Goraksha

National Daily

पितृ पूजा किन ?

गुरुप्रसाद शर्मा रेग्मी
यही भाद्र महिनामा पितृ पूजा गर्ने पक्ष लाग्दै छ । यो पितृ समक्ष आफ्ना दिवंगत भएका पितृहरुलाई देवताको रुपमा मानेर उनीहरुलाई सन्तुष्ट पारेर आशीर्वाद लिनको लागि श्राद्ध गर्ने गरिन्छ । तर आयातीत संस्कृतिको प्रभावमा परेर कसैले श्राद्ध नै गर्दैनन् ।

कसैले तर्पण मात्र दिने गर्दछन् । कसैले तर्पण र पिण्ड दिने गर्छन् । गाडीमा ब्रेक नहुनु र मानिसमा संस्कृति र संस्कार नहुनु क्षतिको कारण बन्न सक्दछ । यही हामीमा रहेका कमजोरीहरु देखाउन र श्राद्ध (पितृपूजा) किन र कसरी गर्ने, यो गर्दा के कसरी पितृहरुले पाउँदछन् । यही कुरा देखाउनको लागि सोह्रश्राद्धको प्रसादीको रुपमा पाठकहरु सामू पारिदिएको छु । पितृ पूजा गरेर आशीर्वाद लिनुहुने छ र आफू र आफ्नो पविारप्रति कल्याण गर्नुहुने छ ।

पितृ र देवताको अस्तित्वबारेमा मानिसहरुमा व्याप्त भ्रम र अज्ञानता नै उनीहरुको दुःख र कष्टको कारण बन्न गएको हुन्छ । प्राचीनकालदेखि प्रचलित धर्म, संस्कृति, परम्पराका कुराहरु झुठा र गलत अवश्य पनि छैनन् । तर मानिसहरु भौतिक झिलिमिली र चमकधमकतर्फ बढी आकर्षित हुने प्रवृत्तिका कारणले गर्दा धर्म रुपी हिरालाई मानिसले पहिचान गर्न नसकेकाले उसलाई दुःख र कष्टको भुमरीमा पर्नुपरेको छ ।

अरुको लहलहैमा लागेर या प्रलोभनमा परेर, धर्म परिवर्तन गरेर आएको आयातीत धार्मिक विचारले इष्ट देवता, ग्राम देवता, कूल देवता, पितृ देवताहरु नै कमजोर अवस्थामा रहनुपरेकाले नेपाली जनतालाई दरिद्रता, अशान्ति, दैविक प्रकोप, अपराध, भ्रष्टाचार, हिंसा, दुव्र्यसनजस्ता विकृतिहरुको शिकार हुनुपरेको छ ।

पितृहरुको सेवालाई वैदिक र धार्मिक शास्त्रले अति महत्वपूर्ण ठहर गरेको हुँदा प्रत्येक सन्तानले आफ्ना जीवित पितामाता या मृत भएका बुबाआमालाई देवताको रुप मानेर आस्था र निष्ठा राख्नु पर्दछ र सेवा र पूजा गर्नु पर्दछ । मृत बाबुआमाको श्रचम गर्ने गरिन्छ । श्राद्ध भनेको श्रद्धा हो । जीवित रहँदासम्म तातो न्यानो लगाउन र खान नदिने ।

मरेपछि तामझामका साथ श्राद्ध गर्ने र पिण्ड दिनुको कुनै अर्थ हुँदैन र त्यसबाट सन्तान र पितृलाई कुनै लाभ पनि हुँदैन । मातापिता नै देवता हुन् । उनले ऋणबाट मुक्त हुन सकिँदैन । अहिलेको नयाँ पुस्ताले आफ्नो कोठामा हिरो हिरोइनको फोटोहरु, खेलाडीका फोटोहरु, ख्याती प्राप्त व्यक्तित्वका फोटोहरु राखेको हुन्छ । तर आफूलाई जन्म दिने, हुर्काउने, पढाउने, लेखाउने बुबाआमाको फोटो राखेको देखिँदैन । के यसले बुबाआमाप्रति श्रद्धा, आस्था र निष्ठा भएको देखाउँछ ।

मानिस देवऋण, मातृपितृ ऋण, ऋषिऋणबाट मुक्त हुन पितृ पूजा गर्नैपर्ने हुन्छ । पितृ खुशी नभएसम्म देवता खुशी हुँदैनन् । त्यसैकारणले पितृपूजाको महत्व हुन गएको हो । ऋगवेदको १० मण्डलको १५ सुक्तमा पितृ सुक्त रहेको र त्इसमा सम्पूर्ण लोकका पितृहरु, अतृत्प आत्माहरुलाई आह्वान गरी अग्निद्वारा तिनलाई सन्तुष्ट गराउने विधि ऋषिशंखयामायनले उल्लेख गरेको देख्न सकिन्छ । यसले के कुराको पनि पुष्टि गर्दछ भने वैदिककालमा पनि पितृ यज्ञ गरी पितृहरुलाई सन्तुष्ट पार्ने पद्धतिको विकास भएको रहेछ ।

अब यो पितृ यज्ञ कसरी गर्ने भन्ने सम्बन्धमा के उल्लेख गरिएको देखिन्छ भने विभिन्न वासनायुक्त वनस्पतिहरु, जडिबुटीहरु, जौँ, तील, घ्यूको मिश्रणबाट बनेको चरुलाई आफ्ना मृत पितृहरुको गोत्र, नाता, याम सबै स्पष्ट खुलाई हातमा लिएको चरु अग्निमा स्वाहा भनेर हवन गरिन्छ भने त्यो नै वैदिक पितृयज्ञ हो । तर्पणी कार्यभन्दा अग्नियज्ञको कार्यबाट पितृहरु बढी सन्तुष्ट हुन सक्दछन् ।

सामान्यतया देवताहरुलाई पुष्पयुक्त जल, ऋषिहरुलाई कुशयुक्त जल, पितृहरुलाई तीलयुक्त जलले तर्पण दिने भनिएको छ । तर वैदिक पितृयज्ञमा अग्निमा हवन गरेर पितृहरुलाई सन्तुष्ट पार्न सकिन्छ भनिएको छ । देवताहरुको प्रत्यक्ष रुप नै अग्नि भएको मान्यता छ । दिवंगत भएका पितृहरुको आत्माको गति एउटै हुँदैन । स्वर्ग, नर्क, पाताल, वनजंगल, घाँसपात, जलाशय कहीँ पनि अल्झिएर भड्किएका हुनसक्छन् ।

यस्ता सबै खाले अवस्थामा रहेका पितृहरुलाई जलद्वारा या अग्निद्वारा तर्पण दिन सकिन्छ । जलद्वारा गरिने तर्पणमा वरुण र नाग देवता मात्र हुन्छन् । अग्नि तर्पणमा स्वयम् अग्नि देवताको सक्रियता रहेको हुन्छ । जल सधैँ तलतिर बग्ने पदार्थ भएकाले तल्लो लोक, वायुमण्डलसम्ममा रहेका पितृहरुको मात्र पाउन सक्दछन् ।

अग्नि उध्वगामी हुने भएको र अग्निमा रहेको धरातलीय तापक्रमले गर्दा जताततै जेजस्तो अवस्थामा रहेका सबै पितृहरुलाई प्राप्त हुनसक्दछ । हाम्रा पितृहरु कुन अवस्थामा कहाँ छन् हामीलाई जानकारी हुने कुनै आधार छैन । त्यसैले जलले तर्पण दिनुभन्दा अग्निमा चरु होम गरेर तर्पण दिनु अतिउत्तम हुन्छ भन्ने कुरा ऋगवेद नै सिद्ध गरिदिएको छ ।

अधिकांश देवताहरु पितृ नै हुन्छन् । रामकृष्ण बुद्ध सबै यस धरतीमा जन्म लिएका थिए । यही धरतीमा कर्म गरेर मृत्यु अँगालेका हुन् । जब हामीले उनीहरुलाई र आफ्नो गोत्रको ऋषिलाई पूजाअर्चना गर्दछौँ तिनै पितृहरु नै देवता हुन भन्ने कुरा नकार्न मिल्छ जस्तो लाग्दैन । यही कारणले गर्दा पितृ खुशी नभएसम्म देवता खुशी हुँदैनन् भनेर भनेको हुनुपर्छ ।

पितृहरुको एकदिन उनका सन्तानको एक वर्ष हुन्छ । वर्षमा एकपटक श्राद्ध (श्रद्धा) गर्ने । तर्पणादिका कुरा शास्त्रमा उल्लेख छ । जसको मृत्यु भएको छ ऊ पितृलोकमा पुग्न सकेको छैन । देवलोक प्राप्त भएको छैन । यही अन्तरलोक पृथ्वीलोकमा प्रेतात्मा भएर भड्किरहेको हुन्छ । त्यस्ता प्रेतात्माहरु अतृप्त भएर बसेका हुन्छन् । तिनीहरु अतृत्प भए भने अरुलाई पनि दुःख–कष्ट दिने गर्दछन् ।

यस्ता अतृत्प पितृहरुलाई पनि तृप्त गराउने उपाय नै अग्नि यज्ञ हो । यो अग्नि यज्ञले प्रेत अवस्थामा रहेका पितृहरुलाई मुक्ति गराउने मार्गको खोजी गराउन सक्दछ । यो संसारमा जसको जस्तो मति हुन्छ सोही अनुसार उसको गति हुने गर्दछ । मानिस मर्नेबेला उसको जो तृष्णा हुन्छ, जो भोग गर्ने इच्छा हुन्छ, जो सोच बनाएर मरेको हुन्छ उसको भावी जीवनको भाग्य यसैले बनाइदिएको हुन्छ ।

मिश्र देशका मानिसहरुको संस्कृतिमा उसको नाममा खरखजाना राखिदिने तथा उसको लाश हजारौँ वर्षसम्म सुरक्षित राख्न सकिने गरीजो पिरामीड बनाउने गरिन्थ्यो । त्यो वैदिक विज्ञानको आधारमा बनाइएको थियो भनेर मिश्रवासीहरु मान्दछन् र भन्छन् ।

यसरी मृत्युलाई सम्मानका साथ हेर्ने अरु धर्मावलम्बीहरुमा भक्तिभाव भए पनि हिन्दू संस्कारमा यो प्रक्रिया नै लोप हुन लागेको अवस्था छ । दाउरामा दाहसंस्कारको अलग महत्व छ । यसले वातावरणमा प्रदूषण फैलन दिँदैन भन्ने मान्यता हो । तर यतिबेलाको विजुलीको शवदाह गृह बनाएर लाश जलाउने गरिन्छ । यसले वातावरण प्रदूषित बनाइदिने गर्दछ ।

१३ दिनसम्म गरिने जोखो निधोको जीवनशैली किन बिताइन्थ्यो भचने यस अवधिमा दिवंगत आत्मालाई मृत्युपरान्तको प्रारम्भिक अवस्थामा असल पूर्वजन्मको अन्तिम स्थिति सहज र शरल बनाउनको लागि गरिएको प्रयास हो ।

यसलाई पनि विधिसंगत नबनाई प्रदर्शन गराउने काम भइरहँदा पनि हिन्दूहरु हातमा दही जमाएर बस्नु प्रतिकार गर्न नसक्नु, सरकारलाई दबाब दिन नसक्नुको कराण के हो ?