Goraksha

National Daily

५ दिनभित्रै बेलझुण्डीमा आइसियु सेवा

खेमराज रिजाल
तुलसीपुर, २८ भदौ । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दवाव दिएपछि वेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ दिनभित्रै आइसियु सेवा सञ्चालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पताल व्यवस्थापनका सदस्य सचिव डा. सर्वेश शर्माले मन्त्री बरालले बोलेकै समयमा कोरोना विशेष अस्पतालमा आइसियु सेवा सञ्चालन गर्ने गोरक्षलाई बताएका छन् । ‘वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. जितनारायण यादवको नेतृत्वमा एनेस्थेसियाका डाक्टरसहितको टिमले आगामी ५ दिनभित्रै कोरोना विशेष अस्पतालमा आइसियु सेवा सञ्चालनमा ल्याउनमा विश्वस्त छु, आवश्यक उपकरण जडान र मोनिटर व्यवस्थापनको काम भइरहेका छन्’, सदस्य सचिव शर्माले भने ।

तात्कालीन प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियु सेवाका लागि लिइएका उपकरणहरु बेलझुण्डीमा लगिएका छन् । दुवै अस्पताल प्रादेशिक भएकाले एक अस्पतालका सामान अर्को अस्पतालमा लैजान मुख्यमन्त्री शंकर पोख्रेलले फुकुवा गरेका थिए ।

तर बेलझुण्डी कोरोना विशेष अस्पतालका लागि कुनै स्थायी दरबन्दी भने प्रदेश सरकारले तोक्नै सकेको छैन । यहीँकै अस्पतालका जनशक्तिलाई काजमा लगेर कोरोना विशेष अस्पताल सञ्चालन गर्दा अन्य नियमित बिरामीहरुका लागि भने बरिष्ठ फिजिसियन सेवा भने कटौती भएको छ ।

कोरोना विशेष अस्पताल स्थापनाकै क्रममा तात्कालीन तुलसीपुर अञ्चल अस्पतालमा सेवाका लागि तयारी अवस्थामा रहेका मेसिनलाई ल्याएर जडान गरे पनि बेलझुण्डी कोरोना विशेष अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन भने हुन सकेको छैन । तात्कालीन अस्पतालका मेसु डा. भोलाराम श्रेष्ठले अञ्चल अस्पतालमै आइसियु सेवा सञ्चालनका लागि जनशक्ति एवं मेसिन र आवश्यक उपकरणको समेत व्यवस्थापन गरेका थिए ।

विश्वव्यापी कोरोनाको महामारी नियन्त्रणकै अभियानमा ५ नं. प्रदेश सरकारले अन्य कुनै विकल्प नखोजी आयुर्वेद स्नातक पढ्ने विद्यार्थीहरुको अध्ययन थलोलाई जवर्जस्तरुपमा कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरेको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलकै दबावमा एउटा आयुर्वेद क्याम्पसमा कोरोना विशेष अस्पताल बनाइएको थियो । तर विशेष अस्पताल बनाएसँंगै मुख्यमन्त्री पोख्रेलले सो अस्पतालमा कुनै दरबन्दी सिर्जना गर्न सकेनन्, नत विशेषज्ञ चिकित्सकसहित अन्य स्वास्थ्य कर्मी नै ।

तात्कालीन तुलसीपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाइएसँगै बिजौरीको आयुर्वेदिक अस्पताललाई पनि प्रादेशिक अस्पतालमा गाभिएको थियो । यी दुवै प्रादेशिक अस्पतालका जनशक्ति र त्यहीँका आवश्यक उपकरण तथा बेडसमेत बेलझुण्डीमा लगेर कोरोना विशेष अस्पतालका नाममा सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री पोख्रेलले बेलझुण्डी कोरोना विशेष अस्पताल सञ्चालनका सन्दर्भमा आवश्यक उपकरण र जनशक्तिका विषयमा कुनै पनि पहल नगरेकोमा तुलसीपुरबासीले गुनासो गरिरहेका छन् । तुलसीपुर प्रादेशिक अस्पतालका आएका सामानहरु जवर्जस्तरुपमा बेलझुण्डीको म्यादी अस्पतालमा लगेर तुलसीपुरबासीको स्वास्थ्यमा खेलवाड गरिएको स्थानीयबासीले बताएका छन् ।

सामग्री मात्र होइन, तुलसीपुर प्रादेशिक अस्पतालको जनशक्ति समेत बेलझुण्डीमा लगेर मुख्यमन्त्रीले आफ्नो औकात सावित गर्न खोजेको पनि स्थानीयबासी शंकर नेपालीको दावी थियो । ‘हाम्रो अपेक्षा कोरोना विशेष अस्पतालमा विशेष सेवा नहोस् भन्ने होइन, तर कोरोनाबाहेकका विरामीका लागि नेपाल सरकारले तुलसीपुर प्रादेशिक अस्पताललाई उपलब्ध गराएका सामान चोरीको शैलीमा अन्त लग्नु उपयुक्त होइन’, नेपालीले भने ।

नेकपाको राजनीतिकै कारण जहाँ बिरामी त्यहाँ चिकित्सकको अवधारणा अहिले संकटमा परेको छ । आम राप्तीबासीकै चाहनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भए पनि तात्कालीन नेपाली कांग्रेसको सरकारका पालामा नियुक्त उपकुलपति प्रा.डा. संगीता भण्डारीलाई हटाउनका लागि धेरै आन्दोलन मात्र भएनन्, प्रतिष्ठानमा आएका सरकारी छात्रबृत्तिका चिकित्सकलाई समेत अन्यत्र पठाउन नेकपा सरकारका एजेन्टहरु लागिरहेको आम नागरिकले बताइरहेका छन् ।

पछिल्लो समयमा स्थायी अस्पतालमा भएका सामग्री समेत म्यादी अस्पतालमा ल्याएर त्यसलाई बैधानिकता दिने काम भने हुन सकेको छैन । तर पनि आइसियु मेसिन भएर पनि सेवा भने उपलव्ध नभएको अवस्थामा ५ नं. प्रदेशको विशेष ध्यानाकर्षण भएको हो ।

प्रदेश सरकारले थप जनशक्ति ल्याउन सक्ने अवस्था नरहेकाले प्रादेशिक अस्पताल तुलसीपुरमै कार्यरत चिकित्सक र अन्य विशेषज्ञलाई बेलझुण्डी कोरोना विशेष अस्पतालमा काजमा ल्याउने प्रयास गरेको हो । यद्यपि कन्सल्टेन्ट फिजिसियन जितनारायण यादवसमेत संघीय दरबन्दीका चिकित्सक हुन् । उनीसँगै एनेस्थेसियाका विशेषज्ञ डा. रुपेश पनि संघीय दरबन्दीकै चिकित्सक हुन् ।

प्रतिष्ठानमा पर्याप्त विशेषज्ञ चिकित्सक नभएको अवस्थामा विशेषज्ञ चिकित्सक भएका कारण तुलसीपुरको प्रादेशिक अस्पतालमा कोरोनाबाहेक अन्य रोगका विरामीको अत्यधिक भीड देखिन थालेको थियो । ५० बेडको अस्पतालमा १६ भन्दा बढी विशेषज्ञ चिकित्सकसहित ३० जना चिकित्सकहरु प्रादेशिक अस्पतालमा कार्यरत थिए ।

त्यसैले पनि प्रदेश सरकारले तुलसीपुर प्रादेशिक अस्पतालको बिरामीहरुको भीडभाडलाइ कम गर्न विशेषज्ञ चिकित्सक बेलझुण्डीको म्यादी अस्पतालमा काजमा खटाउन थालेको छ । यसमा तुलसीपुरबासीले चिन्ता व्यक्त गरेका छन् ।

अस्पतालमा विशेषज्ञ सेवा दिइरहेका वरिष्ठ फिजिसियनलाई फेरि काजमा अन्त पठाइनु दुर्भाग्यको अवस्था हो’, तुलसीपुरबासीले भनेका छन्– ‘प्रदेश सरकारले बेलझुण्डी कोरोना अस्पतालमा भिन्नै दरबन्दी सिर्जना गरी काम चलाउन उपयुक्त हुनेछ ।’