गोरक्ष समाचारदाता
दाङ, ३० चैत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस अहिले राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले राष्ट्रिय पार्टीको हैसियत मतपरिणामले निर्धारण गर्ने भए पनि राष्ट्रिय शक्तिको पहिचान इतिहास र दायित्वले तय गर्ने उल्लेख गर्ने भन्दै कांग्रेस अहिले पनि राष्ट्रिय शक्ति भएको बताएका हुन् ।
‘राष्ट्रिय पार्टी निर्वाचनको मतपरिणामले निर्धारण गर्छ भने राष्ट्रिय शक्ति उसको इतिहास र जिम्मेवारीले निर्धारण गर्छ’, सभापति थापाले भने, ‘त्यही भएर कांग्रेस राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिको जिम्मेवारी हुन्छ । संविधानको रक्षा हाम्रो जिम्मेवारी थियो, त्यो जिम्मेवारी पूरा ग¥यौँ, सानो घटनाले उद्देलित भएर मुलुक द्वन्द्वमा पर्न सक्थ्यो, त्यही भएर संविधानलाई ठिक ठाउँमा राख्ने कुरामा सबैभन्दा बढी जिम्मेवार नेपाली कांग्रेस हुनुपथ्र्याे र हामी भयौँ ।’
वर्तमान सरकारलाई उसको कामको आधारमा सघाउने र खबरदारी गर्ने दुवै जिम्मेवारी कांग्रेसले निभाउने बताए । वर्तमान सरकारले गर्ने संविधान सम्मत र असल कामलाई शतप्रतिशत साथ र सहयोग रहने भन्दै उनले भने, ‘संविधानविपरीत, प्रजातान्त्रको मूलमर्मविपरीत नागरिकका अधिकार मास्ने काम भयो, खोस्ने काम भयो, कमजोर बनाउने काम भयो भने त्यो बेलामा नेपाली कांग्रेस चुप लागेर बस्दैन ।’ उनले पार्टीभित्रको एकता कायम गर्न संवादलाई जारी राख्ने बताए ।
‘नेतृत्वप्रति झुक्ने, सम्मान र संवाद गर्ने कुरामा कमी हुन दिँदैन । सबैलाई जोड्ने जिम्मेवारी लिन्छु, लिन्छौँ । आफ्नै पार्टीका नेतासँग भेट्न कुनै अप्ठ्यारो छैन । सबैसँग जान्छु, भेट्छु, कुराकानी गर्छु’, उनले भने, ‘केन्द्रमा मैले पनि मलाई राख्दिन तपाईंले पनि तपाईंलाई नराख्नुस् । केन्द्रमा नेपाली कांग्रेस पार्टी राखेर छलफल गरौँ । समस्याको समाधान निस्कन्छ ।’
सभापति थापाले पार्टीभित्र र बाहिरका विषयमा खुलेर समीक्षा भइरहेको उल्लेख गर्दै आगामी दिनमा कांग्रेसलाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्दै लगिने बताए । उनले संविधान अनुसार सरकारका असल काममा समर्थन गर्ने तर नागरिक हित र संविधानविपरीत हुने गतिविधिमा चुप लागेर बस्न नसकिने बताए । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले गरेका सकारात्मक काम जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकिएको समीक्षा निष्कर्ष आएको बताए ।
उनले पार्टीभित्र देखिएका समस्या छलफलमार्फत् समाधान गर्दै आत्मविश्वास, आपसी विश्वास र जनविश्वास पुनःनिर्माण गर्नु पर्नेमा जोड दिए । नयाँ ऊर्जा र रूपान्तरणसहित अघि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै उपसभापति शर्माले आवश्यकता अनुसार लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले यस पटकको निर्वाचनमा सङ्ख्याभन्दा संविधान जोगाउने लडाइँ महत्वपूर्ण भएको बताइन् ।
उनले पार्टीका उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पु¥याउन नसकिएको स्वीकार गर्दै गाउँ गाउँमा संगठन बलियो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । १५औँ महाधिवेशन एकजुट भएर सम्पन्न गर्नु पर्ने उनको धारणा थियो । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन परिणामको गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
उनले मतदाता किन असन्तुष्ट भए भन्ने खोजी गर्नु पर्नेमा जोड दिँदै बदलिँदो डिजिटल राजनीतिक परिवेश अनुसार पार्टीलाई अद्यावधिक गर्नु पर्ने आवश्यकता रहेको बताए । आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध बनाउनु पर्ने उनको भनाइ थियो । निवर्तमान सभापतिलाई स्वदेश फर्केर कानुनी प्रक्रिया सामना गर्न आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको सभापतित्वमा भएको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका २६ सङ्घीय निर्वाचन क्षेत्रका उम्मेदवार, निर्वाचित तथा पराजित प्रतिनिधि, जिल्ला सभापतिहरू र अन्य नेताकार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भोगेको पराजयका कारण आन्तरिक र बाह्य दुवै रहेको भन्दै पार्टीभित्र अन्तरघात गर्नेमाथि कारबाहीको माग गरेका थिए ।
अन्य सहभागी नेताले आगामी दिनमा सबै तहका नेता तथा कार्यकर्ता समयमै सचेत भई संगठन सुदृढीकरणमा लाग्नु पर्ने धारणा व्यक्त गर्दै कांग्रेसलाई जनतासँग जोड्दै रूपन्तरण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश संसदीय दलका नेता, पदाधिकारी तथा जिल्ला सभापतिहरूले आआफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सहमहामन्त्री निमा गिरीले गरेकी थिइन् ।