस ठाउँमा फोर–जी इन्टरनेट सेवाको स्पिड नभएको मेरो अनुभव छ– २ केवी, ६केवी, १७ केवी र यस्तै यस्तै प्रतिसेकेण्डको हाइस्पिड फोर–जी इन्टरनेट सेवा प्रयोग गरी धन्य छु म र म जस्ता अन्य ग्राहकहरु पनि । कुरो के गर्नु र बरै ! राष्ट्रको सञ्चार । यत्तिले पनि पुगेको छैन, फोन लाग्नु, लागे पनि कुरा हुन पाउनु गर्वको कुरा हुन्छ यहाँ ।
हप्तामा कम्तिमा २ दिन यो समस्या छ, प्रायः शनिवार मोबाइलले टावर देखाउँदैन वा काम गर्दैन, ब्यालेन्स टन्न भए पनि आफै फोन कट्छ, रमाइलो छ । सदरमुकामको अवस्था त यो छ भने दूरदराजको अवस्था के होला ? म कल्पनासम्म पनि गर्न सक्दैन । यहाँ जनसमुदायबाट अर्को गजबको कुरा के सुन्न पाइयो भने पहिले जति दियो दियो अब एडिएसल इन्टरनेट सेवा नेपाल टेलिकमले दिँदैन रे, प्राइभेट इन्टरनेट सेवाप्रदायकहरुको जडान शुल्क यति महँगो छ कि कुरा गर्न पनि लाज लाग्छ ।
दूरदराजमा त सहुलियत दरमा सेवा प्रदान गर्नुपर्ने हो, झुठ बोलेको होइन सायद यहाँको एउटा घरमा इन्टरनेट जोड्ने पैसाले दाङमा १० वटा घरमा इन्टरनेट जडान हुन्छ । मैले केहीलाई सोधे पनि किन यस्तो त ? उनीहरुको जवाफ थियो ‘होला नि केही भित्री कुरो, सक्किगो नि, हैट !’
रह्यो यो प्याकेजको कुरा, हुनेखानेको लागि हो कि आर्थिक विपन्न वेरोजगारहरुको लागि ? बुझ्नै गाह्रो छ । गाउँघरतिर सामान्य मानिसले मोवाइल डायल गर्न, फोन–कल रिसिभ गर्न र म्यासेज गर्न त बल्ल–बल्ल सिकेका हुन्छन् प्याकेजका कुरा के थाहा ? जो बेरोजगार छन्, उनीहरुले खासै चलाउने कुरो भएन । रह्यो त्यसको अधिक्तम उपयोग जागिरे र पैसावालहरुले नै गर्छन् । अनि यो प्याकेज भनेर छुट्टै व्यापारको खेती किन गर्नुप¥यो ।
मैले विभिन्न प्याकेजहरु र त्यसको दर हेर्दा मैले बुझेको कुरा के हो भने १ रुपैयाँमा करिब २० एमबी डाटा र प्रतिकल २० पैसाको दररेट कायम गरे पनि संस्थालाई मनग्य मुनाफा हुने देख्छु । किन यो प्याकेजको खेल गरिरहनुप¥यो । सबैलाई सर्वशुलभ तरिकाले सेवा प्रदान गरे भएन भन्या ।
माथिको हिसाब गलत पनि हुन सक्ला किनभने न त म गणितको विद्यार्थी हुँ न त म्यानेजमेन्टको, यो त मेरो नितान्त सामाजिक विश्लषण हो । यी विषयहरुमा नियमन निकाय, मिडियाकर्मीहरु, अन्य सरोकारवालाहरु चुप नै बसेका छन् जस्तो लाग्छ, मलाई अब केही बोल्ने र लेख्ने आवाज उठाउने बेला पो भइसक्यो कि ? हरेक सामाजिक विषयमा सबैले जिम्मेवारीबोध गरौँ ।
