तल्लो जीवन उपन्यास अंश : छायाँभित्रको माया

यम रेग्मी
धेरै प्रयासपछि सीता मलम भेटाई । हतारमै बारीमा कुदी । गोपालले काटेको घाउमा औलाले छोपेको थियो । भिक्यो । मूल फुटेझै रगतक बग्यो घाउबाट । रक्षा हेर्न सकिन रगतले लत्पतिएका घाउ । मुटु पिरो भयो दुखाईले । आँखा चिम्ली निदाएझैँ । घोप्टो परी बूढो बिरामीझैँ ।
सीता घाउमाथि लपक्क मलम लगाई । रगत थामिदै गयो । मूल सुकेको झरनझैँ । ध्वारर पूजाको धजा च्यातेझैँ धोतीको सप्पो च्याती । कुनै प्रभाह नगरी । घाउको बरिपरीको रगत पुछी । सफा भयो घाउ । रगत पनि पुरै थामियो मलमले । लामो सास फेरी । महासंग्रम जितेझैँ । बुद्धकोझैँ शान्ति भयो मन । मलमको बिर्को लगाई । बोली, ‘अक्कलविनाको नक्कल भयो भने यस्तै हुन्छ, छोरी । ’
रक्षा पुलुक्क हेरी आमाको अनुहारमा । दुबैका आँखा जुधे । पिडारुपी हाँसो हाँसी रक्षा । तर केही बोलिन । काटेको औलाको टुप्पो छोपी । टोलाएर घाउलाई हेरिरही । नजिकै ठिङ्ग उभ्भिरहेको थियो गोपाल । ऊ पनि मायालु अनुहारले घाउ हेरिरयो । केही नबोली । शान्त रह्यो केही बेर परिवेश ।
‘हिड्न सक्छेस् नानी ?’ सीता जुरुक्क उठ्दै बोली ।
‘नाई, सक्दैन । दुख्छ ।’
‘सुस्तरी हिँड न ?’
‘सक्दैन भन्या सुन्नुभएन ?’ केही चर्को स्वरमा बोली रक्षा ।
‘सक्दैनस् भने बस यै दिनभर बारीमा’ आमाको स्वर पनि चर्को रुपमा आयो ।
रक्षा केही बोलिन । केही बेर फेरि सन्नाटा छायो । सीता गोपालतिर पुलुक्क हेरी । बोली, ‘बोकेर लग गोपाल यलाई ? घरमै खाना बनाएको भए पनि त हुन्थ्यो ? बारीमा
आई फासो भयो कि भएन ?’
रक्षाको मन मुसुक्क हाँस्यो आमाको कुराले ।
सीता हातले उठाई छोरीलाई । रक्षा एउटा खुट्टाको झरले उभिई । गोपाल अगाडि उभियो । पछाडिबाट गम्ल्याम अंगालो मारी । सिनेमामा नायकले नायिकालाई बोकेझैँ । गोपाल बोकेर हिँड्यो रक्षालाई । रक्षाको योवनको मीठो सुवास । केसरासीले पोखिरहेका थियो । सासले पोखिरहेको थियो । अनुहारको क्रिमले पोखिरहेको थियो । शरीरका अंग–अंगबाट छताछुल्ल भएर पोखिएका थिए । यौवनको मिठो उन्मानमा
केही बेर हरायो गोपाल ।
रक्षा लपक्क शीर अड्डाई गोपालको कुममा । एकतिर गोपालको यौवनको मीठो उन्माद । अर्कोतिर विपरीत लिङ्गको स्पर्श । अथाहा आनन्द भयो उसलाई । दुबै आँखा चिम्ली ।
लामो सास फेरि भित्रैबाट । सुख र शान्तिको सास । एकदिन भए पनि । शान्ति पायो उसको मनले । सुख पायो उसको शरीरले । मनमनै बोली– ‘तिम्ले यसरी बोक्छौ भने म त जानीजानी खुट्टा काटिरहन्छु ।’
१५ दिनपछि
सीता बिहानै उठी । झ्याल खोली । बाहिर हेरी । उज्यालो कुनै आभाष देखिन । स्वच्छ थियो गगन । चकमक्क थियो जूनको रवि । पुलुक्क हेरी नभमा । तीन आख्ली तारा माथि नै थियो ।
फेरि सुत्न कोसिस गरी । सकिन । उठेर नित्य कर्ममा लागी । लपक्के ढोका पोती राता माटोले । गाग्री छोपी । कुवातिर लागी । दुई गाग्री पानी बोकी । एउटा गाग्री भान्सामा राखी । अर्को बाहिर पेटीमा । सुकेका दाउरा खोजी । आगो बाली । बइँगलमा गई । ठूलो ताउलो थियो बइँकलमा । ल्याई ।
ताउलोभरि पानी डोसी । दनदनी आगो बाली तलबाट । पानी भतभत पाक्यो । एक बाटा खरानी राखी तातो पानीमा । खरानी घोटी खीर पकाउदाझैँ । खरानीले सेतो भयो पानी । तन्ना चोपी तातो पानीमा । सिरका खोल चोपी । डसनाका खोल चोपी ।
ढोकाबाट आग्लो भिकी । आग्लोले धेरै बेरसम्म खादी खादी चलाई रई । केही बेर पछि छङ्ग उज्यालो भयो । गोपाल उठ्यो आँखा मिच्दै । रक्षा पनि उठी । गोपाल ढोकामा बोक्यो कपडाको तातो ताउलो । अमूर्य कुवातिर लाग्यो । सीता र रक्षा पछि–पछि लागे कुवातिर ।
केही बेर तीनै जनाले मिचिमिची तन्ना र खोल धोए । मिच्ने काम सकियो । बाकी रह्यो पखाल्न । रक्षा र गोपालले कुवाबाट पानी निकाल्न थाले । सीता पखाल्न थाली । गोपाल कुवाबाट पानी तान्दै थियो ।
रक्षाले रित्तो बाल्टिन गोपालले तान्दै गरेको बाल्टिनमाथि खसाली । आधाभन्दा धेरै पानी पोखियो बाल्टिनबाट । गोपाल पुलुक्क हे¥यो रक्षातिर । रक्षा मुसुक्क हाँसी । थाहा नपाएझैँ । गोपाल केही बोलिन । मुसुक्क हाँस्यो मात्र । रक्षाको चाल देखेर ।
रक्षा फेरि रित्तो बाल्टिन ढोकी गोपालको भोरी पानीको बाल्टिनमाथि । बाल्टिनको बल्लले गोपालको हातबाट झन्नै डोरी फुत्केन । चनाखो भएर फुत्कनबाट जोगायो । रक्षा कुवाभित्र घोप्टो परी । निकै बेर खित्का छोडेर हाँसी रई । पानीको आवाजले हाँसो बाहिरसम्म आएन । कुवाभित्रै रह्यो ।
केही बेर चलिर¥यो बाल्टिन हान्ने प्रेममय खेल । गोपालले सक्यो । गोपालले हान्थ्यो । रक्षाले सक्थी । रक्षा हान्थी । सबै भाँडा भरिभराऊ भए पानीले । नजिकै अजम्बरीको बार थियो । सीता बारमा तन्ना सुकाउन जाँदै थिई । राजन दगुर्दै आयो र बोल्यो, ‘अन्टी एकछिन घरमा जानु रे छिटो । अंकलले बोलाउन पठाउनु भा हो मलाई ।
अर्जेन्टी काम छ रे ।’
सीता घरतिर जाँदै बोली, ‘पख एकछिन पानी चाहिन्न । म आउछु र झिकौला ।’ दुबैका कुवामा हालेका बाल्टिन कुवामै रोकिए । डोरो हातमा पकडेर अभ्भिए । अघिको कुवाको हलचल पानी । कसैले नझिकेपछि शान्त भयो । कुवाको पानीझैँ दुबै शान्ति भए । खेल सकियो । स्पष्ट देखिन थाले पानीमा माछा र मान्छेको आकृति ।
गोपाल कम्मरदेखि माथिको भाग फोल्ड गयो । कुवाभित्र निहुरियो । कुवाभित्र पा¥यो कम्मर माथिको भाग । माछाको खेल रमाई–रमाई हेर्न थाल्यो । रक्षा पनि छातीदेखि माथिको भाग फोल्ड गरी । कुवाभित्र निहुरिई । कुवाभित्र पारी छातीमाथिको भाग ।
एकटकले पानीमा हेरी । रमाई–रमाई माछाका रमाइलो खेल हेरिरई ।
माछाको खेलमा रमाइरहेकी रक्षा । एक्कासी उसको नजर माछाबाट पानीमा आफ्नो आकृति माथि प¥यो । हेरिरई ऐनामाझैँ आफ्नो छायाँलाई । सिलिक्कको कालो र लामो कपाल । घोप्टो पर्दा सर्लक्ल टाउकाबाट झरेको थियो । पुरै मुख छोपेको थियो कपालले ।
केही कपालका धस्रा दाया कानको जरामा कोचारी । केही बाया कानको जरामा । केही टाउको पछाडि लगी र डल्लो पारी । पानीमा माछाको खेल हेरेर रमाइरहेको गोपाल । एक्कासी उसको नयन रक्षाको आकृतिमा प¥यो । कपाल मिलाई रहेको देख्यो । मुसुक्क हाँस्यो पानीमा रक्षाको मायालु छाया हेरेर ।
अगाडिको लामो कपाल थियो गोपालको । दुबै हातका दश औलाले तान्यो । अगाडि ल्यायो । पुरै निधार आँखा ढाक्यो कपालले । दुबै हातका चोर औला मुख हाल्यो । दुबैतिबाट तान्यो मुखलाई ।
पुरै मुख च्यातियो । बंगारासमेत देखिए । सुन्दर दाँत पनि दाह्राजस्ता देखिए । कपाल मुख र दाह्राले रक्षनीकोझैँ आकृति देखियो पानीमा ।
रक्षा रिसाई अभिनय गरी । आफूलाई राक्षनी ठानेकोमा । दुबै हातका दश औलाले मुख छोपी । औलाका कापबाट पानीमा हेरी । गोपाल पेट मिचिमिची हाँसेको देखि छायामा । उसलाई पनि बेकुफ बनाउने मन लाग्यो ।
रक्षा गोपालतिर पुलुक्क हेरी । ऊ पानीमा हेरिरहेको देखी । फेरि पानीमा हेरी । गोपालको अनुहारको छायाँमा हेरी । आफ्नो अनुहार बिगारी । बाँदरकोझैँ बनाई । दुरुन्तै बाँदरको आकृति देखियो पानीका । गोपालको मुख मलिन बनायो आकृति हेरेर । रक्षा मुख छोपी–छोपी हाँस्न थाली । हाँसोले नयनका आँसुसमेत झरे रक्षाका ।
रक्षाको जब हाँसो थामियो । गोपाल जोसियो । लाटी बन्यो । लाटीलेझैँ पानीमा छाया हेर्दै एक्लै अभिनय गर्न थाल्यो । अभिनय पछि गोपाल फेरि हाँस्यो । उस पाली रक्षा पनि हाँसी । मीठो हाँसो । गोपालको हाँसो थामिएकै थिएन ।
रक्षा कुकुरकोझैँ मुख पारी । कुकुरले शिर हल्लाएर झुकेझैँ शिर हल्लाउन थाली । स्पष्टरुपमा कुकुरको आकृति देखियो पानीमा । गोपाल फिक्का हाँसो हाँस्यो । आकृति हेर्दै । रक्षा रंगीन हाँसो हाँसी । गोपाल बौलानीको अभिनय गर्दै थियो ।
झ्वाम्म माथिबाट बाल्टिन खस्यो पानीमा । मुटुले सातो छोड्यो दुबैको । खग्रिन गरे । पानी तरंगित भयो । हरायो पानीभित्रको आकृति । पुलुक्क हेरे दुबैले बाल्टिन फाल्ने मान्छेमाथि । बूढी डल्ली थारुनी रहिछे । ऊ कुवाबाट पानीको बाल्टिन तान्दै बोली– ‘ए बुडी ! जुँगे सोत्वाम मच्छी मार गैरल सक्कु लर्का–पर्का । जाओ, टुरफे वहीँ । मच्छी मार परठ, हेरख केल्ह हुइठा ?’
दुबैले उनको कुराको मतलबै गरेनन् । उनीहरू आफ्नै दुनियाँमा थिए । सांकेतिक प्रेमको मीठो दुनियाँमा । एक पटक दुबैले हेराहेर गरे । दुबै फिक्का हाँसो हाँसे । गोपाल जाँगर नलाई–नलाई कुवाबाट बाल्टिन झिक्यो । घोप्टो परेर गोडा धुन लाग्यो । रक्षाको मनले मानेन । फेरि कुवाको पानीमा हेरी । त्यहाँ अघिको आकृति देखिन ।
मन अमिलो भयो । बाल्टिन झिकी कुवाबाट । पानीजस्तै चिसो मनले । केही पर गई । थचक्क बसी हरियो घाँसको आलीमा । घोप्टो परी । सुरुवालको आधा भाग पुरै भिजेको थियो । हातले अमिलो निचुरेझैँ सुरुवालको पानी निचुरी । दुःखी मनले आफूले आफूलाई प्रश्न गरी– ‘कतै हाम्रो माया पनि पानीभित्रको आकृति त होइन ? अस्पट । अधुरो । अपुरो । छैन भनौ छ । छ भनौ मूर्त रूप छैन ।’
यस्तै हुन्छ पे्रममा ? नयन एक्टिप । ओठ प्यासिफ । भाव छ । भाषा छैन । दर्द छ । चोट छैन । प्यास छ । पानी छैन । रात छ । नीद छैन । देख्दा लुक्न मन लाग्ने । नदेख्दा खोज्न मन लाग्ने । डर, लाज, तिर्सना र कौतुहलताको पर्यायवाची शब्द हो साँचो प्रेम ?
माया अनुभूति मात्र भए किन विज्ञापन गर्छन् त प्रेमीहरू ? किन झुटो नाटक गर्छन् पे्रमको नाममा ? किन जून झार्ने झुट्टा कुरा गर्छन् ? किन संसार छाड्ने बाङ्गा कुरा गर्छन् ? आकास छुने कुरा हो कि ? भोगाई हो माया ? ऊ सागरभन्दा गहिरो प्रेम गर्छ ।
एउटा शब्द गर्छु भन्न सक्दैन । म आकाश भन्दा विशाल प्रेम गर्छ । पे्रमको प भन्न पनि मलाई चार ओटा सगरमाथा चढ्दा भन्दा पनि गाह्रो हुन्छ । के प्रेमको अगाडि सधै पर्दा लाइरहन्छ ? कि कुवाको पानी हो प्रेम ? जति भरिए पनि छल्किएर नपोखिने ? ’
सोच्दा सोच्दै दिमागले काम गर्न छोड्छ । आफै अनयोलमा पर्छे रक्षा । तर्तर आँसु झर्छ गहँबाट । पुलुक्क हेर्छे गोपालतिर । ऊ माछा मार्ने तलतिर झरिरहेको हुन्छ । अमिलो मनले देखिदासम्म हेरिरहन्छे पछाडिबाट । क्रमशः
