Goraksha

National Daily

घोरदौराको शैक्षिक अभ्यास : समुदायकै शिक्षिका, समुदायमै शिक्षा

लिलाधर वली
घोरदौरा(दाङ), २६ भदौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि घरमै बस्दै आएकी घोरदौरा निवासी सरिता भण्डारी अहिले विद्यालय जान थालेकी छिन् ।

अभिभावकहरुले एक जना शिक्षकको व्यवस्था गरेर दैनिक दुई घण्टा पढाउने व्यवस्था मिलाइदिएपछि सरिता विद्यालय आउन थालेकी हुन् । कोरोनाको कहरसँगै शैक्षिक गतिविधिलाई कसरी अघि बढाउने तथा शैक्षिकसत्र खेर जान नदिन के उपाय खोज्ने भन्ने विषयमा शिक्षा मन्त्रालय बेखवर भइरहँदा उपमहानगरपालिकाको कर्णाली भनेर चिनिने घोरदौराका अभिभावकले भने एउटा उपाय निकालेका छन् ।

आफ्ना बालबालिकालाई स्कुलमा पढाउन शिक्षक नआउने र संक्रमणको भय पनि यथावत भएको अवस्थामा गाउँकै बालबालिकालाई सामाजिक दूरी कायम गरी गाउँकै शिक्षिकाको व्यवस्थापन अभिभावकहरुले गरेका हुन् ।

लामो समयपछि विद्यालयमा आएर आफूजस्तै साथीहरुसँग बसेर पढ्न पाउँदा खुशी लागेको सरिताले बताइन् । ‘कोरोना भाइरस रोग सर्ने डरले विद्यालय बन्द छ, जसका कारण विद्यालयमा पढाइ हुँदैन’, उनले भनिन्– ‘विद्यालयमा पढाइ नहुँदा घरमा गाई÷बाख्रा चराउन जाने गरेको थिएँ, तर अहिले दुई घण्टा पढाइ हुन थालेपछि विद्यालय आउन थालेकी छु ।’

अहिले दुई घण्टा पनि पढाइ हुँदा खुशी लागेको उनको भनाइ छ । ‘यहाँ नआउँदा पनि घरमा पढ्ने गरेको थिएँ, तर मैले पढेर जाने भनेर मलाई सोध्ने कोही थिएनन्’, सरिताले भनिन्– ‘अहिले मिसले पढेका कुरा सोध्नुहुन्छ, नजानेका कुरा सिकाउनुहुन्छ र घरका लागि होमवर्कसमेत दिनुहुन्छ । मिसले होमवर्क लेख्न दिँदा घरमा समेत पढ्ने बानी परेको छ ।’ विद्यालयमा मिसले नेपाली, अंग्रेजीसँगै गणितका हिसाबहरु सिकाउने गरेको उनी बताउँछिन् ।

उनको जस्तै अनुभव छ घोरदौराकै कमल घर्तीको पनि । उनी ४ कक्षा पास गरेर ५ कक्षामा पढ्ने विद्यार्थी हुन् । तर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विद्यालय बन्द गरेपछि उनी नयाँ कक्षामा बसेर पढ्न पाएका छैनन् । विद्यालय बन्द भएपछि घरमै बस्दै आएका कमल अहिले ११ बजेदेखि १ बजेसम्म गाउँमै रहेको विद्यालयमा जान्छन् ।

विद्यालयमा साथीहरुसँगै बसेर पढ्ने गरेका छन् । यसरी पढ्न पाउँदा खुशी लाग्ने गरेको बताए । ‘स्कुल बन्द भएपछि यहाँ आएर पढ्न पाएको थिएन’, उनले भने– ‘अहिले मिसले पढाउन थालेपछि म स्कुल आएर पढ्न थालेको छु ।’ सरिता र कमल प्रतिनिधिमूलक पात्र हुन् । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा अहिले बालबालिकाहरु सामूहिक रुपमा विद्यालय जम्मा भएर पढ्न थालेका छन् । विद्यालय बन्द भएपछि घरमै बस्दै आएका बालबालिकाहरु अभिभावकले पढ्ने व्यवस्था मिलाइदिएपछि विद्यालयमा जम्मा भएर पढ्न थालेका हुन् ।

अभिभावकहरुको आग्रहमा आफूले विद्यालयमा जम्मा हुने बालबालिकाहरुलाई दैनिक दुई घण्टा पढाउने गरेको सुमित्रा घर्तीले बताइन् । लामो समयदेखि पढ्न नपाएका बालबालिकाहरु पढ्ने भनेपछि बालबालिकाहरु उत्साहितसमेत भएको उनी बताउँछिन् । ‘विद्यालयमा पढाई नहुँदा बालबालिकाहरुले पढ्न पाएका थिएनन्, जसले गर्दा उनीहरु गाई÷बाख्रा चराउन जाने र कोही घरमै खेल्ने गर्ने गरेका थिए’, उनले भनिन्– ‘तर अहिले पढ्न थालेपछि दुई घण्टाका लागि एकै ठाउँमा जम्मा हुने गरेका छन्, पढ्नमा ध्यान दिने गरेका छन् ।’

उनका अनुसार बालबालिकाहरु सिकाउने मान्छेसँगै एकै ठाउँमा बसेर पढ्न पाउँदा खुशी समेत देखिएका छन् । अहिले करिब २०–२५ जना विद्यार्थी दैनिकरुपमा आउने गरेको समेत उनले बताइन् । पढ्न आउने विद्यार्थीहरुले मास्क लगाउने र दूरी कामय गरेर बसेर पढाउने गरेको बताइन् ।

विद्यालय बन्द भएपछि घोराही उपमहानगरपालिका शिक्षा शाखाले वैकल्पिक शिक्षाका रुपमा रेडियोका माध्यमबाट पढाउन शुरु गरे पनि त्यो प्रभावकारी हुन नसक्दा अहिले रेडियो शिक्षा कार्यक्रम पनि बन्द रहेको छ । जसले घोराही उपमहानगरपालिकासँगै देशभरका बालबालिकाहरुले पढ्न पाएका छैनन् ।