मसिना–मर्पेस–बोझपोखरा सडक चार वर्षदेखि अलपत्र, जीर्ण सडकले सास्ती

 लीलाधर वली
दाङ, ३० चैत । दाङमा दुई वर्षमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको घोराही, मसिना, मर्पेस, बोझपोखरा सडकखण्ड चार वर्षसम्म पनि स्तरोन्नति गर्ने काम पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको लापरवाहीका कारण म्याद थप गर्दा समेत सडक निर्माणको काम अलपत्र परेको छ ।

घोराही, मसिना, मर्पेस, बोझपोखरा हुँदै प्युठानको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी जोड्ने ग्रामीण सडकका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका लागि २०७८ वैशाखमा स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौंसँग करिब १२ करोडमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार २०८० वैशाख मसान्तभित्र सक्नु पर्ने सडक स्तरोन्नतिको काम करिब पाँच वर्ष हुन लाग्दासमेत सडक स्तरोन्नतिको काम आधा मात्र भएको सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।

घोराही, मसिना, मर्पेस, बोझपोखरा हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१८, सिस्ने खोला पुलदेखि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकसम्मको करिब ११ किलोमिटर सडक स्तरोन्नति अन्तर्गत साँघुरो सडक विस्तार गर्नेदेखि नाला निर्माण, कल्भर्ट निर्माण, ह्युमपाइप राख्नेदेखि पहिरोको जोखिमयुक्त ठाउँमा पर्खाल लगाउने र जाली राख्ने काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो तर सम्झौता अनुसार सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द वल्र्ड वाइड जेभी काठमाडौंले आफँै काम नगरेर सडक स्तरोन्नतिको काम पेटी ठेक्का अन्तर्गत जेएनवी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दिएको थियो ।

उक्त निर्माण कम्पनीले समयमै सडक स्तरोन्नतिको काम नगर्दा अहिलेसम्म सडक स्तरोन्नतिको काम पूरा हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख नरेन्द्र खड्काले जानकारी दिएका छन् । ठेक्का सम्झौता अनुसार काम नभएपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अन्तर्गत बैंक ग्यारेण्टी जफतका लागि बैंकलाई पत्र लेखेपछि मुख्य निर्माण कम्पनी सम्पर्कमा आएको बताए ।

सडक निर्माणको काम लामो समयसम्म हुन नसकेपछि ठेक्का तोड्ने प्रक्रिया अनुसार स्वच्छन्द वल्र्ड वाइड जेभीको बैंक ग्यारेन्टी जफतका लागि पत्र लेखेपछि निर्माण कम्पनी सम्पर्कमा आएको भन्दै कार्यालय प्रमुख खड्काले भने, ‘अहिले मुख्य निर्माण कम्पनी नै बाँकी गर्छु भनेर सम्पर्कमा आएको छ । १० प्रतिशत जरिवाना तिरेर काम अघि बढाउँछु भनेको छ ।’ कार्यालय प्रमुख खड्का अनुसार निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता २०८१ पmागुनमा सकिएको र काम सन्तोषजनक नभएकाले थप म्याद हुन नसकेको बताउँछन् ।

पेटी ठेक्काका रूपमा सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीका प्रतिनिधि विदेश गएपछि सडक अलपत्र परेको छ । उक्त सडक अन्तर्गत सिस्ने खोलादेखि पाखापानीसम्म नाला निर्माण, जाली लगाउने र कटिङको काम भए पनि बाँकी खण्डमा काम हुन नसकेको छैन ।

सडक स्तरोन्नतिको काम सम्पन्न भएपछि बङ्गलाचुली गाउँपालिका वडा नं. १ र ३ का स्थानीयलाई घोराही बजार आउनजान सँगै प्युठानको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी र स्यूजामा रहेको उजादेवी मन्दिर दर्शन गर्न जाने भक्तजनलाई आवागमनमा सहज हुने बङ्गलाचुली गाउँपालिका वडा नं. १ का अध्यक्ष विष्णु कुवँर बताउँछन् । सडक निर्माण अन्तर्गत करिब साढे पाँच करोड बढी खर्च भएको सडक पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।