मन एक रहस्यमय ऊर्जा
सुप्रिया मां
मानिस यस सृष्टिको सर्वाधिक सुन्दर रचना हो, किनकि मानिससँग रहस्यले भरिएको सुन्दर ऊर्जा वा शक्ति छ, त्यो हो मन । मनोविद्हरु भन्दछन् मानिसको मनको क्षमता कुनै पनि सुपर कम्यूटरभन्दा कम छैन । मनोविद्हरुले जे कुरा भनिरहेका छन्, त्यो सत्य हो ।
मानिसको मन अनन्त सम्भावनाहरुले भरिएको छ । मनले नै हामीलाई भौतिक जगतमा सफल, समृद्ध बनाउँछ र भित्रबाट खुशी र आनन्द दिन्छ । हामी विश्वका सबै कुरा जान्न, बुझ्न र जीवनमा उतार्न चाहन्छौँ तर हामीसँग रहेको यो मनका सम्भावनाहरुलाई बुझ्ने र जीवनमा उतार्ने प्रयास गर्दैनौ । जसले आफ्नो मनलाई जाने, बुझे उनीहरु नै बाहिरको जगतमा सफल र समृद्ध भएका छन् र साथसाथै भित्रबाट पनि शान्त, अकारण खुशी र आनन्दित् भएका छन् । के-कस्ता सम्भावनाहरु छन् हाम्रो यो मनभित्र वा मनले हामीलाई कस्तो बनाउन सक्छ ? यो हाम्रो आजको चिन्तन्को विषय हो ।
गौतम बुद्ध भन्नुहुन्छ, ‘हाम्रो मन नै हाम्रो दुःख र सुखको मूल कारण हो । यो मनले नै हाम्रो जीवनको वर्तमान र भविष्यको सम्भावनाहरु तय गर्दछ ।” मनका प्रमुख दुईवटा आयाम हुन्छन् – एउटा हो सकारात्मक र अर्को हो नकारात्मक ।
यी दुई आयाममध्ये मनमा जुन आयाम प्रभावित् भएको हुन्छ मानिसको सोचविचार पनि त्यस्तै रहन्छ । सोचविचार जस्तो हुन्छ वाणी पनि त्यस्तै हुन्छ र वाणी जस्तो हुन्छ व्यवहार र कर्म पनि त्यस्तै हुन्छ । मनमा उठ्ने सकारात्मक र नकारात्मक भावले नै मानिसको वर्तमान र भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ ।
मनमाजस्तो किसिमको भाव हाबी हुन्छ हाम्रो जीवन पनि त्यही दिशातर्फ अगाडि बढ्न थाल्छ । मनका नकारात्मक भावहरुले नकारात्मक सोचाईहरु आउन थाल्छन् र नकारात्मक सोचाईको परिणाम हुन्छ वेचैनी, अशान्ति, तनाव, पीडा, दुःख, असफलता र अस्वस्थता आदि ।
मनका सकारात्मक भावले सकारात्मक सोचाई ल्याउँछ र त्यसको परिणाम पनि सुखदायी हुन्छ । जस्तै खुशी, उत्साह, उमङ्ग, सफलता, आत्मविश्वास, शान्ति, समृद्धि, स्वस्थता आदि ।
हाम्रो सोचविचारले चित्तका गुणहरुलाई पनि प्रभाव पार्छ । सकारात्मक सोचविचारले चित्तमा प्रेम, करुणा, दया, शाहस, क्षमा, स्वीकार, सहयोग, सहनशीलताको गुण बन्दछ भने नकारात्मक सोचविचारले इर्ष्या, अभिमान, आलश्य, लोभ, क्रोध, भय, अपराधको भावजस्ता गुणहरु बन्दछन् ।
सकारात्मक सोच मनको उत्कृष्ट अवस्था हो भने नकारात्मक सोच मनको निकृष्ट अवस्था हो । प्रकृतिको गहनतम् रहस्यमध्ये एउटा यो पनि हो, मनले जुन किसिमको भाव सिर्जना गर्छ बाहिरको जगतमा पनि सोही अनुरुप परिणामहरु देखिन थाल्छन् ।
मन हाम्रो एउटा आज्ञाकारी सेवकजस्तो हो, जसले हरेक आदेशको कुशलतापूर्वक पालना गर्छ । मनले लिखित र मौखिक भाषा बुझ्दैन, मनले बुझ्ने भाषा भनेको हाम्रो गहिरो भाव र सोचविचार हो । मन यति कुशल र रहस्यपूणर् छ कि हाम्रो भाव र सोचविचार अनुरुपको परिणाम पनि तुरुन्तै सिर्जना गर्छ ।
प्रसिद्ध लेखक डा. दीपक चोपडा भन्नुहन्छ- ‘मन एउटा ठूलो स्वप्न यन्त्र हो, सपनाको रचना गर्नु र त्यसलाई यथार्थमा परिणत् गर्नु यसको योजना र कार्य हो ।’ भगवान् गौतम बुद्ध भन्नुहुन्छ- ‘हामी जे जस्तो अवस्थामा छौँ त्यो हाम्रो सोचविचारको परिणाम हो । हाम्रो अहिलेको स्थिति जे छ र भविष्य कस्तो हुन्छ त्यो सबै हाम्रो आफ्नै सोचविचारको परिणाम हो । हामी आफ्नो सोचविचारद्वारा नै आफ्नो संसार निर्माण गर्छौं ।’
प्रख्यात विचारक डेनिस वेटलीको भनाइ छ- ‘तिमी पछि पर्नुको कारण तिमीसँग स्रोतसाधनको कमी भएर होइन, आफ्नो गलत भाव र सोचविचार हो ।’ अर्का प्रख्यात विचारक एडमण्ड स्पेन्सर पनि यसो भन्नुहुन्छ- ‘मनले नै शुभ र अशुभ निर्माण गर्छ, सुख ल्याउँछ र हामीलाई धनी र गरिब बनाउँछ ।’
सोचविचारको कुरा गर्दा मलाई एउटा कथा याद आयो । एक जना दयालु राजा बाटोमा हिड्दै थिए । उनले एउटा भिखारीलाई दयनीय अवस्थामा भिख माग्दै गरेको देखे । उनलाई त्यो भिखारी देखेर दया लाग्यो र उनले सोचे आज म फेरि एउटा पुण्यको कर्म गर्छु, यो भिखारीलाई खुशी र सन्तुष्ट हुनेगरी केही दिन खान पुग्ने सम्पत्ति दिन्छु ।
उनले त्यो भिखारीलाई एउटा चाँदीको सिक्का दिए । त्यो सिक्का भिखारीका लागि धेरै ठूलो कुरा थियो । किनकि त्यो सम्पत्तिले उसलाई महिनौँ दिनसम्म खान पुग्थ्यो ।
भिखारी त्यो सिक्का लिएर हिड्दै थियो अचानक उसको हातमा रहेको चाँदीको सिक्का फोहरको नालीमा खस्यो । भिखारीले फोहरको नालीमा आफ्नो हात हालेर त्यो सिक्का खोज्न थाल्यो । यो सबै कुरा राजाले परबाट देखिरहेका थिए । राजालाई भिखारीले फोहरमा हात हालेर सिक्का खोजेको देखेर दया लाग्यो र उनले त्यो भिखारीलाई फेरि दुईवटा सुनका सिक्का दिए ।
भिखारी सुनका दईवटा सिक्का हातमा समातेर फेरि फोहरको नालीमा सिक्का खोज्न थाल्यो । यो देखेर राजालाई अचम्म लाग्यो र उन्ले त्यो भिखारीलाई सोधे- ‘तिमी के कुरा पायौ भने खुशी र सन्तुष्ट हुन्छौँ ?’ भिखारीले जवाफ दियो- ‘यो फोहरमा हात हालेर मलाई सिक्का खोज्न दिनुभयो भने म खुशी र सन्तुष्ट हुने थिएँ ।’ भिखारीको यस्तो सोच देखेर राजालाई दिक्क लाग्यो र उनी भिखारीलाई फोहरको नालीमा छोडेर आफ्नो बाटो लागे ।
कतै हाम्रो पनि सोचविचार त्यो भिखारीको जस्तै त छैन । जीवनले हामीलाई धेरै कुरा दिएको छ । आफ्नो जीवनमा फर्केर हेर्ने हो भने सकारात्मक सोच राख्ने, खुशी हुने, रमाउने, सन्तुष्ट हुने, विधायक कुरालाई हेर्ने प्रशस्त कारणहरु छन् तर पनि नकारात्मक सोचविचार बनाइरहने, अभावलाई हेरेर दुःखी, वेचैन र तनावमा भइरहने बानी । यसो गरेका छौँ भने जीवनमा सफल, समृद्ध, सन्तुष्ट र खुशी हुने सम्भावना लगभग शून्य नै हुन्छ ।
हाम्रो यो अवस्था हामीलाई अरु कसैले गरिदिएको होइन, आफ्नो नकारात्मक सोचविचारले आफ्नो जीवनलाई हामीले नै दुःखदायी बनाएको हो ।
एउटा महत्पूर्ण र सत्य कुरा के हो भने हामीले चाहेमा आफ्नो सोचविचारलाई तुरुन्तै सकारात्मक बनाउन पनि सक्छौँ । नकारात्मकको घेरामा बाँधिएर हामीले जीवनलाई निराश र दुःखदायी बनाउनुपर्छ भन्ने वाध्यता केही पनि छैन ।
तर हामीलाई स्पष्ट रुपमा यो कुराको बोध हुनुपर्यो कि नकारात्मक सोचविचार बारम्बार गर्नु नै हाम्रो दूर्गतिको मूल कारण हो र सकारात्मक सोचविचारको अरु कुनै विकल्प छैन । मेरो जीवन मेरो आफ्नै सोचविचारको परिणाम हो भनेर जान्नु नै जीवनलाई सकारात्मक दिशातिर लैजाले पहिलो पाइला हो ।
मनको तेस्रो आयाम पनि छ, त्यो हो सकारात्मक र नकारात्मकभन्दा पर, विचार शून्यताको अवस्था । सकारात्मक र नकारात्मक सोचविचार जीवनका बाहिरी दिशा हुन भने मनको शून्य अवस्था हामीभित्रको यात्रा हो, यो ध्यानको अवस्था हो । मनको महत्पूर्ण अवस्था हो ध्यानको अवस्था । ध्यान हाम्रो सोचविचार र भावको अवस्थाभन्दा परको अवस्था हो, जहाँ हामी निर्विचार अवस्थामा हुन्छौँ । यो अवस्थामा हाम्रो मनका सबै आन्तरिक क्षमता र सम्भावनाहरु उजागर हुन्छन् ।
नकारात्मक सोचविचारबाट सकारात्मक सोचविचार बनाउँदै हामी मनको तेस्रो आयामतिर पनि जानुपर्छ । यो अवस्थामा हामीले जीवनको सत्यतालाई जान्दछौँ । यो अवस्थामा हामीले आफू को हुँ भन्ने प्रश्नको उत्तर आफूभित्रै पाउँदछौँ । यो अवस्थामा हाम्रा मनका सबै सम्भावनाहरु उजागर हुन्छन् । हामीलाई पूणर्सन्तुष्टि, गहन शान्ति, अकारण खुशी र आनन्द मिल्छ । हाम्रो जीवनबाट सबै प्रकारका दुःखहरु सदाका लागि हराउँछन् ।
आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुन् ।
