Goraksha

National Daily

नेपाली राजनीतिका शिखरपुरुष वीपी

भूवन पोख्रेल
नेपाली राजनीति र साहित्यको उतुङ्ग शिखर चढ्न सफल विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा आम जनमानसले एउटा प्रखर राजनैतिक व्यक्तित्वका रुपमामात्र नभई एक साहित्यको खम्बाको रुपमा सबैले पहिचान गर्ने मौका पाएका छन् ।

उनका दुईवटै पहिचान टड्कारो रुपमा देखापर्छन् । आफूलाई सानै उमेरदेखि राजनीतिमा समर्पण गरेका वीपीका साहित्यिक रचनामा प्रत्यक्ष रुपमा राजनीतिक छाप नदेखिनु उनको कुशल तथा विलक्षण प्रतिभाको परिचायक गुण हो ।

राजनीतिमा प्राजातान्त्रिक समाजवादको पक्षपाती कोइरालाले साहित्यमा फायड, युङ्ग, लरेन्स प्रभूति मनोविश्लेषण पद्धतिबाट प्रभावित भई नेपाली साहित्यमै नयाँ मोड वा घुम्तीको सुरुवात गरे । उनको राजनीतिक व्यक्तित्वलाई भुलिदिने हो भने पनि नेपाली साहित्याकाशमा उनको साहित्यिक व्यक्तित्व उच्चासनमा आसिन देखिन्छ ।

दर्जनौा साहित्यिक रचना सिर्जना गरेका वीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन् मैले कहिल्यै पनि आफ्नो बारेमा लेख्ने प्रयास गरिनँ । मलाई के लाग्दछ भने, अहिले पनि लाग्दछ कि मैले त्यसतो कुनै कुरा गरेको छैन जुन इतिहासको रेकर्डमा रहोस् । अझ मैले धेरै काम गर्नु छ अहिल्यै मैले आफ्नो बारेमा लेखने बेला भएको छैन जस्तो उनलाई लागेका हुनाले जीवनको अन्तिम समयमा वीपीको आत्मवृत्तान्त प्रकाशित भएको हो ।

मृत्यु शै®याबाटै भन्नुभएका वीपीका कुराहरुलाई टेपमा रेकर्ड गरी संकलित गरी लेखिएको नै वीपीको आत्मवृत्तान्त हो । जसले नेपाली राजनीतिक क्षेत्रका अनुयायीलाई प्रेरणा प्रदान गरेको छ । करिब ९ महिनासम्म मृत्युसँग जुझ्दै उहाँले थोरै समयमा पनि जनतालाई धेरै कुरा, सुनाउनुभयो र यो वृत्तान्त पनि उहाँका आदर्शहरुको प्रयोगको जानकारी जनतालाई पछिसम्म दिने सामग्री जो आत्मवृत्तान्त सावित भयो ।

उहाँले ८ वर्ष जति सुन्दरीजल कारागारमा बन्दी जीवन बिताउनुभयो । त्यहाँबाट छुटेपछि उहाँलाई फेरि ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुपर्ने परिबन्द आयो । भारतमा रहँदा बौद्धिक परिवेशमा काम गर्नुका साथै उच्च स्तरका राजनीतिज्ञ र माथिल्ला नीति निर्मातासँग उहाँको सामिप्यता र सम्पर्क बढ्दै गयो ।

वीपीको राजनीतिक प्रवास विश्वस्तरमा भइरहेको एउटा क्रान्तिकारी वातावरणमा भएको थियो । प्रजातान्त्रिक र साम्यवादी राजनीतिक प्रणाली उत्कर्षमा थियो । नेपाली विद्यार्थी संघको परिकल्पना पनि वीपीले गर्नुभएको हो । समाजवादी आन्दोलनका प्रणेता, जननिर्वाचित प्रथम प्रधानमन्त्री, महामानव श्रद्धेय स्व.वीपी कोइरालालाई आजको दिनमा सम्पूर्ण राजनेता र साहित्य अनुरागीहरुले हृदयदेखि श्रद्धा सुमन अर्पण गर्दछन् ।

राणा निरंकुशताभित्र जनताको मौलिक अधिकार हराइरहेका बेला निरंकुश जहानिया विरुद्ध जनताका आवाजलाई बुलन्द गर्न वीपीले प्रजातान्त्रिक नेतृत्वको अगुवाई गरे । जनता आफ्ना अधिकारबाट वञ्चित थिए । मुलुक एउटा बन्द कारागारजस्तो थियो । लोकतान्त्रिक पद्धतिका प्रदर्शक कृष्णप्रसाद कोइराला वीपीका पिता भएका हुनाले वीपीमा राजनीतिक चेत बाल्यकालदेखि नै थियो ।

नेपाली राजनीतिमा सर्वाधिक लोकप्रिय बन्न पुगेका वीपीले नेपालमा प्रजातान्त्रिक समाजवादलाई लागू गरे । वीपीले अवलम्बन गरेको नीतिलाई नेपाली कांग्रेसले अघि बढाएको छ । राष्ट्रिय मेलमिलापको नीतिलाई अहिले पनि नेपाली कांग्रेसले आत्मसात गर्नुपर्छ । राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसको प्रमुख सिद्धान्त हो ।

वीपी कोइराला भीमकाय व्यक्तित्व हो । उनी नेपाली राजनीतिका सर्वोच्च शिखर हुन् । राणा शासनको अन्त्यमा लागिपरेका वीपी नेपालमा प्रजातन्त्रको स्थापनाका लागि योगदान दिएका थिए । नेपाली राजनीतिक आन्दोलनका योद्धा मात्र नभई नेपाली राजनीतिक शिखरपुरुष वीपी कोइराला हुन् । उनी नवयुगका प्रवर्तक हुन् । २००७ सालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली कांग्रेस पार्टी स्थापना गरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्श मूल्य मान्यताहरुलाई नेपाली समाजमा भिœयाउनुभएका वीपीले तत्कालीन अवस्थादेखि नै नेपाली कांग्रेसलाई अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको एक सक्रिय संगठनको रुपमा परिचय गराउनुभयो ।

वि.सं. २०१५ सालमा भएको प्रथम ऐतिहासिक संसदीय निर्वाचनपछि दुइतिहाई वहुमतका साथ दुइतिहाई वहुमत सहित प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो तर सरकार गठन भएको छोटो अवधिमै उहाँको नेतृत्वको सरकारमाथि राजा महेन्द्रले सैनिक दमन गरे । वि.सं. २०१७ साल पुस १ गते भएको संसदीय व्यवस्थाको सैनिक अपहरणपछि वीपीले सुन्दरीजलमा ८ वर्ष लामो जेल जीवन बिताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र, मेलमिलापको नीति लिएर ८ वर्ष लामो भारत प्रवासबाट फर्किएका वीपीलाई पटक–पटक गिरफ्तारमा पर्नुभयो । वि.सं. २०३५ सालमा सुरु भएको विद्यार्थी आन्दोलनको उत्कर्षपछि २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलीय व्यवस्था पराजित भएको घोषणालाई नचाहेर पनि स्वीकार गर्नुभयो । त्यसपछि भएको पञ्चायती निर्वाचनहरुलाई बहिस्कार गर्दै निरंकुश व्यवस्थाका विरुद्ध प्रजातन्त्र स्थापनाका पक्षमा क्रियाशील हुनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको सिद्धान्तलाई जीवनका आखिरि दिनमा पनि जनताका घर आँगनमा छर्दै वि.सं. २०३९ साल साउन ६ गते उहाँको देहावसान भयो । उहाँकै आदर्शमा अघि बढेका कारण वि.सं. २०४६ सालमा प्रजातन्त्रको पनरवहाली भयो । उहाँका सहकर्मी नेताहरु, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले उहाँका मार्गमा नेपाली राजनीतिलाई अघि बढाए ।

उनले नागरिकका केही कर्तव्य छन् ती पालना गर्न पाउनुपर्छ । केही अधिकार पनि छन् तिनलाई नागरिकले उपभोग पनि गर्न पाउनुपर्छ भने निर्दलीय व्यवस्थामा पनि आवाज बुलन्द गरेका थिए । राष्ट्र भनेको जनता हो, माटो होइन । नेपाल राष्ट्रको पहिचान नै नेपाली जनता हुन् ।

राष्ट्र भनेको कुनै भूगोल एकाई होइन, जनप्रिय एकाई हो । राष्ट्र भनेको नदी, पहाड र खोलानाला तथा भूगोल मात्र होइन भन्ने वीपीको चिन्तन थियो । वीपीले आफ्ना कर्याकर्तालाई जुन उत्साह देख्दथे र परिस्थिति आफ्नो अनुकूल छ कि छैन भनी बुझ्न भाइ गिरिजाप्रसाद कोइरालालाई नेपाल पठाउँदै राजनैतिक सूचना सम्प्रेषण गर्ने जिम्मा गिरिजाप्रसाद कोइरालाको थियो ।

राष्ट्रियताको अभावले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक चलाउ र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् भन्ने वीपीको चिन्तन थियो । अस्तित्वको संकट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो । राष्ट्रिय एकता सम्पूर्ण जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ ।

यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र राष्ट्रिय एकता सम्भव हुँदैन । राष्ट्रिय एकता कसैले कसैलाई दिएर प्राप्त हुने वस्तु होइन, यो त व्यक्तिभित्र स्वतः स्फुर्त रुपमा उत्पन्न हुने देशभक्ति र राष्ट्रप्रेमको भावना हो । आज पनि देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिगत मनोवृत्ति र विदेशपट्टि आमुक हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ भन्ने वीपीको चिन्तन थियो ।

हिजोसम्म नेपाली कांग्रेसको संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो । त्यसो हुनाले नेतृत्ववर्गले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियो । आज यसमा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसमा धेरै जिम्मेवारी आइपरेको छ । देशको अस्तित्वको रक्षाको लडाईमा नेपाली कांग्रेस राष्ट्रियता र प्रजातन्त्र रुपी दरिलो खम्बा बन्नुपर्छ । प्रजातन्त्रको पुनःस्थापना र राष्ट्रियताको रक्षा दुवै जिम्मेवारी नेपाली कांग्रेसको काँधमा परेको छ ।

नेपाली कांग्रेसले केवल राष्ट्रियताको मात्र चर्चा गरिरह्यो भने केवल खोक्रो राष्ट्रियताको नाराबाजीमा लागेको आरोप खेप्नु पर्छ र अधिनायकवादी पक्षधर बन्न सक्छ तसर्थ खोक्रो राष्ट्रियताले मात्र राष्ट्रको रक्षा गर्न सक्दैन । राष्ट्रको रक्षा गर्न सक्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा सक्रिय र सशक्त बन्न जरुरी छ । राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुन सक्छ ।

प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास, न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ भन्ने सोच वीपीको थियो र नेपाली कांग्रेसले पनि आफ्नो जन्मकालदेखि नै बेला–बेलामा देश हितका लागि ऐतिहासिक आन्दोलनको नेतृत्व र गम्भीर निर्णय लिएको सर्वविदितै छ ।

नेपालका राजनीतिक परिवर्तनहरु २००७ साल, २०१५ साल, २९४६ साल, २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा नेपाली कांग्रेस अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिका खेलेको इतिहास साक्षी छ । राष्ट्रिय संकटको घडीमा मतभिन्नता हटाई एकताको सूत्रमा बाँधिने मेलमिलापको नीति नेपाली कांग्रेसको परम्परा उनै महामानव वीपीको मार्गदर्शक सिद्धान्त हो ।