Goraksha

National Daily

रोगको सन्त्रास र बढ्दो मृत्युदर

भूवन पोख्रेल

कोरोनाको महामारी अहिले तराईका जिल्ला हुँदै देशैभरि फैलिरहेको छ । मुलुकका अन्य स्थानको तुलनामा काठमाडौं बढी जोखिमग्रस्त क्षेत्र बन्न पुगेको छ । सुरुमा मन्दगतिमा रहेको कोरोना जब लकडाउन केही खुकुलो बन्यो त्यसपछि ह्वात्तै तीव्र गतिमा फैलिएको छ । उपत्यका प्रवेश गर्नेको ओइरो छ । केही समय अघि सुरक्षित जस्तो देखिएको काठमाडौं हटस्पट बन्दै छ । काठमाडौं महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाका सिल गरी उपत्यकालाई जोगाउने रणनीति चाल्न कत्ति पनि ढिलाई गर्नु हुँदैन । मुलुकभरि स्थिति भयावह बनिरहँदा जिम्मेवार निकायहरुको काम सुस्त छ । कामबाट पञ्छिने प्रवृत्ति झनै डरलाग्दो छ । सरकारले जहाँ संक्रमण त्यहाँ सिलको अवधारणा ल्याएको छ । यो धारणा संक्रमण राज्यको नियन्त्रण बाहिर गयो भने मात्र कम लग्दछ ।

                मुलुकमा कोभिड-१९ को संक्रमण पुष्टि हुन थालेको साढेतीन महिना नाघिसकेपछि मात्रै यसबाट मृत्यु हुनेको संख्या १० पुगेको थियो तर स्थिति सधैँ एकनास रहेन । फैलिँदो संक्रमणका कारण मृत्युदर पनि ह्वात्तै बढेको छ । दैनिक १०/८ जनाको ज्यान गुमिरहेको अवस्थालाई कम आँकलन गर्न कदापि मिल्दैन । मृत्यु हुनेको संख्या मात्र नबढेर लक्षण सहितका विरामी देखिएका छन् । संक्रमितको संख्या उकालो लाग्दै जाँदा गम्भीर विरामीलाई राख्ने आइसोलेशनको वा अस्पतालको अभावमा विरामी घरमै छट्पटिन वाध्य छन् । पछिल्ला परिदृश्यले खतराको संकेत गरेका छन् । हालको तथ्यांकले औलाएको चेतावनीलाई सरकार र नागरिक दुवै पक्षले गम्भीर रुपमा लिनु पर्छ । सबैको सामूहिक प्रयासले संक्रमणको तीब्र गतिलाई वा बिग्रँदो परिस्थितिलाई नियन्त्रणमा ल्याउनु पर्छ । थप बिग्रन दिनु हुँदैन ।

                देशभरको पछिल्लो अवस्था हेरेर चिकित्सकहरुले नै अब हामी जोखिमको चरणमा छौँ भनेकाले बुझिन्छ कि स्थिति भयावह हुनसक्छ । अब सरकारको भरोषा गर्नुभन्दा पनि नागरिकले आफूले आफैलाई जोगाउनेतर्फ अग्रसर हुनेबेला आएको छ । अझै पनि कतिपयले मास्क नलगाई सार्वजनिक स्थलमा हिडडुल गरेको पाइन्छ र कतिले सही ढङ्गले माक्सको प्रयोग गरेको पनि देखिँदैन । यस्तो हेलचक्राइ आफूलाई मात्र नभई सिङ्गो समुदायका लागि पनि जोखिमपूणर् छ । घरबाहिर सकेसम्म ननिस्कने र निस्कनै परे पनि माक्स पन्जा जस्ता सुरक्षात्मक उपाय अपनाएर मात्र बाहिर निस्कने गरेमा नागरिक केही हदसम्म आफै सुरक्षित बन्न सक्छन् । सकेसम्म रोग लाग्न नदिने सुरक्षात्मक उपाय सजिलो उपाय हो । रोग लागिसकेपछिको उपचारको पाटो झन्झटिलो र संकटपूणर् हुन्छ । त्यसर्थ नागरिक आफै जिम्मेवार बनि, सुरक्षात्मक उपाय अपनाउनतर्फ सचेत बन्नुपर्ने बेला आएको छ । घनाबस्ती भएको काठमाडौं उपत्यकामै दिनहु सयौँभन्दा बढी संख्याका दरले संक्रमित थपिनु भनेको बडो चिन्ताको विषय हो । संक्रमित भइहालेमा सरकारले उपचार गर्छ भनी ढुक्क परेर लापरवाही गर्नुभन्दा प्रकोपबाट जोगिनका लागि पहल गर्नु बुद्धिमानी हो । अहिले भएका संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न त सरकारले अस्पतालको क्षमताले धान्न नसक्ने भनी घरमै आइसोलेशनमा बस्न भनेको छ । अझ संक्रमणको फैलावट भएमा अवस्था कति भयावह बन्नसक्छ आफै अनुमान लगाउन सक्छ ।

                एकअर्काबीच भौतिक दूरी कायम गर्न झन्झट मान्नु हुँदैन । जनस्तरमा संक्रमणलाई गम्भीर रुपमा लिएर सतर्कता अपनाएको पाइँदैन । विरामीको वहाना बनाएर एम्बुलेन्समा आवतजावत गर्नै क्रम रोकिएको छैन । मिटिङ, भेटघाट, सेमिनार, जमघट, पत्रकार सम्मेलन जस्ता भीडभाड बढेका छन् । कतिपय निषेधित क्षेत्रमा पनि भीडभाड, नाँचगान भइरहेका छन् । अझ हिन्दू नारीहरुको महान् पर्व हरितालिकाको अवसरमा बजारमा लत्ताकपडा र कस्मेटिक पसलमा भीडको भीड छ, किनमेल गर्नेहरुको । यसरी चाडपर्व नजिकिँदै गर्दा एक ठाउँको मान्छे अर्को ठाउँ पुग्ने । आफन्तहरु भेला भएर समूहमा दर खाने, नाँचगान गर्ने गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन् । यसले त झनै जोखिमको दिशातिर अघि बढेको देखिन्छ । चाडपर्वको मुखमा देखिएको यो प्रवृत्ति घातक छ, त्यसैले यस्तो पाटोमा प्रशासनले अनुगमन प्रणाली पनि अलि बलियो बनाउन जरुरी छ । देशभरि भेन्ट्रिलेटर सहितका बेडहरु र आइसियु बेडको अभाव छ । गम्भीर विरामी बढेपछि यसले थेग्न सक्दैन । चिन्ता गर्नुपर्ने मुख्य पक्ष गम्भीर विरामी भएर आइसियु र भेन्ट्रिलेटरमा जाने क्रम पछिल्लो साता उल्लेख्य बृद्धि भएको छ । यही रुपमा शिथिल विरामी बढे भने छिट्टै नै हाम्रा अस्पतालहरुमा आइसियु र भेन्ट्रिलेटर अभाव हुनसक्छ । तसर्थ, सरकारले उपचार प्रणालीको उचित व्यवस्थापनमा ध्यान पुर्‍याउनु पर्छ । कस्तो विरामीलाई कहाँ राखेर कसरी उपचार गर्न स्पष्ट रणनीति र त्यही अनुसारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न सक्नुपर्छ । यस्तो समस्या अहिले नै देखिएको वीरगञ्जमा सरकारले ध्यान पुर्‍याउन ढिलाई भइसकेको छ । समूहगत संक्रमण व्यापक हुँदै जाँदा भोलि उपचार व्यवस्थापन मिलाउन सकस नहोस् भन्नका लागि बेलैमा ध्यान पुर्‍याउनु पर्छ । नेपालमा संक्रमणका कारण हुने मृत्युदर कम छ भन्दाभन्दै पनि पछिल्लो समय संक्रमितहरुको एक्कासी मृत्यु हुने अवस्था देखिएको छ । यसलाई सरकारले खतराका रुपमा लिनुपर्छ । गम्भीर संक्रमितहरुले सहज उपचार पाउने व्यवस्था मिलाउन कुनै कसर बाँकी राख्नु हँुदैन । उपचारको अभावमा विरामीको मृत्यु हुने अवस्था कुनै पनि हालतमा निम्त्याउनु हुँदैन । भेन्ट्रिलेटर र आइसियु व्यवस्थापनको पक्षलाई अब महत्वपूणर् रुपमा लिनु पर्छ । उपचार पाए निको हुनेवर्गलाई मृत्यु वरण गर्नुपर्ने अवस्था आउन नदिन हरतरका रणनीतिक योजना र तयारी सरकारका तर्फबाट गरिनु पर्छ । भएको पूर्वाधारको व्यवस्थापनका अलावा सम्भव भएसम्म बेड र भेन्ट्रिलेटरको संख्या बढाउनु पर्छ । विरामीलाई उपचार गर्न सबै सरकारी र निजी अस्पतालहरुबीच उचित समन्वय मिलाउनुपर्छ । हाम्रा सामुन्य ठूलो खतराको घण्टी बजिरहेको छ तर देश र जनता केही नसुनेझैँ वा नभएझैँ लापरवाहीको दिशामा होमिनु भएन ।

                कोभिड-१९ का जटिल विरामी बढ्दै जाँदा पर्याप्त आइसियु र भेन्ट्रिलेटर तथा जनशक्ति व्यवस्थापन गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आइसियु र भेन्ट्रिलेटर अभाव हुनसक्ने देखिएको छ । अहिले भएका कतिपय आइसियु र भेन्ट्रिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूणर् रुपमा सञ्चालन हुनसक्ने अवस्थामा छैनन् । आइसियुका लागि तालिम प्राप्त जनशक्ति नभएर भएका पूर्वाधार पूणर् रुपमा सञ्चालन हुनसक्ने अवस्थामा छैनन् । भएका जनशक्ति पनि कोरोना संक्रमित भई आइसोलेशनमा छन् । अहिले यस्तो अवस्थामा स्वास्थ्य संकटकाल घोषणा नगरी नहुने स्थिति देखिएको छ ।

                निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड विरामीको उपचार गर्न नसक्ने बताउका छन् । सरकारी अस्पतालमा दक्ष जनशक्तिको अभावमा जटिल विरामीको उपचारमा समस्या रहेको छ । अधिकांश संक्रमित होम आइसोलेशनमै छन्, जटिल भएपछि मात्र अस्पतालमा लगिएको छ । लक्षण सहितको संक्रमण बढेसँगै अस्पतालमै उपचारमा पनि समस्या देखिन थालेको छ । लक्षणसहितका संक्रमित पनि घरमै बस्ने र जटिल अवस्थामा पुगेपछि अस्पताल जाने वर्तमान अवस्था छ ।

                प्रदेश नं. ५ का रुपन्देही, कपिलवस्तु र बाँकेमा तीव्र गतिमा संक्रमित बढेका छन् । पछिल्लो समय देखिएका धेरै संक्रमित लक्षण सहितका छन् । स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ, त्यसले बृद्धबृद्धा र लक्षणसहितका संक्रमितको उपचार थप चुनौतीपूणर् बनेको सामाजिक विकासमन्त्रीको भनाई छ । यसरी संक्रमणको जोखिम न्यूनीकरणमा सम्बन्धित प्रदेशले पनि सचेत भई लाग्नुपर्ने देखिएको छ । कोरोनाका कारण गत वर्षसम्म देश तथा विदेश पुगेर आफ्ना गीत सुनाएर दर्शक नचाउने कलाकार पनि यसपालि घरमै खुम्चिएर युट्युवमै तीज मनाउन लागेको परिवेशमा आम महिला दिदीबहिनीहरु पनि घरमै बसेर पूजाआजा र गति नाँचहरु टेलिभिजन, रेडियो, युट्युवमा हेरेर रमाउन अनुरोध गरिएको परिप्रेक्षलाई सबैले स्वीकार गर्नुपर्ने वाध्यता छ । जीवन रक्षाका लागि नागरिक जिम्मेवार हुनुपर्ने बेलामा चाडवाडको निहुमा भीडभाड र जमघट गर्नु हुँदैन । जीवन रहे यी पर्वहरु वर्षेनी घुमेर हाम्रा सामू आउँछन् । स्थिति सामान्य भएको अवस्थामा यी पर्वहरु धुमधामका साथ सभ्य र भव्य तरिकाले मनाउने गरेकै हो । अहिलेो संक्रमणको जटिलतालाई मध्यनजर गरी सम्यमित भई घरमै बस्नुपर्ने बेला आएको छ । एक त पर्वहरुलाई तामझाम र भड्किलो ढङ्गले मनाउनु कदापि उचित होइन, अझ अहिलेको जटिल परिस्थितिमा झनै सबै नागरिक सचेत र जिम्मेवार भई सरकारले दिएका निर्देशनको कडाईका साथ पालना गरियो भने मात्र आफू र आफ्नो परिवारलाई सुरक्षाको घेराभित्र राखी जीवन रक्षा गर्न सक्दछौँ ।

                अहिलेको संक्रमणको कारण नेपालको मात्र नभई विश्वका प्रायः जस्तो मुलुक आर्थिक चपेटामा छन् । संक्रमणको असर सबै क्षेत्रमा परेको छ । संक्रमणको सन्त्रासका कारण आम नागरिक तनावमा छन् । संक्रमणले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, सबै क्षेत्र तहसनहस छन् । रोजगारी गुमाएर नागरिक बेरोजगार बन्न पुगेका छन् । आर्थिक गतिविधि न्यून छ । उद्योगधन्दा, बन्द व्यापारलगायत ठप्प छन् । शैक्षिक संस्था बन्द छन् । पर्यटन र यातायात क्षेत्र झनै थला परेको छ । होटल, रेष्टुरेण्ट बन्द छन् । ठाउँ-ठाउँमा जहाँ बढी संख्यामा संक्रमित फेला परेका छन् त्यहाँ एरिया सिल सहित कफ्र्यू लगाइएको छ । धेरै जिल्लाहरुमा पुनः अर्को चरणको लकडाउन घोषणा गरिएको छ । जनजीवन ठप्प छ । यस्तो अवस्थामा चाडपर्व कसरी खुशी र हर्षोल्लासका साथ मनाउन सकिन्छ । मुलुकमा रमाउने परिवेश छैन र वातावरण सबै तहसनहस छ । मुलुक फेरि पहिलेकै स्थितिमा कहिले आउला र रोग विरुद्धको लडाईलाई जित्नु छ । कोरोनालाई परास्त गरी आम जनजीवनबाट खोसिएको खुशी फिर्ता ल्याउनु छ । रोगको सन्त्रासबाट स्वतन्त्र ढङ्गले बाँच्नु छ ।

                भाइरसभन्दा पनि बेलैमा उपचार नपाएर मृत्यु भएको छ । नियमित स्वास्थ्योपचार लिइरहनुपर्ने दीर्घरोगी मधुमेह, मृगौलाका रोगीहरु अहिले लकडाउनले गर्दा अस्पतालमा नियमित जाँच गरराउन नपाउँदा वा उपचार सेवा नपाउँदा ती व्यक्तिको धमाधम अन्त्यमा कोरोना लागेर मृत्यु भइरहेको छ । रोगलाई नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सतर्कता बढाउनुपर्ने देखिएको छ । सरकारले महामारी नियन्त्रणमा गरेको सरकारको प्रयासलाई सबैले सहयोग गर्नुपर्छ । प्रत्येक नागरकले आ-आफ्नो ठाउँमा रोग नियन्त्रणका लागि पहलकदमी चाल्नुपर्ने देखिन्छ ।