Goraksha

National Daily

नववर्ष : आत्मजागरण, सकारात्मक सङ्कल्प र समृद्ध भविष्यको यात्रा

ब्रह्माकुमार माधव तिमिल्सेना (Ph.D. Scholar)

नववर्ष केवल दिन र मितिको परिवर्तन मात्र होइन ।यो जीवनका क्षणहरुलाई नयाँ दृष्टिकोण, नवीन ऊर्जा र सकारात्मक चेतनासँग पुनः आरम्भ गर्ने अवसर हो । नेपाली समाजमा विक्रम संवत्को नववर्ष बैशाख १ लाई सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

विक्रम शब्दले पराक्रम, गति, सक्रियता र जीवनका जडताबाट मुक्त भएर सिर्जनशील उन्नतितर्फ उन्मुख हुने संकेत गर्दछ । यसैले नववर्षलाई केवल उत्सवको रुपमा मात्र होइन, जीवनको आन्तरिक र बाह्य रुपान्तरण गर्ने पर्वका रुपमा बुझ्नु आवश्यक छ ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज हो । यहाँका पर्व, परम्परा र संस्कारहरुले सामाजिक एकता र सामूहिक पहिचानलाई सुदृढ बनाएका छन् । नववर्ष यिनै विविधताको साझा उत्सव हो । जहाँ भिन्नता हुँदाहुँदै पनि एकताको अनुभूति गरिन्छ । यद्यपि, विविधता सदैव सकारात्मक शक्ति मात्र हुँदैन ।जब यसमा अहंकार, असहिष्णुता, प्रतिस्पर्धात्मक निषेध र नकारात्मक प्रवृत्ति मिसिन्छ, तब यही शक्ति विघटनको कारण बन्न सक्छ । त्यसैले सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानलाई जीवनशैलीको अंग बनाउनु अपरिहार्य हुन्छ ।

नववर्षको सबैभन्दा महत्वपूर्ण पक्ष आत्मपुनरावलोकन हो । यो प्रक्रिया केवल विगतको सम्झना मात्र होइन; यसले हामीलाई विगतका अनुभवबाट शिक्षा लिन र भविष्यलाई सुशोभित बनाउने मार्गदर्शन गर्छ । विगतका सफलताहरु प्रेरणा दिन्छन् भने असफलताहरुले मूल्यवान शिक्षा प्रदान गर्छन् । यदि व्यक्तिले आफ्ना कमजोरीहरुलाई स्वीकार गरी सुधारको प्रयास गर्छ भने असफलताहरु नै प्रगतिका आधार बन्न सक्छन् । तर प्रायः मानिस विगतमा अड्किन्छ या त पछुतोमा या अहंकारमा । जसले वर्तमानको क्षणलाई कमजोर बनाउँछ । त्यसैले सन्तुलित दृष्टिकोण आवश्यक छ, जहाँ सफलतामा विनम्रता र असफलतामा धैर्यता कायम रहन्छ ।

मानव जीवनको मूल स्रोत संकल्प हो । सोच, भावना र चेतनाको गुणस्तरले नै व्यक्तिको व्यवहार, चरित्र र कर्मलाई निर्देशित गर्छ । सकारात्मक संकल्पले ऊर्जा, स्पष्टता र आत्मविश्वास प्रदान गर्छ भने नकारात्मक संकल्पले भ्रम, भय र असन्तुलन निम्त्याउँछ । त्यसैले नववर्षको सन्दर्भमा संकल्पको शुद्धता अत्यन्त महत्वपूर्ण छ । संकल्पलाई बीउसँग तुलना गर्न सकिन्छ ।जस्तो बीउ रोपिन्छ, त्यस्तै फल प्राप्त हुन्छ । यदि सोच शुद्ध र सकारात्मक छ भने व्यवहार स्वतः नै मूल्य आधारित र प्रभावकारी हुन्छ ।

आधुनिक जीवनशैलीले मानिसलाई बाह्य उपलब्धि र भौतिक सुखतर्फ बढी केन्द्रित बनाएको छ । यथार्थमा बाह्य सफलता मात्र पर्याप्त छैन; आन्तरिक सन्तुलन पनि उत्तिकै आवश्यक छ । आध्यात्मिक दृष्टिले मानवको वास्तविक स्वरुप आनन्दमय छ । बाह्य सुख क्षणिक हुन्छन्, तर आन्तरिक आनन्द शाश्वत हुन्छ । योग, ध्यान र आत्मचिन्तनका माध्यमबाट व्यक्तिले आफ्नो चेतनालाई परिष्कृत गर्न सक्छ । जब मन शान्त र केन्द्रित हुन्छ, तब जीवनका जटिलताहरु पनि सहज रुपमा समाधान हुन्छन् ।

आजको युग प्रविधि, प्रतिस्पर्धा र तीव्र गतिमा अघि बढिरहेको छ । यसले अवसरहरु प्रदान गरेको छ तर तनाव पनि उत्पन्न गरेको छ । मानिस बाह्य रुपमा समृद्ध हुँदै गएको छ, तर आन्तरिक रुपमा असन्तुलित बनिरहेको छ । यस अवस्थाबाट मुक्त हुन सन्तुलित जीवनशैली आवश्यक छ, जहाँ भौतिक प्रगति र आध्यात्मिक चेतनाबिच समन्वय हुन्छ । सादा जीवन र उच्च विचारको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छ । खानपान, व्यवहार र जीवनशैलीमा संयम अपनाउनु स्वास्थ्य र मानसिक सन्तुलनका लागि आवश्यक छ ।

नयाँ वर्षमा गरिने संकल्पहरु प्रायः समयसँगै कमजोर हुँदै जान्छन् । यसको मुख्य कारण स्पष्ट कार्ययोजनाको अभाव र आत्मअनुशासनको कमी हो । संकल्पलाई व्यवहारमा रुपान्तरण गर्न स्पष्ट लक्ष्य, योजनाबद्ध प्रयास र निरन्तर अनुशासन आवश्यक छ । साना–साना सुधारहरु नै ठूलो परिवर्तनको आधार हुन्छ । यसैले क्रमिक सुधारलाई प्राथमिकता दिनु बुद्धिमानी हो । व्यक्तिगत रुपान्तरणका लागि केही व्यवहारिक प्रतिवद्धताहरु अत्यन्त उपयोगी छन् ।

सकारात्मक र सुसंस्कृत सोचको विकास गर्दै, सन्तुलित र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । पेशागत अनुशासन र निरन्तर सिकाइमा ध्यान दिनु पनि महत्वपूर्ण छ । साना–साना सुधारमार्फत आत्मपरिवर्तन गर्दै असफलतालाई शिक्षाको रुपमा स्वीकार गर्ने दृष्टिकोण विकास गर्नुपर्छ । साथै योग, ध्यान र आत्मिक अभ्यासलाई दैनिक जीवनमा समावेश गर्ने बानीलाई प्रवद्र्धन गर्नु आवश्यक छ । यी उपायहरु केवल व्यक्तिगत उन्नतिका साधन मात्र होइनन्; यिनले सामाजिक समरसता र विश्वबन्धुत्वको भावनालाई पनि सुदृढ बनाउँछन् ।

मन मानव जीवनको सबैभन्दा शक्तिशाली साधन हो । यदि मनलाई सही दिशा दिइयो भने यसले असम्भवलाई सम्भव बनाउन सक्छ । तर गलत निर्देश गरियो भने पीडा र भ्रम सिर्जना गर्छ । त्यसैले सजगता, आत्मअनुशासन र सकारात्मक चिन्तनमार्फत मनलाई सही दृष्टिकोण दिनु आवश्यक छ । जब मन शुद्ध र सन्तुलित हुन्छ, तब व्यवहार स्वतः नै समुन्नत हुन्छ ।

सकारात्मक मानसिकता र शुद्ध संकल्पले समाजमा पनि दीर्घकालीन प्रभाव पार्छ । व्यक्तिगत सोच, शब्द र कर्मको सकारात्मक प्रवाहले सामाजिक सौहार्दता, आपसी विश्वास र सहयोग प्रवर्धन गर्छ । यही कारणले नववर्षलाई केवल व्यक्तिगत उत्सव नभई सामाजिक र आध्यात्मिक जागरणको पर्वका रुपमा लिन सकिन्छ ।

आध्यात्मिक दृष्टिले हेर्दा नववर्ष केवल समयको गणना होइन; यो चेतनाको स्तरमा परिवर्तन ल्याउने अवसर हो । प्रत्येक नयाँ वर्षले हामीलाई विगतको पाठ सिक्ने, वर्तमानमा ध्यान केन्द्रित गर्ने र भविष्यका लागि सकारात्मक मार्गनिर्देशन गर्ने अवसर प्रदान गर्छ । यसले मानव जीवनलाई मात्र होइन, समाज र राष्ट्रको विकासमा पनि योगदान पु¥याउँछ ।

सार्वजनिक रुपमा नववर्षको उत्सवले हामीलाई सामाजिक सम्बन्ध सुदृढ पार्ने अवसर दिन्छ । साथीभाइ, परिवार र समुदायबिचको सद्भाव, सहयोग र आदरभावको प्रवर्धनले सामाजिक एकता बलियो बनाउँछ । विभिन्न जातजाति, भाषा र संस्कृतिका मान्छेहरु बिचको मेलमिलापले राष्ट्रको सामूहिक चरित्रलाई मजबुत बनाउँछ ।

यस अवसरमा व्यक्तिको आन्तरिक जागरण अत्यन्त महत्वपूर्ण छ । हामीले आफ्नो पुरानो स्वभाव, कमजोर बानी र नकारात्मक प्रवृत्तिलाई त्यागेर जीवनका प्रत्येक पाइला सकारात्मक ऊर्जा र सदाचारबाट भरिनु आवश्यक छ । यसले हाम्रो जीवनलाई मात्र होइन, हाम्रो प्रभावमा रहेका सबैको जीवनलाई उज्जवल बनाउँछ ।

नववर्षको शुभकामना केवल खुशीको सन्देश मात्र होइन; यो सकारात्मक दृष्टिकोण, शुद्ध आत्मा र समाजिक दायित्वको स्मरण पनि हो । यसले हामीलाई सिकाउँछ कि व्यक्तिगत विकास र सामाजिक उत्तरदायित्व सँगसँगै अघि बढ्नुपर्छ । जीवनमा अनुशासन, संयम र नियमित अभ्यासले मात्र दीर्घकालीन स्थायित्व र सफलता सुनिश्चित गर्छ ।

नववर्षले हामीलाई चेतनात्मक सोच र आत्मिक अनुशासनको अभ्यास गर्न प्रेरित गर्छ । यो अवसरले हामीलाई सकारात्मक सोचको विकास, मानसिक शान्ति, स्वास्थ्यकर जीवनशैली, पेशागत दक्षता, आत्मिक सम्बन्धको मजबुती र सामाजिक सद्भावको सिर्जना गर्ने अवसर दिन्छ । अन्ततः, नववर्ष बाह्य परिवर्तनको मात्र होइन, आन्तरिक रुपान्तरणको आह्वान हो ।

यदि हामीले यसलाई केवल उत्सवका रुपमा मात्र मनायौँ भने यसको प्रभाव क्षणिक रहन्छ, तर यदि यसलाई आत्मपरिवर्तनको अवसरका रुपमा स्वीकार्यौं भने यसले जीवनको गन्तव्य नै परिवर्तन गर्न सक्छ । परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ । त्यसैले जीवनको सार सरल तर गहिरो सूत्र यही हो–शुभ सोचौँ, शुभ बोलौँ, शुभ गरौँ । नयाँ वर्ष २०८३ ले सबैको जीवनमा शान्ति, स्वास्थ्य, समृद्धि र आत्मिक आनन्दको उज्यालो फैलाओस् भन्ने हार्दिक मङ्गलकामना । ओम् शान्ति ।
लेखक ब्रह्याकुमारीज दाङका प्रवक्ता हुन् ।