Goraksha

National Daily

महाभारत कथाभित्रका कथा : राजा नहुषको कथा

राधेश्याम उपाध्याय
एक दिन भीम सिकार खेल्न गएका थिए । बाटोमा एउटा ठूलो अजिङ्गर देखियो र भीमलाई देख्ने बित्तिकै भीमको शरीरमा बेरियो । जति जति भीम फुत्किनलाई बल गर्दथे उति उति अजिङ्गर भीमको शरीरमा कसिन्थ्यो ।

भीमको शक्ति क्षीण हुन थाल्यो र भीम आत्तिन थाले र तिमी को हौ ? भनी सोधे । अजिङ्गर पनि मानिसजस्तै बोल्न थाले म नहुष हुँ भने । पुरुरवा र उर्वसीको छोरा आयु थिए । आयु र स्वभानुकी छोरी बाट नहुष जन्मेका थिए । त्यस समयमा नहुष प्रतापि र धार्मिक राजा थिए ।

पृथ्वी लोकमा उनको निकै वैभव थियो । त्यसै समयमा देवराज इन्द्रले बृत्रासुर लाई मारे पछी तिनलाई ब्रम्हहत्या पाप लाग्यो र उनि मानसरोवर तालमा कमलको फुलको नालमा बसी प्रयश्चित्तका लागि तप गर्न लागे । स्वर्गमा ईन्द्रस्थान खालि हुन्छ । इन्द्रासन खालि गर्न नहुने भएकाले पृथ्वी लोकबाट उनलाई स्वर्गमा राजा बनाइन्छ । उनि केही समय स्वर्गका राजा हुन्छन । उनी शक्तिशाली र सामथ्र्यवान् हुन्छन् । मानिसमा जव शक्ति र सामथ्र्य हुन्छ त्याहाँ अहमता जन्मन्छ ।

नहुषलाई पनि अहमता चढ्न थाल्यो । उनले स्वर्गको राजा इन्द्र म भएपछी स्वर्गकी रानी सचिलाई पनि मैले भोग गर्न पाउनु पर्छ भनी सोच्न लागे । उता देवराजले अश्वमेध यज्ञ गरेर ब्रम्हहत्याको पाप कटाए । केही बाँकी रहेको पाप लाई चार भाग लगाएर वृक्ष, नदी, पृथ्वी र स्त्रीहरुमा बाँडी दिए र आफू चोखिए ।

नहुष को इन्द्राणी सचि प्रति आशक्ति बढ्दै गयो । स्वर्गका अरु देवता र देवगुरु समेत नहुषको कमजोरी खोजी पतित गराउने र देवेन्द्रलाई पुनः स्वर्गमा राजा बनाउने काममा लाग्न थाले । एक दिन सचिले देवगुरु वृहस्पति संग गएर नहुषले आफुलाई बलप्रयोग गर्न लागेको र यस बाट आफूलाई बचाउन प्रार्थना गरिन् । देवगुरु वृहस्पतिले उपाय सिकाए ।

जब नहुषले आफूसँग विवाह गर्ने प्रस्ताव राखे तव सचिले भनिन् हे नहुष सप्तऋषिहरुबाट पाल्की चढी आउनुस अनि विवाह गरुला । यो सुनेर राजा नहुष खुसी भए र सप्तऋषिहरुले पनि राजाको आज्ञा हो भनि स्वीकार गरे । उनी ऋषिहरुबाट पाल्की चढी आउदै थिए । ऋषिहरु कहिले पनि पाल्की नबोकेका विस्तारै हिँड्न थाले ।

राजा नहुषलाई अहम्ताले छोप्यो र अगस्त्य ऋषिलाई पाल्की बाट लात्तिले हाने र छिटो हिंडन भने । ऋषिको क्रोध जाग्यो र उनले भने हे मुर्ख तेरो बहुत घमण्ड बढेछ– ‘तेरा धर्म नष्ट होस र दश हजार वर्षसम्म पृथ्वीमा अजिङ्गर भएस’ भनी श्राप दिए । यो सुनेर नहुष डराए र ऋषिका शरणमा परी श्राप मुक्तिको लागि याचना गरे ।

यो देखेर ऋषिमा दया जाग्यो र पाण्डवहरुको वनवासको समयमा युधिष्ठिरसँग भेट हुने र धर्मको विषयमा वार्तालाप गरे पछि श्रापबाट मुक्ति पाउने उपाय सिकाई दिए । त्यो बेला सम्म अजिङ्गर भै द्धैत वनमा गई वस्नु र जे भेटाउछौ त्यही खानु । त्यो वेला जस्तो शक्तिशाली जनावर आए पनि तिम्रो वसमा पर्नेछ भनी मुक्तिको बाटो पनि सिकाई दिए । साथै मेरो दुर्गती देखी दयालु भै चिन्ता नमान तिम्रो छिट्टै मुक्ति हुनेछ भने ।

यसरी अजिङ्गर भएका नहुषले भीमलाई समातेका थिए र दुवैको वार्तालाप हुँदै थियो । उता आश्रममा अनेक थरिका हल्लाहरु हुन थाले । युधिष्ठिरले आत्तिएर भीम खै भनी द्रौपदीलाई सोधे । द्रौपदीले पनि सिकार खेल्न जङ्गल गएको धेरै वेर भएको भनिन् । युधिष्ठिर आत्तिदै गुरु धौम्यलाई लिएर भीमलाई खोज्न जङ्गलतर्फ लागे ।

बाटामा भीमको पदचाप पछ्याउदै भीम भएको ठाउमा पुगे र भीमको दुर्गती देखे । युधिष्ठिर नजिक गए र तिमीलाई चाहिएको जे भन्छौ त्यही ल्याई दिन्छु भीमलाई छोडी देऊ भने । दुवैमा शास्त्रास्त्र हुन्छ धर्म तथा नीतिमा प्रश्नोत्तर चल्दछ । युधिष्ठिरले सोधका सवै प्रश्नको अजिङ्गरले सही उत्तर दिन्छन् । नहुष श्रापदेखि मुक्त हुन्छन् र अजिङ्गरको रुप छोडेर पहिलेको भन्दा सुन्दर रुपमा प्रकट हुन्छन् ।

युधिष्ठिरलाई पनि पहिलेको अगस्त्य ऋषिबाट श्राप पाएको र अहिले आफुले मुक्ति पाएको सवै बृतान्त भने । आफ्नो उद्धार गरी दिएकोमा युधिष्ठिरलाई डण्डवत गरे । त्यही बेला एक दिव्य विमान आयो र नहुष स्वर्ग गए । युधिष्ठिरहरु पनि भीम लाई लिएर आश्रम तर्फ लागे ।

केही समय द्वैत वनमा बसे र त्यसपछि काम्यक वनमा गए । त्यहाँ श्री कृष्णजी सत्यभामालाई साथमा लिएर भेट गर्न आउनु भयो । आपसमा कुशल मंगलका वार्तालाप भए । त्यही समयमा मार्कण्डेय मुनि आफ्ना शिष्यहरुका साथ आउनु भयो । नारद पनि त्यही बेला आउनु भयो । मार्कण्डेय मुनिले युधिष्ठिरलाई अमरत्वको ज्ञान दिए । एक दिन मार्कण्डेय मुनिले पहिलेको एक कथा सुनाउन लागे ।

वैवस्वत मनु र मत्स्यावतारको कथा :

कुनै समयमा वैवस्वत नाम गरेका एक विवस्वान् का छोरा थिए । उनको नाम सत्यव्रत पनि थियो । एक दिन सत्यब्रत नदीमा नुहाउँदै थिए । एउटा सानो माछा आएर मलाई ठूला माछाले खान थाले मलाई बचाउ भनी भन्न लागे र सत्यब्रतले पनि उन लाई लगेर गाग्रामा सुरक्षित साथ राखे ।

माछा पनि छिटो छिटो बढेर गाग्रामा नअटाउने भयो र वैवस्वत मनुले उसलाई लगेर सरोवर (तालाउ) मा राखे । तलाऊमा पनि नअटाउने भएपछि माछालाई गंगा (नदी) मा लगेर राखे । माछा बढ्दै जाँदा नदीमा नअटाउने भएपछि समुद्रमा छोडन गएका थिए हाँस्दै माछाले भने हे सत्यब्रत तिमीले मलाई सदा हरतरहले रक्षा ग¥यौ ।

म यस समयमा जुन कामले उपस्जित भएको छु र तिमीलाई सुनाउछु भनी सुनाउन लागे कही समय पछि चराचर जगत प्रलय हुँदैछ । समस्त ब्रह्माण्ड डुब्दछ । त्यसैले एउटा ठूलो नाऊ (डँुगा) बनाउ र सप्तऋषिहरुलाई सँगै लिएर र पृथ्वीका सम्पूर्ण औषधि एवं अन्नका बीजहरु राखी डुँगा डोरीले बाँधी सोही डोरी समाई यही ठाउँमा बस्नु भनी अह््राइ मलाई चिन्नका लागि मेरा दुई सिङ हुने छन् भनी माछा बिलए भए ।

प्रलयको समय भयो मनु पनि सप्तऋषिहरुसहित पृथ्वीका सबै औष्ािध एवं अन्नहरुको बीज डुंगामा राखी डोरी समाएर तयार भै बसिरहेका थिए । समुद्रको जल बढेर सम्पूर्ण पृथ्वी ढाक्यो कहीं पनि पथ्वी देखिएन । ठूलो हावाहुरी चल्न थाल्यो । समुद्रका छालहरु उर्लन थाले डुँगा डुब्ला जस्तो भयो । वैवस्वत मनु र सप्तऋषि डराउन थाले र मत्स्य भगवानको प्रार्थना गर्न थाले ।

यो सुनेर दिव्य प्रभा फिँजाई माछा रुपि हरि भगवान (जस्को सोह््र हजार योजनको शरीर थियो) ले दर्शन दिए । सबैले मत्स्यरुपी भगवानलाई दण्डवत प्रणाम गरे । मनुले माछाको सिंगमा तुरुन्तै डोरीले बाँधे । मत्स्यावतार भगवानले निकै दिन उक्त डुंगा ताने र उत्तर हिमालयतर्फ लगी सप्तऋषिहरु र वैवस्वतमनुलाई सृष्टिमा मन लगाउ भनी मत्स्यावतार अलप भए । त्यस ठाउलाई अहिले पनि नौकाबन्धी भन्दछन् ।

मार्कण्डेयले यस्तै धेरै पौराणि कथाहरु सुनाई रहनुभएको थियो । एक दिन युधिष्ठिरले स्वामी कार्तिकेयको उत्पत्तिको कथा सुन्ने विचार गरे । मार्कण्डेयजी ले पनि स्वामी कार्तिकेयको उत्पत्तिको कथा सुनाउँदा भए ।

स्वामी कार्तिकेयको उत्पत्ति

अग्निका छोरा अंगिरा भए । अंगिरा बावु अग्निभन्दा पनि तेजिला थिए । त्यसैले अंगिराका अगाडि अग्नि निस्तेजझै देखिन लागे । आफ्नो दुर्गती भएको देखेर अग्नि खिन्न भए र उनले अंगिरालाई मेरो काम पनि तिमीले नै गर भने । अंगिराले पनि बावुको यस्तो कुरा सुनेर मलाई छोरा मानेर स्वीकार्नु होस् र आफ्नो तेज प्राप्त गरी पहिलेका जस्तै आफ्नो सवै काम गर्नुहोस् भने । अग्निले पनि सो कुरा स्वीकार गरे ।

अंगिराले आफ्नो पनि तेज थपि दिए र अग्निले पहिलेका जस्तै आफ्नो सबै काम गर्न लागे । अङ्गिरामुनिका आठ छोरी र सात छोरा जन्मिए । वृहस्पति, वशिष्ठ, विश्वमित्र, भारद्धाज, अत्रि, वामदेव र शौनक आदि छोराहरु जन्मिए । ती मुनिका सात छोराका सात पत्नीहरु अति सुन्दर थिए । यी सप्तऋषिहरुका सात पत्नीहरुप्रति अग्नि अति मोहित थिए र उनले ऋषि पत्नीहरुलाई वसमा गर्न निकै प्रयास गरे ।

धेरै प्रयास गर्दा पनि सकेनन् र सन्ताप मानेर अग्नि केही दिनका लागि तप गर्न ठूलो वनमा गए । दक्षप्रजापतिकी छोरी स्वाहाले पहिलेदेखि नै अग्निलाई मन पराएकी थिइन् । उनलाई मौकाको खोजी थियो । यो थाहा पाएर स्वाहाले सप्तऋषिका सात पत्नीहरुको रुप धारण गरेर पालै पालो अग्निसँग समागमन गर्न लागिन् । ६ पटकसम्म ६ ओेटीको रुप धारण गर्न सजिलरी सकिन् तर सातौं पटक अरुन्धतीको रुप धारण गरेर जान लाग्दा स्वाहाले अरुन्धति सति भएका कारणले उनको रुपधारण गर्न सकिनन् ।

त्यसैले स्वाहा अग्निका सामु जाने वित्तिकै अग्निले चिनी हाले र यस्तो कुकर्म नगर्नु भनी हप्काए । अग्निलाई झुक्काएर ६ पल्ट जुन वीर्य स्वाहाले प्राप्त गरिन् त्यो अग्निको वीर्य रिसले अमृतकुंडमा फालिदिइन् । अमृतकुण्डमा पर्ने वित्तिकै वीर्य मोथियो । त्यसबाट आग्निको जस्तो तेज बाह््र लामा(लामा हात र छ टाउका भएका कार्तिकेयको जन्म भयो । यो थाहा पाएर वृत्रासुर मेरो काल जन्मियो भनी डरायो ।

एकपल्ट इन्द्रले यो बालकलाई मार्छु भनी आफ्नो वज्र हाने कार्तिकेयले मुख आँ गरेर आनन्दका साथ बज्र निलिदिए । पूर्णिमाका चन्द्रमा झै कार्तिकेय बढ्न लागे । एक दिन कार्तिकेयले शंख फुके र धेरै पर्वतहरु ढालिदिए । एउटा अग्नि बाण हानेर तिनै लोक ब्याकुल पारिदिए । चारैतिर जल्न लाग्यो स्थिति भयावह भयो । तिनको बल देखेर इन्द्र डराए ।

इन्द्र कार्तिकेयका साम्ने आई हात जोडी तिम्रो उपद्रव धेरै भई चारैतर्फ विनास भयो सबैको रक्षा गर आफ्नो उपद्रवलाई रोक बरु भन तिमी के चाहन्छौ भने । स्वर्गमा राजा भएर बस र सवैको रक्षा गर भने । इन्द्रको यस्तो कुरा सुनेर कार्तिकेय खुसी भई मदेखि डराउनु पर्दैन भने । तिम्रो राज्य अकण्टक छ भने । यो सुनेर इन्द्र खुसी भए र आफ्ना सेनाको सेनापति बनाए ।

केशी नाम गरेको दानवकी छोरी इन्द्रले पहिला खोसेर लगेका थिए । तिनै कन्या पत्नीका रुपमा स्वीकार भनी दिए र इन्द्र स्वर्ग गए । पछि महिष नाम गरेको राक्षसले धेरै उपद्रव ग¥यो र इन्द्र डराएर भागे इन्द्र पदमा महिष दानव बस्यो । इन्द्र आसनले मात्र उसलाई पुगेन शिव लाई जितेर ईश्वर हुन्छु भनेर कैलाश खोज्दै गयो । महिष दानवको त्यो उपद्रवदेखेर कार्तिकेय क्रोधित भए र महिषलाई मारि दिए । शिव धेरै खुसी हुनुभयो र तत्काल आई दर्शन दिनुभयो । अग्नि पनि मेरै रुप हुन् त्यसले आजदेखि तिमी मेरा छोरा भयौ भनी स्वामी कार्तिकेय नाम राखी आफूसँग राख्नुभयो ।

कार्तिकेयले बृत्रासुरलगायतका अरु पनि धेरै दानवहरु मरिदिए । आफ्ना शत्रुहरु मरी दिएकोे देखी देवताहरु खुसी भई स्तुति गर्न लागे । एक दिन आफ्नो छोरा भनेर स्वाहा भेट गर्न आइन् र छोरासँग आफ्ना दुखहरुको वर्णन गरिन् । कार्तिकेयलाई उनको जन्म कथा सुनाउँदै अग्निले आफूलाई पत्नीका रुपमा स्वीकार नगरेकाले आफू दुखी भएको र जसरी पनि आफूलाई अग्निले पत्नीका रुपमा स्वीकार गर्दछन् त्यसै गर्न कार्तिकेयसँग अनुरोध गरिन् ।

आमाको यस्तो वचन सुनेर तत्काल कार्तिकेयले पनि हे आमा अब ‘जस्ले अग्नि कुण्डमा होम गर्ला उस्ले स्वाहाका नामले आहुति दिनेछ’ अग्निले प्रत्येक हवनमा तपाईको नाम सुनेर लज्जित हुनेछन् र त्यही कारणले लज्जित भै विवस हुनेछन् र तपाईसँग बस्नेछन् । चिन्ता नमान्नु होस् भनी आमा स्वाहालाई वरदान दिए भनी मार्कण्डेय मुनिले युधिष्ठिरलाई सुनाउनुभयो ।