बाल–मनोविज्ञान र मेरो विगत: डरको छायाबाट सिर्जनाको उज्यालोतिर

किरण थापा

विद्यालयका ती दिनहरूमा बाल–मनोविज्ञान र व्यवहारका बारेमा पर्याप्त चेतना नहुँदा, शिक्षकहरूको कठोर व्यवहारले ममा विद्यालयप्रति एक किसिमको डर र त्रासको वातावरण सिर्जना गरेको थियो। फलस्वरूप, म विद्यालय भनेपछि मनैदेखि जान नचाहने र विद्यालय जानुअघि नै त्रसित हुने एउटा बालकको पीडादायी अनुभवबाट गुज्रिएँ। समयसँगै बालबालिका र युवाहरूको स्वभाव तथा उनीहरूको बदलिँदो अवस्थालाई नजिकबाट बुझ्ने क्रममा मैले एउटा महत्त्वपूर्ण कुरा महसुस गरेँ।

मलाई के लाग्यो भने, जब बालबालिकाले पूर्ण सुरक्षाको प्रत्याभूति पाउँछन् र समाजका हरेक निर्णय प्रक्रियामा उनीहरूको विचारलाई सम्मानजनक स्थान दिइन्छ, तब मात्र बालअधिकारको वास्तविक कार्यान्वयन भई सभ्य र समृद्ध समाजको निर्माण हुन्छ। विगत १५ वर्षदेखि हामी बालबालिकाले पूर्ण सुरक्षाको प्रत्याभूति पाउनुपर्छ र समाजका हरेक निर्णय प्रक्रियामा उनीहरूको विचारले सम्मानजनक स्थान पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ। यसका लागि आवश्यक जनचेतना फैलाउन बालबालिकाहरूको सक्रिय सहभागितामा ‘बाल भेला’ जस्ता कार्यक्रमहरू आयोजना गर्दै, बालबालिकाको विकाससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने निकायहरूलाई समन्वय गर्ने कार्यमा क्रियाशील रहँदै आएका छौँ।

विशेषगरी उनीहरूको सुरक्षा र हरेक निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न हामी निरन्तर सक्रिय रहँदै आएका छौँ। अहिले बालबालिका वार्षिक परीक्षाको कठिन चटारो र नतिजाको मानसिक दबाबबाट मुक्त भई करिब एक महिने लामो बिदाको आनन्द लिइरहेका छन्। एउटा पूर्ण शैक्षिक सत्रभरिको बौद्धिक थकाइपछि नयाँ कक्षामा प्रवेश गर्नुअघिको यो फुर्सदको समय वास्तवमा एउटा सिर्जनात्मक उत्सव हुनुपर्ने हो।

अहिलेको यो फुर्सदको समयमा धेरै अभिभावकहरूले आफ्ना बालबालिकाका लागि विभिन्न योजनाहरू बनाइरहनुभएको छ। कोही अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई नयाँ ठाउँको अनुभव दिलाउन भ्रमणको तयारी गर्नुभएको छ भने, कोहीले आफ्ना आफन्त र नातागोताकहाँ लगेर पारिवारिक सम्बन्ध र सामाजिक रीतिथिति बुझाउने सोच बनाउनुभएको छ। यसैबीच, धेरै विद्यालयहरूले पनि यो समय बालबालिकाका लागि विभिन्न शैक्षिक शिविर र सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यस्ता कार्यक्रमहरूमा गरिने सामूहिक क्रियाकलापहरूले बालबालिकाको सामाजिक र मनोवैज्ञानिक विकासमा निकै ठूलो मद्दत पु¥याउँछन्। उनीहरूले नयाँ साथी बनाउन, समूहमा काम गर्न र आफ्नो आत्मविश्वास बढाउन सिक्छन्, जुन उनीहरूको मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण छ।

एकातिर धेरै आमाबुबाहरूले आफ्ना छोराछोरीलाई बिदामा कहाँ घुमाउने र के नयाँ कुरा सिकाउने भनेर योजना बनाइरहनुभएको छ, तर अर्कोतिर सबैको घरको परिस्थिति र अवस्था एकनासको छैन। आजको व्यस्त जीवनशैलीका कारण धेरै अभिभावकहरू आफ्ना छोराछोरीलाई पर्याप्त समय दिन असमर्थ हुनुहुन्छ। यही रिक्तताका बीच, आजको बदलिँदो नेपाली सामाजिक परिवेश र प्रविधिमैत्री वातावरणमा यो लामो बिदा एउटा डरलाग्दो मनोवैज्ञानिक चुनौती बन्दै गएको छ।

जब अभिभावकले समय दिन भ्याउनुहुन्न, बालबालिकाहरू स्वभावैले मोबाइल, ट्याब वा टिभीमै हराउने गर्छन्। प्रविधिका आफ्नै राम्रा पक्षहरू भए तापनि बालबालिकामा यसलाई नियन्त्रण गर्ने क्षमता हुँदैन, जसले गर्दा उनीहरूको पहुँचमा अनावश्यक सामग्रीहरू सजिलै पुग्ने गर्छन्। प्रविधिलाई कसरी र कति प्रयोग गर्ने भन्ने बारे सही संयन्त्र र मार्गनिर्देशन नहुँदा यसको सदुपयोगभन्दा बढी दुरुपयोग भइरहेको देखिन्छ। यही अन्योल र असुरक्षित पहुँचका कारण आज हाम्रो समाजमा बालबालिकाहरू विभिन्न नराम्रा घटनाको शिकार भइरहेका छन्, जुन अत्यन्तै चिन्ताको विषय हो।

त्यसैले, यो बिदालाई कसरी सुरक्षित र अर्थपूर्ण बनाउने भन्ने कुरा आज हरेक परिवारका लागि एउटा ठूलो चिन्ता र मननीय विषय बनेको छ। नेपालको वर्तमान सन्दर्भमा हेर्ने हो भने, बिदाको समयमा शहरी र अर्ध–शहरी क्षेत्रका बालबालिकाहरूको स्क्रिन टाइम औसतमा दैनिक ७ देखि १० घण्टासम्म पुग्ने गरेको विभिन्न अनौपचारिक अध्ययनहरूले देखाएका छन्। यसका कारण उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमतामा ४० प्रतिशतसम्म ह्रास आएको छ भने ८० प्रतिशतभन्दा बढी बालबालिकाहरू बाहिरी खेल वा सामूहिक क्रियाकलापभन्दा भर्चुअल संसारमा रमाउँदा उनीहरूमा सामाजिक एक्लोपन बढेको छ र झण्डै ३० प्रतिशतले मानसिक स्वास्थ्य समस्याहरू वृद्धि भएका छन्। व्यस्त दैनिकी र जीवन धान्ने तीव्र दौडमा रहेका अभिभावकहरू आफ्ना बालबालिकामा देखिएको यो तीव्र मनोवैज्ञानिक परिवर्तन, स्वभावगत उग्रता र डिजिटल लत देखेर त्रसित त छन्, तर अर्कोतिर हाम्रो स्थानीय सरकार र सरकारी संयन्त्र भने यो गम्भीर समस्याप्रति निकै उदासीन देखिएको छ।

हामीले बिर्सिरहेका छौँ कि बाटो र भवनले मात्र कहिल्यै समृद्ध समाज निर्माण गर्दैनन्। त्यो बाटोमा हिँड्ने मान्छे कस्तो छ भन्ने कुराले मात्र विकासको अर्थ राख्छ। ढुङ्गा र सिमेन्टको चमकधमकमा रमाउनु भन्दा मानवीय पुँजीमा लगानी गर्नु नै वास्तविक विकास हो भन्ने कुरा बुझ्न अब अपरिहार्य भइसकेको छ। उचित मार्गनिर्देशन र सामूहिक क्रियाकलापको अभावमा उनीहरू परिवार र समाजबाट टाढिँदै जाँदा हाम्रा मौलिक संस्कार र सामाजिक अभ्यासहरूमा समेत ह्रास आउन थालेको छ। बालबालिकामा बढ्दो मानसिक स्वास्थ्य समस्याका कारण आज एउटै कोठामा सँगै रहँदा पनि अभिभावक र छोराछोरीबीच हुनुपर्ने आत्मीय कुराकानी र एक–अर्काप्रतिको बुझाइ हराउँदै गएको छ। उनीहरू भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा निकै टाढा भइरहेका छन्।

यदि सरकार र आमाबुबाले बेलैमा ध्यान दिएनन् भने हाम्रा बालबालिका आफ्नो संस्कारबाट टाढिने र मानसिक रूपमा कमजोर हुने डर छ। यिनै चुनौतीलाई बुझेर हामीले सुरुदेखि नै बालबालिकाको मानसिक स्वास्थ्य र पूर्ण सुरक्षाको प्रत्याभूतिलाई प्राथमिकता दिँदै आएका छौँ। बालबालिकालाई परिवार र समाजसँग कसरी घुलमिल गराउने, उनीहरूको विचारलाई हरेक निर्णय प्रक्रियामा कसरी सम्मानजनक स्थान दिने र एउटा राम्रो सिक्ने वातावरण कसरी बनाउने भन्ने लक्ष्यका साथ हामी निरन्तर काम गरिरहेका छौँ।

यसै सिलसिलामा हामीले समुदायस्तरमा विभिन्न मानसिक स्वास्थ्य शिविर, सामाजिक अन्तरक्रिया कार्यक्रम र युवा अभियानहरू सञ्चालन गर्दै आएका छौँ। यस्ता कार्यक्रमहरूले बालबालिकालाई प्रविधिको संसारबाट बाहिर निकालेर सामाजिक अन्तरक्रियामा सहभागी गराउन, उनीहरूको आत्मविश्वास जगाउन र परिवारसँगको भावनात्मक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। हामी विश्वास गर्छौँ कि सानै उमेरदेखि दिइने यस्तो मनोवैज्ञानिक सहयोग र बालबालिकाको अर्थपूर्ण सहभागिताले नै भोलिको समाजलाई स्वस्थ र जिम्मेवार बनाउनेछ।

वर्तमान परिस्थितिको गम्भीरतालाई मनन गर्दै, बालबालिकालाई फुर्सदको समयमा हुन सक्ने गलत संगत र नराम्रा बानीहरूबाट टाढा राख्दै आफ्नो समाज र मौलिक संस्कारसँग साक्षात्कार गराउन तथा रचनात्मक कार्यमा अभिप्रेरित गर्न हामीले दुईवटा विशेष कार्यक्रमहरू अघि सारेका छौँ। यी कार्यक्रमहरू नितान्त प्रयोगात्मक सिकाइ र बालबालिकालाई आफ्नो समाज एवं परिवेशसँग जोड्ने उद्देश्यले प्रेरित छन्।

यो बिदाको समयलाई अर्थपूर्ण बनाउन हामीले पहिलो कार्यक्रमको रूपमा ‘हजुरबा–आमाका कथा’ सुरु गर्ने योजना बनाएका छौँ। यो केवल एउटा कथा सुनाउने सत्र मात्र नभई दुई पुस्ताबीचको दूरी मेट्ने एउटा भावनात्मक पुल हो। आजका बालबालिकाहरू गुगल र युट्युबमा ज्ञान खोजिरहेका छन्, तर हाम्रै घरका अग्रजहरू—हजुरबुबा र हजुरआमा—अनुभवका जीवित पुस्तकालय हुन् भन्ने कुरा ओझेलमा परेको छ। यस कार्यक्रममार्फत बालबालिकाहरूले आफ्ना हजुरबा–आमाका संघर्ष, सफलता, पुराना सामाजिक रीतिथिति र अहिलेसम्म नसुनिएका जीवनका रोचक पाटाहरू सुन्नेछन्।

दोस्रो विशेष कार्यक्रमको रूपमा हामीले घोराही–तुलसीपुर सार्वजनिक बस यात्रा गराउने योजना बनाएका छौँ। यो केवल एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रामात्र नभई बालबालिकाका लागि एउटा ‘खुला पाठशाला’ हो। यस यात्राले उनीहरूलाई सामाजिक व्यवहार, नागरिक कर्तव्य र व्यावहारिक सीप सिकाउनेछ। यदि तपाईंलाई पनि यो समय आफ्ना सन्तानका लागि अर्थपूर्ण बनाउनुपर्छ भन्ने लाग्छ भने, आउनुहोस्, हामीसँग जोडिनुहोस्। हाम्रो सानो सहकार्यले भोलिको समाजलाई अझ मर्यादित र सिर्जनशील बनाउनेछ।

(लेखक गैरसरकारी संस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन् ।)